अचेल विकासका नाममा विनाश गर्ने प्रवृत्ति बढेको छ। म कडा शब्दमा भन्ने गर्छु– विकासका नाममा विनाश गर्ने अधिकार कसैलाई छैन। तर देश संघीयतामा रूपान्तरण हुन लागेपछि विकासका नाममा विनाशका काम धेरैतिर भएका छन्। सडक बनाउने नाममा साविकदेखि राजकुला र अरु कुला बेमाखसँग मासिएका छन्।
साबिकदेखिका कुला मासिँदा धान प्रशस्त उब्जा हुने फाँटका फाँट बाँझो बनेकाछन्। त्यसरी बनाएका सडक बर्खा लागेपछि नासिन्छन्। धेरै ठाउँमा पहिरो जाने गरेको छ। अब न नयाँ बनेको सडक न साबिकदेखिको धान उत्पादन हुने खेत ! आजको हाम्रो नेपालको विकासको मोडल–नमुना प्रायः यस्तो छ। पृथ्वी राजमार्ग निर्माण भएपछि त धादिङ जिल्ला विकासको नाममा विनाश हुने जिल्लामध्ये पहिलो हो जस्तो लाग्छ। यो पहाडी जिल्लाहरूको तुलनामा हो।
धादिङ जिल्ला राणा शासनदेखि नै काठमाडौँ खाल्डोका मान्छेलाई फलफूल, अन्न, घीउ, मह र तरकारी परिपूर्ति गथ्र्यो र काठमाडौँ शहरका सुतीसुती खानेहरूलाई पाल्थ्यो। काठमाडौँका टाठाबाठा केही मान्छे धादिङमा धेरथोर लगानी गर्थे। थोरबहुत जग्गा किन्थे वा भोगबन्धकी, दृष्टिबन्धकीमा लिन्थे। त्यसबापत ब्याज वा कुत लिन्थे। धादिङको मास, पिँडालु भनेपछि सारै स्वादिलो। काठमाडौँका मान्छे भुतुक्कै हुने। यहाँ बिहे, ब्रतवन्ध जस्ता भोजभतेर हुने कामका लागि टपरी, दुना, बोहता, चारकुने धेरै चाहिने हुँदा सालको पात पनि धादिङले नै परिपूर्ति गथ्र्यो। बिहेका निम्ति पात टिप्न भनी काठमाडौँबाट धादिङतर्फ महिलाको टोली नै जान्थ्यो। त्यतिबेला भोज खुवाउने खण्डेथाल, प्लेट, चम्चाको चलन पसेको थिएन। तसर्थ जे गर्दा पनि सालको पात।
आजको राजनीति पैसामा अडेको छ। राजनीति पैसामा मात्र लुट्पुटिन खोज्छ पैसो राजनीतिसँग। आज संघीय संसद्का स्थानहरूमा मात्र ठेकदार, बैंकर र व्यवसायी छैनन्, बरु प्रदेश र स्थानीय तहमा समेत त्यस्तैको कब्जा छ।
अम्बा, पाकेका काँक्रा र सालको पात
काठमाडौँमा खाजा खाने चिया पसल सारै कम थिए। चिया खाजा खाने पसललाई पनि होटेल भनिन्थ्यो। रेस्टुरेन्ट भन्ने शब्द प्रवेश गरेकै थिएन। खाजा खाने भट्टी वा होटलमा पनि प्लेटमा दिने चलन आइसकेको थिएन। त्यस्ता पसलमा सालको पातमा दिन्थे तरकारी अचार। ती सबैका लागि सालको पात धादिङबाटै आउने हो। सोह्रश्राद्ध लाग्नुअघिदेखि झण्डै हरिबोधिनी एकादशीसम्म नै अम्बा खुब खुवाउँथ्यो धादिङले। धादिङका किसानका बारीमा अम्बा आफैँ उम्रने, आफँै बढ्ने, हुर्कने, फल्ने, पाक्ने ! प्रकृतिको आफ्नै नियम। यता धादिङका किसानहरूका हातमा पैसो पर्ने बाटो पनि यही हो। डोकोमा पाकेका अम्बा भारीका भारी ल्याउँथे त्यहाँका किसान। पाकेका अम्बा मीठा,सारै मिठा। यातायातको साधन थिएन। धादिङ परदेखिनै हिँडेरै आउनुपर्ने। डोकोभरिको अम्बा र सालको पातका मुठा बोकेर।
त्यसरी ल्याएको अम्बा किन्न एकथरि व्यापारी स्वयम्भु, रामकोट आदिसम्म पनि जान्थे र बीच बाटोमा सस्तोमा अम्बा किन्थे र महँगोमा शहरमा ल्याएर बेच्थे। त्यस्तालाई फौबञ्जार (बिचौलिया)भनिन्थ्यो। धादिङले अम्बामात्र होइन, फर्सी–काँक्रा पनि ख्वाउँथ्यो। दसैँमा मासु पचाउन पाकेका काँक्राको अचार बनाइन्थ्यो नौरथा लागेपछि। पाकेका काँक्राको अचार प्रायः माटाका घैँटामा खाँदी खाँदी हालिन्थ्यो। त्यो अचारमा रायो वा तोरी पिँधेर छोप हालिन्थ्यो। पाँच सात दिनपछि त्यो खल्पी अचार च्वास्स अमिलो तर सारै स्वादिलो हुन्थ्यो। अचार भनेपछि पीरो त हुने नै भो। त्यो अचारलाई खल्पी भनिन्थ्यो। शायद त्यसले मासु पचाउँथ्यो कि ? ती काँक्रा धादिङले नै पु¥याउँथ्यो।
विषाक्तता उत्सर्जन
त्यो जमानामा धादिङमा राणा शासनले फदोद्यान (फलफूलको बगैँचा) पनि राखेको थियो। धादिङका केही भाग काठमाडौँ भन्दा होचो भएकाले काठमाडौँ खाल्डोमा नफल्ने, नपाक्ने फलफूललाई चाहिने तातो पुग्दैनथ्यो। काठमाडौँमा पिचरोड धेरै नहुँदा र सिमेन्टीका घरहरू बाक्ला नबन्दासम्म। यसकारण काठमाडौँमा आँप, रुख कटहरहरू खुवाउने जिल्ला धादिङ नै थियो। त्यसो त काभ्रे र सिन्धुपाल्चोक पनि केही परिवारलाई आँप खुवाउँथ्यो। त्यो धादिङलाई यति धेरै खन्ने, खोस्रने घाउ लाउने काम भो पृथ्वि राजमार्ग बनेपछि। ढुंगा,बालुवा, पाँगो माटो केही देख्नै नहुने भो। धादिङ क्षतविक्षत भो। ढुंगालाई गिट्टी बनाउने, धुलो बनाउने क्रसर गर्ने उद्योग नामका व्यापार यति बाक्लो स्थापित भो सुन्दर, उत्पादक र चरम ऊर्वर धादिङ धुलो, डिजेलको विषाक्त धुँवा र प्रदूषण आपूर्ति गर्ने जिल्लामा बदलियो।
जग्गा प्लटिङको अर्को माफियातन्त्र छ। यी माफियाले पानीको मुहान मासे, प्रकृतिको कला र मनोरञ्जन, चलखेलका ठाउँ (क्रिडास्थल) नै सिध्याए। अग्लो होचो ठाउँ सम्याएर प्राकृतिक संरचनाउपर आक्रमण गरिरहेकाछन्।
अम्बा, रुखकटहर, निबुवा, ज्यामिर, किमिरो, भोगटे, फर्सी, काँक्रा, करेला, मास, मस्याङ, पिँडालु, तरुल, आँप परिपूर्ति गर्ने धादिङ ढुंगा, गिट्टी, बालुवा जस्ता जिल्लाका आधारभूत प्रकृतिको बासस्थान नै निकासी गर्ने उल्टो दिशामा पल्टियो। खेती गरी ऋतुअनुसार हरिया परिया, रसिला, तागतिला, स्वादिला खाद्य र पेय पदार्थ उत्पादन गरी सेवा गर्दै आएको धादिङ ग्यास उद्योग स्थापना र सञ्चालन गर्ने, प्रदूषण परिपूरण गर्ने, कार्बन डाइअक्साइड उत्पादन, उत्सर्जन र आपूर्ति गर्ने जिल्लामा रूपान्तरण भो। त्रिशूली नदी बालुवाबिहीन, माछारहित, दुर्लभ एवं महŒवपूर्ण जलचरशून्य निर्जीव नदीका रूपमा बदलिने क्रम ह्वात्तै बढ्यो। जिल्लाको दृश्य स्वरूप स्वतः बदलियो भने आन्तरिक स्वभाव पनि उल्टियो। अक्सिजन होइन, प्रदूषण प्रवाह गर्ने घातक भएर पो निस्कियो धादिङ। ऊ आफँै यस्तो भएको नभई गराइएको हो।
माटो उपहार
केही वर्षअघि धादिङको विकास, समृद्धि र वातावरण जस्ता विषयमा एउटा अनुष्ठान आयोजना गरिएको थियो। जसमा मलाई पनि एउटा कार्यपत्र पेश गर्ने मौका दिइएको थियो। धादिङ जिल्ला विकास समितिले जस्तो लाग्छ, धादिङबेसीमा नै। त्यो कार्यक्रममा म अलि खरोरूपमा नै प्रस्तुत भएको थिएँ जसका कारण सहभागीहरू मप्रति आक्रामकहुन र जिल्लाको ढुंगा, माटो र बालुवाप्रति आक्रमण गर्ने स्थिति अन्तहोस् भन्ने मनसाय थियो मेरो। आफ्नो माटोप्रति अद्वितीय माया, मोह र समर्पण हुन्छ देशभक्तहरूको। अहिलेसम्म आफ्नो माटो, मातृभूमिमा गई भूमिलाई ढोगी माटाको टीका लगाएर फर्कने थुप्रै मान्छे छन्।
माटोप्रतिको मोहको उदाहरण मलाई सम्झना छ, राष्ट्रले (नेपाल राष्ट्रले नै) प्रजातन्त्र सेनानी ज्युँदा शहीद टंकप्रसाद आचार्यलाई के उपहार दिने भन्नेमा लामो र गम्भीर छलफल भयो। मस्तिष्क नै मन्थन हुने स्तरको बहस एवं तर्क÷वितर्कपछि नेपालको एक मुठी माटो उपहार दिने भन्ने निष्कर्षमा पुग्यो त्यो भेला। छलफलमा उपहारका विषयमा लामो विमर्श भो। कतिपयले सुनको हार भने, कतिले नगद एकमुष्ठ भने। धेरैले धेरै थोक भने। तर अन्तमा मातृभूमिको एक मुठी माटो उपहार दिने निर्णय भयो करतल तुमुल ध्वनिबाट उक्त प्रस्ताव सर्वसम्मति, सर्वसहमतिबाट पारित भो। टंकप्रसादजी स्वयं पनि सर्वाधिक खुसी हुनु भो। यस्तो हुन्छ माटोप्रतिको मोह र मोहिनी। मलाई धादिङसँग यही गुनासो राख्नु थियो सशक्तरूपमा। तर स्वार्थका सामु देशभक्ति कमजोर हुने परिस्थिति छ आमरूपमा।तसर्थ कहिले कहिले यस्ता प्रयत्नले स्वरूप लिँदैनन्।
रिसोर्ट र केवुलकार माफियाको बिगबिगी
मातृभूमिप्रति कत्तिको माया छ सरकारको नेतृत्वमा र पार्टी नेतृत्वको ? यो प्रश्न उठेको छ आज देशभक्तहरूमा। तर यो कुरा यसरी ठाडै उठाउनुहँुदैन किनभने देशभक्तिको प्रश्न अत्यन्त संवेदनशील हुन्छ। तर आज मुलुकको अवस्था यस्तो विकराल स्थितिमा पुगेको छ जहाँ देशभक्ति एवं देशभक्तको मुद्दा नउठाइ भएको छैन। आज अदृष्यरूपमा, प्रच्छन्नरूपमा, मौनमुद्रामा देश चिथोरिँदैछ, निचोरिँदैछ। रिसोर्ट माफियाहरू, केवुलकार माफियाहरू पैसामुखीहरू यो खाल्डोको रक्षाकवच वरिपरिको रुख बुट्यान भएका र नभएका डाँडा, भञ्ज्याङ र मैदानहरूउपर उनीहरूको आँखा लागिसक्यो। आक्रामक रूपमा। शिवपुरी क्षेत्र दोस्रो आक्रमणमा परेको छ यी माफियाहरूको।
कुरा यति मीठो गर्छन् मानौँ उनीहरूको कुरो पच्चीसै आना ठीक छ भन्ने पार्छन्। चन्द्रागिरी डाँडा कब्जा गरिसके। बिजोग छ त्यहाँ केवुलकार एवं रिसोर्ट सञ्चालनपछि। केबुलकार माफिया र रिसोर्ट माफियाहरू आफ्ना कुरा यसरी राख्छन् जसको खण्डन गर्न मुस्किल पर्छ। ती क्षेत्रमा उहिलेदेखि बसिरहेका हजारौँ हजार मान्छेको आर्थिक, शैक्षिक एवं स्वास्थ्य अवस्था यस्तो दयनीय छ यी क्षेत्रमा। बिनारिसोर्ट र बिना केवुलकार व्यवसाय तिनीहरूको उत्थान सम्भवै छैन भन्ने तर्क गर्छन्। प्रकृतिको आफ्नै नियम छ, नियमितताछ, अनुशासन छ। जसको दाँजो अन्य कुनै विधावालासँग पनि छैन। त्यत्रो सुक्ष्म प्राणी कमिलाले कति ठूला कति बलिया र कति कलात्मक घर बनाउँछ। गौँथलीको गुँड कति सुन्दर, कति वातावरणमैत्री र कति बलियो ? तोपचराको गुँड संसारकै उत्कृष्टतम वास्तुकलाकारको डिजाइनभन्दा उत्तम, वातानुकूलित, आकर्षक र कलात्मक। आफैँत तोप चरो। ऊ एक्लैले चुच्चोले बोकेर ल्याएको घाँसले बनाएको गुँड(बासस्थान)।
असहजतातर्फ स्थिति
आजको राजनीति पैसामा अडेको छ। राजनीति पैसामा मात्र लुट्पुटिन खोज्छ पैसो राजनीतिसँग। आज संघीय संसद्का स्थानहरूमा मात्र ठेकदार, बैंकर र व्यवसायी छैनन्, बरु प्रदेश र स्थानीय तहमा समेत त्यस्तैको कब्जा छ। स्थानीय तहको नेतृत्व कतिपय ठाउँमा ट्रयाक्टर, ट्रिपर, डोजरवालाहरूले हातपारेका छन्। विकासका कामका लागि ढुंगा, बालुवा गिट्टी माटो नभई हँुदैन। अझ सिमन्टी ढलानवाला निर्माणका लागि सिमन्टी, गिट्टी, बालुवा र इँटाका लागि ढुंगा नभई हँुदैन। स्थानीय तहको नेतृत्व त्यसैकहाँ पुगेको छ। यसैले नदी खोलाको दोहनले हद नाघिसक्यो। ढुवानीका साधनको स्वामित्व उसको हातमा, स्थानीय तहको राजनीतिक नेतृत्व पनि उसैको हातमा। यसर्थ अब स्थानीय तहको ढुंगा, बालुवा, बोल्डर र पाँगो माटो जोगाउन धौ धौ भो। स्थानीय सरकारको नेतृत्वलाई कसरी बालुवा, ढुां र माटोको माया गर्ने÷गराउने ?
सँगसँगै जग्गा प्लटिङको अर्को माफियातन्त्र छ। यी माफियाले पानीको मुहान मासे, प्रकृतिको कला र मनोरञ्जन, चलखेलका ठाउँ (क्रिडास्थल) नै सिध्याए। अग्लो होचो ठाउँ सम्याएर प्राकृतिक संरचनाउपर आक्रमण गरिरहेकाछन्। यो पनि हद नाघ्न लागिसक्यो। प्लटिङ माफियाहरू आफ्नो तर्कमा छन्। जे हुँदापनि आज दशौँ दिशाबाट प्रकृतिमाथि नै प्रहार छ प्रकृतिको संरचना रहस्यमय सहअस्तित्व भएको सुक्ष्मातिसुक्ष्म अन्योन्याश्रितता र अन्तर्निर्भरताका जटिलता पैसा नै सबै थोक हो भन्ने माफियाहरूले कसरी बुझे बुझे ? यसैले आज झन् असजिलो अवस्था आइप¥यो। यी माफियाको सत्ता र अन्य शक्तिसँग पनि नजिक वा टाढाको माखेसाङ्लो रहेकाले देशको माटो, ढुंगा, बालुवा संरक्षण गर्न गम्भीर चुनौती भएर आयो। स्थिति सहज छैन।
प्रकाशित: ५ आश्विन २०७६ ०६:३५ आइतबार