३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

सी आउनुअघि सोच्नुपर्ने कुरा

दुर्गानाथ शर्मा
जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यी ३ दिन नेपाल भ्रमण गरी स्वदेश फर्किसकेका छन्। उनको भ्रमणको उद्देश्य आफ्ना राष्ट्रपति सी चिनफिङले गर्ने नेपाल भ्रमणको तयारीबारे नेपाल सरकारका पदाधिकारीसँग छलफल गर्नु थियो। भ्रमणको मिति तय भइसकेको छैन, तर निकट भविष्यमा सीले नेपाल भ्रमण गर्ने बताइएको छ।

विदेशमन्त्री यीको भ्रमणक्रममा नेपाल–चीन मन्त्रिस्तरीय वार्ता र तीनबुँदे समझदारी भयो। तर राष्ट्रपति सीको भ्रमणबारे चीन सकारात्मक छ भन्नेबाहेक अन्य कुरा आएन। चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगरेको दशक नाघिसकेको छ। हरेकपटक त्यहाँका राष्ट्रपति नेपाल भ्रमणमा आउने कुरा उठ्छ, तर अहिलेसम्म हुन सकेको छैन। तर चीन–बीच सहयोगको क्षेत्र निकै फराकिलो भइसकेको छ।

यसै सन्दर्भमा काठमाडौंमा विद्युत्बाट चल्ने ठूलो बस सञ्चालन सुरु भएको छ। सुन्दर यातायात प्रालिले उपत्यकामा यस्तो बस सञ्चालन गरेर एउटा नयाँ काम थालनी गरेको छ। यसले चीनले नेपाललाई दिएको पहिलो उपहार ट्रली बसको सम्झना गराउँछ। चीनले धेरै वर्षअघि विद्युत्बाटै चल्ने ट्रली बस सहयोग गरेर काठमाडौं उपत्यकाको एउटा सानै क्षेत्रमा भए पनि यातायात सेवा प्रदान गरेको थियो।

अब चाँडै हुने अपेक्षा गरिएको नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा चीन–नेपालबीच विकास र सहयोगका सम्भावनालाई वास्तविकतामा परिणत गर्न  सरकार र खासगरी परराष्ट्र मन्त्रालय अहिलेदेखि नै लाग्न जरुरी छ।

त्यसैले विद्युत्बाट चल्ने बसबारे नेपाली अनभिज्ञ छैनन्। तर ट्रली बस र अहिलेको विद्युतीय बसमा इन्धनको प्रणाली अलि फरक छ। ठाउँठाउँमा राखिएका बिजुलीका खम्बाबाट तार तानेर ट्रली बस चलाइन्थ्यो भने यो नयाँ बसमा ठाउँठाउँमा चार्ज गर्ने व्यवस्था गरिएको छ। अहिले पनि नयाँ बानेश्वरतिर ट्रली बसका भग्नावशेष देख्न सकिन्छ, जसले काठमाडौैंवासीलाई जिस्क्याइरहेकै छ।

चिनियाँहरू सोच्थे– नेपालमा जलविद्युत् पर्याप्त हुने भएकाले काठमाडौंमा ट्रली बस सञ्चालन नेपाललाई सस्तो र सुगम साधन हुन सक्छ। एकपटक राजा वीरेन्द्रले चीन भ्रमण गरेका बेला दुवै पक्षबीचको वार्तामा यो प्रसंग उठेको पनि हो। चीनले त्यसबेला नेपालमा राजाहरूलाई ठूलो सम्मान गथ्र्यो। नेपालका राजा चीन भ्रमणमा जाँदा एउटा विकास योजना उपहारका रूपमा दिने चलन थियो।

बैठकमा यो प्रसंग उठ्ता नेपालका तर्फबाट कुनै गृहकार्य भएको थिएन। त्यसैले नेपाली पक्षले कुनै योजना प्रस्तुत गर्न सकेन। चिनियाँ पक्षले काठमाडौंको त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बसका लागि अब रत्नपार्कमा एउटा ठूलो स्टेसन बनाएर त्यहाँबाट सहरका विभिन्न भागलगायत ललितपुर कीर्तिपुर र चक्रपथमा यातायात सञ्चालन गर्ने एउटा उपयुक्त र व्यावहारिक योजना आफूले सोचेको जानकारी दिएको थियो। त्यसका लागि चिनियाँ पक्षले मागेका आवश्यक तथ्यांक नेपाली टोलीका कसैले दिन सकेनन्। त्यसपछि राजा वीरेन्द्रले विभिन्न भाषा तत्काल अनुवाद गरी प्रसारण गर्न सक्ने व्यवस्थासहितको एउटा आधुनिक अन्तर्राष्ट्रिय सम्मेलन कक्ष आवश्यक रहेको कुरा राखेका थिए।

त्यसबेला हरेक वर्ष सार्कअन्तर्गतका राष्ट्रमा वर्णानुक्रमअनुसार शिखर सम्मेलन हुन्थे। चीनले राजा वीरेन्द्रलाई सहयोग गरेको सम्मेलन कक्षमा अहिले हाम्रा सांसद हल्ला गरेर बसेका छन्। नेपालमा एकपटक असंलग्न आन्दोलनको शिखर सम्मेलन पनि गराउने इच्छा राजा वीरेन्द्रको थियो।

चीनले नेपाल र यहाँको राजसंस्थालाई खुबैे आदर गथ्र्यो। किनभने धेरै पहिले एकताका चीन र भोटबीच लडाइँ हुँदा नेपाली सेनाले त्यहाँका थुप्रै कलात्मक वस्तु जितेर नेपाल ल्याएका थिए। ती सामान हाम्रा राष्ट्रिय संग्रहालयमा राखिएका थिए। पछि राजा महेन्द्रले ती सबै सामान फिर्ता गर्न लगाएपछि चीन नेपालप्रति अत्यन्तै खुसी भएको थियो। त्यसबेलाका चीनका अध्यक्ष माओत्सेतुङले आफ्ना मन्त्री र सबै अधिकारीलाई बोलाएर नेपाल हाम्रो असल छिमेकी हो, उसलाई सधैं सहयोग गर्नु र त्यहाँका राजालाई सम्मान गर्नु भन्ने आदेश दिएको भन्ने कुरा मैले चीनमै सुनेको थिएँ। त्यसैबेलादेखि चीन भ्रमणमा जाने नेपालका राजालाई एउटा योजना उपहार दिने चलन चलेको बताइन्छ।

त्यसबेला हाम्रा अधिकारी वर्गले यो कुरा उठाएर ट्रली बसको जालो काठमाडौंमा फैलाउन सकेको भए अहिले स्वच्छ वातावरणमा बिजुलीको रेल पनि चल्थ्यो र उपत्यकाको अहिलेको भद्रगोल ट्राफिक पनि सम्हालिने थियो। तर हामी आफूसित भएका चिज सदुपयोग गर्नतिरभन्दा नयाँ खोज्नतिर बढी जोड दिन्छौैं। अन्तमा ती दुवै नहुन सक्छ।

नेपाल र चीनबीच छिमेकी राष्ट्रका रूपमा अत्यन्तै राम्रो सम्बन्ध छ। चीनले जहिले पनि नेपालमा विकासका लागि धेरै उपयोगी योजना दिएको छ। अहिले विश्वमा क्षेत्रीय तहमै सम्बन्धका नयाँ आयाम देखापरेको छ। भारत र पाकिस्तानबीच कटु सम्बन्धले सार्कको भविष्य अन्धकार भएको छ भने ठूलठूला विकसित राष्ट्रले हामीप्रति राख्ने दृष्टिकोण पनि फरक हँुदै गएको छ। कुरा नबुझी जे पायो त्यही प्वाक्क बोल्ने हाम्रा नेताहरूको बानीले नेपालको अन्तर्राष्ट्रिय कूटनीति ठीक हुन सकेको छैन।

हामी केवल कुरा गर्छौं, काम गर्दैनौं। वास्तवमा हामीलाई ठूलो काममा सहयोग आवश्यक भए पनि सानातिना विकास गर्न हामी आफैं गर्न सक्छौं। हाम्रो जनशक्ति यहाँ काम नपाएर सबै विदेशिएका छन्। तिनलाई स्वदेशमै रोजगारी दिने योजना बनाएर काम गर्न सके, नेपालमा सम्भावनाका क्षेत्र धेरै छन्। तर हामी नेपाली कति अल्छी र काम नलाग्ने भएछौं भने हामी जनै र राखीका लागि डोरीहरू पनि चीनबाटै आयात गर्छौं। सागसब्जी र फलफूल बेच्ने पनि अर्कै मुलुकका मानिस, निर्माणका काम गर्ने मजदुर पनि अर्कै देशका ! अनि हामीचाहिँ संसारको अग्लो हिमालका जनता भनेर नाक फुलाएर मात्र बस्ने ? खोइ हाम्रो सरकारको अग्रसरता र केही गर्ने मानसिकता ? नेपाल र चीनबीच विकासका सम्भावना थुप्रै छन्। चीनले केरुङबाट रसुवागढी हुँदै रेल चलाउने, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को छनोटमा परेका योजनाहरू पनि अहिले त्यति चर्चा छैन। हाम्रो सरकारमा विकास गर्ने सोच भएका व्यक्तिहरूको अभाव हो कि ?

हामीले कहिल्यै चीन वा भारतसित जडीबुटी पाइने हाम्रा हिमाली क्षेत्रमा औषधि उत्पादन गर्ने एउटा कारखाना खोल्न सहयोग माग्यौं ? किनभने हामीलाई अरूबाट किनेर खाने बानी लागिसक्यो। हामी आफैं केही गर्दैनौं।

भारतले केही हप्ता नाकाबन्दी लगाउँदा भोगेका कठिनाइहरू नाकाबन्दी खुल्नासाथ हामी बिर्सिन्छौं। चीनसित मिलेर हामी धेरै विकास गर्न सक्छौं। यसको अर्थ भारतसँग सम्बन्ध सुधार नगर्ने भन्ने होइन। हाम्रा दुवै सम्पन्न छिमेकी भारत र चीनबाट हामीले सहयोग लिन सक्ने कुरा धेरै छन्। तर हामी नेपाली कुरा गर्न मात्र सिपालु छौं, काम गर्न भने जान्दैनौं। चीन र भारत दुवैले नेपालका लागि धेरै काम गरिदिएका पनि छन्। अहिले त झन् यस क्षेत्रमा पाकिस्तान र भारतको सम्बन्धबाहेक क्षेत्रीय सम्बन्ध पनि राम्रो छ।  चीन र भारत पनि कुनै दिन पुरानो कटुता बिर्सेर आपसमा सहयोग आदानप्रदान गर्दै विकास गर्नेतर्फ लाग्ने छन्। आपसमा वैमनस्यता र विरोध होइन, प्रेम र सद्भावपूर्ण सम्बन्धबाट विकास गर्न र अगाडि बढ्न सकिन्छ भन्ने कुरा धेरै देशले प्रमाणित गरिसकेका छन्।

त्यसका लागि देशका सरकारहरू, राजनीतिक दलहरू, विज्ञहरूबीच आपसी सहयोग र समन्वय आवश्यक हुन्छ। देश र जनताभन्दा पनि आफू र आफ्नै परिवारको मात्र स्वार्थ हेर्नेतिर लाग्यौं भने विकास भन्ने कुरा त कल्पना मात्र हुन्छ। नेपालजस्तो गरिब र पछौटे अनि शिक्षामा पछाडि परेको देशका लागि त यस्तो चरित्र अभिशाप नै साबित हुन्छ।

अब चाँडै हुने अपेक्षा गरिएको नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा चीन र नेपालबीच विकास र सहयोगका सम्भावनालाई वास्तविकतामा परिणत गर्न  सरकार र खासगरी हाम्रो परराष्ट्र मन्त्रालय अहिलेदेखि नै लाग्न जरुरी छ। चीनको विकासको बाछिटा मात्र भए पनि नेपालमा पार्न सकियो भने धेरै प्रगति हुन सक्छ। हामीप्रति रहेको सबैको सहयोग र सद्भाव उपयोग गर्ने अवसर यही हो।

हाम्रो देशलाई प्रकृतिले धेरै दिएको छ, हामीले त्यसको सदुपयोग गर्न नसकेका मात्र हौं। हाम्रो मुलुकमा जस्तो सुन्दर प्रकृति संसारमा कहीं छैन। हामीसँग जडीबुटीको भण्डार छ। जुन अरू देशसँग छैन। तर हामी ती अमूल्य चिज अन्य मुलुकलाई सस्तोमै बेच्छौं अनि त्यसबाटै बनेका औषधि महँगो मूल्यमा किनेर खान्छौं। हामीले कहिल्यै चीन वा भारतसित जडीबुटी पाइने हाम्रा हिमाली क्षेत्रमा औषधि उत्पादन गर्ने एउटा कारखाना खोल्न सहयोग माग्यौं ? किनभने हामीलाई अरूबाट किनेर खाने बानी लागिसक्यो। हामी आफैं केही गर्दैनौं। अब पनि यस्तै सोच राख्ने हो भने हामी धेरै पछाडि पर्नेछौं होइन, पछाडि परिसक्यौं।

प्रकाशित: ३० भाद्र २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App