अनामिका रिसाल
छोराछोरीको अनुहार कतै न कतै आमाबुबासँग मेल खान्छ। मेरो पनि त्यस्तै हो, तर ठ्याक्कै भन्नुपर्दा मचाहिँ दुरुस्तै आफ्ना हजुरबुवाजस्तो देखिन्छु। मेरा हजुरबुवा हुन्– भैरव रिसाल उर्फ भैरव दाइ। आज (बुधबार)बाट उहाँ ९२ वर्षको हुनुभयो। उमेर उकालै लागे पनि हेर्दा ७० वर्षका जस्ता देखिनुहुन्छ। स्वर उहाँकी नातिनी मेरोभन्दा युवा सुनिन्छ। उमेरले ९ दशक काटे पनि उहाँको दिनचर्या अझैं ब्रह्ममुहूर्तबाटै सुरु हुन्छ।
कहिलेकाहीँ बिहान सवा ६ बजे चिया पु-याउन जाँदा म उहाँलाई विभिन्न योगासानमा पाउँछु। र, आसनमै छँदा उहाँ मलाई सोध्न पनि भ्याउनुहुन्छ– ‘जिम जाने बेला भएन ?’ यसो विचार गर्दा हामी हजुरबुवा र नातिनी मिलेर व्यायामशाला नै खोले हुन्छ जस्तो लाग्छ, कहिलेकाहीँ। किन ? किनकि उहाँ योग सिकाउन सक्नुहुन्छ र म ५ वर्षे अनुभवका आधारमा जिमको प्रशिक्षण दिन सकिहाल्छु। घोत्लिएर सोच्दा त त राम्रै व्यापार होला जस्तो मान्छु ! व्यायामशालाको नाम पनि सोचिसकेकी छु– रिसालबाकी नातिनीको फिट्नेस सेन्टर।
बिहान साढे ७ बजेसम्म घरमा चारवटा पत्रिका आउँछन्, जुन उहाँ हेर्ने मात्र होइन, गहिरोसँग अध्ययनै गर्नुहुन्छ। कसरी ? पत्रिकामा भनेको कुरा नबुझेपछि उहाँ सम्बन्धित क्षेत्रका विज्ञलाई फोन गरेर गहिराइमा पुग्नुहुन्छ। यो उमेरमा पनि गज्जब त के छ भने हप्तामा उहाँका तीनवटा लेख पत्रपत्रिकामा छापिन्छन्। यस्ता रचना तयार गर्न आवश्यक जानकारी जुटाउन उहाँ ८/१० वटा पुस्तकमाझ घेरिएर बसेको मैले सधैँजसो देख्ने गरेकी छु। अझ रमाइलो कुरा के छ भने उहाँका हस्तलिखित रचनालाई मेरी हजुरआमा सुशीलाले कम्प्युटरमा टाइप गरिदिनुहुन्छ।
आफ्नो पेसा तथा कर्मप्रति अविचलित र इमान्दार भएर अघि बढ्नु, भैरव रिसालको आजसम्मको जीवनको निचोड हो भन्दा अत्युक्ति नहोला।
वाह ! क्या टिम–वर्क छ। उमेरमा १४ वर्ष फरक भए पनि उचाइ झन्डै बराबर रहेकाले उहाँहरूलाई चखेवा–चखेवीको जोडी भन्दा पनि फरक पर्दैन। मेरा हजुरबुवा, जसलाई म ‘बाबा’ भन्छु, उहाँ वर्षमा तीनपटक अत्यधिक उत्साही बन्नुहुन्छ। फेरि अन्य समयचाहिँ नजोसिने होइन है ! पहिलो, प्रि–बर्थडे। दोस्रो– बर्थडे र तेस्रो पोस्ट–बर्थडे। सुन्दा अचम्म लाग्ला– तर यो वास्तविकता हो। प्रि–बर्थडेमा उहाँ, मन मिल्ने झन्डै २ सय साथी– ३० देखि १०० वर्षसम्म उमेरका, लाई उत्साहका साथ फोन गरेर निमन्त्रणा गर्नुहुन्छ। बडा जोसमा देखिनुहुन्छ बाबा यतिबेला, धप्पक्क बलेजस्तो।
बर्थडे अर्थात् साउन २९ गते (आज), त बाबाको ऊर्जा झन्डै शिखरमै पुग्छ। बिहानैदेखि आफन्त तथा साथीभाइको बधाई थाप्न व्यस्त बाबा राति अबेलासम्म आगन्तुक/पाहुनासँग समसामयिक विषयवस्तुमा छलफल गर्नुहुन्छ। मेरा लागि यो दिनको रमाइलो पाटो के हो भने बाबाको बधाईको पोको भने मैले नै खोल्न पाउँछु। एकपटक एकजनाले उपहारमा जुजुधौ दही दिनुभएको थियो। बस ! के चाहियो ? सुत्केरीका नाममा कुखुराको टाउको नभए पनि बाबाका नाममा दही मैले खाएँ।
अब चर्चा गरौँ– पोस्ट–बर्थडेको। यो दिनलाई मैले ‘क्लोजिङ सेरोमोनी’ अर्थात् समापन समारोह भन्ने गरेकी छु। बाबालाई बधाई दिने तथा उहाँको निमन्त्रणा स्वीकार गरेर आउने सबैलाई उहाँ फोनबाटै धन्यवाद ज्ञापन गर्नुहुन्छ। म बाबालाई चिन्नसक्ने भएको बेलादेखि नै उहाँ एक सक्रिय तथा निष्ठावान् पत्रकारका रूपमा परिचित हुनुहुन्छ। तर पछिल्लो समय बाबाले गरेका सामाजिक कार्य तथा समाजमा स्थापना गर्न खोजेको नयाँ तथा पृथक मानकले उहाँको परिचयको दायरा अझ परिष्कृत र फराकिलो बन्दै गएको छ। यस तथ्यमा उभिएर भन्नुपर्दा बाबालाई म क्रान्तिकारी सामाजिक अभियन्ता भन्न रुचाउँछु। कसरी ?
केही वर्षअघि उहाँ तथा हजुरआमाले मरणोपरान्त आफ्नो शरीर अस्पताललाई दान गर्ने निर्णयले समाजमा ठूलै हलचल ल्याएको थियो। चिकित्साशास्त्रका विद्यार्थीलाई चिरफारका निम्ति अत्यावश्यक मृत शरीरको ज्यादै अभाव भइरहेको थाहा पाएपछि उहाँले यस्तो निर्णय गर्नुभएको थियो।
यसैगरी केही समययता इच्छा मृत्युका पक्षमा सशक्त ढंगले वकालत गर्न थालेदेखि उहाँ एउटा क्रान्तिकारी सामाजिक अभियन्ता भएको पुनः पुष्टि भएको छ। इच्छा मृत्यलाई राज्यले मान्यता देला वा नदेला, त्यो बहसको अर्को पाटो हो, तर यसले व्यक्तिको मर्न पाउने अधिकार भने सुरक्षित गर्छ, जसको प्रयोगले (राज्यले मान्यता दिएको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि)व्यक्तिलाई सहज मृत्यु वरण गर्न पाउने सुविधा उपलब्ध हुनेछ।
पारिवारिक आँखाबाट हेर्दा भने बाबालाई म सरल, तर अलिक हौसिने स्वभावको देख्छु, जसको (हौसिने स्वभाव) चपेटामा म पटक–पटक परेकी छु। एकपटकको घटना हो– उहाँको हिँड्ने रुचिलाई समर्थन गर्दा मैले चर्को घाममा झन्डै ४ घण्टा हिँड्नुपरेको थियो। त्यसबेला म मात्र १२ वर्षकी थिएँ। र, त्यस दिनपछि म बाबासँग लामो समय हिँड्न चाहिनँ। तर त्यसैको प्रभाव होला– हिजोआज भने ममा पनि हिँड्ने चाहना बढेको छ, तर चर्को घाममा चाहिँ होइन है !
जहाँ पनि रोल–मोडलको कुरा आउँछ। बाल्यकालदेखि नै मेरो मुखमा बाबाको नाम आउँथ्यो। उहाँले समाजका लागि गरेको योगदान, परिवारका निम्ति गरेको अथक संघर्ष र जटिल शारीरिक अवस्थामा पनि देखाएको आत्मबल मेरा लागि प्रेरणादायी छन्।
यसै प्रसंगमा, केही वर्षअघि एउटा सानो दुर्घटनाका कारण बाबा शारीरिक रूपमा निकै दुर्बल बन्न पुग्नुभयो। तर २ वर्षको फिजियोथेरापी, हजुरआमा तथा परिवारको निरन्तर साथ–सहयोग र बाबाको जीवन जिउने कलाका कारण उहाँ पुनः सक्रिय अवस्थामा फर्किनुभयो।
‘सादा जीवन, उच्च विचार’ सिद्धान्तमा अडिग बाबाले कतिपय अवस्थामा म र मेरा पुस्ताका लागि एउटा चुनौती पनि प्रस्तुत गरेको म अनुभव गर्छु। विशेष गरेर देशको आजको अवस्था, जहाँ सबैजसो क्षेत्रमा नैतिकताको चरम अभाव महसुस हुन थालेको छ। यस्तो स्थितिमा पनि आफ्नो पेसा तथा कर्मप्रति अविचलित र इमान्दार भएर अघि बढ्नु, भैरव रिसालको आजसम्मको जीवनको निचोड हो भन्दा अत्युक्ति नहोला।
र, तपाईंको यही प्रेरणादायी कर्मका कारण आज म यो लेख नलेखिरहन सकिनँ।
म नातिनीका तर्फबाट जन्मदिनको मुरीमुरी शुभकामना बाबा !
प्रकाशित: २९ श्रावण २०७६ ०३:३० बुधबार