२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

युरोपबाट कर्णाली नियाल्दा

वसन्ती शाही
मेरो प्यारो कर्मभूमि कर्णाली, मैले युरोपबाट तिमीलाई नियाल्दा तिमी त अझै ढुंगे युगमै पो छौ। तिमी त यहाँको विकासको कल्पना पनि गर्न सक्दैनौ। तिम्रो विकासको गति अनि नियति सम्झेर कहाली लागेर आयो। यहाँ त म हेरेको हे¥यै भएँ। यहाँ त जमिनमाथिको के कुरा, जमिनमुनि पनि मानव बोकी हिँड्ने अजंगका रेलगाडी चल्ने रहेछन्। आकाशमा पनि हाम्रो गाउँभरिका मान्छे एकैसाथ बोकेर उड्ने चीलगाडी छन्। पैसा गन्नुपर्दैन, कागतको पत्ता सुँघाएर मानिस रेल र मोटर चढ्छन्।

मान्छे हिँड्ने बाटा छुट्टै छन्, साइकल कुदाउने अर्कै। कर्णाली, तिमी त अझै चरचरी फुटेका खुट्टाका तलुवा खियाउँदै छौ। गाडी चढ्नु त के देख्नसमेत पाएका छैनौ। नदी वारपार गर्न अझै डोरीमा झुन्डिन्छौ। पिँठ्युका भारी र थाप्लाका नाम्ला जिउँका तिउँ छन्। हसियाँ, कुटो हातमै छन्। तिमी हिँड्ने बाटा दायाँबायाँ दिसापिसाब छन्। सिस्नु, बेथे र भाङ पलाएका छन्। यहाँ त पानी बोकेको गाडीले एकाबिहानै बाटो धुन्छ। धुलोका कणसम्म देखिँदैन। तिमीले त अझै स्वच्छ खानेपानी पनि पाएका छैनौ। तिर्खा लाग्दा खोलामै मुख जोत्नुपर्छ। भोक लाग्दा के खाने भन्ने पीडा बर्सेनि छ।

खाना पकाउन दाउरा बोक्दा–बोक्दा तिम्रा महिलाका ढाडका छाला बाक्ला भइसके। तर यहाँ त खाना पकाउने ग्यासका पाइप घरमै जोडिएका छन्। बटम दबाउँदा चुलोमा आगो बल्छ। खाना पाक्छ। यहाँका मानिस घरमै बसीबसी आवश्यक सामान किन्छन्। बजारसम्म पुग्नै पर्दैन। यहाँ नोट पैसा हैन, नोट कार्ड चल्छ। कतै पैसा तिर्नुपर्दा नोट गन्दैनन्, कार्ड सुघाउँछन्। सेकेन्डमै सबै काम खतम। तिमी त अझै पनि कति रुपीयाँको नोट हो, चिन्दैनौ। किनकि तिमी स्कुल जान पाएका छैनौ। तिम्रा नानीहरूलाई गाईवस्तुका पछाडि हिँड्न अझै छुटाउन सकेका छैनौ। छोरीलाई त झन् अंशबाट वञ्चित र वंशको नाइके बनाएका छौ।  हुन त तिमीसँग के नै छ र दिन्छौ, छोरीलाई।

यहाँ त खेतीपातीका सबै काम मेसिनले नै गर्छ। जोत्छ। बिउ छर्छ। गोडमेल गर्छ। पानी हाल्छ। मल हाल्छ। बाली काट्छ। भारी बनाउँछ। अनि मेसिनले नै कुट्छ, पिस्छ। यहाँ त सबैभन्दा धनीमानी किसान नै छन्। विचरा, तिमी त भोको पेटमा पटुकी कसेर बिहानदेखि बेलुकासम्म यी सबै काम हातैले गर्छौ। आफ्ना साना नानीबाबुलाई बारीको डिलमा सुताएर गोडमेल गर्छौ। सिँचाइ सुविधा छैन। आकाशे पानीको भरमा गरिने तिम्रो खेती, बालीनाली फूल फुल्न लाग्दै सुक्छ। तिमी आफ्नो सुकेको बाली हेरेर रुन्छौ, हात माड्छौ र मौसमलाई सराप्छौ।

यहाँ त यो पुरुष र महिलाले गर्ने काम भनेर छुट्याइएको छैन। जसले जे गर्न सक्छ, जे काममा रुचि छ, महिला–पुरुष नभनी सबैले गर्छन्। परिवार मिलेर हप्ताभरि काम गर्छन्। र, अन्त्यमा बिदा मनाउन सबै सदस्य सँगै घुम्न निस्किन्छन्। तर तिम्री महिला त आफ्ना पुरुषसँग घुम्न जानु त कता हो कता, घरमा सँगै बस्न पनि पाउँदिनन्। तिम्रा पुरुष परिवारको आधारभूत आवश्यकता पूरा गर्न विदेश जानैपर्छ। अनि के को सँगै घुम्नु ! कमाउन परदेश गएका श्रीमान्को बाटो हेर्दाहेर्दै उनको जवानी सकिन्छ। पैसा ल्याउनुको साटो तिम्रा पुरुष छिमेकी देशबाट आफ्ना महिलाका लागि निको नहुने रोगे लिएर आउँछन्। त्यही कोसेलीले दुवैको जीवन समाप्त हुन्छ।

घरबाट टाढा बस्ने परिवारका सदस्यसँग न्यास्रो लाग्दा कुरा गर्न फोनको समेत सुविधा तिमीलाई छैन। यहाँ त सबैका हातहातमा मोबाइल, ट्याब। ट्विटर, भाइबर, मेसेन्जर के के हो के के ! तर तिम्रोबारे पनि एउटा राम्रो कुरा सुनेकी थिएँ। तिम्रो प्रदेशलाई डिजिटलाइज्ड गर्ने भनेर। यसको अर्थ त बुझेका होलान् नि, तिम्रा योजनाकारहरूले, हैन ? योजना धेरै राम्रो हो तर यो बनाउँदैमा सबै कुरा कहाँ हुन्छ र ! त्यसका  लागि पूर्वाधार खोइ ? प्रयोग गर्न जान्ने जनता उत्पादन गर्न सकेको खोइ ?

यहाँ त योजनाअनुसार  काम सुरु गरिहाल्ने चलन छ। थालेका काम समयभित्रै सक्नुपर्छ भन्ने मान्यता छ र सक्छन् पनि। बाटो खनेर छिसिक्क ढुंगामाटो छाडेको देखिँदैन यहाँ त। तिम्रोमा त बाटो खनेको हो कि पहिरो गएको, बुझ्नै सकिन्न। विकास योजना त पैसा खाने बाटा बनेका छन्। तिमीलाई त विकास खाने क्षेत्र पो भन्छन् त ! अब त अति भयो विकास नखाऊ, गरेर देखाऊ। विश्व कहाँ पुगिसक्दा पनि तिमी ढुंगे युगमै बसिरहन नखोज। अरूले गरेको हेर। आफू गर्न खोज र गराउन खोज।

प्रकाशित: २६ असार २०७६ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App