सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूका विरुद्ध भ्रष्ट आचरण नै भ्रष्टाचार हो। भ्रष्टाचार अहिले विश्वको एउटा जटिल समस्याका रूपमा देखिएकाले यसलाई निर्मूल गर्न निरन्तर लागिपरेका छन् सबै। आर्थिक, नैतिक, सामाजिक र नीतिगत भ्रष्टाचारका स्वरूप हुन्। देशमा यसरी क्रमबद्धरूपमा भ्रष्टाचार हुँदै गयो भने देशको अर्थतन्त्र ओरालो लागी समृद्ध देश बनाउने अर्थतन्त्रको आधारशीलामा नै प्रहार हुन पुग्छ। भएको पनि छ। नेपालमा भ्रष्टाचारविरुद्धको संवैधानिक निकायका रूपमा काम गर्ने भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो। यसले भ्रष्टाचारविरुद्ध संवैधानिक निकायको रूपमा काम गरिरहे तापनि पछिल्लो समयम नियतमा खोट भएका केही भ्रष्ट कर्मचारीले गर्दा सिङ्गो अख्तियार नै भ्रष्टाचारमा मुछिएजस्तो देखिएको छ।
भ्रष्टाचारको अन्त्य गर्ने निकाय नै भ्रष्टाचारमा संलग्न हुनु भनेको सबै मिली सामूहिक भ्रष्टाचार गर्न लाग्नु हो। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१८ मा १ सय ८० वटा देश समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औँ स्थानमा छ। यो तथ्यले नेपालमा अत्यधिक भ्रष्टाचार हुने गरेको छ भन्ने बुझन् गाह्रो छैन। राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनलगायतका अन्य मापदण्डलाई अनुसन्धानका आधारमा जसरी प्राप्त अंकहरूको औसत निकालेर सूचकांकका आधारमा भ्रष्टाचारको तथ्य निकालिन्छ, त्यसरी नै नेपालमा भ्रष्टाचारको जालो दिन÷प्रतिदिन ठूलो हुँदै गएको छ।
भ्रष्टाचारविरुद्ध सबै एकजुट हुन नसकेकै कारण आज राष्ट्रिय अर्थतन्त्रमा विकराल अवस्था छ। हामी सबै भ्रष्टाचारलाई पूर्णरूपमा निर्मूल गर्नका लागि आ–आफ्नो ठाउँबाट सामूहिक अभियान चलाएनौँ भने भ्रष्टाचारले देशलाई अबका केही वर्षभित्रै कंगाल बनाइदिनेछ। भ्रष्टाचारविरुद्ध लड्न राजनीतिक, व्यवस्थापकीय, कानुनी र नियामक क्षेत्रमा आमूल सुधार आवश्यक छ। सर्वप्रथमतः भ्रष्टाचार नगरेकै राम्रो। कहीँ कतै भ्रष्टाचार गरेको पाइएमा पहिला सुध्रने मौका दिनुपर्छ। सुधने मौका दिँदा पनि सुध्रिएन भने कानुनअनुसार कारबाही गर्नुपर्छ। यदि सजायको भागिदार बन्न नदिएको खण्डमा भ्रष्टाचारीलाई तत्काल सचेत आमनागरिकले समाज बहिष्कारलगायतका नैतिकरूपमा दबाब दिने र हतोत्साहित तुल्याउने काम गर्नुपर्छ।
अहिले देशमा जहाँतहीँ भ्रष्टाचार व्याप्त छ। मानवीय मूल्य र मान्यताविपरीतको काम गर्नेहरूलाई स्वतन्त्ररूपमा छानबिन गरी निष्पक्ष कारबाही नहुनले पनि भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्न लगाउनेहरूलाई प्रोत्साहन मिलिरहेको छ। देशका सामान्य नागरिकदेखि राज्य सत्ता सञ्चालन गर्नेसम्म अनगिन्ती भ्रष्टाचारमा लिप्त भएका कारण देशको कानुन निरीह बनाइएको छ। राष्ट्रका दुश्मन भनेका भ्रष्टाचार गर्ने र गर्न लगाउने दुवै हुन। यिनले राज्यको मूल कानुनभन्दा माथि रहेर व्यक्तिगत स्वार्थका लागि काम गरिरहेका हुन्छन्। त्यसैले देशमा जबसम्म भ्रष्टाचार शतप्रतिशत निर्मूल हुँदैन तबसम्म देश समृद्ध हुन सक्दैन।
हाम्रो देशमा घर÷परिवारबाट भ्रष्टाचार गरेपछि स्यावासी पाइने गरेकाले पनि भ्रष्टाचार निर्मूल हुन सकेको छैन। भ्रष्टाचार गर्नेभन्दा पनि भ्रष्टाचार गर्न बाध्य बनाउनेहरूको आचारण सुध्रनुपर्छ यस अर्थमा। भ्रष्टाचार नियन्त्रण गर्नका लागि घरदेखि नै लाग्नुपर्छ। भ्रष्टाचार नियन्त्रणका लागि भन्दै सेतो कागजमा कालो मसीले लेखेर खोक्रा भाषण गरेरमात्र हुदैन। तनमनदेखि नै भ्रष्टाचार हटाउन लाग्नुपर्छ। देशमा राज्यसत्ताका लागि धेरै आन्दोलन भए तर भ्रष्टाचारविरुद्ध अहिलेसम्म कुनै आन्दोलन भएन। त्यसैले पनि यो बढिरहेको छ। कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ दैलेख
प्रकाशित: २५ असार २०७६ ०३:०९ बुधबार