२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

व्यावसायिक क्लबको दायित्व

खेल्दा कहिले टाउको जुधेर खेलाडी घाइते हुन्छन् त कहिले गोडा ठोकिएर घाइते हुन्छन्। कहिले मैदान एवं रिङमा पछारिएर घाइते हुन्छन्। केही वर्षअगाडि एक जना फुटबलमा खेलाडी टाउको जुधेर अचेत भए। उनलाई वीर अस्पताल पुर्‍याइयो। डा. उपेन्द्र देवकोटाको रेखदेखमा उपचार हुँदा पनि उनी पन्घ्र-बीसपछि मात्र अचेत अवस्थाबाट बौरिए। उनलाई सपनाबाट उठेजस्तो भयो। उपचारपछि उनी अस्पतालबाट बाहिरिए। डाक्टरले उनलाई होसियारीपूर्वक खेल्न सुझाव दिए।

केही महिनाअगाडि फुटबल खेल्दाखेल्दै एक जना खेलाडीको निधन भयो। प्रशिक्षणकै क्रममा उसुका खेलाडी मरे। खेलकुदमा यस्ता घटना भइरहने गर्छन्। तर तिनको मृत्युको अनुसन्धान प्रतिवेदन भने कहिलयै बाहिर आउँदैन।

खेलाडीलाई प्रशिक्षणमा छनौट गर्नुपूर्व उसको विस्तृत शारीरिक एवं मानसिक स्वास्थ्यको जाँच गर्नुपर्छ। स्वास्थ्य परिक्षणबाट उसको शारीरिक अवस्था एवं क्षमता थाहा पाउन मद्दत पुग्छ। कुन खेलाडीले कहिलेसम्म खेल्न सक्नेछ र कति उमेर पुगेपछि उत्कृष्ट प्रदर्शन गर्न सक्छ भन्ने चाहिँ शारीरिक एवम् मनोवैज्ञानिक परीक्षणबाट मात्र थाहा हुन्छ। मुटु, कलेजा र पेटको समस्या, टाउको दुख्नेलगायत अन्य रोगबाट ग्रसित खेलाडीले चाहेर पनि खेल्न सक्दैनन्।

कहिलेकाँही प्रारम्भिक अवस्थामा परीक्षणबाट रोग नदेखिए पनि खेल्दै र उमेर बढ्दै जाँदा रोग देखापर्न सक्छ। यसैले, समयसमयमा खेलाडीको नियमित स्वास्थ्य परीक्षण भइरहनु पर्छ। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत मेडिकल रिसर्च सेन्टरबाट समयसमयमा स्थापित र नव आगन्तुक खेलाडीको स्वास्थ्य विवरण राख्ने परीक्षण गर्ने गर्नुपर्छ।

युरोपमा खेलाडीको व्यक्तिगत विवरण राखिएको हुन्छ। उनीहरूको ६/६ महिनामा निमयित जाँच गरिन्छ। नियमित परीक्षणबाट औषधि खानुपर्ने, आराम गर्नुपर्ने वा खेल्नै बन्द गर्नुपर्ने सुझाव दिइएमा सबैले मान्नुपर्छ।

हामीकहाँ पनि अब त व्यावसायिक क्लब पनि जन्मिसकेका छन्। व्यावसायिक क्लबले आफ्ना खेलाडीको शारीरिक तथा मानसिक स्वास्थ्य विवरण राखेका छैनन् भने तुरुन्त बनाउनु पर्छ। अस्पताल छँदैछन् घाइते भए, दुर्घटना भएभने उतै पुर्‍याउँला नि भन्ने सोचले व्यावसायिकता परिपक्व हुन्न। खेलाडीको शारीरिक तथा मानसिक स्वास्थ्य विवरण तयार गरी बिमा गर्ने प्रथा सुरु गर्नुपर्छ। यसैगरी खेलाडीको प्रस्तुतिका बरेमा थाहा पाउनका दैनिक प्रतियोगिता एवं प्रशिक्षण कार्यको भिडियो (दृश्य सामग्री) खिच्ने गर्नुपर्छ।

खेलाडीले खेललाई कसरी लिएको देखिएको छ भन्ने जानकारी उनीहरुलाई दिन सक्नुपर्छ। कयौं खेलाडी शरीरले खेल्न चाहँदाचाहँदै पनि मनमस्तिष्कले नचाहँदा अर्थात् मनोशारीरिक समन्वयको अभावले राम्ररी खेल्न सक्तैनन्। म स्वस्थ छु, मेरो शरीर स्वस्थ छ भनेकै भरमा खेलाडीले खेल्न सक्ने होइन। शरीरसँगै मन पनि स्वस्थ हुनुपर्छ। मनले मानेन भने शरीरले खेल्नै सक्तैन। शरीरलाई मनले सञ्चालन गर्ने हो। यसैले खेलाडीले मन स्वस्थ्य राख्न सक्नुपर्छ। मनभित्रको उत्साह-उमंग, जोसजाँगर मर्‍यो भने त खेल जीवनै सकिन्छ।


खेलाडीको मन स्वस्थ, सन्तुलित, उत्साही हुनुपर्छ। मनमा भएका कुरा नै शरीरबाट प्रतिविम्बित हुन्छन्। मनलाई सधैँ सकारात्मक सोचतर्फ निर्देशित गर्न सक्नुपर्छ। खेल जीवन धेरै घात र प्रतिघात, उतारचढावयुक्त हुन्छ। खेलाडीले सँधै मानसिक संघर्ष पनि गरिरहनुपर्छ। यसैले सकारात्मक सोच भएमात्र खेलाडी शिखरमा पुग्न सक्छन्। अतः व्यावसायिक क्लबहरूले खेलाडीको मनोशारीरिक एवं स्वास्थ्य विवरण राखेर कम्तीमा तीनतीन महिनामा उनीहरूको नियमित परीक्षण गर्नसके अपेक्षित सफलता प्राप्त गर्न सकिन्छ।

प्रकाशित: ११ आश्विन २०६७ २१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App