१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कांग्रेसलाई निःशुल्क सल्लाह

नेपाली कांग्रेसको प्रथम चरणको ‘राष्ट्रिय जागरण अभियान’ सम्पन्न भएको छ। यस अभियानबाट देशवासी, कांग्रेस कार्यकर्ता, नेता, शुभेच्छुक र समर्थकहरू कति जागृत भए र कुन पक्षमा जागृति पलायो भन्न सकिन्न।
कांग्रेस नेताहरू कार्यकर्ताका घरदैलोमा पुगे, भेटे र कुरा सुने, आफ्ना कुरा राखे। यो पक्षबाट कांग्रेसको प्रथम चरणको ‘नेता कार्यकर्ता भेटघाट कार्यक्रम’ सकिएको छ। भेटघाट कार्यक्रम उपलब्धिमूलक भएको छ।

नेता–कार्यकर्ताबीच भेटघाटका दृष्टिकोणबाट हेर्दा जागरण अभियान औसतभन्दा माथि र उत्साहप्रद नै छ। सही अर्थमाभन्ने हो भने कांग्रेसमा नेता र कार्र्यकर्ताले सबैभन्दा रुचाउने विषय नै भेटघाट हो। यस्ता भेटघाट र भलाकुसारी गतिविधिले ‘डिप्रेसनबाट ग्रस्त’ कांग्रेसलाई केही चलायमान अवश्य गराउँछ। तर पार्टी जागृत गराउन त साँच्चिकै अभियान नै चाहिन्छ। जागरण अभियानमा वैचारिक पक्षको महत्व हुन्छ, यो चेतनासँग जोडिन जान्छ। तर यसको निमेष पनि देखिएन जागरणमा।

थकित थोक कांग्रेस नेता   
माथि मैले डिप्रेसनबाट ग्रस्त कांग्रेस यसकारण भनेको हो, तीन दशकदेखि कांग्रेसलाई प्रतिनिधित्व गरेर ‘पार्टी सत्ता र राज्य सत्तामा’ बसेका अधिकतर कांग्रेस नेता ऊर्जाविहीन छन्, थाकेका छन्। यी नेता पार्टीका ‘अनिवार्य इभिल’ झैँ भएका छन्। यिनमा कुनै नयाँ कल्पनाशिलता छैन, नयाँ नेपाल निर्माणको सोच र सक्रियता पनि छैन। यी कोठे छन् र यिनले राजनीतिलाई ‘पार्ट टाइम’ विषय बनाएका छन्। यस्तो नेतृत्व समूहबाट जागरण अभियान होइन, ‘कुम्भकर्ण अभियान’ मात्र सम्भव हुन्छ।

भारतीय राष्ट्रिय कांग्रेसले भर्खरै सम्पन्न लोकसभा चुनावमा नराम्रो पराजय भोग्यो।  भारतीय कांग्रेसको नियति यस्तो हुनुमा त्यो पार्टीमा भएको अक्षम वंश नेतृत्वसँगको निर्भरता, उमेर पुगेका थकित र दीर्घ रोगीहरूको पार्टीमा हालीमुहाली र पार्टीको आन्तरिक जीवन व्यवस्थापनमा भित्रिएको अराजकता जिम्मेवार मानिन्छन्। नेपाली कांग्रेसले विगतमा सम्पन्न तीन तहका निर्वाचनमा पराजयपछि पार्टीमा पुनर्जागरण ल्याउन यसका नेताले त्याग गर्लान् भन्ने थियो। भएन। नेका यथास्थितिमा रह्यो। भारतको लोकसभा निर्वाचनमा भारतीय कांग्रेसको पराजयबाट शिक्षा लिएर नेकाले नयाँ पहल गर्ला भन्ने आशा पनि समाप्त भयो। अर्थात् नेपाली कांग्रेसका नेताहरू आत्ममुग्ध, असुरक्षित र दिगामी रूपमा अशक्त देखिए।

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ र छ, राष्ट्रको हितमा पनि।

जागरण भयो, पुनर्जागरण गर      
जागरण अभियान आफैमा बृहत् कार्य हो। र, यो कार्य नेपाली कांग्रेसका संस्थापक नेताहरूले धेरै वर्षअगाडि सम्पन्न गरेका हुन्। कांग्रेस कुन विचारबाट गतिवान् हुनुपर्छ। राज्य के हो, राज्यका निकाय कस्ता हुनुपर्छ ? कस्तो सरकार निर्माण गर्ने ? यस्ता धेरै पक्षलार्ई कांग्रेसका संस्थापक नेताहरूले नेपाली समाजमा स्थापित गराएका छन्।

कांग्रेस संगठन कस्तो हुनुपर्छ ? संगठन हाँक्ने नेता कुन गुणवेत्ताको हुनुपर्छ ? कांग्रेसका कार्यकर्ता कस्तो हुने ? कांग्रेसको उद्देश्य के हो र यो कसका पक्षमा उभिनुपर्छ ? यस्ता थुप्रै विचार, विमर्श र बहस कांग्रेसका संस्थापक नेताहरूमार्फत नेपाली समाजमा स्थापित छ। कांग्रेसको पहिचान यही हो। अहिले नेपाली समाजमा कांग्रेसको पुरानो पहिचान गुमेको छ। तसर्थ त्यसलाई पुनस्र्थापित गर्न जागरण होइन ‘पुनर्जागरण’ खाँचो छ।

पुनर्जागरण कसले गर्ने ?
पुनर्जागरण कांग्रेसमा कोबाट र कसरी हुन्छ ? कुन जिल्ला र व्यक्तिको पहलमा कहिले होला ? यसबारे सल्लाह दिने काम राम्रो मानिन्न। कांग्रेसमा सल्लाह दिने–लिने परम्परा ०४६ सालको परिवर्तनपछि समाप्त भएको छ। तसर्थ सल्लाह र उपदेश दिने कामबाट जति टाढा बस्यो उति राम्रो मानिन्छ, कांग्रेस वृत्तमा।

तर पनि देशमा सशक्त प्रतिपक्ष लोकतन्त्रको आधार हो भन्ने लाग्छ र कांग्रेसबाट सशक्त प्रतिपक्षको अपेक्षा राखिन्छ। म राख्छु।  यही अपेक्षाबाट कांग्रेसलाई सल्लाह दिन मन लाग्छ। यसै परिप्रेक्ष्यमा केही बुँदागत सल्लाह वा टिप्स कांग्रेस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई निःशुल्क दिने प्रयत्न गर्छु।

कांग्रेसमा पुनर्जागरण
कांग्रेस अहिले वैचारिक रूपमा अन्धकार र अन्योल युगमा छ। पुनर्जागरणकाल आउनुअगाडि अर्थात् युरोपको १४औँ शताब्दीपूर्व, सम्पूर्ण युरोप अन्धकार युगमा थियो। युरोपको पुनर्जागरणकाल ग्रिक र अहिलेको टर्कीबाट फर्किएका केही मानिसका सोच, विचार र मिहिनेतबाट सम्भव भयो। यसको लामो कथा र शृंखला छन्। पूर्वी युरोपमा  साम्राज्य पतन  र अरबबाट आएका आक्रमणकारी मुसलमानहरूका कारण ग्रिक र टर्कीका जिज्ञासु केही मानिस पश्चिम दिशातर्फ लागे, नयाँ भविष्य खोजीमा।

पश्चिम युरोप फर्किएका ती व्यक्तिहरूसँग ग्रिक र रोमन सभ्यताका पुराना पुस्तक, सामाग्री र बहुमूल्य दस्तावेज थिए। यी तीनै चिजमाथि आजको इटलीका सहरहरू रोम, प्लोरेन्स, पिसा, वेनिस र जिनेवासमेतका केही मानिसले अध्ययन र अनुसन्धान गरे। र, युरोपलाई अन्धकारयुगबाट नयाँ युगमा प्रवेश गराउने सूत्र पत्ता लगाए। इतिहासबाट प्राप्त सूत्र र शिक्षालाई वर्तमान  र भविष्यसँग जोडेर नयाँ युरोप बनाउने आधारभूमि निर्माण गरे। आधुनिक युरोपको जग त्यही पुनर्जागरणकालको देन हो।

युरोपका सहरहरू धार्मिक रूढताबाट क्रमशः मुक्त भएर विवेक र विज्ञानसम्मत सोचबाट अगाडि बढ्न थाले। मानव इतिहासमा नयाँ सभ्यता निर्माण भयो र हामी आज त्यही पश्चिमा सभ्यताको साक्षी छौँ, उपभोक्ता हौँ।  कांग्रेस आफ्नो इतिहाससँग टुटेको र विच्छेद भएको आरोप खेप्दै छ, आफैँभित्रबाट।  गणतन्त्र र धर्मनिरपेक्षता कांग्रेसको अजेन्डा होइन भन्ने सोच पार्टीकै एउटा पक्षमा छ   अझ कांग्रेसका मूर्धन्य नेता बिपी कोइरालाको सोचविपरीत नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता कांग्रेसले अपनाएको पनि भनिँदै छ। यथार्थ के हो ? बिपीको विचार के हो ? उनको विचार उत्खनन गर्ने समय पनि यही हो। 

कांग्रेसले वर्तमान संगठनबाट साढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साढे ३ वर्षपछि हुने संघीय निर्वाचन आफ्ना पक्षमा पार्न सक्छ भन्ने कल्पना नगर्दा हुन्छ। तसर्थ अहिलेका संगठन तत्काल तलदेखि माथिसम्म विघटन गर्नुपर्छ।

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ, राष्ट्रको हितमा पनि छ। कांग्रेसलाई वैचारिक रूपमा आरोप लगाउनेहरू कांग्रेस बाहिरका छैनन्। कांग्रेसजन नै छन्। अझ त्यागी, निस्वार्थी र निष्ठावान् कांग्रेस कार्यकर्ताले नै यो आरोप लगाइरहँदा यसको छिनोफानो नगरी कांग्रेसमा पुनर्जागरण आउँदैन। कांग्रेसको कोर ‘कम्युनिस्ट रेसिस्टेन्स गर्ने शक्ति’ नै कांग्रेस मूल प्रवाहबाट यही विषयमा छेउ किनारा लागेको छ अहिले। तसर्थ कांग्रेसभित्र व्यापक विचार मनथन जरुरी छ र यसका लागि कांग्रेस  वैचारिक रूपमा विभाजन हुन तयार हुनुपर्छ भावी महाधिवेशनसम्म।  

तीनवटा विचारमा विभाजन भएर कांग्रेस बहस अगाडि आउनुपर्छ। गणतन्त्र, धर्मनिरपेक्षता र कम्युनिष्टसँग सहकार्यबारे कांग्रेसले देशव्यापी बहस खुला गर्नुपर्छ भावी महाधिवेशनअगाडि। पार्टी केन्द्रिय कार्य समितिले निर्णय गरेर यो बहस ‘इनिसिएट’ गर्नुपर्छ। यसो गर्दा कांग्रेसका नेतादेखि कार्यकर्तासम्मलाई वैचारिक रूपमा धारिलो हुने अवसर प्राप्त हुनेछ।  
नेपालको संविधानमा उल्लिखित धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशीकरणको बहस कांग्रेस पुनर्जागरणको विषय हुनसक्छ। हुनुपर्छ। कांग्रेसको भावी महाधिवेशनलाई ‘वैचारिक प्रस्थान महाधिवेशन’ बनाउँदा पार्टीमा अल्पमत र बहुमत हुन्छ र यसबाट पार्टीलाई ऊर्जा नै प्राप्त हुनेछ। कांग्रेस अन्धकार युगबाट पुनर्जागरण युगमा प्रवेश गर्छ। बहस, चिन्तन, छलफल र दृष्टिकोण खुला हुँदा पार्टी जीवन्त बन्छ र पार्टीले नयाँ जीवन पाउँछ।  

संगठन कस्तो ?   
कांग्रेसको पुनर्जागरण अभियान सञ्चालन गर्ने संगठन कांग्रेससँग छैन। कांग्रेसको संगठन वैचारिक रूपमा भुत्ते, गुटगत र सुस्त छ। कांग्रेसले वर्तमान संगठनबाट साढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साढे ३ वर्षपछि हुने संघीय निर्वाचनलाई आफ्ना पक्षमा पार्न सक्छ भन्ने कल्पना नगर्दा हुन्छ। तसर्थ अहिलेको कांग्रेस संगठन तत्काल तलदेखि माथिसम्म विघटन गर्नुपर्छ।

संगठन विघटनसँगै  भावी महाधिवेशनसम्मका लागि एउटा तदर्थ समिति गठन गर्नुपर्छ। उक्त समितिमा बस्ने मानिस पार्टीको निर्वाचित र अनिर्वाचित कुनै पनि पदका लागि भविष्यमा योग्य हुनु हुँदैन। यस्तो अवस्थामा पार्टी संगठनको चुनाव मात्र निष्पक्ष हुने  होइन, पार्टी संगठनका सम्पूर्ण प्रक्रियामा पनि जालझेलको सम्भावना न्यून हुन्छ। पार्टी जिम्मेवारी पूरा गरेपछि नेताबाट ‘कृपा’ पाउने लोभका कारण कांग्रेसको आन्तरिक जीवनमा सधैँ भुइँचालो आउने गरेको छ। यो बन्द गर्न जरुरी छ।

कांग्रेसका सबै तहका संगठन विघटनपछि बनाउने तदर्थ समितिमार्फत पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संघ, संस्थाको निर्वाचन गर्ने अवसर प्राप्त हुन्छ। केन्द्रमा पनि वैचारिक, रणनीतिक र सांगठनिक रूपमा सक्षम एउटा कोर समिति गठन गर्न सकिन्छ। यसले पार्टी नेतृत्वमा पुग्ने न्यूनतम योग्यताको मापदण्ड निर्धारण गर्छ। कांग्रेस पार्टीको राजनीतिक गठबन्धन गर्ने आधारभूमि र औचित्यमाथि रणनीतिक काम गर्छ। यसक्रममा नैतिक रूपले दागरहित नभए पनि कलुषितलाई राजनीतिबाट टाढा राख्ने उपाय खोजी गर्छ। स्मरण रहोस्, नेपालको राजनीतिमा पात्रकोे नैतिक पक्ष प्रबल चुनावी मुद्दा भएर आउने छ, भविष्यमा।

कांग्रेसले सात प्रदेशसभामा आफ्ना मान्छे नियुक्ति गर्ने नाममा राजनीतिक नेतृत्व र प्रभावक्षेत्र निर्माण गर्ने अवसर गुमायो। सातवटै प्रदेशसभामा कांग्रेसको विपक्षी भूमिका अहिलेसम्म चर्चामा छैन। यो अशुभ संकेत हो, पार्टी संगठनका लागि। यसलाई सच्याउनुपर्छ र प्रभावशाली व्यक्ति चयन नै प्रदेशहरूमा कांग्रेस संगठन विस्तार हो भन्ने कुरा बुझ्नुपर्छ।
भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले ‘देल्हियाइटस’ कम्फोर्ट जोनमा बस्ने नेताहरूलाई पन्छाएर गुजरातबाट प्रधानमन्त्रीमा उदाए। नेपालको प्रदेशसभाबाट भविष्यमा काठमाडाँैकेन्द्रित कम्फोर्ट जोनमा बस्ने टुरिस्ट नेताहरूलाई परास्त गरेर नयाँ कांग्रेस निर्माण गर्ने आधारभूमि बनाउने योजना खाँचो छ। प्रदेशसभाको विपक्षी दलका नेताहरूको संयुक्त प्रयासवाट यो सम्भव छ। यो अवसर अझै अन्त्य भइसकेको छैन, कांग्रेसमा।

नेतृत्व कस्तो ?
कांग्रेसको जागरण अभियानमा कुनै पनि कांग्रेस नेतृत्वको राष्ट्रिय पहिचान पुनस्र्थापित हुन सकेन। कांग्रेसभित्रै पनि सबै कांग्रेसजनको नेता भएको सन्देश कसैबाट प्रवाह भएन।  रामचन्द्र पौडेल आफ्नो पाको उमेरमा पनि सहज र दुर्गम दुवैथरी जिल्ला पुगे र कार्यकर्तासमक्ष प्रस्तुत भए। डा. शेखर कोइरालाको सक्रियता पनि कम छैन। पार्टी सभापति देउवा पनि काठमाडाँैको कम्फोर्ट जोनबाट बाहिर दौरा, सुरुवाल लाएर निस्किए। पार्टी महामन्त्री पनि गण्डक प्रदेशको छेउछाउबाट बाहिर निस्केर धेरैलाई अचम्मित पारे। तर सबैको दौडधूप कांग्रेस र लोकतन्त्र अभिवृद्धिका लागि थियो त ? वा, नेपाली समाज रूपान्तरणको अभियानमा कांग्रेसलाई दर्बिलो बनाउने उद्देश्यबाट प्रेरित थियो ? वा, आफ्नो भावी सभापति पदको उम्मेदवारी प्रस्तुत गर्ने उद्देश्यबाट प्रेरित थियो ? भोटर निर्माण गर्न। 

गिरिजाप्रसाद कोइराला ५ दशकजति कांग्रेसमा दौडिरहे संगठनलाई जीवन्त र ऊर्जावान् बनाउन। उनको दौडधूप कहिले पनि पार्टी सभापति बन्छु भन्ने उद्देश्यले प्रेरित थिएन। तर उनी सभापति भए तीन÷तीन कार्यकाल। आजीवन नेता भए। पार्टी सभापति आफैँ आउँछ, यदि पार्टीका कार्यकर्ता राजनीतिक छन् भने। पार्टी सभापति बन्न सम्भव छ, यदि पार्टीभित्रको चुरो राजनीति बुझ्न र बुझाउन सके।अन्तमा, पार्टी भनेको विचार मन्थन हो, धारिलो संगठन हो र प्रभावशाली नेतृत्व पनि हो। छन् त कांग्रेसमा यी कुरा ?

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App