उत्पादन सम्बन्धमा आएको फेरबदलसँगै काठमाडौँ उपत्यकाको संस्कृतिमा पनि क्रमशः परिवर्तन भइरहेको छ। उपत्यकाका तीन प्रमुख सहरमध्ये भक्तपुरमा तुलनात्मक रूपमा मूर्त–अमूर्त सम्पदा र संस्कृति संरक्षण भइरहेको बताइन्छ। तर त्यहाँका रैथाने बासिन्दाको आर्थिक सम्बन्धमा आएको परिवर्तनसँगै कतिपय अमूर्त संस्कृति क्रमशः क्षीण बन्दै गएको देखिन्छ।
कुनै बेला भक्तपुर नगरमा साँझतिर फन्को मार्दा टोल–टोलका पाटीमा मानिसहरू भजन गाइरहेका भेटिन्थे। नेवार समुदायमा बजाइने परम्परागत बाजागाजा बजाएर निकै पुराना भजन गाइरहेका हुन्थे। तीमध्ये कतिपय भजन त मल्लकालीन र मल्ल राजाहरूले नै रचेको रहेको यसका अध्येताहरू बताउँछन्। भजनमा मैथिली भाषाका शब्दसमेत प्रयोग गरिएका हुन्छन्। त्यसले मल्लकालीन काठमाडौँ उपत्यकाको मैथिल बाहुल्य क्षेत्रसँगको सांस्कृतिक सम्बन्ध प्रस्ट पार्छ। तर अचेल पाटीमा भजन गाउनेको संख्या कम छ। टोलटोलमा भजन गाउने सामाजिक समूह हुन्छन्। त्यस्ता समूहलाई नेपाल भाषामा ‘दाफा’ भनिन्छ। हिजोआज त्यस्ता धेरैजसो दाफा निष्क्रियप्रायः छन्। त्यसको मूल कारण समाजको बदलिँदो उत्पादन सम्बन्ध नै हो।
वाद्यवादन बजाउन जान्ने युवा अभाव हुँदै जानु वा उनीहरूलाई भजनमा धाउने ‘फुसर्द’ नहुनु, चाहना कम हुनुले भजनको एउटा मूल अंश वाद्यवादन पनि हराउँदै जाने खतरा उत्तिकै छ।
बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा कृषि भूमि क्रमशः सकिँदै गएको छ। जसले गर्दा कृषि निर्भरता पनि घट्दै गएको छ। नयाँ पुस्तामा कृषिलाई मूल पेसा बनाउने क्रम क्रमशः घट्दो छ भने अन्य पेसा, व्यवसाय र सेवा उद्योगमा लाग्ने क्रम बढ्दो छ। समाजको अर्थ व्यवस्था कृषिमा आधारित रहँदा मानिसले दाफा भजनलाई एकातिर मनोरञ्जन वा आरामको माध्यम बनाएका हुन्थे भने अर्कातिर टोलभरिका मानिस भेला भई गरिने भजनमा उनीहरू सामाजिक गतिविधिमा पनि सामेल हुन्थे। भजन धार्मिक अनुष्ठानको प्रक्रिया मात्र थिएन, सामाजिक गतिविधिको एउटा अभिन्न अंग पनि थियो। भजनमा लागेका मानिससँग अरू सामान्य मानिससँगभन्दा बढी जानकारी हुन्थे। दाफा समूहले मन्दिर बनाउने, कुलो खन्ने, पोखरी सफा गर्ने आदि काममा पनि भूमिका खेलेका हुन्थे। तर कृषिमा समाजको निर्भरता कम भएसँगै भजन समूह पनि क्रमशः निष्क्रिय बन्दै गएका हुन्। मानिसको व्यस्तता क्षेत्र अन्यत्र मोडिएको छ। मानिसको सामाजिक बन्ने मञ्चहरू बदलिएका छन्। एकै टोलका सीमित मानिसबीच केन्द्रित भजनका स्थान विभिन्न ठाउँ र पेसा, व्यवसायका व्यक्ति सहभागी हुने क्लब र सहकारी संस्थाहरूले लिएका छन्। कृषिसँग समाजको सम्बन्ध बिस्तारै कमजोर बनेसँगै आर्थिक विकाससँग जोडिएका विभिन्न क्षेत्रमा मानिसको सक्रियता बढेको देखिन्छ। हिजो दाफा भजनले खेलिरहेको सामाजिक र आर्थिक भूमिका आज सहकारी संस्थाले लिएको देखिन्छ।
समाजमा मनोरञ्जनको शैली र प्रविधिमा आएको परिवर्तनले पनि भजन गर्ने मानिसको संख्या पातलिँदै गएको हो। अहिले भजन केटाकेटीदेखि युवासम्मलाई मनोरञ्जनको माध्यम लाग्दैन। बूढापाकाहरूको समय बिताउने थलोमा सीमित बन्दै गएका छन्– भजनघरहरू। भक्तपुरका भजनमा विभिन्न वाद्यवादन प्रयोग हुने गर्छन्। यसमा पोख्त बूढापाका शारीरिक र मानसिक रूपमा कमजोर बन्दै गएका छन्। वाद्यवादन बजाउन जान्ने युवा अभाव हुँदै जानु वा उनीहरूलाई भजनमा धाउने ‘फुसर्द’ नहुनु, चाहना कम हुनुले भजनको एउटा मूल अंश (वाद्यवादन) पनि हराउँदै जाने खतरा उत्तिकै छ। विगतमा दाफाले नै बाजा प्रशिक्षण चलाउने चलन थियो। हिजोआज यो पनि कम हुँदै गएको छ। लालाखिं, तँजस्ता वाद्यवादन जानेका मानिसै कम छन्। केही सहकारी संस्थाले व्यावसायिक रूपमा वाद्यवादन प्रशिक्षण चलाएका छन्। तर त्यस्ता प्रशिक्षण विशेषतः बाँसुरी र धिमेबाजामा सीमित छन्। जुन भजनमा प्रयोग हुँदैनन्।
दाफा भजनका नाममा भएका जग्गाजमिन नै तिनको मूल आयस्रोत हुने गर्थे। तर जमिनबाट हुने आयस्ताले दाफा चलाउने न्यूनतम खर्चसमेत नउठ्दा, अझ कतिपय दाफाको जमिनै अतिक्रमण वा हिनामिना हुँदा ती परम्परगत सामाजिक संगठन आर्थिक रूपमा पनि कमजोर बन्दै गएका छन्। संस्कृतिको आधार भनेको समाजको आर्थिक सम्बन्ध नै हो। यस सम्बन्धमा आउने परिवर्तनसँगै संस्कृतिमा पनि स्वाभाविक रूपमा परिवर्तन आउने गर्छ। तर संस्कृति संवद्र्धन हाम्रो सभ्यताको महŒवसँग पनि जोडिएको विषय हो। समयअनुसार संस्कृति मनाउनले चलनमा परिवर्तन गर्दै लानु जति महŒवपूर्ण छ त्यति नै संस्कृतिको मूल आत्मा संरक्षण पनि महŒवपूर्ण विषय हो। हिजोकै तरिकाबाट दाफा भजन चल्न सक्दैन। केही समयानुकूल परिवर्तन आवश्यक छ। विद्यालय र विश्वविद्यालयको औपचारिक अध्ययनसँग यो संस्कृति जोड्नु संरक्षणको उत्तम उपाय हुनसक्छ।
प्रकाशित: २६ जेष्ठ २०७६ ०४:४० आइतबार