९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

मधेस प्रदेश होइन, मिथिला

मुलुक संघीय पुनर्संरचनामा गएपछि सातवटा प्रदेशको सीमाङ्कन भएको छ। जसमध्ये दुई नं. प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि प्रदेश सरकारले गत कात्तिक ११ गते आयोग गठन गरेको थियो। करिब ६ महिनाको अभ्यासपछि आयोगले वैशाख १९ गते प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ। उक्त आयोगले प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुर सिफारिस गरेको छ।यसले गर्दा प्रदेश दुईमा ठूलो तरंग ल्याएको छ।

यो प्रतिवेदन केही दिनभित्रै प्रदेशसभामा लैजाने र छलफल गरी संसदीय समितिबाट पास गरी सदनको दुईतिहाइले पारित गर्नुपर्छ। सर्वप्रथम त विचारणीय कुरा के छ भने दुई नं. प्रदेश प्राचीन मिथिलाको भूभाग हो। प्राचीन मिथिला सुगौली सन्धि(सन् १८१६) पछि भारत र नेपालमा विभाजित भएको छ। विभाजित भए पनि प्राचीन मिथिलाको मुटु राजधानी जनकपुर नेपालमै पर्छ। मैथिली भाषाको जनसंख्या पनि करिब ४ करोड उतै पर्छ भने नेपालमा झण्डै ५० लाख छ। त्यसमध्ये मैथिलीका उपभाषा (बोली) वाज्जिका, अंगिका र थारूसमेतलाई भाषाको राजनीतीकरण गरी अलग भाषाका रूपमा देखाएको छ। यति हुँदाहुँदै मैथिली नेपालको दोस्रो राष्ट्रभाषा हो।

मिथिला प्राचीन पौराणिककालमा एउटा स्वतन्त्र राष्ट्र थियो। बृहद् विष्णु पु्राण, श्रीमद्भागवत र वाल्मीकि रामायणमा पनि मिथिलालाई पुण्यभूमि मान्दै यसको सिमाना निर्धारण गरिएको थियो। जसमा निम्न श्लोकद्वारा सीमा स्पष्ट गरिएको छ ः
    गंगाहिमजवतोर्मध्ये नदी पंच दशान्तरे
    तैरभुक्तिरिती रव्यतो देशः परम पावनः
    कौशिकीनतु समारभ्या गण्डकी मघिगम्य वै
योजनगनि चतर्विशत् व्यायामः परिकीर्तित।।

यसरी उत्तरमा हिमालयको प्राद प्रदेश दक्षिणमा गंगा तथा पूर्वमा कोशी र पश्चिममा गण्डकी भनी निर्धारण गरी यसको लम्बाइ २४ योजन (१९२ माइल) र चौडाइ १६ योजन (१२८ माइल) बताइएको छ। यस जनपदलाई तिरभुक्ति (तिरहुत) पनि भनिएको छ। यसरी मिथिलाको सिमानाको विवेचना गर्दा पूर्वमा जुन कोशी नदी र पश्चिममा गण्डकी भनिएको छ, त्यतिबेलाको कोशी पूर्वमा मेचीपारि महानन्दा (टिष्टा) तिर बगिराखेको थियो भने पश्चिम गण्डकी हाल नारायणी नदी भएर राप्ती नदीलाई भनिएको भनी विद्वान्हरूको भनाइ छ। अर्थात नेपालको सन्दर्भमा मिथिलाको भू–भाग मेचीदेखि चितवनसम्म पर्छ। तर यसभित्र मैथिलीभाषीलगायत भोजपुरी, राजवंशी, नेपालीभाषीहरूको बसोबास छ।

यसरी मिथिला क्षेत्रमा विभिन्न भाषाभाषी भए तापनि त्यो मूलरूपमा मिथिला भूमि नै हो। हाल प्रदेश दुईमा मैथिली र भोजपुरी मुख्य भाषा छन्। सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही र रौतहटसम्म मैथिली बोलिन्छ भने बारा, पर्सामा मात्र भोजपुरी बोलिन्छ। यसरी हेर्दा स्वतः मैथिलीभाषीहरूको जनसंख्या बढी छ। भोजपुरीभाषी क्षेत्रको सिरौनगढ (बारा) मा प्राचीन तिरहुतको राजधानी थियो। जुन कि सन् १०९७ देखि सन् १३२५ इ. सम्म अर्थात २ सय ३० वर्षसम्म त्यहाँ कर्णाटवंशीय राजा नान्य देवदेखि अन्तिम राजा हरिसिंह देवले राज्य गरेका थिए।मुस्लिम शासक गयासुद्दिनको आक्रमणपछि सिमरौनगढ ध्वस्त भई राजा हरिसिंहदेव आफ्नो ससुराली राज्य भक्तपुरमा आएर बसे र पछि त्यहाँका शासक भई राज्य गरे।

यसरी मिथिलाको प्राचीन गौरवपूर्ण इतिहास हँुदाहुँदै पनि मधेस प्रदेश नामाकरण गर्ने सिफारिस भएकाले यो निकै विवादास्पद बन्न पुगेको हो। मधेसको इतिहास वर्तमान नेपाल सरहदभित्र थिएन। झन् मिथिला भूमिसित यसको कुनै साइनो छैन। मधेसको इतिहास खोजिँदै जाँदा यो मध्यदेशको अपभ्रंश हो। प्रारम्भमा मध्यदेश एउटा सांस्कृतिक महाजन पदका रूपमा थियो। जसलाई प्राग् ऐतिहासिककालमा राजा मनुले विभिन्न महाजन पदमा विभाजित गरेका थिए। जस्तै–कुरु, पंचाल, शुरसेन कौशल, काशी, विदेह, मागध, अंग, दक्षिण, कौशल, बत्स, चेपी (बुँदेली) अवन्ती र मत्स्य (जयपुर) गरी १३ वटा थिए। जसमा कौशल अयोध्या सबभन्दा प्राचीन जनपद मानिएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App