डा. केदार कार्की
प्रायः यस्तो देखिने गरेको छ किजुन तीव्र गतिमा कुखुरापालन फार्महरू स्थापना हुने गर्छन् त्यही गतिमा बन्द पनि हुँदै आएका छन्।यसै कारणले गर्दा कुखुरापालनमा सरकारी नीति एव देशको आवश्यकताअनुसार पूर्णरूपले अपेक्षाकृत विकास हुन सकेको छैन। सामान्यतया कुखुरापालन व्यवसाय बिस्तार सम्बन्धमा सामान्य किसानसँग सल्लाह गर्दा प्रायःजसो कुखुरापालनत धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम? हामी यसमा सफल हुन सक्तैनौँ भन्ने गरेका पाइन्छ। तथापि वास्तविकता यसभन्दा अर्कै छ।
अर्थात कुखुरापालन व्यवसाय असफल हुनुका अरु पनि धेरै कारण छन्। यी कारणलाई सजिलै समाधान गर्न सकिन्छ अनि ग्रामीण कृषकले यो पेशा अंंगालेर आफ्नो तथा देशको अर्थव्यवस्थालाई एउटा सुदृढ आधार दिन सक्छन्। कुखुरापालन व्यवसाय असफल हुनुका मुख्य कारण निम्नलिखित छन् :।
क) आधुनिक ज्ञान नहुनु: प्राय:जसो कुखुरापालकको असफलताको मुख्य कारण किसानले यो व्यवसायको आधुनिक वैज्ञानिक ज्ञानबिना नै व्यवसाय थाल्नु हो। केही दिनको सानोतिनो तालिम÷प्रशिक्षण लिएपछि कुखुरा पालन व्यवसाय सजिलै गर्न सकिन्छ भन्ने धारणाले पनि असफलता निम्त्याएको छ।
ख) सन्तुलित आहारको कमी: कुखुरा किसानलाई प्राय:जसो वर्षभर शुद्ध, सस्तो र सन्तुलीत दाना उपलब्ध नहुने गरेको पाइन्छ। जसका कारण धेरैजसो कुखुरा फार्म कुनै न कुनै ठाउँमा बन्द हुने गरेका छन्। खासगरी वर्षाका बेला ढुसी अनि गर्मीका बेला नूनको विषादिको प्रकरण सजिलै देख्न सकिन्छ। जसका कारण कुखुराको मृत्यु दर अचानक बढ्ने हुन्छ।
ग) व्यवस्थित बजार अभाव: हामीकहाँ कुखुराजन्य उत्पादनहरूको क्रय÷विक्रयका लागि व्यवस्थित बजारको व्यवस्था नै छैन। सबै काम विचौलियाको भरमा छ भन्दा हुन्छ। यसकारण कुखुरापालक किसानले न भनेको बेला चल्ला पाउँछन् नत तयारी कुखुरा÷फूल बेच्नै पाउँछन्। यस कारण पनि असफलता हात लाग्ने गरेको छ।
घ) गुणस्तरीय चल्ला अभाव: सरकारी स्तरमा कुखुराका ह्याचरी नहुनाका कारण निजी क्षेत्रका ह्याचरीले बजारमा माग बढ्नासाथ भाउ बढाउने गर्छन्।अनि चल्ला कम संख्यामा आपूर्ति गर्छन्। मिसमास गर्नु त नौलो कुरा नै भएन। यो पनि कुखुरापालकले बेहोर्नुपर्ने घाटा÷नोक्सानीको प्रमुख कारण मानिन्छ।
ङ) रोग निदान प्रयोगशाला अभाव: हाम्रो देशमा कुखुरा रोग निदान प्रयोगशालाको अभाव छ।भएका धेरैजसो प्रयोगशालामा पनि उपकारण, प्रयुक्त रसायनका साथै प्रशिक्षित एव अनुभवी विज्ञको कमी देखिन्छ। रोगै खुट्याउन नसकेपछि उपचार कुन आधारमा गर्ने ?
च) औषधी नपाइनु: प्राय: देखिने गरिन्छ कि कुखुरापालक कृषकहरूले आफूलाई आवश्यक पर्ने औषधी आफ्नो फार्ममा जगेडा राख्दैनन्। र, जब आवश्यक पर्छ, रोग फैलन्छ अनि औषधीका लागि यताउता भौतारिन्छन्। हडबडीमा बजारमा औषधीको अभावका कारण किसानलाई कि त औषधी समयमा उपलब्ध हुँदैन वा कहिलेकाहीँकमसलखाले औषधी, त्यो पनि चर्को मूल्यमा लिनुपर्ने बाध्यता आइलाग्छ।
छ) लापरबाही एवं कमजोर व्यवस्था: कहिलेकाहीँ कुखुरा फार्ममा चोरी हुने, आगजनीहुने जस्ता कारणलेपनि कुखुरापालन व्यवसाय असफल हुने गर्छ।
ज) सहायक पेसा ठानिनु: प्राय:जसो मानिस कुुखुरा पालन व्यवसायलाई अतिरिक्त आयका लागि सहायक पेसाका रूपमा अंगाल्छन्।यस्तो अवस्थामा न सरकारी सुविधा पाउन सहज हुन्छ न त यसले पूर्णरूपमा गति नै लिन सक्छ।
त्यसैले यस्ता विषयमा गम्भीर ध्यान दिएरमात्र व्यवसाय सञ्चालन गर्ने हो भने असफल हुने सम्भावना न्यून हुन्छ। बुझ्दै नबुझी कसैको लहलहैमा लागेर वा अरुले प्रगति गरेको देखेर मात्र यो पेसामा हाम्फाल्नेहरू नै असफलतामा जाकिने सम्भावना अधिकतम हुने गर्छ।
वरिष्ठ पशु चिकित्सक
प्रकाशित: २ जेष्ठ २०७६ ०३:५७ बिहीबार