३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
विचार

सडकबारे सुन सरकार

यहाँ प्रत्येक दशक राजनीतिक परिवर्तनका लागि आन्दोलन भएका छन्। राजनीति एउटा टुंगोमा पुगेपछि अहिले थाकेका सर्वसाधारण सुस्ताइरहेको अवस्था छ। तर, यही बेला केही पक्षले सर्वसाधारणलाई फेरि उद्वेलित तुल्याइरहेका छन्। विशेष गरी विकासनिर्माणका काम समयमा पूरा नहुँदा सर्वसाधारणको जनजीवनमा गम्भीर असर परेको छ। विस्तारका नाममा भत्काइएका सडकबाट उडेको धुलो खाँदै वर्षौंदेखि धैर्य गरिरहेका सर्वसाधारण अधैर्य बन्न थालेको संकेत केही घटनाक्रमले देखाउन थालिसकेका छन्। वर्षौं कुर्दा पनि निर्धारित समयमा काम हुन नसकेको उनीहरूलाई महसुस भएको छ। आजभोलि गर्दै तीन÷चार वर्षसम्म एउटा सडक विस्तारका निम्ति कुर्नुपर्ने जस्तो दुखद अवस्था अरू के हुन सक्छ र? सडकछेउको बसाइ, रातदिन धुवाँधुलोको प्रताडना र गन्तव्यमा पुग्न दैनिक जीवनमा झेल्नुपरेका पीडाको कुनै हिसाब छैन। सहनुको पनि हद हुन्छ। सहँदासहँदा आजित भएपछि एक दिन विस्फोटको स्थितिमा पुग्छन् सर्वसाधारण। विशेषगरी ठेकेदार, कर्मचारी र राजनीतिक नेतृत्वको गठबन्धनले विकासनिर्माणका काममा ढिलाइ भइरहेको छ। त्यसमा पनि सडक समयमै नबन्दा त्यसले पार्ने प्रभाव बहुआयामिक हुन्छ। स्वास्थ्यदेखि दैनिक कार्य व्यवहारमै यसले नकारात्मक प्रभाव पारेको छ।

हालैका दुई सडक घटनाले आम जनजीवनमा थपिएको कष्टलाई मुखरित गरेको छ। काठमाडौंको चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडकमा सर्वसाधारणले विरोध प्रदर्शन गरी ठेकेदारलाई समयमै काम सम्पन्न गर्न दबाब दिएका छन्। त्यही अवस्था ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकखण्डको पनि छ। त्यहाँको अस्तव्यस्तताबाट आजित सर्वसाधारणले पनि विरोध प्रदर्शन गरेका छन्। दुवै ठाउँमा देखिएको एउटै प्रवृत्तिको विरोध भनेको सार्वजनिक यातायातलाई ठप्प पार्नु हो। मर्नै लागेपछि अरू विकल्प हुँदैन। अन्तिम विकल्पका रूपमा सर्वसाधारणले सडक यातायात रोकेर आफ्ना माग पूरा गराउनुपर्ने अवस्था आउनु भनेको आफैंमा विडम्बनापूर्ण अवस्था हो। चुच्चेपाटी–बौद्ध–जोरपाटीवासी चार वर्षदेखि हिलाम्य र धुलाम्य सडकबाट पीडित छन्। हातपाउ सद्दे रहेका व्यक्तिलाई त दैनिक यात्रा गर्न गाह्रो छ भने शारीरिक रूपमा अशक्त र साधनस्रोत नहुने पीडितले यतिका वर्ष असाध्यै दुःख पाएका छन्। त्यही भएर शारीरिक रूपमा अशक्त व्यक्तिले हालै सडक बाटो खनेर विरोध गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको देखिएको छ। यसरी सर्वसाधारणलाई आजित पारेपछि त्यसको विरोध भएको हो।

सडक निर्माण समयमै होस् भनेर धेरै वर्षदेखि सर्वसाधारणले प्रतीक्षा गरेका छन्। धैर्य गरेर बस्दा केही नहुने बरु आन्दोलन गरेपछि काम सुचारु हुने देखिएपछि यो प्रवृत्ति अब अन्यत्र पनि विस्तारित हुने देखिन्छ। कम लागतमा काम गर्न भनी ठेक्का लिने र त्यसलाई समयमा पूरा नगरी परिचालनबापतको रकम वर्षौंसम्म लिने गरेको देखिएको छ। यो अवस्थालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हालै असन्तुष्टि व्यक्त गरेका थिए। प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेको देखेपछि विभागीय मन्त्री रघुवीर महासेठको ध्यान जानुपर्ने हो। उनले पनि केही ठाउँमा अनुगमन गरे पनि त्यसलगत्तै जुन गतिमा निर्माण सम्पन्न हुनुपर्ने थियो, त्यो भएन। काम धमाधम भएको भए सर्वसाधारणले दुःख पाउने थिएनन्। त्यसले सरकारको छवि पनि सर्वसाधारणबीच राम्रो हुने थियो। कसैले सरकारविरुद्ध बोलिहाले पनि यी विकास निर्माणका कामले गर्दा सर्वसाधारणले सरकारको प्रतिरक्षा गर्न पाउने थिए। सर्वसाधारणको आन्दोलनका बलमा मात्र वर्षौंदेखि अल्झिएका विकासनिर्माणका काम अघिबढाउनु पर्ने बाध्यता आउनु कसैका निम्ति पनि सुखद होइन। त्यसैले सर्वसाधारणबाट हुनसक्ने सम्भावित आन्दोलन रोक्न पनि समयमै विकासनिर्माणका काम अघि बढाइनुपर्छ। आन्दोलन नगरी कुनै काम सम्पन्न हुँदैन भन्ने मानसिकताको विकास हुनु आफैंमा दुखद हुन्छ। आन्दोलन बेगरै सरकारले सुनोस्।

प्रकाशित: १ जेष्ठ २०७६ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App