दोस्रो विश्वयुद्ध हुँदा जापानका सम्राट थिए हिरोहितो। शक्तिशाली जापानी साम्राज्य दोस्रो विश्वयुद्धमा पराजितमात्र भएन, उसले निकै क्षतिसमेत बेहो-यो। रक्तपातपूर्ण युद्धमा हारपछि सम्राट हिरोहितो जापानको झन्डै १५ सय वर्ष लामो राजसंस्थाका अलोकप्रिय सम्राटमा दर्ज भए। जापानको राजसंस्था डगमगायो। राजसंस्था जोगाउन हम्मे परिरहँदा शक्तिशाली सम्राटको शक्ति कटौती गरेर संवैधानिक र धार्मिक कर्मकाण्ड गर्नमा सीमित राखियो। आफूलाई शक्तिहीन बनाएको हिरोहितोले रुचाएका थिएनन्। सन् १९२६ देखि १९८९ सम्म जापानको सम्राट बनेका हिरोहितोलाई लागेका दाग र दोष मेट्न पुत्र अकिहितोले निकै मेहनत गर्नुप¥यो। राजसंस्थाप्रति बढेको अलोकप्रियता घटाउन तत्कालीन युवराज अकिहितोले जापानी जनतामाझ उदारता प्रदर्शन गरिरहे। यस क्रममा उनले धेरै परम्परा तोडेर जनताको मन जिते। जापानी राजसंस्था झन् मजबुत बनाउने श्रेय लिन उनी सफल भए।
सम्राट भएपछि अकिहितोले संवैधानिक राजा हुनाको उदाहरण प्रस्तुत गरे। संसारभर राजाहरूको लोकप्रियता ओरालो लाग्ने र राजसंस्था ढल्ने क्रम चलिरहँदा पनि उनको सकारात्मक र रचनात्मक भूमिकाका कारण जापानीहरूमा राजाप्रति आस्थामा कमी आएन। अकिहितोले राजा र जनताबीच निकटता बढाउँदै लगे। उनी भन्थे– ‘राजपरिवार जनतासँग टाढा रहनु हुँदैन।’ जापानमा राजालाई भेट्दा निहुरेर सम्मानभाव जनाइन्थ्यो। सम्राट अकिहितोका १२४औँं पुस्तालाई जापानी जनताले झुकेर सम्मानभाव जनाउँदै आएका थिए। अकिहितोले जनतासँग हात मिलाउने परम्परा सुरु गरेका थिए। सम्राटको उदारताबाट जापानीहरूमा राजसंस्थाप्रति सम्मान झन् बढ्यो।
परम्परा तोड्ने सम्राट
सन् २०१७ डिसेम्बरमा जापान सरकारले गरेको घोषणाले विश्वको ध्यान खिच्यो। ३० अप्रिल सन् २०१९ मा जापानका सम्राट अकिहितोले सत्ता हस्तान्तरण गर्ने घोषणा थियो त्यो। जापानको १५ सय वर्ष पुरानो राजसंस्थामा कुनै सम्राटले आफू जिउँदै छँदा उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गरेका थिएनन्। सम्राटको निधनपछि मात्र उत्तराधिकारी गद्दीमा बस्थे। अकिहितोले ३० अप्रिलमा आफ्ना पिताले छाडेर गएको तरबार उत्तराधिकारी जेठा छोरा ५९ वर्षीय नारुहितोलाई दिएर सत्ता हस्तान्तरण गर्दैछन्। विश्वमा राजसंस्था अन्त भई गणतन्त्र स्थापना हुँदै गएको सन्दर्भमा जापानको राजसंस्था भने एक्काइसौं शताब्दीसम्म सम्मानित र सान्दर्भिक हुनाको कारण सम्राटहरू गर्ने महत्वपूर्ण निर्णय पनि हुन्। अकिहितोले परम्परा धानेनन् मात्र, समयअनुसार तोडे पनि।
अकिहितो जापानको इतिहासमा प्रथम सम्राट हुन् जसले सर्वसाधारणसँग विवाह गरे। यसभन्दा अघिका सम्राटले राजघरानासँग नजिक नाता भएका चेलीमात्र विवाह गर्ने गरेका थिए। सन् १९५९ मा व्यापारीकी छोरी सोदा मिचिकोसँग विवाह गरेर उनले संसारकै ध्यान खिचे। सर्वसाधारणसँग विवाह गरी परिवर्तन आफँैबाट सुरु गरेका अकिहितोले चलिआएको परम्परा तोडिदिए। विवाहबाट उनले परिवर्तनकारी सोच व्यवहारमै उतारे। पुरातनवादीहरूले सम्राटको विवाहप्रति असन्तुष्टि जनाएका थिए। तर विवाहमार्फत नयाँ पिँढीको मन जित्न सके सम्राट अकिहितोले। अर्को मन जित्ने घोषणा थियो– सत्ता हस्तान्तरण गर्ने निर्णय। सम्राट जीवित छँदै सत्ता हस्तान्तरणका लागि जापान सरकारले कानुन परिवर्तन गर्नुप¥यो। सम्राटले वृद्धावस्था र स्वास्थ्य अवस्थाका कारण जनाउँदै सत्ता हस्तान्तरणका लागि कानुन परिवर्तन गर्न लगाएका थिए।
विश्वमा धमाधम गणतन्त्र स्थापना हुँदै गएको सन्दर्भमा जापानमा भने राजसंस्था एक्काइसौं शताब्दीसम्म सम्मानित र सान्दर्भिक हुनाको कारण सम्राटहरूले गर्ने महत्वपूर्ण निर्णय हुन्।
स्वस्थ रहुन्जेल समुद्री जीवजन्तुको अध्ययनमा रमाउँथे अकिहितो। देशका राम्रा परम्परा र संस्कृतिलाई निरन्तरता दिन उनी लागिरहे। जापानी परम्परालाई निरन्तरता दिन अकिहितो कहिले खेतमा धान गोडिरहेका हुन्थे त कहिले धान रोपिरहेका। दोस्रो विश्वयुद्धका बेला अकिहितो किशोरावस्थामा पुग्नै लागेका थिए। अमेरिकाले टोकियो आक्रमण गर्दा उनी मुस्किलले बाँच्न सफल भए। भावी राजालाई युद्धका बखत टोकियोबाहिर गाउँमा लगिएको थियो। युद्ध सकिएपछि मात्र उनी फर्काइए। २३ डिसेम्बर १९३३ मा जन्मिएका सुगु अकिहितो बाबु हिरोहितोको निधनपछि सन् १९८९ मा सम्राट बन्दा ५६ वर्ष पुगिसकेका थिए। जापानको वर्तमान राजसंस्थाका पहिलो राजा जिम्मुका सन्ततिमध्ये उनी १२५औँं सम्राट हुन्। विश्वकै सबैभन्दा लामो समय शासन गर्ने वंशका सदस्य अकिहितोले जापानमा राजसंस्थाको निरन्तरतालाई कायमै राख्ने जग मजबुत पार्नेगरी युवराज र सम्राट बन्दा कृति छाड्न सके।
जनप्रिय राजसंस्था
जापानी नागरिक राजसंस्थालाई निकै सम्मान गर्छन्। राजपरिवारका सदस्यका लोकप्रिय भूमिकाका कारण जापानीले उनीहरूप्रति सम्मान गर्ने गरेका हुन्। जापानलाई शक्तिशाली बनाउनदेखि औद्योगिकीकरणतर्फ लम्काउनसम्म सम्राटहरूको साहसिक र रणनीतिक भूमिका इतिहासमा अंकित छ। १९औँं शताब्दीको अन्त्यतिर सम्राट मैजीले जापानलाई औद्योगिकीकरणतर्फ लगेका थिए। दुईवटा विश्वयुद्धमा जापानले धक्का बेहोर्दा राजसंस्थाको जगसमेत हल्लियो। उक्त जग मजबुत बनाउन अकिहितोले शालीन युवराजका रूपमा आफूलाई जापानभित्र र बाहिर प्रस्तुत गरेका थिए। अकिहितोले दुईपटक नेपाल भ्रमण गरे। उनको भ्रमणपछि राजा वीरेन्द्र टोकियो विश्वविद्यालयमा अध्ययनका लागि गएका थिए।
युवराज हुँदादेखि नै अकिहितोले जापानी जनतालाई राजपरिवारसँग नजिक बनाउने भूमिका निर्वाह गर्दै आए। सम्राट र राजपरिवारका सदस्यको भूमिकाका कारण जापानको राजसंस्था डगमगाएन। शालीन र शिष्ट स्वभावका अकिहितो सकारात्मक आशयका साथ अति कम सार्वजनिक अभिव्यक्ति दिने राष्ट्रप्रमुखमा पर्छन्। आफ्नो शासनकालभर जम्मा दुईपटक टेलिभिजनमा सन्देश दिएर कम बोलेर धेरै काम गर्नुपर्छ भन्ने उदाहरण दिन पनि उनी सफल भए। सन् २०११ मा होन्सु टापुमा सुनामीका कारण २० हजार मान्छेको ज्यान जाँदा शोक सन्देश दिएका थिए भने ८ अगस्ट २०१६ मा सत्ता हस्तान्तरणको आशययुक्त सन्देश दिए। पहिलोपल्ट ऐतिहासिक टेलिभिजन सन्देश दिँदा जापानी जनताले कहिले आशा नमार्ने र एकअर्कालाई सहयोग गर्ने अभिव्यक्ति दिएर उत्साह भरेका थिए। दोस्रो टेलिभिजन सन्देशमा स्वास्थ्यका कारण आफूले राष्ट्रप्रमुखका रूपमा कार्यभार पूरा गर्न नसकिरहेको बताएका थिए।
डिसेम्बरको ठन्डीमा पर्ने उनको जन्मदिन मनाउन हजारौँं जापानी भेला हुने गर्छन्। २३ डिसेम्बर २०१८ मा अकिहितोलाई शुभकामना दिन झन्डै ८३ हजार जापानी दरबार पुगेका थिए। जसले उनीप्रति जापानी जनताको प्रेमभाव दर्शाउँछ। अकिहितोले आफ्ना छोरा नुहाहितोलाई तरबार हस्तान्तरण गरेर सम्राट पद छाड्दै छन्। ८६ वर्षीय उदार र मनकारी सम्राटको सत्ता हस्तान्तरण विश्व इतिहासमा स्मरणीय दिन बन्दैछ।
प्रकाशित: १७ वैशाख २०७६ ०७:०५ मंगलबार