२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

चक्रवातको पूर्वानुमान हुन सक्थ्यो, सहकार्य पुगेन

सुदीप भट्टराई

बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी चक्रवात आउँदा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गर्न नसकेकोमा विभिन्न क्षेत्रबाट टिप्पणी भयो। महाशाखाले आफुसँग पर्याप्त जनशक्ति र प्रविधि नभएकाले पूर्वानुमान गर्न नसकिएको बतायो। महाशाखासँग यस्तो जनशक्ति र स्रोत नभएको अनुमान गर्न सकिन्छ। तर अनुमान नै गर्न नसक्ने गरी प्रविधिको पहुँचबाट मौसम पुर्वानुमान महाशाखा टाढा भएको चाहिँ सत्य होइन। यो लेखमा विश्वभर विकसित प्रविधिको उपयोग गरेर पूर्वानुमान महाशाखाले कसरी पूर्वानुमान गर्न सक्थ्यो भन्ने व्याख्या गरिनेछ।

मौसम पूर्वानुमानका लागि देशको जलवायुमा भएका परिवर्तनको विवरण चाहिन्छ। यस्तो विवरण पृथ्वीलाई फन्को लगाइरहने भूउपग्रहहरूले दिन्छन्। नेपालको आफ्नै भूउपग्रह छैन। त्यसैले तथ्यांक नपाएको भन्ने महाशाखाको भनाई सत्य नै हो। तर यस्तो तथ्यांकका लागि आफ्नै भुउपग्रह हुनुपर्छ भन्ने चाहिँ होइन। ग्लोबल मेटेरोलजिकल रिसोर्सेज् (विश्व मौसमविज्ञान स्रोत) अन्तर्गत रहेका भुउपग्रहहरूले संकलन गरेका तथ्यांक त्यसका सञ्चालक मार्फत् लिन सकिन्छ। त्यस्तो तथ्यांकलाई स्थानीय केन्द्र (ग्राउन्ड स्टेशन) बाट थप मापन (क्यालिब्रेट) गरेर भरपर्दो मौसमी अध्ययन गर्न सकिन्छ। महाशाखासँग अहिले पनि यस्ता तथ्यांक उपलब्ध छन्। उसले हिमावरी उपग्रह (Himawari Satellite) को माध्यमले अन्तर्राकष्ट्रिय स्रोतबाट नेपालको लागि मौसमसम्बन्धी तथ्यांक प्राप्त गर्दै आएको छ। त्यसैले तथ्यांकको अभाव मुख्य समस्या होइन।

समस्या महाशाखाको क्षमतामा देखिन्छ। न्युमरिकल मोडलिङ, वेदर सिमुलेसन र डाटा पोस्ट्-प्रोसेसिङ जस्ता प्राविधिक काममा महाशाखाको क्षमता कमजोर देखिन्छ। यद्यपि यो क्षमता पनि सामुहिक प्रयत्नभन्दा परको होइन। गणितिय मौसम विश्लेषण अत्यन्तै चुनौतीपूर्ण पनि होइन। केही अनिश्चितता भए पनि यस्तो विश्लेषण गर्ने धेरै मोडलहरू विकास भएका छन्। त्यस्ता खुला स्रोत भएका मोडलहरू वैज्ञानिक प्रयोजनका लागि सहजै उपलब्ध पनि छन्। त्यसैले मोडल निर्माण गर्न छुट्टै खर्च पनि गरिरहनुपर्दैन। भिजुअलाइजेसन र पोस्ट्प्रोसेसिङका लागि पनि आवश्यक सफ्टवेयरहरू निशुल्क उपलब्ध हुन्छन्। यस्ता सफ्टवेयरको प्रयोगले सामान्य विश्लेषण र पोस्ट्प्रोसेसिङ धेरै अप्ठ्यारो काम होइन।

नेपालमा अहिले गणितिय विश्लेषण पनि नयाँ विषय होइन। हामीसँगै हाई परपर्फमेन्स कम्प्युटिङ (एचपिसि, उच्च क्षमताका कम्युटर सुविधा) सुविधा उपलब्ध छन्। यी कम्युटर प्रयोग गर्न आवश्यक एप्लिकेसन उपलब्ध छैनन् भन्ने पनि सुनिन्छ। एप्लिकेसन भएनन् वा क्षमता पुगेन भन्दा पनि उपलब्ध स्थानीय जनशक्ति र उपकरणको प्रयोग कसरी गर्ने भन्ने सोच्न जरूरी छ।

फिजिकल मोडलिङ (भौतिक मोडलिङ) का विशेषज्ञले सफ्टवेयर इन्जिनियर र मौसम तथा जलवायुका विशेषज्ञसँग मिलेर काम गर्न सक्छन्।

नेपाल इन्जिनियरिङ एशोसिएसनले पनि समितिहरू गठन गर्दा यस्ता विषयमा ध्यान दिन जरूरी छ किनभने मुख्य चुनौती प्रविधि हो। जनशक्ति निर्माण गर्न सकिन्छ।

पूर्वानुमानमा एचपिसिको प्रयोग

कम्युटर प्रविधिको प्रयोगले मौसमको अवस्था, त्यसमा भइरहेको परिवर्तन तथा जलवायु परिवर्तनबारे अध्ययन गर्ने तरिकाहरू केही दशकदेखि नै प्रयोगमा छन्। गणितिय मौसम पूर्वानुमान (Numerical Weather Prediction) यस्तै एउटा विधि हो।

गणितिय मौसम पूर्वानुमान गणितिय तरिकाबाट भौतिक फेनोमेना (गतिविधी)को अध्ययन गर्ने विधि हो। कतिपय फेनोमेनाको सबै विश्लेषण गणितिय हिसाबले मात्र हुनसक्दैन। त्यसैले अनुमानित निष्कर्ष निकाल्ने विधिहरू प्रयोग गरिन्छ। गणितिय मौसम पूर्वानुमान पनि अनुमानित निष्कर्ष निकाल्ने विधि हो।

यो विधिमा विभिन्न समीकरणहरूको सेट बनाइएको हुन्छ। यो सेटले वायुमण्डल, भौगोलिक अवस्था, पर्यावरणीय विशेषता लगायतका विशेषता समेटेको हुन्छ। यस्तो सेटमा आवश्यकता अनुसार भूगोल र वनस्पतिको विवरण पनि राख्न सकिन्छ। त्यसैले स्थानिय विशेषता अनुसार यस्तो मोडलमा परिमार्जन गर्न सकिन्छ।

धेरैजसो देशमा मौसम पूर्वानुमानका लागि स्थानिय स्टेशनहरूमा राखिने वेदर राडार र भुउपग्रह मार्फत् प्राप्त हुने तथ्यांकको आधारमा मौसम पूर्वानुमान गरिन्छ। तर कतिपय देशले तथ्यांक संकलनका लागि वेदर बेलुन, ड्रोनको प्रयोग पनि गर्ने गरेका छन्।

एप्लिकेसन भएनन् वा क्षमता पुगेन भन्दा पनि उपलब्ध स्थानीय जनशक्ति र उपकरणको प्रयोग कसरी गर्ने भन्ने सोच्न जरूरी छ।

हाई प्रोसेसिङ कम्युटिङ (एचपिसि) विधि बढी प्रभावकारी हुन थालेदेखि गणितिय पूर्वानुमान विधि धेरैजसो विकसित र विकासशिल देशले प्रयोग गर्न थालेका हुन्। यस्तो विधिमा ठूलो प्रोसेसिङ क्षमता भएका कम्युटरको आवश्यकता पर्छ।

भारतले यही विधिका लागि ‘प्रत्युष’ नामक उच्च क्षमताको कम्युटर नै विकास गरेको छ। यसको प्रयोगले नै अहिले भारतले धेरै दिनसम्मको मौसम पूर्वानुमान गर्न सकेको छ। त्यस्तै डेनमार्क, नेदरल्याण्ड र अरू युरोपेली देशमा सामान्य एचपिसिको प्रयोगबाटै प्रभावकारी पूर्वानुमान भईरहेको छ।

जटिल भूगोल र मौसमी अवस्थामा अवस्थित भएकाले निरन्तर र प्रभावकारी मौसम पूर्वानुमान हाम्रो आवश्यकता हो। खराब मौसमकै कारण वर्षेनी धानबाली लगायतमा क्षति हुने गरेको छ। त्यस्तै नेपाल जलवायु परिवर्तनको उच्च जोखिम भएको देश पनि हो। त्यसैले यहाँ जलवायु परिवर्तनको अध्ययनका लागि लामो समयको मौसमी तथ्यांक राख्ने विधि पनि आवश्यक पर्छ। त्यस्तै वायु उडानका लागि चाहिने मौसमी ज्ञान, बादल, कुहिरोको सम्भाव्यता अध्ययनका लागि पनि एचपिसिको प्रयोग आवश्यक छ।

बुझ्नै पर्ने तथ्य को हो भने, गणितिय मौसम पूर्वानुमानका लागि एचपिसि नेपालमै हुनुपर्छ भन्ने छैन। रिमोट मार्फत लगइन गर्नसक्ने गरी यस्ता एचपिसि जहाँ राखे पनि हुन्छ। यस्तै विधिको प्रयोग गरेर अचेल एक देशबाट अर्को देशमा रहेको एचपिसिबाट तथ्यांक लिने गर्ने गरिन्छ। नेपालका वैज्ञानिकहरूले पनि भारत, चीन वा अन्य कुनै पनि देशमा रहेका एचपिसिको प्रयोग गरेर तथ्यांक लिन सक्छन्।

नेपालमा कस्ता अध्ययन सम्भव छन्?

नेपालमा अहिले पनि गणितिय मोडलसँग सम्बन्धित अनुसन्धान भईरहेको छ। यी विधिबारे त्रिभुवन विश्वविद्यालयको इन्जिनिरयरिङ अध्ययन संस्थानमा स्नातक र स्नातकोत्तर तहमा अध्यापन पनि हुन्छ। न्युमरिकल वेदर मोडलिङको प्रविधिसँग मिल्दोजुल्दो खालका थर्मो-फ्लुड न्युमरिकल मोडलिङ, पार्टिकल स्टाटिस्टिक्स लगायतका अनुसन्धान भईरहेका पनि छन्। त्यसैले हामी मौसमसम्बन्धी अनुसन्धानमा अगाडि बढिरहेका छौं।

अहिले इन्जिनियरिङ अध्ययन संस्थामा डाटा साइन्स, स्पेस साइन्स र सेटेलाइट डाटा एप्लिकेसन्स सम्बन्धि अनुसन्धानमा रूची बढ्दै गएको पाइन्छ। यस्ता अनुसन्धानसँग जोडिएका अन्य संस्थान र संगठनहरूले वायुमण्डल र ग्राउन्ड सेन्सिङ डाटा मार्फत् वातावरण विज्ञानसम्बन्धि अध्ययन गर्ने रूची पनि केही अघिदेखि देखाउँदै आएका छन्।

काठमाडौं विश्वविद्यालयमा हालै एक संस्थाबाट प्राप्त एउटा सानो खालको कम्युटेसनल कलस्टर पनि छ। त्यो कलस्टर पूर्ण रूपमा प्रयोगमा आउन नसकेको बताइन्छ। त्यस्तो कलस्टर प्रयोगको लागि स्रोत र जनशक्ति तयार पार्न सहकार्यको कमी मात्र हो।

मौसमसम्बन्धि अनुसन्धानका कुनै एक संस्थान वा विश्वविद्यालयले मात्र गर्न सक्दैनन्। त्यसको लागि सहकार्य चाहिन्छ। क्षमता नै नभएको भने होइन।

मौसम पूर्वअनुमान महाशाखा र अरू सम्बन्धित निकायले मौसम पूर्वानुमान सम्बन्धी धारणा राख्दा आफ्ना सिमितता व्यक्त गर्नु आफ्नो ठाउँमा जायज नै होला। तर त्यसका लागि आवश्यक अनुसन्धान तर्फ रूची बढाउन पनि आवश्यक छ। स्थानीय क्षमता र स्रोतको अवस्था बुझ्न सकिन्छ। त्यसको जानकारी भएपछि महाशाखाले देशका अन्य अनुसन्धान केन्द्रबाट सहयोग लिनसक्छ।

जनशक्तिको अभाव भएको होइन। भएको जनशक्तिको नेपालमा उपयोग नभएको मात्र हो। नेपालमा उपयोग नभएको जनशक्ति देशबाहिर त भईरहेकै छ।

- भट्टराई त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका एरोस्पेस साइन्स एन्ड इन्जिनियरिङका सह-प्राध्यापक हुन्।

 

प्रकाशित: २६ चैत्र २०७५ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App