१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

गैंडा गन्तव्य

प्राणी र वनस्पतिबीचको चक्र वातावरण हो। जसलाई दिगो बनाउन प्राणी र वनस्पतिबीच सहअस्तित्वको सम्बन्ध हुनुपर्छ। पृथ्वी सबैको साझा हो भन्ने भावनाबाट प्रेरित भई नीति, योजना र कार्यक्रम बनाउँदामात्र सहअस्तित्व स्थापनामा सहयोग पुग्छ। गैंडा, हात्तीजस्ता विशालकाय जनावरहरू हाम्रो जंगलबाट लोप नहुन् भनेर संरक्षणका कार्यक्रम सञ्चालन गरिँदै आएको छ। बाघको संख्या बढाउन गरिएका प्रयास पनि उत्तिकै उल्लेख्य छन्। केही वर्षयता ‘शून्य चोरीसिकार’ अर्थात् ‘जिरो पोचिङ’ अभियान सञ्चालन गरिँदै आएको छ। जुन कार्यक्रमले सफलता पनि हासिल गरेको हो। वन्यजन्तु तस्करबाट गैंडा जोगाउन सफल भएको कथासमेत हामीबीच चर्चाको विषय बनेकै हो। तर चोरीसिकारबाट बचाउन सकिएका गैंडा एकाएक मर्ने अवस्था सिर्जना भएको छ। बितेका नौ महिनामा ४१ गैंडा मर्नु गम्भीर चिन्ताको विषय हो। यसरी गैंडा प्राकृतिक रूपमा मर्ने अवस्था आउनाका कारणबारे फेरि ध्यान पुर्‍याउनुपर्ने अवस्था आएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत भेटिएका ४१ गैंडामध्ये ३९ वटा निकुञ्ज क्षेत्रमै मरेका हुन् भने बाँकी दुइटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा। यसरी गैंडा मर्नुलाई सामान्य घटनाका रूपमा लिन सकिँदैन। केही वर्षयता ठूलो महŒव दिएर जोगाइएका गैंडा मर्ने क्रम बढ्नु पक्कै पनि स्वाभाविक होइन।

पछिल्लोपटक आइतबार बिहान मरेको पोथी गैंडाको अवस्था सबैभन्दा गम्भीर र दुःखद प्रकृतिको छ। भरतपुर महानगरपालिका–२३, जगतपुरस्थित होटलको सेप्टिक ट्यांकमा परेर उक्त गैंडा मरेको हो। यसरी होटल टाइगर ल्यान्डको सेप्टि टयांकमा परेर गैंडा मरेको घटनालाई सामान्य मान्न सकिँदैन। गैंडा देखाएर व्यवसाय गरिएको छ भने उसको बाटोमा बन्ने संरचना सुरक्षित बनाउनुपर्ने दायित्व पनि हाम्रै हो। र, यो घटनाबाट भविष्यमा यस्ता किसिमका घटना हुन नदिन तयारी गर्नु जरुरी छ। सेप्टिक टंयाकको माथिल्लो भागको स्ल्याब कमजोर भएको हुनाले गैंडा त्यसमा परेको प्रारम्भिक विवरणहरूमा उल्लेख छ। गैंडा आउने ठाउँको पूर्वाधारको मापदण्डबारे पक्कै पनि सोचिएको हुनुपर्छ। यदि अहिलेसम्म त्यसबारे विचार गरिएको थिएन भने झनै ठूलो गल्ती मान्न सकिन्छ। जसको आकर्षणका कारण व्यवसाय भइरहेको छ, त्यसैको सुरक्षामा ध्यान दिइँदैन भने व्यवसाय सञ्चालक, निकुञ्जका कर्मचारी र मुलुकको नीति निर्माता सबै यसमा आकर्षित हुन्छन्। यसलाई एउटा सामान्य दुर्घटनाका रूपमा मात्र हेर्ने र वेवास्ता गर्ने हो भने भविष्यमा पनि यही प्रवृत्ति दोहोरिने खतरा रहन्छ। गैंडा मर्नु सामान्यजस्तो लागे पनि यति धेरै संख्यामा मृत भेटिनु अस्वाभाविक हो। गैंडा आफ्नो बासस्थान छाडेर किन बाहिर आयो भन्नेमा पनि ध्यान जानु आवश्यक छ। त्यसका निम्ति आवश्यक वातावरण मिलेन कि भन्नेमा पनि उत्तिकै विचार पुर्‍याउनु जरुरी छ।

सन् २०१५ को गणनामा नेपालमा ६४५ गैंडा पाइएका थिए। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा मात्रै यसको संख्या ६०५ थियो। अघिल्लो आर्थिक वर्षमा पनि २६ गैंडा मरेका थिए। त्यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा २५ गैंडा मरेका थिए। पहिले चोरीसिकारबाट मर्ने गैंडाको संख्या ठूलो थियो। चोरीसिकारबाट आर्थिक वर्ष २०५९÷०६० मा ३७ वटा तथा २०७३÷०७४ र २०७४÷०७५ मा क्रमशः एक÷एक गैंडा मारिएका थिए। यसरी चोरीसिकारबाट मर्ने क्रम घट्ने तर प्राकृतिक कारणले गैंडा मर्ने घटना बढ्ने विषयको अध्ययन आवश्यक छ। गैंडाको बासस्थानमा कुनै समस्या परेको हुन सक्छ। कुनै रोगको कारण पनि हुन सक्छ। बूढा भएका कारण पनि गैंडाहरू मरेका हुन् भन्ने एकथरीको तर्क छ। तर, जुन दरमा मर्न थालेका छन्, यही गति जारी रहे फेरि गैंडा लोप भएर जानसक्ने अवस्था आउन सक्छ। यसमा निकुञ्ज व्यवस्थापक र सरोकारवाला निकायले आवश्यक अनुसन्धान गर्न जरुरी छ। संरक्षण क्षेत्रका विज्ञहरूले पनि यसलाई एउटा नयाँ चुनौतीका रूपमा ग्रहण गर्नुपर्छ। मरेका गैंडा गनेरमात्र जिम्मेवारी पूरा हुँदैन। चोरीसिकार शून्यमा झारेर कमाएको नाम जोगाउन प्राकृतिक रूपमा गैंडा मर्ने कारण पनि पत्ता लगाई नियन्त्रणमा लाग्नु आवश्यक छ।

प्रकाशित: १२ चैत्र २०७५ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App