महिलालाई अवसर दिएर, उनको मनोभावना पनि बुझेर सम्मान दिनु त पुरुषको प्रतिष्ठा हो। महिलालाई सम्मान गर्ने पुरुष जत्तिको प्रतिष्ठित अरू कोही हुनै सक्दैन। त्यसैले भनिएको होला, मनुस्मृतिमा जहाँ महिलाको पूजा हुन्छ अर्थात् महिलालाई सम्मान गर्न जानेको हुन्छ त्यही उसैसँग देवता पनि खुसी हुन्छन्। महिला सम्मानविनाको त कुनै कार्य पनि सफल हुँदैन किनकि हरेक कर्ममा महिला र पुरुष दुवैको सहभागिता रह्यो भने मात्र त्यसको महत्व रहन्छ। अहिलेको समयमा सुन्दा तीतो लाग्न सक्छ तर यथार्थ हो सदियौँदेखि पुरुषले महिलामाथि शासन गर्दै आइरहे।
अर्थात् महिलाले के गर्ने र के नगर्ने पुरुषवादी सोचाइले, पुरुषप्रधान घर र समाजले निर्धारण गर्दै आयो। त्यसकै कारण आज नेपालमा मात्रै होइन, विश्वमै असमानताको खाडल बढ्दै छ। एक्काइसाैँ शताब्दीमा आइपुग्दा पनि लैङ्गिक समानताको नारा लगाउनुपर्ने बाध्यता छ। विज्ञानले यति धेरै प्रगति गरिसक्दा पनि मानव चेतनामा विकास हुन सकेको पाइँदैन। असमानता चेतनाको उपज हो। त्यसो हुँदैनथ्यो त आज कयौँ बृद्ध महिलाहरू, कयौँ आइन्स्टाइन र कयौँ न्युटन महिलाहरू जन्माइसकेको हुने थियो विश्वले। अरू त अरू महिला कवि, चित्रकार, संगीतकार, गायक, नृत्यांगना महिलाहरूको संख्या पनि पुरुषको तुलनामा कमै छ। रचनात्मक र सृजनात्मक काममा समेत पुरुष सोचले महिलालाई समान सहभागी बनाउने जरुरत देखेनन्।
अवसर पाएको भए महिलाहरू पुरुष सरह सृजनात्मक काममा अरू सक्रिय हुनेथिए र यसले पुरुषको जिम्मेवारीलाई मद्दत गर्थ्याे भन्ने बोध कमैलाई मात्र भयो। त्यसकै परिणाम त आज हरेक क्षेत्रमा अपूर्णता र गरिबीको महसुस भइरहेको छ। पुरुष मात्र सृजनात्मक भएर त्यो घर, समाज सृजनशील बन्न सक्दैन। गरिबीको प्रमुख कारण नै असमानता हो। महिला पनि सिकाइ र शिक्षाबाटै आफ्नो पहिचान र औचित्य कायम राख्न, आत्मविश्वास बढाउन सक्छन् भन्ने बोध हुनुपछ। सोचाइमा होस् या सम्पत्तिमा, अवसरमा होस् या धारणामा, संस्कारमा होस् या व्यवहारमा जे मा पनि असमानता सृजना हुनु भनेकै गरिबीको लक्षण हो।
समानताको अर्थ पुरुषको विपरीतमा जानु होइन। सृष्टिको सृजनामा महिला पुरुष दुवैको आकर्षक सहभागिता रहन सकेमात्र त्यसमा अरू सुन्दरता थपिन्छ। युद्धका लागि असमानता आवश्यक होला अन्यथा प्रेमका लागि समभाव नै चाहिन्छ। विश्व उही हो, समाज उही हो जहाँ महिला र पुरुषको सहकार्यले ऊर्जा प्राप्त हुन्छ। जहाँ महिलाको सहभागिता रहन्छ त्यहाँ दैवीय गुण, मानवीय स्वभाव र करुणाको विकास हुन्छ। पुरुषले एउटा आयामबाट हेर्ने कुरालाई महिलाले बहुआयामबाट हेर्ने खुबी राख्छन्। महिलाहरूको धैर्य, सौन्दर्य, सहनशीलता, माधुर्य र प्रेमको गुणले जस्तोसुकै प्रतिकूल अवस्थालाई पनि सहज बनाउने र स्वीकार्ने शक्ति मिल्दछ। यदि समाजमा महिला र पुरुष बिचमा भेदभाव र असमानता नहँुदो हो त सबै मानिसको मुहारमा हाँसो र सबैको हृदयमा प्रेमको ऊर्जा प्रस्फुटन हुने थियो। जहाँ प्रेम र करुणा हुन्छ त्यहाँ युद्ध टिक्नै सक्दैन।
महिलालाई निम्न कोटिमा राख्नु र आफ्नो प्रभुत्व बढाउनु भनेको पुरुषको अहंकार र आफैँलाई हिनताबोधमा लैजानु हो। म उच्च कोटिको हुँ को अर्थ हुन्छ मलाई निम्न कोटिमा राखिन्छ कि भन्ने भय छ। जहाँ भय बाँकी रहन्छ त्यहाँ विकास सम्भव छैन। एक अर्कालाई सम्मान गर्न जान्नेले कहिल्यै हिनताबोध गर्नु पर्दैन। एउटा घरमा जति महिला स्वतन्त्र रूपले प्रेम दिन सक्छिन्, घरको व्यवस्थापन गर्ने वातावरण पाउँछिन्, जति खुलेर आफ्ना भावनाहरू प्रस्तुत गर्ने अवसर पाउँछिन् त्यति नै त्यो घर, घर नभएर मन्दिर बन्नेछ। खुसी र आनन्दको फूल खिल्नेछ। इतिहासदेखि नै महिलाको सम्मान गर्ने संस्कार बसेको भए आज घर, समाज र विश्व नै अपूर्णता, अभाव, हिंसा र युद्धको चपेटामा पर्ने थिएन।
पुरुष आफ्नो जीवनमा सबैबाट सम्मान चाहन्छ तर सम्मान दिन जान्दैन या हिचकिचाउँछ भने त्यसको नतिजा के हुन्छ ? श्रीमान्ले आफ्नै श्रीमतीलाई या छोरीलाई पनि के सम्मान गर्ने भन्ने संस्कार प्रायःजसोको घरमा हुन्छ। श्रीमतीलाई श्रीमान्ले धन्यवाद भन्ने संस्कार त झन् नगन्य नै भेटिन्छ। हाकिमले कारिन्दालाई, शिक्षकले विद्यार्थीलाई पनि के सम्मान दिने भन्ने भावनाले जरो गाडेको हुन्छ। ए ल ल अरू राम्रो गर्नु, आदेशात्मक शब्दकै बढी प्रयोग हुन्छ। सरल र सहज भयो भने अरूले हेप्लान् भन्ने चिन्ता सधैँ रहन्छ। सरल हुनु, सबैलाई सम्मान गर्नु, सबैको निजतालाई कदर गर्नु जस्ता सामान्य बानीले आफैँलाई प्रेमल र शान्त बनाउँछ तर हामी कठोर बन्ने प्रयास गरिरहेका हुन्छौँ। कडा बुबा, कडा शिक्षक, कडा हाकिम, कडा गुरु बनेर आफ्नो मात्र सम्मान जोगाउन खोज्छौँ जुन बिल्कुल विपरीत सोचाइ हो। श्रीमतीले खाना पकाएर खान दिनु कर्तव्य त हो नि भन्ने ठान्छौँ र हतार हतार खाएर उठ्छौँ। कति मीठो खाना भनेर प्रशंसा गर्दै धन्यवाद दिने प्रचलन नै छैन। २–४ घण्टा समय लगाएर कसरी मीठो हुन्छ भनेर श्रीमतीले पकाएको खानाको र उनको श्रमको योगदानको कदर धन्यवाद शब्दले पुग्छ र पनि त्यसमा हामी कञ्जुस्याइँ गर्छौं।
समभावले हृदयदेखिको प्रेम प्रस्फुटन गर्छ, सेवाभावमा लैजान्छ र आफूप्रतिको सजगता कायम गराउँछ। अरूले के सेवा ग-यो, कति प्रेम ग-यो, कसरी व्यवहार ग-यो होइन। मैले के गरेँ, मैले कसरी गरेँ, मैले के सोचेँ त्यसमा निर्भर गर्छ। विभेद र घृणा होइन धन्यवाद र प्रेम भावले भरिन्छ व्यक्ति। अरूमाथि शासन गर्ने र एकोहोरो लिन मात्र जान्ने आफू दिन नजान्ने त भिखारी हो। भिक्षापात्र लुकाएर भिखारी बन्नेहरूको भिड छ यहाँ त्यसैले व्यक्तिहरू दुःखी छन्। स्वयंको स्वभावको परिचय पाउने खोज, सत्य के हो जान्ने अभिलासा, सत्यमा जिउने प्रेरणा, अहंकारमुक्त र आफूलाई मिटाएर पूर्ण अस्तित्वरूपी सागरमा डुबल्की लगाउँदै आनन्दमा उपलब्ध हुने क्षणको खोजी गर्न जान्ने हो भने विभेद अन्त्य भई सम्मान र प्रेमको जीवनको सुरुवात हुने थियो। युद्ध, हिंसा, कामना, अपेक्षा जस्ता दुर्गुणबाट मुक्त हुँदै थोपाबाट सागर हुँदै विराटतामा फैलिने र सर्वव्यापी चेतना स्वरूप हुँ भन्ने बोधपूर्ण ऊर्जामय शक्ति हो म भन्ने ज्ञान आयो भने व्यक्ति असमानताको व्यवहारमा मुछिने मौका रहँदैन।
प्रकाशित: २६ फाल्गुन २०७५ ०३:१९ आइतबार