८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

ललितपुरमा ‘हेरिटेज वाक’

‘ललितपुरलाई हेरिटेज वाक बनाइने’ शीर्षकको समाचारले मैले केही हप्ता अघि मात्र ललितपुरका केही भागहरूभित्र स्मारकहरूको लगत तयार गर्दा त्यसको सान्दर्भिकता देखेको थिएँ। हुनत ललितपुर मात्र होइन, उपत्यकाभित्रका तीनै मुख्य सहर र आसपासका अन्य नगर क्षेत्रहरूमा पनि हेरिटेज वाकको प्रबल सम्भावनाहरू नभएका होइनन्। तर काठमाडौँमा जस्तो प्रचारवादी खालको र एक दुई दिन सञ्चार माध्यममा आउन र टेलिभजिनमा देखापर्न मात्र यस्तो योजना वा कार्यक्रम गर्र्नुको कुनै मतलब हुँदैन।

ललितपुर (पाटन) को लगनखेलदेखि नै हेरिटेज वाक गराइनुपर्छ। लगनखेलदेखि पाटन मंगलबजारसम्म केही सानातिना स्मारकहरूलाई छोडेर केही उल्लेख गर्न लायकका स्मारकहरूमा ई–वा–वही र त्यस वहीको पूर्वपट्टिको कलात्मक घर, सँगैको शिखर शैलीको नारायण मन्दिर, सडकमुनिको ढलसिं महादेव, एउटा सानो कलात्मक पाटी, सँगैको परम्परागत दुई छाने भएको गणेश मन्दिर, गणेश मन्दिरसँगै दक्षिण फर्केको एक तल्ले सानो नारायण मन्दिर र अर्को महत्वपूर्ण एक तल्ले गणेश मन्दिर जसको अगाडि प्रस्तरको एक जोडी सिंह र मन्दिरसँगै जोडिएको पश्चिमतर्फ फर्केको कलात्मक झरु हुन्।

पाटन सहरको केही टोलहरूमा घुम्दा मैले राम्रा र प्रयोगमा नआएका मल्लकालीन र शाह राणाकालीन प्रस्तरका झरुहरू देखेँ। झरु संस्कृति हाल आएर उपत्यकाको जनजीवनबाट हराइसकेको छ। यो उपत्यकाभित्र प्रचुर मात्रामा स्थापना गरिएका परम्परागत पानी भण्डारण गर्ने ट्याङ्की हो। यो खास गरी बटुवाहरूको प्यास मेटाउन प्रयोग गरिन्थ्यो। एक सर्वेक्षणअनुसार पाटन सहरहरूभित्र करिब १०५ वटा झरुहिटीहरू फेला परेका छन्।

हौगल वहाल पुग्नुअघि बाटोमा रातो मच्छिद्रनाथ, मीननाथ आदिका मन्दिरहरू छन्। हौगल वहालभित्र पस्ने कलात्मक तोरणसहितको मूल ढोका र त्यसभित्र रहेका चोकहरूमा केही स्तूपहरू र जमिनमुनि सानो खाल्डोमा एउटा लिच्छविकालीन मातृकाको मूर्ति पनि देख्न सकिन्छ। हौगल वहालबाट मंगलबजार पुग्नुअघि दायाँतर्फ घण्टशैलीको छाना भएको उमामहेश्वरको मन्दिर, परम्परागत छानाको नारायण मन्दिर, उमामहेश्वरको अर्को मन्दिर र मंगलबजारको चोकमा दायाँतर्फ प्रस्तरको शिव मन्दिर छ। उक्त मन्दिरमा जान केही खुड्किला सिँढी चढेर जानुपर्छ। मन्दिरको कौसीबाट पाटन दरबार क्षेत्रको एउटा विहंगम दृश्य हेर्न सकिन्छ।

अब दरबार क्षेत्रतिर लाग्यौँ भने सर्वप्रथम च्यासिदेगः अर्थात् सन् १७२३ मा राजा योगनरेन्द्र मल्लकी छोरीले निर्माण गर्न लगाएको कृष्ण मन्दिर आउँछ। सँगै १७ औँ शताब्दीको हरगौरीको मन्दिर छ। त्यसपछि हाल पुनर्निर्माणको काम भइरहेको हरिशंकर मन्दिर, सन् १५९० मा योगनरेन्द्र मल्लले स्थापना गरेको प्रस्तरको खम्बा र उनकै ढलौटको सालिक र त्यसको ठीक पछाडि शिखरशैलीको सन् १५९० निर्माण गरिएको नरसिंह मन्दिर, त्यसको पछाडि सानो नारायण मन्दिर, त्यसपछि १५६५ मा निर्माण गरिएको हाल पुनःनिर्माण गर्न लागिएको प्रसिद्ध चारनारायणको मन्दिर छ। सँगै राजा विष्णु मल्लले सन् १७३६ मा स्थापना गरेको घण्ट छ। दायाँतर्फ प्रसिद्ध सुन्दरीचोक त्यसपछि मूलचोक, देगुतलेजु र केशवनारायण चोक आउँछ।

सन् १६३७ मा पाटनका प्रसिद्ध राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको प्रस्तरको बेजोडको कलाकृतिहरूले भरिपूर्ण कृष्णमन्दिर आउँछ। त्यसको सँगै सन् १६२६ मा राजा सिद्धिनरसिंह मल्लकै अर्को कृति विश्वनाथ मन्दिर छ। बाटैमा भीमसेन मन्दिरको इलाकासँगै जोडिएको एकतल्ले गोलाकारको मणिगुफा छ। मणिगुफाको अगाडि पूर्वतर्फ मणिमण्डप पाटीहरू र प्रसिद्ध मंगहिटी (मणिहिटी) छ। यो मंगहिटी उपत्यकाभित्र लिच्छविकालदेखि हालसम्म चालु भइरहेको एक मात्र ढुङ्गेधारा हो। यो धाराले उपत्यकाभित्रको लिच्छविकालदेखि चलिआएको ढुङ्गेधाराहरूको परम्परालाई प्रतिनिधित्व गर्छ।

पाटन व्यापारीहरूको सहर हो। यहाँ व्यापारको देवता भीमसेनको ठूलो पूजाआजा, मानसम्मान, भक्तिभाव गर्ने चलन अझै चलिआएको छ। सन् १६८१ मा राजा श्रीनिवास मल्लले निर्माण गरेको यो भीमसेनको विशाल मन्दिरको पनि हाल जीर्णोद्धार कार्य हुन लागिएको छ। मन्दिरको अगाडि प्रस्तरको स्तम्भमाथि ढलौटको सिंह मूर्ति छ। भीमसेन मन्दिरबाट तल स्वठ टोल जाने बाटोमा सानसाना शिव र गणेशका मन्दिरहरू छन्। सँगै एउटा कलात्मक पाटीमा सरस्वतीको मूर्ति छ। यो पाटीलाई सरस्वती पाटी पनि भनिन्छ। भीमसेन मन्दिरबाट सरासर उत्तर तर्फ स्वठः टोलतिर जाँदा बाटोमा जमिनमुनि माताङ्गी पीठ आउँछ। सँगै एउटा भत्कन लागेको परम्परागत बार्दली भएको राणाकालीन घर देखिन्छ। स्वठः टोलको भव्य राधाकृष्ण मन्दिरको हाल पुनःनिर्माण कार्य भैरहेको छ। मन्दिरको ठीक अगाडि एउटा काष्ठकलाले भरिपूर्ण परम्परागत घर छ। बाटैमा एउटा सानो स्तूप र मल्लकालीन झरु छ। त्यसपछि परम्परागत छानेशैलीको दुई तल्ले स्वठः नारायणको मन्दिर र अगाडितर्फको राधाकृष्ण मन्दिर र सँगै जोडिएको सानो गणेश मन्दिर छ।

युनेस्कोले उपत्यकाभित्र सर्व पथम नेवाः वास्तुकलामा निर्मित घरहरूलाई सम्पदा घोषित गरेको ‘नेवाःछें’ले त्यस ठाउँको सौन्दर्य र महत्वलाई नै वृद्धि गरिरहेको देखिन्छ। उक्त घरको ठीक अगाडि प्राचीन झरु छ। नेवाःछेंको पछाडि उत्तरपूर्व कुनामा सानो दुई तले नारायण मन्दिर छ। त्यसपछि हामी कोःवहाको सन् १६८० मा निर्मित तीन तल्ले प्रस्तरको कृष्ण मन्दिरनिर आइपुग्छौँ। बाटोमा एउटा मल्लकालीन झरु पनि देखिन्छ। कोःवहाबाट कुम्भेश्वरतिर नलागि गाःहिटीतिर लाग्दा बाटोमा एक तल्ले पितलको छाना भएको चामुण्डामाईको मन्दिर आइपुग्छ। त्यसपछि सँगै एउटा स्तूप जसमा अति राम्रो लोकेश्वरको मूर्ति छ र सँगसँगै इनार, शिवलिङ्ग, वसाह आदि पनि छन्। यसरी नेपाल उपत्यकाभित्र अनेकन् धार्मिक सहिष्णुताका उदाहरणमध्ये यो मन्दिर क्षेत्र पनि एउटा हो। विभिन्न खालका सम्पदाहरूले धनी पाटन सहरमा हेरिटेज वाकको प्रबन्ध मिलाई पर्यटकहरूलाई देखाउन सके हाम्रो देशको कला, संस्कृति र सम्पदाहरू विश्वमा अझ बढी प्रचारप्रसार हुने हो कि ?

प्रकाशित: ८ माघ २०७५ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App