अमेरिकाको मेरिल्याल्ड राज्यको तल्लो सदन (हाउस अफ डेलिगेट्स) मा नेपाली मूलका एचबी भण्डारी निर्वाचित भएपछि नेपालमा दुई खालको प्रतिक्रिया देखियो । नेपाली सञ्चार माध्यमहरूमा यो सन्दर्भले पाएको कभरेज हेर्दा लाग्छ– ठूलो संख्यामा नेपालीहरू खुसी भएका छन्।
केही खरा टिप्पणीहरू पनि देखिए । ‘मुलुक छाडेको, नागरिकता त्यागेको व्यक्ति अमेरिकामा सांसद भयो त नेपालीहरू खुसी हुनुको के अर्थ ?’ सामाजिक सञ्जालमा यस्ता टिप्पणी पनि देखिए।
भण्डारीका बारेमा दुई खालका द्विविधाहरू पैदा भएको देखिन्छ नेपालमा । पहिलो द्विविधा हो– उनी अमेरिकी सांसद हुन् भन्नेमा । दोस्रो चाहिँ उनको विजयले नेपाललाई कुनै फाइदा पुग्दैन भन्ने बारेमा । यो आलेख यिनै दुई द्विविधालाई स्पष्ट पार्नमा केन्द्रित हुनेछ।
नेपालको धौलागिरी अञ्चलमा पर्ने एउटा जिल्ला हो, पर्वत । त्यही जिल्लाको थापाथानाको खनार (हालको फलेबास नपा–२) गाउँमा ४१ वर्षअघि जन्मिएका हुन्, भण्डारी । उनका गाउँलेहरूका अनुसार त्रिभुवन उच्चमाविबाट एसएलसी गरेका उनी पढाइमा मेधावी नै थिए । पोखराको पृथ्वीनारायण क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट अंग्रेजीमै स्नातकोत्तर गरेका थिए । उनले काठमाडौँमा बोर्डिङ स्कुलको प्रिन्सिपलदेखि लिएर पाठ्यपुस्तक पनि लेखेका छन् । साहित्यमा पनि उनी त्यत्तिकै सक्रिय थिए।
अमेरिका आएर पनि उनले अध्ययनलाई निरन्तरता दिए । अहिले उनी पिएचडी गर्दैछन् । भण्डारीलाई अमेरिकामा सफल बनाउन त्यही पढाइले ठूलो भूमिका खेलेको छ।
धेरैलाई द्विविधा छ, उनी अमेरिकाको संसद्को सदस्य हुन् कि भन्ने बारेमा । उनी अमेरिकाको संघीय संसद्को सदस्य निर्वाचित भएका होइनन् । अमेरिकाको संघीय संसद्मा दुई सदन छन् । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ र माथिल्लो सदन सिनेट हुन् । तल्लो सदनमा चार सय ३५ र माथिल्लो सदनमा एक सय सदस्य रहन्छन्।
हालै भएको निर्वाचन अमेरिकी संघीय संसद्को तल्लो सदनको सबै सिट र माथिल्लो सदन सिनेटको ३५ सदस्यका लागि निर्वाचन भएको थियो । यसमा तल्लो सदनमा डेमोक्रेट पार्टीले बहुमत प्राप्त गरेको छ । चार सय ३५ सदस्यीय तल्लो सदनमा डमोक्रेटले २ सय २९ सिट जितेर बहुमत हासिल गरेको छ । माथिल्लो सदनमा भने झिनो संख्याले रिपब्लिक बहुमतमा छ।
नेपालको सातवटा प्रदेश जस्तै गरी अमेरिकामा ५० वटा प्रदेश छन् । जसलाई अमेरिकामा राज्यका रुपमा चिनिन्छ । हरेक राज्यलाई केन्द्रले कर लगायत धेरै कुरामा स्वायत्तता दिएको छ । हरेक राज्यमा तल्लो र माथिल्लो सदन हुन्छन् । हालै भएको मध्यावधि निर्वाचन ती सबै राज्यको संसद्का लागि पनि थियो।
भण्डारीले जितेको मेरिल्यान्ड राज्यको तल्लो सदन हाउस अफ डेलिगेट्समा हो । उनी चार वर्षका लागि मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट–८ बाट चुनिएका हुन् । सजिलोसँग बुझ्नुपर्दा भण्डारी निर्वाचित भएको नेपालको प्रदेश सभाको सांसद जस्तै हुन्।
मेरिल्यान्ड राज्य अमेरिकाको राजधानी वासिङटन डिसी र न्यूयोर्कको बीचमा रहेको छ । यो राज्यको तल्लो सदनमा एक सय ४१ सदस्य रहने संवैधानिक व्यवस्था छ।
विगतमा रिपब्लिकनको गढ मानिएको यो डिस्ट्रिक्टबाट उनी लगायत अरु दुईजना डेमोक्रेट सदस्य राज्यको तल्लो सदनमा निर्वाचित भएका छन् । ८० प्रतिशत गोरा जातिको बसोबास रहेको डिस्ट्रिक्ट–८ मा उनले २२ हजार एकसय ६ मत पाएका थिए । जहाँ नेपाली मूलका मतदाताको संख्या एक सयको हाराहारीमा पनि छैन।
अमेरिकामा हुने चुनावमा उम्मेदवार हुन, मताधिकार प्रयोग गर्नका लागि अमेरिकी नागरिक हुनैपर्छ । ग्रीनकार्डवाहकसँग मताधिकार हुँदैन । भण्डारीले सन् २०११ मा मात्र अमेरिकी नागरिकता लिएका थिए । पहिले अर्कै देशको नागरिक भइसकेको व्यक्ति अमेरिकाको नागरिकता लिने प्रक्रियालाई ‘नेचुरलाइजेसन’ भनिन्छ । यही प्रक्रियाबाट उनी अमेरिकाको नागरिक भएका थिए।
त्यसयता बिस्तारै अमेरिकी राजनीतिमा लागेका उनले सात वर्षकै अवधिमा राज्यको सांसद हुने अवसर पाएका हुन् । यस्तो अवसर निकै कमले मात्र पाउँछन् । त्यसमाथि १३ वर्षदेखि रिपब्लिकनको गढका रुपमा रहेको डिस्ट्रिक्टमा वहालवाला सांसदलाई पराजित गरेर विजयी हुनु चानचुने विषय होइन । उनले पराजित गरेका रिपब्लिकन उम्मेदवार जो क्लस्टर रिपब्लिकन पार्टीको मेरिल्यान्ड राज्यको पूर्व डाइरेक्टर हुन्।
नेपालीले पहिलोपटक अमेरिकामा पाइला टेकेको यसै वर्ष एकसय वर्ष पुग्दैछ । सन् १९१९ अर्थात् विसं १९७५ सालमा भक्तपुरका पदमसुन्दर मल्ल अमेरिका आइपुगेका थिए । त्यतिखेर उनी कलकत्ता हुँदै जापान गएर त्यहाँबाट भिसा लगाएर अमेरिका आएका थिए । मिचिगन राज्यमा पढेका उनी नेपालकै पहिलो इलेक्ट्रिकल इन्जिनियर पनि हुन्।
मल्ल अमेरिका प्रवेश गरेको एक सय वर्षपछि अर्का एक नेपाली भण्डारीले राज्यको सांसदको हैसियतमा पहिलोपटक नाम लेखाएका छन् । अब यो विजयले नेपाली मूलका अमेरिकीहरूको ‘क्यापिटल हिल’को यात्राको बाटो खुलेको छ । अमेरिकाको संसद् रहेको भवनलाई क्यापिटल हिलका नामले चिनिन्छ । क्यापिटल हिलसम्म पुग्नसक्ने सम्भावना रहेको र क्षमता भएका व्यक्तिका रुपमा भण्डारी देखिएका छन्।
भण्डारीले अबको चार वर्ष मेरिल्यान्ड राज्यको सांसदका रुपमा राज्यको राजधानी एनापोलिसमा बिताउनुपर्नेछ । जहाँ उनका लागि राज्यले कार्यालय, कर्मचारीको समेत व्यवस्था गर्छ।
नेपालमा गाउँपालिकाको वडाध्यक्षको टिकट पाउनका लागि समेत निकै कठिनाइ छ । कति पापड बेल्नुपर्छ । जनतासँग घुलमिल हुनुपर्छ । जनताको दुःखमा साथ दिनुपर्छ । तबमात्र पार्टी र जनताले विश्वास गर्छन् । पार्टीका नेताहरूलाई खुसी बनाएकै भरमा कतिपय अवस्थामा राजनीतिक पदको टिकट मिल्छ।
तर, अमेरिकामा त्यो भन्दा गाह्रो छ, टिकट पाउन । अमेरिकामा भने पार्टीको तल्लो तहदेखि नै निर्वाचित हुँदै पुग्नुपर्छ टिकट पाउनकै लागि।
नेपालदेखि आएर, डेमोक्रेटिक दलको सदस्य भएर, तल्लो तहदेखि छनौटमा पर्दै जानु सानो कुरा हुँदै होइन । सन् २०१४ को चुनावमा उनी प्रारम्भिक चरणबाटै बाहिरिए पनि उनको निरन्तता, समर्पण, लगावले अहिलेको अवस्थामा आइपुगेका हुन् । उनले अमेरिकी समाजसँग निरन्तर सक्रियता, हिलारी फर नेपाली अभियानको नेतृत्वले गर्दा उनी परिचित भए । त्यही लगावले उनी मेरिल्यान्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य भए । जसले गर्दा उनी अमेरिकी राजनीतिमा उदाए । उनी डेमोक्रेटिक पार्टीको चिन्ह गधा लिएर चुनाव जित्ने नेपाली मूलका पहिलो व्यक्ति हुन्।
उनले केही दिनअघि अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीसँग भनेका थिए, ‘म मेरिल्यान्डबासीको प्रतिनिधि हुँ । तर आम नेपाली मूलका अमेरिकनहरूलाई परेका समस्यालाई समेत मैले सकेसम्म, भ्याएसम्म सम्बोधन गर्नेछु ।’
इमिग्रेसन, रोजगारी, शिक्षाका विषयमा उनले आफ्नो मुद्दा केन्द्रित रहने बताएका छन् । अमेरिकामा रहेका नेपालीजस्तै उनी पनि पहिलो पुस्ताका आप्रवासी हुन् । जसले नेपाल पनि बुझेको छ र अमेरिका पनि जानिसकेको छ।
पहिलो पुस्ताका नेपालीका लागि के आवश्यक छ र दोस्रो पुस्ताले के खोजिरहेको छ भन्ने कुरा पनि उनले बुझेका छन् । उनले आपूmले अमेरिकाभरि रहेका नेपाली मूलका अमेरिकीहरूको भावनाअनुसार चल्ने बताएका छन् । आफूले लिड गरेर अमेरिकामा रहेको नेपालीहरूलाई अमेरिकी राजनीति, अमेरिकी मूलधार, समाजसेवामा अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् । जसले गर्दा नेपालीहरू बिस्तारै अमेरिकी राजनीतिमा प्रवेश गर्ने वातावरण बन्नेछ।
नेपाली मूलको व्यक्ति अमेरिकाको राजनीतिमा सफल हुनु यहाँका नेपालीका लागि मात्र होइन नेपालका लागि पनि फाइदाको विषय हो । उनले आर्थिक रुपमा नेपाललाई अहिले नै सहयोग गर्न नसक्लान् । तर सबै सहयोगलाई मौद्रिक मूल्यका आधारमा मात्र निर्धारण गर्नु हुँदैन । नेपालबाट उच्चस्तरीय भ्रमण हुँदा यहाँ अमेरिकी उच्च राजनीतिज्ञ, प्रशासक, सरोकारवालासँग भेटाउन सक्ने, बैठक राख्नसक्ने हैसियतमा उनी पुग्दा नेपालले अझै ठूलो उपलब्धि प्राप्त गर्न सक्छ । नेपालबाट बेलाबखतमा उपप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू आउँदा यहाँका माथिल्ला स्तरको त छाडौँ राज्यस्तरका उच्च अधिकारीहरूसँग समेत भेटघाट गर्ने, कुराकानीको मौका पाएका छैनन् । भण्डारीको अमेरिकी राजनीतिमा प्राप्त सफलता र एनापोलिसको संसद्मा प्रवेशले त्यो वातावरण बनाउन निकै ठूलो सहयोग पुग्नेछ।
भण्डारीको क्षमता र बुझाइलाई हेर्दा उनी राज्यको संसद्मा मात्र सीमित रहने व्यक्ति होइनन् । राज्यको सांसद उनको सुरुवात हो, यही पद अमेरिकी राजनीतिमा उनको अन्तिम पद हुनेछैन।
भण्डारीको जितले नेपाललाई कुनै उपलब्धि नै नहुने भन्ने हुँदै होइन । अहिले नै पनि मेरिल्यान्डदेखि लिएर अमेरिकाको केन्द्रीय राजनीतिमा समेत उनको चर्चा सुरु भइसकेको अवस्था छ । नेपालको नाम चिनिएको छ । अब आगामी दिनमा नामसँगै नेपालले प्राप्त गर्ने भौतिक उपलब्धि, सम्बन्धका उपलब्धि र पहिचान अनि क्षमताका उपलब्धिहरू निकै माथि जानेछन् । अहिले नै नेपालले ठूलै हात पार्ने हुँदै होइन । हजारौँ माइलको यात्रामा यो सुरुवाती पाइला हो । पहिलो पाइला नै दह्रो टेक्न सकिएन भने यात्रा सफल हुँदैन । भण्डारीको पहिलो यात्रा नै दह्रोसँग टेकिएको छ।
प्रकाशित: ४ मंसिर २०७५ ०२:०४ मंगलबार