२७ असार २०७७ शनिबार
विचार

सार्वजनिक शिक्षामा सहकार्य

२० वर्षअघि जम्मा ६६ प्रतिशत केटाकेटी विद्यालय भर्ना हुने नेपालमा आज ९७ प्रतिशतभन्दा बढी केटाकेटी प्राथमिक विद्यालयमा भर्ना हुन्छन् । अति कम विकसित मुलुकहरूको दाँजोमा यो लोभलाग्दो उपलब्धि हो । यो उपलब्धिका लागि शिक्षा मन्त्रालयलाई धन्यवाद दिनैपर्छ।

विद्यार्थीहरू विद्यालयमा पुग्दैमा शिक्षाको उद्दैश्य भने पूरा हुँदैन । अहिलेको मुख्य चुनौती भनेको विद्यार्थीहरूलाई कसरी विद्यालयमा टिकाइराख्ने र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्ने भन्ने रहेको छ । हालको अवस्थामा एक कक्षामा भर्ना हुनेमध्ये मुश्किलले एक तिहाइ विद्यार्थीले मात्र माध्यमिक तह पूरा गर्ने देखिन्छ । उदाहरणका लागि, २०६२ मा १४ लाख जति केटाकेटी कक्षा एकमा भर्ना भएको देखिन्छ तर एसएलसी परीक्षामा भने ५ लाखको हाराहारीमा मात्र सम्मिलित रहे।

शिक्षाको पहुँच विस्तारबाट अब गुणस्तर बढाउनेतिर ध्यान जाँदै गर्दा हाम्रा प्रयास दुई गुणाले बढाउन जरुरी हुन्छ । यो चुनौतीलाई आत्मसात् गर्ने एउटा तरिका भइरहेका सरकारी प्रयासहरूमा गैरसरकारी संस्थाहरूले गरेका अभ्यासहरूलाई एकै ठाउँमा ल्याउने हुन सक्छ । छरिएर रहेका प्रयोगहरूले संगठित ढंगले मिलेर लान सके सार्वजनिक शिक्षाको मजबुतीकरणलाई सहज बनाउन सक्छ।

हामीले यस्तो प्रयासको प्रयोग सार्वजनिक स्वास्थ्यमा देखिसकेका छौँ । उदाहरणका लागि, पसिवल हेल्थ (न्याय हेल्थ) स्वास्थ मन्त्रालयसँगको सहकार्यमा अछाम र दोलखाजस्ता जिल्लाहरूमा स्वास्थ्यको सहज पहुँच पु-याउन काम गर्छ । यसले सन् २००८ देखि झन्डै ६ लाख व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ सेवा भइरहेका स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरेर पु-याएको छ । जसका लागि स्वास्थ मन्त्रालयले पसिवल हेल्थलाई आर्थिक अनुदान पनि प्रदान गर्छ।

२०७० सालदेखि सामुदायिक विद्यालयमा उत्कृष्ट नेपाली युवाहरूलाई दुई वर्षका लागि स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्दै आइरहेको टिच फर नेपाल पनि यस्तै सहकार्यको बाटो सार्वजनिक शिक्षा सबलीकरणको एउटा राम्रो प्रयास हुनेछ भन्नेमा विश्वास गर्छ । शिक्षा मन्त्रालय र स्थानीय गैरसरकारी संस्थाबीचको सहकार्य प्रभावकारी हुनसक्छ भन्ने उदाहरण हामीले अन्य देशहरूमा पनि देखेका छौँ।

उदाहरणका लागि, मलेसियामा, मलेसियन सरकारले ‘टिच फर मलेसिया’लाई  मलेसियन शिक्षाको २०१३–२०२५ को राष्ट्रिय योजनामा अभिन्न अङ्गका रूपमा राखेको छ । यसबाट ८ वर्षको समयमा टिच फर मलेसियाले ४०० उत्कृष्ट मलेसियन विश्वविद्यालय स्नातकहरूलाई कमजोर सामाजिक र आर्थिक परिवेशका विद्यालयमा परिचालन गर्नेछ, जसबाट ७० हजारभन्दा बढी केटाकेटी लाभान्वित हुनेछन्।

त्यसैगरी फिलिपिन्समा, टिच फर फिलिपिन्स र त्यहाँको शिक्षा मन्त्रालयबीचको साझेदारीले दुई वर्ष पढाउने सेवा अवधि पूरा गरेका युवाहरूलाई मन्त्रालयमा सिधै सेवा गर्ने अवसर खुला हुन्छ । टिच फर फिलिपिन्सबाट दुई वर्षे सेवा पूरा गरेका ८०  प्रतिशत युवा यस्तो कार्यक्रममा इच्छुक हुन्छन् र ४० प्रतिशत त्यस्ता युवा पूर्णकालीन सार्वजानिक सेवामा आबद्ध हुन्छन् । यस्तो प्रयासले सामान्यतया सार्वजनिक सेवामा इच्छुक नहुने युवा जमातलाई देशको सार्वजनिक सेवा, विशेष गरी सार्वजनिक शिक्षाको नेतृत्व गर्न चाहिने नयाँ र ऊर्जाशील जनशक्ति उत्पादन गर्छ।

यस्तै नवीनतम काम गर्ने टिच फर अल अन्तर्राष्ट्रिय सञ्जालका  सदस्यहरू ६० देशका ४०० भन्दा बढी प्रतिनिधिहरू कात्तिक ७–९ मा काठमाडौँमा भेला भए । यो भेला, हामीले टिच फर नेपालबाट सार्वजनिक शिक्षामा गरेका प्रयासहरूलाई संसारसँग बाँड्ने अवसर बन्यो र नेपालका प्रयासहरूले पनि संसारलाई सिकाउन सक्छ भन्ने उदाहरण बन्यो।

अन्ततोगत्वा, ३०० टिच फर नेपालमा आबद्ध जति युवाहरूको यो अभियान (   नेपालको सार्वजानिक शिक्षा बलियो होस् र आर्थिक तथा सामाजिक रूपले विपन्न परिवारका केटाकेटीहरूले उत्कृष्ट शिक्षा प्राप्त गर्न सकून् भन्ने हाम्रो एक मात्र धेय हो । नेपाल सरकार र शिक्षा मन्त्रालयको पनि यही उद्देश्य हो । देशका झन्डै ७२ लाख विद्यार्थीहरूलाई निःशुल्क र गुणस्तरीय शिक्षा पूरा गर्नु आफैँमा सानो उद्देश्य हैन र यो एक्लाएक्लै गरेर सम्भव पनि देखिँदैन । त्यसैले गैरसरकारी संस्थाहरू र शिक्षा मन्त्रालयबीचको सक्रिय साझेदारीबाट मात्र सार्वजनिक शिक्षाको सबलीकरण सहज र सोचेको गतिमा हुन सक्छ।

(टिच फर नेपालमा आबद्ध)

प्रकाशित: २० कार्तिक २०७५ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App