११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

‘सवारी’ सास्ती

लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्छन् । तर, व्यवहारमा त्यस्तो देखिँदैन। प्रायः विशिष्ट र अति विशिष्टका नाममा हुने ‘सवारी’मा सर्वसाधारणको बिचल्ली हुने गरेको छ। तिनका निम्ति प्रहरीले बेला–कुबेला सडक खाली गर्दा सर्वसाधारणको दैनिकीमा भने नकारात्मक प्रभाव पर्ने गरेको छ। त्यसरी सडक खाली गर्नुपर्ने हो भने पूर्व जानकारी दिने व्यवस्था हुनुपर्छ । त्यसका लागि केही दिन पहिल्यैदेखि राष्ट्रिय सञ्चार माध्यममा सूचना प्रकाशित गर्ने हो भने सर्वसाधारणले तदनुकूल आफ्नो यात्रा पहिल्यै तय गर्नेछन्। अथवा तिनले ‘सवारी’ छलेर आफ्नो कामको गति अघि बढाउन सक्नेछन्। वास्तवमा सर्वसाधारणलाई कुनै पनि सूचना दिनु त यहाँ सरकारी निकायले कर्तव्य नै ठान्दैन। त्यही भएका कारण कुन बेला कुन बाटो कुन विशिष्टका कारण थुनिने हो पत्तै हुँदैन। सडक मर्मत सुधारको काम हुँदा पनि फलानो बाटोतिर नजानू भन्ने जानकारी सर्वसाधारणलाई दिन सकिनेछ। अहिले यतिका धेरे सञ्चार माध्यम छन्। तिनलाई सूचना पठाइदिने हो भने पनि सहजै प्रकाशन हुने र सर्वसाधारणले जानकारी पाउन सक्ने अवस्था हुन्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र अन्य अति विशिष्टका निम्ति भनेर यसरी बाटोमा सर्वसाधारणलाई बिचल्ली पार्दा कतिपय अवस्थामा आकस्मिक स्वास्थ्य स्थितिका सर्वसाधारणको ज्यान जानेसम्मको अवस्था हुन्छ। अझ केही समययता अति विशिष्टको ‘सवारी’का नाममा आकाशसमेत बन्द गर्ने अभ्यास सुरु भएको छ।

अहिले बेलाबेलामा देखिने असंवेदनशील व्यवहारले सरकारको छविमा नकारात्मक प्रभावसमेत पर्ने गरेको छ। वास्तवमा जनता नै शक्तिशाली हुन्। तिनलाई चिढ्याउने व्यवहार अति विशिष्ट र विशिष्टको चाकडीमार्फत नगरौँ। राष्ट्रपति भण्डारीको कतारबाट फिर्ती ‘सवारी’का बेलादेखि नै यसमा सुधार थालिहाल्ने हो कि?

राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबार कतार भ्रमणमा जाँदा सर्वसाधारणले सडकमा मात्र होइन, त्रिभुवन विमानस्थलमा हवाइजहाजको उडानमा समेत दुःख पाएका छन्। त्यो बेला विमान उडानमा दुई घन्टाभन्दा बढी रोक लगाउँदै धेरैले आफ्नो गन्तव्यमा पुग्न पाएनन्। कुनै बेला ‘जनताकी छोरी’ भनेर चिनिएकी राष्ट्रपति भण्डारीलाई आफ्नो कारणले सर्वसाधारणको दैनिकीमा असर नपरोस् भन्ने हेक्का हुन सकेको देखिएको छैन। उनको ‘सवारी’को व्यवस्थापन गर्ने सुरक्षा निकायले त्यस दिन दुई–तीन घन्टा पहिल्यैदेखि सडक बन्द गर्न थालिहाल्छन्। यो अवस्था यसपटक पनि देखियो। यसरी सडक बन्द गराएका कारण दिनभरिकै ट्राफिक व्यवस्था अवरुद्ध हुने गरेको छ। यस्तो बेलामा सर्वसाधारणले सवारी आवागमनमा पाएको सास्तीका निम्ति सरोकारवाला अति विशिष्टप्रति नकारात्मक भावना मात्र व्यक्त गर्ने अवस्था हुन्छ। सुरक्षा निकायलाई पनि यस्ता ‘सवारी’का बेला सडक पूरै ठप्प पार्न पाएपछि हाइसञ्चो। सबैले आफ्नो सुविधा मात्र हेरेको देखिन्छ। सर्वसाधारणलाई यसबाट कति कष्ट हुन्छ भन्ने पक्षमा भने उदासिन भएको अनुभव हुन्छ। त्यति मात्र होइन बेला–कुबेला विमानस्थल मर्मत वा यस्तै अन्य प्रसंगमा पनि सर्वसाधारणको मर्कामा भने खासै ध्यान पुग्दैन । विशिष्ट वा अति विशिष्टलाई आवश्यक भए यी सुविधा उपलब्ध हुन्छन्। त्यस्तो बेलामा सर्वसाधारणको ज्यानै जाने अवस्था भए पनि बेवास्ता गर्ने प्रवृत्ति भने आश्चर्यलाग्दो देखिन्छ । अति विशिष्टकै सवारी भए पनि सर्वसाधारणले बिरामी हुँदा वा अन्य कुनै आकस्मिक अवस्थामा यस्ता सुविधा उपयोग गर्न पाउनुपर्छ । बिरामी बोकेको हेलिकोप्टर वा जहाज छ भने त्यस्तो अवस्थामा तिनलाई सुरक्षित ढंगले अवतरण गर्न दिने व्यवस्था मिलाउनु मानवीय हिसाबले पनि उचित हो।

सर्वसाधारणमाथि उपेक्षा भएको यस्तै एउटा घटना सार्वजनिक भएको छ। जुम्ला विमानस्थल मर्मतका लागि भनेर कात्तिक ७ र ८ गते बन्द गरिएको थियो। त्यही बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको उपचार गराइरहेकी रोल्पा थवाङकी जनसरी घर्तीलाई थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने भयो। कात्तिक ८ गते उपचारका निम्ति लैजान जहाज जुम्ला लैजान धेरैतिरबाट प्रयास भए पनि तिनले मौका पाउन सकिनन्। उनले अस्पतालमा दुई दिनसम्म छटपटिएर बस्नुपरेको थियो। त्यस्तै हिमा गाउँपालिका १ मा जिप दुर्घटनामा परेका चारजनाले पनि उपचारमा जान पाएनन्। पछि दुर्घटनामा परेकालाई उपचार गराउन सेनाको हेलिकोप्टर आएपछि मात्र मुटुरोगीले पनि जाने मौका पाइन् । सर्वसाधारणलाई समस्या पर्दा विमान ल्याउन नदिने विमानस्थल विशिष्ट व्यक्तिका निम्ति खुलेको देखेर भने सर्वसाधारण आश्चर्यमा परेका छन्। सर्वसाधारणको चित्कार नसुन्ने विमानस्थल कर्मचारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बोकेर गएको जहाज भने सजिलै अवतरण गर्न पाएको छ। जसरी मन्त्रीको जहाज समस्या समाधानका निम्ति उपयोगी हुने ठानेर अवतरण गर्न सक्यो, त्यसै गरी सर्वसाधारणको जरुरी अवस्थाबारे विवेक पु-याउन सकेको भए त्यसको परिणाम सकारात्मक हुने थियो। वास्तवमा अहिले स्थिति शासक र शासितको जस्तो छ। सर्वसाधारणले नपाउने सुविधा विशिष्टले सजिलै पाउन सक्छन्। नागरिकलाई समस्या पर्दा अति विशिष्टको सवारीमा मात्र होइन अन्य अवस्थामा पनि विचार गर्न सक्ने संवेदनशील चरित्रको अहिले सर्वथा अभाव देखिएको छ। कुनै बेला तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो हेलिकोप्टर लिएर सुत्केरी व्यथाले चापेकी महिलालाई उद्धार गरेको खबरले कति धेरैलाई खुसी तुल्याएको थियो । अहिले बेलाबेलामा देखिने असंवेदनशील व्यवहारले सरकारको छविमा नकारात्मक प्रभावसमेत पर्ने गरेको छ। वास्तवमा जनता नै शक्तिशाली हुन्। तिनलाई चिढ्याउने व्यवहार अति विशिष्ट र विशिष्टको चाकडीमार्फत नगरौँ। राष्ट्रपति भण्डारीको कतारबाट फिर्ती ‘सवारी’का बेलादेखि नै यसमा सुधार थालिहाल्ने हो कि?

प्रकाशित: १६ कार्तिक २०७५ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App