पछिल्ला वर्षहरूमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा पेचिलो देखिएको समस्या व्यापार घाटाको हो। सरकारी अधिकारीहरु, अर्थशास्त्री, नीति–निर्माता, व्यापार विज्ञ, उद्योगी–व्यवसायीलगायत सबैले व्यापार घाटा कम नगरे अर्थतन्त्रमा ठूलो समस्या आउने बताइरहेका छन्। यस विपरीत व्यापार घाटा भने दिनप्रतिदिन बढ्दै गइरहेको छ। चालु आर्थिक वर्षको तथ्यांकअनुसार हामीले प्रत्येक दिन तीन अर्ब ८८ करोड रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको छ। मुलुकले दैनिक चार अर्ब १४ करोड रुपैयाँ बराबरका सामान आयात गर्दा २७ करोडका मात्र सामान निर्यात गरेको छ। यो वर्षको तीन महिना (साउन–असोज) मा मात्र मुलुकलाई तीन खर्ब ५० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत वर्ष यही बेला दुई खर्ब ३९ अर्ब ७५ करोड घाटा थियो । निर्यात कछुवाको गतिमा १६ प्रतिशतले बढेको बेला आयात ४३ प्रतिशतले अकासिएको छ । दक्षिणी छिमेकी भारत हाम्रो व्यापारिक सम्बन्ध सबैभन्दा धेरै भएको मुलुक हो । भारतबाट दुई खर्ब ३६ करोड बराबरका सामान ल्याउँदा १३ अर्ब १६ करोडका सामान निर्यात गर्न सकेका छौं । भारतसँग मात्र तीन महिनामा दुई खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा छ । कुल आयातमा भारतको हिस्सा ६३.२ प्रतिशत छ भने चीनको १४.२ प्रतिशत छ । भारतपछि अर्को छिमेकी चीनसँगको व्यापार घाटा ५२ अर्ब ५५ करोड छ । मुलुकले वैदेशिक व्यापार गरेका मुख्य देशहरुमा भारत, चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, युएईलगायत छन् । सामान आयात बढेर व्यापार घाटा बढ्दैमा त्यत्ति धेरै चिन्ता लिनु पर्दैन । तर, कस्तो सामान हामी ल्याइरहेका छौं ? अर्थतन्त्र विस्तार गर्ने वा उपभोगमा सकेर समस्यामा पार्ने ? त्यो अहम् प्रश्न हो । हामी मुलुकको औद्योगिक विकासका लागि चाहिने कच्चा पदार्थ वा मेसिनरी पार्टपुर्जा आयात गरेका छौं भने व्यापार घाटा बढे पनि मुलुकको अर्थतन्त्रलाई असर गर्दैन । यसले दीर्घकालका लागि फाइदा पु¥याउने छ । अर्थतन्त्र विस्तारका लागि होइन, उपभोगका लागि मात्र सामान आयात बढाएका छौं भने त्यसले अर्थतन्त्रलाई समस्यामा पार्नेबाहेक अर्को विकल्प छैन।
हामीले तरकारी, माछा, मासुजन्य वस्तु, फलफूल, खाद्य बालीलगायत उपभोगमा खर्च हुने वस्तुहरु खर्बौं रुपैयाँ तिरेर आयात गरिरहेका छौं । तत्काललाई निर्यात धेरै बढाउन नसके पनि उपभोगमा रहेका यस्ता वस्तु उत्पादनका लागि सरकारले विशेष प्याकेज कार्यक्रम ल्याउन सक्नुपर्छ । किसानलाई विशेष अनुदान दिएर यस्ता वस्तु उत्पादन गर्न प्रेरित गरे तत्काललाई व्यापार घाटा कम गर्न सकिन्छ।
नेपाल अहिलेसम्म कृषिप्रधान मुलुक हो र धानलाई प्रमुख खाद्यान्न बालीका रुपमा लिएका छौं । तर गत वर्ष हामीले आधा दर्जनभन्दा बढी विदेशी मुलुकबाट २५ अर्ब रुपैयाँ बराबरको चामल मात्र आयात ग¥यौं । चामल मात्र होइन, नेपालीको भान्छामा धनियाँदेखि सबै आयातित वस्तु पाकिरहेको छ । तिहार नजिकिँदै छ, हामीले आफ्नो घर सजाउन आफ्नै कौसीमा फुलाउन सक्ने फूल भारतलगायत मुलुकबाट ल्याउँदैछौं। तीन–चार दशकअगाडिसम्म मुलुक लगभग धेरै प्रकारका खाद्यान्नमा आत्मनिर्भर थियो । सरकारले ‘धान चामल निर्यात कम्पनी’ खोलेर निर्यात गर्दै आएको थियो । तर यही तीन–चार दशक अवधिमा हामी घरको कौसीमा पनि उत्पादन गर्न सकिने फूल र धनियाँ करोडौं रुपैयाँ तिरेर आयात गरिरहेका छौं। हामी ५० डिग्री सेल्सियस तापक्रम पुग्ने खाडी मुलुकमा युवालाई जान बाध्य पारेर उनीहरुले पठाएको रेमिट्यान्सले देश चलाउन अभ्यस्त छौं । तर कौसीमा धनियाँ र फूल फुलाउन प्रोत्साहन गर्न सकेका छैनौं। धनियाँ र फूल एउटा उदाहरण मात्र हो, सरकारले प्रत्येक वर्षको बजेटमा उत्पादन बढाउने कार्यक्रम त ल्याउँछ तर, नतिजा शून्य जस्तै छ । यसैको परिणाम हो प्रत्येक वर्ष व्यापार घाटा चुलिँदै जानु।
एक दशकअगाडि सरकारले निर्यात बढाउने भन्दै करिब दुई दर्जन वस्तुको सूची बनाएको थियो । यस्ता वस्तु निर्यात गर्नेलाई सहुलियत दिएको पनि हो। तर परिणाम सोचेजस्तो आएन । सूचीमा परेका वस्तुको निर्यात उल्टै घट्दै गएकाले निर्यात बढाउने विषय सरकारको प्राथमिकतामै नपरेको आशंका भएको छ। विश्वमा के बेच्न सकिन्छ भन्ने अध्ययन नै सरकारले गरेकै छैन । नेपालका जडीबुटी विश्वमै दुर्लभ मानिन्छन्। हस्तकला, गलैंचा, पस्मिना, चिया, तयारी पोसाक, कृषिजन्य वस्तुलगायतको निर्यातबाट मुलुकले मनग्ये आम्दानी गरेकै हो । जलस्रोत र पर्यटन विकासबाट पनि व्यापार घाटा कम गर्न सकिन्छ भन्ने आम धारणा छ। तर पनि सरकार बिफल छ । काम गराइ र नतिजा ठिक उल्टो छ । चुलिँदो व्यापार घाटा कम गर्ने हो भने निर्यात बढाउनुसँगै कम से कम आफैंले उत्पादन गर्न सक्ने वस्तु उत्पादनतर्फ विशेष रुपमा लाग्नुपर्छ। मुलुकको कुल व्यापार घाटामध्ये झण्डै एक तिहाइ स्वदेशमा उत्पादन गर्न सकिने प्रकृतिको छ। हामीले तरकारी, माछा, मासुजन्य वस्तु, फलफूल, खाद्य बालीलगायत उपभोग हुने वस्तुहरु खर्बौं रुपैयाँ तिरेर आयात गरिरहेका छौं। तत्काललाई निर्यात धेरै बढाउन नसके पनि उपभोगमा रहेका यस्ता वस्तु उत्पादनका लागि सरकारले विशेष प्याकेज कार्यक्रम ल्याउन सक्नुपर्छ। किसानलाई विशेष अनुदान दिएर यस्ता वस्तु उत्पादन गर्न प्रेरित गरे तत्काललाई व्यापार घाटा कम गर्न सकिन्छ। दिर्घकालीन रुपमा व्यापार घाटा कम गर्ने हो भने स्वदेशी उत्पादनसँगै निर्यात बढाउने कार्यक्रम ल्याउनुपर्नेछ। नत्र मुलुक रेमिट्यान्स आएसम्म मात्र चल्नेछ।
प्रकाशित: १२ कार्तिक २०७५ ०४:०७ सोमबार