१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सहिद सेतुकाे गाउँ

सेतु बिक दोस्रो जनआन्दोलन २०६२/०६३ मा निरङ्कुश राजतन्त्र अन्त्य गरी गणतन्त्र प्राप्तिका लागि लड्दालड्दै आफ्नो प्राण आहुति दिने सहिदमध्येकी एक महान् सहिद हुन् । गणतन्त्रको लडाइँमा होमिरहँदा २०६३ वैशाख ५ गते सहिद भएकी हुन् । उनको मृत्यु तत्कालीन ज्ञानेन्द्र चोकमा भएको हो । हाल उक्त चोकलाई सहिद सेतु बिक चोक नामकरण गरिएको छ । जुन चोक नेपालगञ्जको न्यूरोडमा छ । सेतु बिक भूमिहीन थिइन् । राजनीतिमा यिनको पहुँच थिएन । न त शासनसत्ता हत्याउने लालसा थियो यिनको । केवल गणतन्त्रका लागि लडिरहेकी थिइन् । गणतन्त्रमा जोतभोग गरेको जग्गा र बसोवास गरेको थातथलो आफ्नो हुने सपना देखेकी थिइन् । छोराछोरी पढ्न पाउने अनि पोषिलो खाना र आफ्नो पतिसँगै गाउँका युवाहरू रोजगार पाउने कल्पना गरेकी थिइन् । भारतमा बहादुर नेपालीका नाममा रगतपसिना बगाउने उत्पीडनबाट मुक्ति चाहन्थिन् । वर्षभरि भरपेट खाना र एकसरो फरिया अनि चोलो फेर्ने आशा गरेकी थिइन् । तर क्षितिजमा देखिने त्यान्द्रोमै विलीन भयो यिनका सपना र कल्पना।

सेतु बिकजस्ता हजारौँ योद्धाहरूको साहसिक बलिदानले नेपालमा गणतन्त्र प्राप्त भयो । नयाँ नेपालको परिकल्पना गरियो । अझै पनि समृद्ध नेपाल बनाउने शब्दहरूमा पूmलबुट्टा भर्दैछन् नेता र मन्त्रीहरू । बलिदानीपूर्ण संर्घषबाट प्राप्त गणतन्त्रको जगमा उभिएर धेरै नेताहरू संसद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भए । यिनका दिन फेरिए । तर गरिब भूमिहीनहरूको दिन कहिल्यै फेरिएन । सेतु बिकका रंगीन सपना र कल्पनाहरू उत्पीडनमा छन् । यिनको गुँड लुछिँदै छ । बचेराहरूलाई विषालु सर्पले डस्दैछन् । विषालु सर्पले फन्कार मारिरहेको ठाउँ भनेको सेतु बिकको बस्ती हो । जहाँ ३१ घरपरिवार बसोबास गर्छन् । तथाकथित जमिनदार÷जग्गाधनी भनिने र सरकार भनिनेहरूको उत्पीडनमा जकडिएको छ।

क गाउँ (वि बोरिङ) पनि भन्ने गरेको बस्ती । यो बस्ती खजुरा गाउँपालिका वडा नं. ३ बाँकेमा अवस्थित छ । जहाँ सहिद सेतु बिकको घर छ । यो बस्तीमा ३१ घर छन् । महिला ८४ पुरुष ७४ जम्मा १५८ रहेका छन् । जसमध्ये दलित १९, ब्राह्मण/क्षत्री १०, मधेसी २, विद्यालय जाने बालबालिका ४७, बहाल कर्मचारी २ निवृत्तिभरण २ व्यक्ति २ एकल महिला ४ सामाजिक सुरक्षा सेवा प्राप्त गर्ने व्यक्ति रहेका छन्।

यो बस्ती वि.सं. २०३५/०३६ सालमा बसोवास भएको हो । २०३३ सालतिर तत्कालीन सरकारले पश्चिम नेपालमा पुनर्बास कम्पनीमार्फत बस्ती बसालेको थियो । सोही समय नेपाल र भारतको सिमाना नजिक भूतपूर्व सैनिकहरूलाई घरबास र जग्गा उपलब्ध गराई बस्ती बसालेको हो । यस ठाउँलाई सैनिक क्षेत्र पनि भन्ने गरिन्छ । सोही समयमा नै क गाउँ पनि बसेको आधार छ।

नेपालगञ्जदेखि पश्चिम ८ किमिको दूरीमा खजुरा बजार अवस्थित छ । यो बजार खजुरा गाउँपालिका वडा नं. ४ मा पर्छ । यस बजारको सोझै दक्षिण ३ किमिको दूरीमा अवस्थित छ, क गाउँ । यो बस्ती खजुरा गाउँपालिका वडा नं. ३  बाँकेमा पर्छ । तत्कालीन समयमा यस बस्ती नजिकमा एउटा हनुमान मन्दिर थियो । त्यस मन्दिरमा हनुमान दास बाबा नामका पुजारी बस्थे । तिनै पुजारीले मन्दिरको नाममा केही जमिन भोगचलन गरेका थिए । सोही जमिन तत्कालीन सन्तकुटी प्राथमिक विद्यालय (हाल सन्तकुटी जनता उच्च मा.वि.) ले विद्यालयको नाममा नियन्त्रण (कब्जा) गर्न खोज्यो । विद्यालय र पुजारीबीच विवाद भएको थियो । त्यसताका पुनर्बास कम्पनीले सैनिक क्षेत्रमा बसोवास गराइरहेको थियो । यो वि.सं. २०३३/०३४ सालतिरको अवस्था हो । पुनर्बास कम्पनीका मेनेजर दिनेशराज शर्मा थिए । हनुमान दास बाबाले तिनै मेनेजरसँग आफूले आर्जेको जमिन विद्यालयले कब्जा गर्न खोजेको कुरा दर्साए । हनुमान दास बाबाको घटनाले दिनेशराज शर्मालाई जमिनको चलखेल गर्ने बुद्धि सुझेछ । मेनेजरले हनुमान दास बाबासँग साँठगाठ गरी जमिन लेनदेनको सर्तमा हनुमान दासको नाममा २८ बिघा जग्गा पास गराइदिएका रहेछन्।

हनुमान दासको नाममा जग्गा प्राप्त भइसकेपछि मेनेजरले हनुमान दाससँग पारिवारिक सम्बन्ध जोड्ने प्रपञ्च रचे । मेनेजरले आफ्नी पत्नी र जेठी सासुलाई हनुमान दास बाबाको धर्मछोरी नाता कायम गराए । त्यही छोरी नाताको आधारमा हनुमान दास बाबाको नाममा रहेको २८ बिघा जग्गामध्येबाट मेनेजरको पत्नी मीना उपाध्यायको नाममा १० बिघा र जेठी सासू निला ढुंगेलको नाममा ७ बिघा जग्गा बकसपत्र गरी हत्याएको देखिन्छ । र चलखेलमा सहयोगी भूमिका निभाएबापत पुनर्बास कम्पनीको तत्कालीन सुब्बा बिन्द्रा कुर्मीलाई ७ बिघा जग्गा पास गरेको देखिन्छ । २८ बिघा जग्गाको मालिक बनाइएका हनुमान दास बाबा अनन्तः ४ बिघा जग्गामा सीमित गरिए । बकसपत्र गरिएको मीना उपाध्यायको १० बिघा र निला ढुंगेलको ७ बिघा गरी जम्मा १७ बिघा जग्गामा नै क गाउँ अवस्थित छ।

क गाउँ २०३४/०३५ सालमा बसोवास भएको हो । बसोवास हुँदाको समय यहाँ बाक्लो जंगल र बुट्यानहरू थिए । घनघोर काँडाघारी थियो । त्यही बुट्यान फडानी गरेर बस्ती बसेको हो । अझै पनि ती काँडाले कोतारेका घाउहरू देखाउँछन् केही बूढापाकाहरू । त्यसताका पश्चिम तराईमा औलो र मलेरियाको अत्यधिक प्रकोप थियो । प्रकोपका बाबजुद पनि पहाडको सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाबाट यहाँका मानिसहरू बसाइँसराइ गरी आएका थिए । बस्ती बसोबास हुँदा यो जमिन अरूको हो भन्ने कुरा कसैलाई थाह थिएन । वि.सं. २०४०/०४१ सालमा बस्तीका मानिसहरूलाई एकपछि अर्को मुद्दा लाग्न थालेदेखि मात्रै आफू बसेको झुपडीमा अर्कैको मोहर लागिसकेको थाहा पाए । जुन घटनाले पूरै बस्तीको उठिबास हुने अवस्था थियो । त्यसपश्चात् निरन्तर बस्तीलाई दखल हुने घटना हुँदैआएका छन्।

वि.सं. २०३४/०३५ सालमा साबिकको वागेश्वरी–३ र हालको खजुरा गाउँपालिका वडा नं. ३ क गाउँमा ३१ घरपरिवार २८ बिघा जमिनमा काँडाझाडीले घेरिएको ऐलानी जग्गाको झाडी फाडानी गरेर बसे । बस्ती बसेको ५, ६ वर्षसम्म मानिसहरू जेनतेन गुजारा गरिरहेका थिए । कुनै किसिमको तनाव थिएन । कसैले दखल दिएको थिएन । अभावमै भए पनि बाहिरी चिन्तामुक्त जीवन चक्र थियो । तर  वि.सं. २०४१ सालमा तथाकथित जमिनदार÷जग्गाधनी भनिनेहरूले लुटपिट मुद्दा दिएपछि उत्पीडनको सिलसिला सुरु भयो । त्यसपछि निरन्तर रूपमा एकपछि अर्को घटना उम्रिन थाल्यो । अहिले बस्तीका मानिसहरू तनाव र त्रासमा छन्।

मानिसहरू मानव भएर बाँच्नका लागि मानवअधिकार घोषणापत्रले व्यवस्था गरेको छ । विश्वव्यापी घोषणापत्रले यस्तो व्यवस्था गरेको छ । आवासको अधिकार अवलम्बन भएको छ । नेपालको संविधान, २०७२ ले भूमिहीन दलितहरूलाई एकपटक जग्गा खोजेर सुरक्षित घरबास उपलब्ध गर्ने कुरालाई सम्बोधन गरेको छ । यति हुँदाहुँदै पनि यहाँ बसोवास गर्ने परिवारहरू विस्थापनको जोखिममा छन्  । पुनर्बास कम्पनी लि.का योजना प्रमुख दिनेश शर्माले आफ्नो पदको दुरुपयोग गरेको प्रस्ट छ । २०३५ सालमा बसोवास गरेका परिवारहरूलाई विस्थापन हुने गरी त्यो जालसाजी भएको रहेछ । त्यसपश्चात् हुने घटनाक्रममा भएको उत्पीडनको पनि जिम्मेदार छन् । र हालका जग्गाधनी भनिने रमेशकुमार थापाका आफन्त पनि यस बस्तीको अवस्थाको विषयमा जानकार हुँदाहुँदै चलखेल गर्नुले यी व्यक्ति पनि जिम्मेदार छन् । गाँस र बास टेकाउने संघर्षमा बस्तीका समुदायले भोगेका जे जति घटना छन्, निन्दनीय छन्  । यहाँ बस्ने परिवारहरूलाई सुरक्षित बास र खेतीयोग्य जमिन उपलब्ध गर्नु सरकार, राजनीतिक दल, सरोकारवाला पक्ष सबैको दायित्व ठहर्छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०२:०७ बिहीबार

सेतु_बिक सहिद