२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
विचार

सडक सुरक्षामा ध्यान देऊ

महान् चाड दसैं आँगनमै आइसक्यो। परिवारका सबै सदस्य एउटै थलो अर्थात् मूलघरमा भेट हुने आतुरताले सबैलाई हौस्याइरहेको छ। यस्तो बेला आफ्नो थलो पुग्ने हतार हुनु स्वाभाविकै पनि हो। त्यसैले त यतिबेला कोही यात्राका क्रममा बाटोमा छन् भने कोही यात्रा गर्ने तरखरमा छन्। कतिपय अझै टिकटको जोहो गर्दैछन् भने कतिपयचाहिँ चिनजानका तथा आफन्तको सवारीमा ‘लिफ्ट’ कुरेर बसेका छन्। तर, यो उत्साह र हतारबीच अप्रिय घटना नहोस् भन्नेबारे भने सदैव सचेत रहनु आवश्यक छ। केही दिनयता भएका सवारी आबद्ध घटनाले यो सचेतता दर्शाएको हो। सिन्धुलीबाट गुडेको बस सुनकोसीमा खस्नु, नुवाकोटको सूर्यगढीमा बस पल्टनु, धादिङको थाक्रेमा टिपर दुर्घटनामा पर्नु र यस्ता दुर्घटनामा धेरैको ज्यान जानुले हामी अघिल्ला दसैंमा झैं यो वर्ष पनि सचेत भएनछौं भन्ने प्रस्टिन्छ। जसले मृत्युमात्र हैन, सयौंका संख्यामा घाइतेसमेत बनाइरहेको छ। करोडौंको सम्पत्ति नाश भइरहेको छ। र, समग्रमा यस्ता दुर्घटनाले दसैंलाई दशामा परिणत गराइरहेको छ।

कानुन, कारागार, नियम र तिनलाई कार्यान्वयन गर्ने जनशक्ति सम्पूर्ण जनसंख्यालाई आधार मानेर तयार पारिँदैन। यी यस्ता हतियार हुन् जसलाई देखाएर व्यक्तिलाई/समाजलाई अनुशासनमा राख्ने प्रयास गरिन्छ। केही घटनालाई देखाएर बाँकीलाई पाठ सिकाउने अभ्यास यसमा हुन्छ।

जब दुर्घटना हुन्छ, त्यसपछि हामी त्यसको कारण पत्तो लगाउन हानथापमा लाग्छौं। चालकको लापरबाही, तीव्र गति, यात्रुको गल्ती, यान्त्रिक गडबडी, सडकको दुरवस्था, ओभरटेक, चालकले मापसे गर्नु आदि सनातनी कारण हुने गरेका छन्, सवारी दुर्घटनाका । प्रहरी अर्थात् राज्यका निकाय पनि यस्तै यस्तै कारण देखाएर उम्कने गरेका छन्। हो, कारण पत्ता लगाउनुपर्छ तर तिनलाई पाठका रूपमा लिएर दुर्घटना नियन्त्रणका लागि प्रयास गर्न पनि उत्तिकै आवश्यक छ। बाटो तयार नहुँदै ट्र्याकमै सवारी गुडाउँदा पनि केही नभन्ने अनि दुर्घटना भइसकेपछि भने हामीले त्यो रुटमा सवारी चलाउन अनुमति नै दिएका छैनौं भनेर पन्छिने प्रशासन एकातिर छ भने अर्कोतिर ‘चालक थाकेर निदाएछ, त्यही कारण दुर्घटना भयो’ भनेर सञ्चारमाध्यमअघि आफू साखिलो हुने ट्राफिक प्रहरी पनि हाम्रैमाझ छन्। तर, यी दुवै यस्ता कारण हुन् जसलाई प्रहरी÷प्रशासनले चाह्यो भने सहजै रोक्न सक्छ। यी दुईमात्र हैन, सवारी दुर्घटना रोक्न सकिने अरू धेरै कारण पनि छन् जसले दुर्घटना न्यूनीकरणमा सघाउँथ्यो। क्षमताभन्दा बढी यात्रु राख्न नदिने, टाइम कार्ड लागू गर्ने, लामो दुरीमा एउटैमात्र चालकको भर पर्न नदिने, खाल्डाखुल्डी पुर्ने जस्ता उपायले निमिट्यान्न पार्न नसके पनि दुर्घटना घटाउन अवश्य सकिन्थ्यो तर हामीले पाठ सिकेनौं। त्यसैले पाठ नसिकिने दुर्घटनाका यस्ता कारण भट्याइरहनु समयको सत्यानाशमात्र हो।

बितेका ५ वटा दसैंका बेला भएका दुर्घटनामा ५ सय ९ जनाले ज्यान गुमाए। २०७० को दसैंताका मात्र २ सय ७९ सवारी दुर्घटना भए। त्यसपछिको दसैंमा ४ सय १४ सवारी दुर्घटनामा परे। ट्राफिक प्रहरीलाई दुर्घटना र यसबाट भएका क्षतिको विवरण मुखाग्र भए पनि दुर्घटना नियन्त्रणका लागि जेजस्तो प्रयास गर्नुपर्ने हो, त्यसप्रति गम्भीर नभएको देखिन्छ। जहिले पनि ट्राफिक प्रहरीको बनिबनाउ उत्तर आउने गर्छ– जनशक्ति थोरै छ, सबैलाई सबै ठाउँमा पुगेर नियन्त्रण गर्न सकिन्न। ज्ञात रहोस्, कानुन, कारागार, नियम र तिनलाई कार्यान्वयन गर्ने जनशक्ति सम्पूर्ण जनसंख्यालाई आधार मानेर तयार पारिँदैन। यी यस्ता हतियार हुन् जसलाई देखाएर व्यक्तिलाई/समाजलाई अनुशासनमा राख्ने प्रयास गरिन्छ । केही घटनालाई देखाएर बाँकीलाई पाठ सिकाउने अभ्यास यसमा हुन्छ। जसरी एकाध कालाबजारियालाई पक्रेपछि ठगी गर्न पल्केका सयौं ‘व्यापारी’ आफैं ‘साइज’ मा आउँछन् । ट्राफिक प्रहरीका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। सरकारले अनुमति नदिएको सडक यो यो हो र ती सडकमा सवारी नचलाउनू भनेर एउटा सूचनामात्र जारी गरिदिँदा पनि दर्जनौं दुर्घटना टर्छन् । सिटभन्दा बढी यात्रु राखेको फेला परेमा यस्तो कारबाही हुन्छ भनेर सार्वजनिक सूचनामात्र जारी गरिदिँदा पनि दुर्घटना कम गराउन सकिन्छ। तर यति सानो काम पनि नगर्ने अनि जनशक्ति अभाव देखाएर अनुउत्तरदायी हुन खोज्ने ट्राफिक प्रहरीको शैली पनि दुर्घटना बढाउनमा धेरै हदसम्म जिम्मेवार देखिन्छ। जे होस्, यस्तो बेला एकले अर्कोलाई दोष लगाएर बस्न मिल्दैन। सम्बन्धित निकायले पदीय दायित्वअनुसार भूमिका निर्वाह गर्ने, सवारी व्यवसायी, चालक र यात्रुले पनि आआफ्नो भागमा परेको जिम्मेवारी बहन गर्ने हो भनेमात्र पनि दुर्घटना न्यून गर्न सकिन्छ। यसो भएमात्र दसैं सबैका लागि साँच्चै दसैं नै हुनेछ । हैन भने कतिपयका लागि दसैं दशामा परिणत हुने खतरा छ । त्यसैले यो अवस्थाबाट मुक्तिका लागि बेलैमा सचेत होऔं।

प्रकाशित: २८ आश्विन २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App