अहिले बजारमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता क. खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारी, रिहाइ र फेरि गिरफ्तारीका घटनाक्रमले निकै तताएको छ। पटक–पटक सर्वोच्च अदालतले रिहाइको आदेश दिने र तुरुन्तै सरकारले पक्रने र अन्य जिल्लाको मद्दामा उपस्थित गराउने यो ‘मुसो–बिरालो’ क्रियाकलापले जनमानसमा ‘प्रकाण्ड’को पार्टीले कस्तो राजनीतिक रणनीति तय गरेको रहेछ भनी खुल्दुली भने बढ्न पुगेको छ । कुन राजनीतिक दलले कस्तो राजनीतिक दस्तावेज पेस ग-यो या ल्यायो, आजकाल मानिसहरूमा त्यति चासो हुँदैन । वर्तमान राज्य (राष्ट्र) संविधान, व्यवस्था, राज्य सत्ता, पद्धतिप्रति नै खतरा र भयानक नीति छ त, विप्लव नेकपाको?
फेसबुक लगायतका सामाजिक सञ्जालमा भने कतिपय व्यक्ति प्रकाण्ड दलित भएकै कारणले राज्यले यति धेरै दुःख दिएको र उनको पार्टीले समेत त्यसै गरेको विचार राख्छन् । जे होस्, अझै क्रान्तिको विभ्रम, समाजवाद, साम्यवाद या शास्त्रीय कम्युनिज्मको ‘दिवास्वप्न’ केही व्यक्तिस“ग बाँकी रहेको स्पष्ट हुन्छ । अब कस्तो क्रान्ति गर्ने ? सशस्त्र क्रान्तिको आवश्यकता सम्भावना के कति छन् ? यस आलेखमा खोतल–खातल पार्ने जमर्को गरिनेछ।
आज खड्गबहादुर विश्वकर्मा जुन राजनीतिक कारणले थुनिएका हुन्, हिजो उनीसँगै सामन्ती राज्यसत्ताविरुद्ध सँगै जनयुद्ध लडेका थिए, वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि। हिजो बादलले लडेको क्रान्ति सही तर प्रकाण्डले लड्ने भनेको विद्रोह चाहिँ गलत कसरी हुन सक्छ? पक्रिने क. बादल, पक्राउ पर्ने क. प्रकाण्डबीच भइरहेको छ चाहिँ के ? सही को र गलत को ?
‘झापा विद्रोह’को नाउँमा विसं २०२८ मा तत्कालीन नेकपा मालेको एक समूहले धर्मप्रसाद ढकालको हत्या ग¥यो । त्यस विद्रोह (सशस्त्र) का नेताहरू पछि शान्तिपूर्ण आन्दोलनमा परिणत भए । तत्कालीन एक जना नेता हुन्, वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली । त्यस्तै सिपी मैनाली, आर. के मैनालीहरू पनि बहुदलीय प्रतिस्पर्धामा नै रमाए । सांसद, मन्त्री बने । त्यति मात्र होइन, नेत्रविक्रम चन्द ‘विप्लव’जस्तै जड्सूत्रवादी नेता एमबी (मोहन वैद्य) र गफसूत्रवादी नेता एमबी(मोहनविक्रम सिंह) समेतले अझै जनविद्रोह, सशस्त्र क्रान्तिमार्फत नयाँ जनवादी सत्ता स्थापना गर्ने भाषण ठोक्दैछन् । वर्तमान राज्यसत्ता, सरकार, संविधान, विधि पक्रिया, पद्धति नमान्ने उद्घोष भएकै छन्।
खासमा सँगै र एउटै कम्युनिस्ट पार्टी (चौम) मा रहेका दुवैै एमबी २०४१ साल पछि छुट्टिन पुगे । २०४१ सालमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेकपा (मशाल) गठन भयो भने २०४२ साल चैतमा राष्ट्रिय सम्मेलन गरी नेकपा (मसाल) गठन भयो र त्यसको नेतृत्व मोहनविक्रम सिंहले गरे । यसरी नेकपा (चौम) फुटेर मोटो मसाल र पातलो मसाल बन्यो । यो फुट्नुको खास कारण थियो “क्रान्तिमार्फत जनवादी राज्यसत्ता स्थापना” गर्न को बढी क्रान्तिकारी भन्ने विवाद।
त्यसपछि २०४३ सालको सेक्टर काण्ड (नेकपा मशालका महासचिव मोहन वैद्य ‘किरणको’ निर्देशनमा केही प्रहरी सेक्टरमा भएको असफल कारबाही) मा महासचिवको कारण असफल भएको आरोप लागेपछि किरणले महासचिव पद छोडे । उक्त पदमा स्थापित हुन पुगे क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अनि प्रचण्ड नेतृत्वको नेकपा मशाल, निर्मल लामा नेतृत्वको (चौम) रूपलाल विश्वकर्मा समूहको सर्वहारा श्रमिक संगठन, डा.बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसाल र रूपचन्द्र विष्टको ‘थाहा’ आन्दोलनबीच एकता गरी २०४७ सालमा नेकपा (एकता केन्द्र) गठन हुन पुग्यो । तथापि त्यो एकता भने धेरै टिक्न सकेन । २०५१ साल जेठमा चितवनमा सम्मेलन गरी महासचिव पुष्पकमल दाहालको नेतृत्वमा नेकपा (माओवादी) को जन्म हुन पुग्यो । त्यसै सम्मेलनबाट “सशस्त्र जनयुद्ध”को राजनीतिक लाइनसमेत पास हुन पुग्यो । स्मरण रहोस्, जनयुद्ध चलिरहेकै समयमा २०५७ साल माघमा भारतको पन्जाबमा दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गरी प्रचण्डलाई महासचिवबाट पदोन्नति गरी अध्यक्ष बनाउने र पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा “माक्र्सवाद–लेनिनवाद माओवाद र प्रचण्डपथ” मान्ने निर्णय गरेको थियो । त्यसपछि २०७५ सालमा नेकपा एमालेसँग एकता गर्नुपूर्वसम्म माओवादी पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहे । ‘प्रचण्डपथ’ चाहिँ माओवादी शान्ति प्रक्रियामा आएसँगै बेपत्ता भयो।
यति भइसकेपछि अब भने क्रान्तिकारी, विद्रोही, नयाँ जनवादी सत्ताको निम्ति लड्नुपर्ने मान्यता राख्ने वर्तमानका विप्लव लगायतका राजनीतिक शक्तितर्फ नै फर्कौं।
अहिले कुनै व्यक्तिमाथि हत्या भयो भने, बलात्कार भयो, पदमुक्त भयो भने पहिले त्यो कुन जातको व्यक्ति हो भन्ने सवाल उठाइन्छ । कुनै अमूक व्यक्ति मन्त्री बन्यो भने या मन्त्री पदबाट राजीनामा दियो या हटाइयो भने, ती मन्त्रीको जात, क्षेत्र, लिङ्ग, के भन्ने प्रश्न उठ्ने गर्छ । माथि कम्युनिस्ट पार्टीको नेपालमा उतारचढाव, फुट, एकता, आरोप, षड्यन्त्रबारे थोरै जानकारी गराइयो । तर नेपालको राजनीतिक, सामाजिक, अर्थ–राजनीतिक समस्या धेरै पुरानो छ । बाहुबल र रक्तरञ्जित, धोखा, हत्या, षड्यन्त्रबाटै शासक बन्ने नेपालको विगत र इतिहासबाट हामी लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानता र समावेशीकणको युगसम्म आइपुगेका छौँ।
एउटा महत्वपूर्ण प्रश्न, लोकतन्त्रमा, संविधान नमान्न पाइन्छ कि पाइन्न ? लोकतन्त्रमा संविधान विरोधी गतिविधि गर्ने छुट हुन्छ ? शासन, प्रशासन, न्याय, विधिको शासन, अधिकार, स्वतन्त्रता हुन्छन् लोकतन्त्रमा । आज खड्गबहादुर विश्वकर्मा जुन राजनीतिक कारणले थुनिएका हुन्, हिजो उनीसँगै सामन्ती राज्यसत्ताको विरुद्ध सँगै जनयुद्ध लडेका थिए, वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि । हिजो बादलले लडेको क्रान्ति सही तर प्रकाण्डले लड्ने भनेको विद्रोह चाहिँ गलत कसरी हुन सक्छ ? तत्कालीन सर्वोच्च कमान्डर प्रचण्ड, बादल, अनन्त, किरण, सिपी गजुरेल, विप्लव, प्रकाण्ड सबै एउटै स्कुलिङबाट आएका, “सत्ता बन्दुकको नालबाट मात्रै प्राप्त हुन्छ । त्यस्तै “सच्चा क्रान्तिकारी योद्धा आमाको कोखबाट होइन, क्रान्तिको भट्टीबाट जन्मिन्छ ।” पढेको त यही हो सबैले । त्यसो हो भने पक्रिने क. बादल, पक्राउ पर्ने क. प्रकाण्डबीच भइरहेको छ चाहिँ के ? सही को हो र गलत को?
२०६६/६७ सालतिर तत्कालीन माओवादी नेतृ हिसिला यमीसँग एक कार्यक्रममा भेट हँुदा यो लेखकले एउटा प्रश्न गरेको थियो । बालकृष्ण ढुंगेल (ढुंगेललाई सो समयमा नै जन्मकैद फैसला भइसकेको थियो तर उनलाई पार्टीले लुकाउँदै, संरक्षण गरेको थियो) लाई माओवादी पार्टीले संरक्षण गरिरहेको छ तर सुजीत विक (जसलाई प्रचण्ड ठैव हत्या आरोपमा पार्टीले नै पक्राउ गर्न लगाएको बुझिन्थ्यो) लाई भने तपाईंहरूले थुनाउनुभयो, यसमा जातीय कारणबाहेक अरु पनि कारण छ र ? उक्त समयमा नेत्री यमी नाजवाफ भएकी थिइन् । क. प्रकाण्डलाई नै सोधौँ न, “कमरेड, तपाईंले भन्ने गरको नयाँ क्रान्ति, नयाँ जनयुद्ध, पुनः सशस्त्र क्रान्तिले यहाँको वर्णाश्रममा आधारित (वर्गमा आधारित होइन) समस्याको समाधान कसरी गर्छ ?” माक्र्सवाद शास्त्रीय कम्युनिज्म, एकल कम्युनिस्ट पार्टीको स्थापनाले यहाँको समस्या समाधान हुँदैन, तपाईं प्रस्ट हुनुस् । माक्र्सवाद व्यवहारतः राजनीतिक रूपमा विश्वविद्यालयका कक्षा कोठाहरू र पुस्तकहरूमा मात्रै सीमित छन् । विश्वमा माक्र्सले सोचेजस्तो साम्यवाद कहीँ कतै लागू भएन र हुँदैन पनि । तपाईं किन बुझेर पनि बुझ पचाउँदै हुनुहुन्छ ? अबको क्रान्तिकारी भ्रम केही स्वार्थी राष्ट्रिय पुरातनवादी विपक्षी र नेपालको भलो र स्थायित्व नचाहने छिमेकीको कुटिल षड्यन्त्र मात्रै हुन सक्छ । अज्ञात समूहको स्वार्थ, अस्तित्वविहीन बन्न पुगेको प्रतिपक्ष र भारतको स्वार्थमा यहाँ क्रान्तिको भ्रामक प्रचार अब रोक्नैपर्छ, कमरेड।
मुलुकमै अझै पनि अतिवादीहरूको उन्मूलन हुन सकेको छैन । एक समय थियो, जति बेला लोकतन्त्र, गणतन्त्र, समानता, विधिको शासनको निम्ति लड्नैपर्ने जरुरी थियो । महान् परिवर्तनका निम्ति माओवादी जनयुद्धको मूल योगदान थियो । अब समय फेरिएको छ । प्राप्त भएका उपलब्धि, जनाधिकारहरूको संरक्षण गर्दै राष्ट्रिय हित, शान्ति, स्थिरता, उन्नति, विकास र समृद्धितर्फ अघि बढ्नु वर्तमानको सही दिशा हो । संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, लोकतन्त्र, विधिको शासनको जगेर्ना गर्नुपर्छ । एकातर्फ वर्तमान सरकार दुई तिहाइ बहुमतको उन्मादमा जनताको हक, लोकतान्त्रिक विधि र प्रक्रिया, स्वतन्त्रतामाथि नै अंकुश लगाउने गलत मार्गमा हिँड्न खोज्दैछ । अर्कोतर्फ पूर्वराजतन्त्रका महासामन्तवादी शक्ति टाउको उठाउन नसक्ने भएको अवस्थामा ‘प्रकाण्ड’ जस्ता कथित क्रान्तिकारी र पार्टी खोज्दै स्थापित भएका जनाधिकार भत्काउने दाउमा छ । त्यसो त नेपाली कांग्रेस समेत सरकारलाई असफल बनाउन अवाञ्छित शक्तिलाई सहयोग गर्न सक्ने मुडमा देखिन्छ । र अर्को झनै महत्वपूर्ण सत्य, भारत (जसको भूमिमा नै १० वर्षे जनयुद्धताका प्रचण्ड लगायतका ठूला नेता बसे) यहाँ शान्ति स्थायित्व र उन्नति देख्न सक्दैन, ले सहयोग गर्न सक्छ । यस्तो स्थितिमा मुलुकलाई थप जटिलता, विग्रह, द्वन्द्वतर्फ जानबाट रोकी समाधानतर्फ, सहमति र राष्ट्रिय हितमा जिम्मेवार बन्न जरुरी छ । देशमा जातीय, वर्गीय, समुदायगत, भाषा, लिंग, पेसा, क्षेत्र, धर्म थुप्रै प्रकारका समस्या यथावत छन् । असन्तुष्ट, आक्रोशित, द्वन्द्वउन्मुख विभिन्न जात, जाति, वर्ग, क्षेत्र नभएका होइनन् । तथापि ती सबै असहमति, आक्रोशको शान्तिपूर्ण, वैचारिक समाधान खोज्न सकिन्छ । संविधान यस्तो बनाएका छौँ, जनमत प्राप्त गरी आफू अनुकूल संशोधन गर्न सकिन्छ । अतः विधि, प्रक्रिया, संविधानभित्रै समाधान खोजौँ, खोक्रो क्रान्तिकारीपन छोडौँ।
प्रकाशित: १४ आश्विन २०७५ ०३:३७ आइतबार