१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

खेलाडीमा अतिआत्मविश्वास घातक

अतिआत्मविश्वासका कारण विश्वकप च्याम्पियनसिपको दाबेदार ब्राजिल विश्वकपबाट बाहिरियो। अतिआत्मविश्वासले खेलाडीमा घमण्ड बढ्छ। उनीहरू नचाहिँदा क्रियाकलाप देखाउन थाल्छन्। त्यसबाट मनोशारीरिक समन्वय खलबलिन्छ र नतिजा नकारात्मक हुन्छ।

खेलाडीमा अतिआत्मविश्वास हानिकारकअवगुण हो। प्रारम्भिक अवस्थामा उनीहरूलाई खेल्न आउँदैन। प्रशिक्षकले खेल खेल्न सिकाउँछन् र प्रशिक्षण अवधिभर अभिप्रेरित गर्दै खेलतर्फ आकर्षित गर्छन्।


प्रशिक्षण एक सिकाइ हो। सिकाइका क्रममा खेलाडी एक ठाउँमा पुगेपछि समथर अर्थात मैदानमा पुगेर रोकिन्छन्। अक्सर धेरै खेलाडीको खेल जीवन त्यही मैदानबाटै टुंगिन्छ। व्यक्तिगत टाइमिङ भएका खेलाडीले आफ्नो रेकर्डमा सुधार गर्न सत्तै्कनन्। उनीहरूले अथक प्रयास गर्दा पनि रेकर्डमा सुधार हुँदैन। नेपालका सन्दर्भमा म्याराथुनको टाइमिङ २:१५:०३ छ। यो टाइमिङ बैकुण्ठ मानन्धरले कोलकात्ता साग खेलकुदमा कायम गरेका हुन्। यो टाइमिङ साग खेलकुदकै सर्वोत्तम टाइमिङ्ग हो।

 

बैकुण्ठले आफ्नै सर्वोत्तम टाइमिङ सुधार गर्न खोज्दाखोज्दै पाकिस्तान सागमा तेस्रो हुन पुगे। त्यसपछि उनले सागबाट अवकाश लिए। अरू खेलका पनि यस्ता उदाहरण छन्।


खेलाडीहरू एक ठाउँमा पुगेर रोकिने धेरै कारण हुन सक्छन्। तीमध्ये अतिआत्मविश्वास पनि एउटा हो। वास्तवमा शिखरमा पुग्नेबित्तिकै घमण्ड उत्पन्न हुन्छ। अहम् बढेपछि खेलाडीले गुरुका निर्देशनको बेवास्ता गर्न थाल्छन्। गुरुको निर्देशनलाई बेवास्ता गर्नेबित्तिकै प्रशिक्षणको स्तरमा ह्रास हुन थाल्छ। एक दिन दुईदिन तीन दिन गर्दागर्दै प्रस्तुति खस्किन थाल्छ। आफ्नो नकरात्मक प्रस्तुति देख्नेबित्तिकै उनीहरू अनुशासनहीन बन्न थाल्छन्। र अन्ततः हेर्दाहेर्दै खेलाडीले प्रशिक्षण छाडेर खेल जीवनै त्याग गरेर खेल राजनीतितर्फ उन्मूख हुन्छन्।


खासगरी यसलाई तोड्न गुरू, खेलाडी, व्यवस्थापक, संघ सबैले संयुक्तरूपमा वस्तुगत मूल्यांकन गर्नुपर्छ। प्रशिक्षकले प्रशिक्षण रेकर्ड चिरफार गर्नुपर्छ। खेलाडीले आफूलाई परेका कठिनाइ बताउनुपर्छ। संघ र व्यवस्थापकले प्रशिक्षण कार्यमा पुर्‍याउन नसकेको सहयोग बताउनुपर्छ। चिकित्सक र खेल मनोविज्ञले आआफ्नो प्रतिवेदन पेस गर्नुपर्छ। यसरी संयुक्तरूपमा गरिने प्रयासले मात्र खेलाडीको ‘प्लेटो' टुट्न सक्ने वा नसक्ने निर्धारण हुन्छ।


कतिपय खेलाडीले उमेरका कारण राम्रो नतिजा दिन सक्तैनन्। हामीकहाँ सामान्यतः १७ देखि २५ वर्षको खेल जीवन हुन्छ। जति परिणाम दिने हो खेलाडीले यही उमेरभित्र दिन सक्नुपर्छ। उमेर नाघेपछि मानसिकरूपमा पनि खेलाडीले ‘अब म खेल्न सक्तिन रिटायर्ड भएँ' भन्ने ठान्न थाल्छन् र राम्रो खेल्न सक्तैनन्। तर युरोप अमेरिका तिरका खेलाडीको खेल जीवन झन्डै ३५-४० वर्षसम्मको हुन्छ। यसपटकको विश्वकप नै यसको उदाहरण हो।


खेलको प्रकृतिअनुसार खेलाडीको उमेर निर्धारण हुन्छ। सबै खेलमा उमेरको एउटै मापदण्ड लागू हुँदैन। युरोप अमेरिकाका खेलाडी सानै उमेरदेखि खेल्न सुरु गर्छन् र १५ देखि १८-१९ वर्षको हुँदा उनीहरू ओलम्पिक तथा विश्वच्याम्पियन बन्छन्। तर हामीकहाँ एउटा खेलाडीले १७ वा १८ वर्षको उमेरदेखि खेल सुरु गर्छन् र २५ वा २६ वर्षमा पुगेर रिटायर्ड हुन्छन्।


त्यसोत उमेर मात्रै अवरोधको कारण हुँदैन। खेलाडीले पाउने प्रशिक्षण, खुराक, खेल चिकित्सा, खेल मनोविज्ञान, खेलकुद सुविधा, खेल सामग्री, प्रशिक्षण स्थलआदिमा खेलाडीको प्रगति निर्धारित हुन्छ। सबै विधि र सुविधाको समन्वय हुन सक्नुपर्छ।


यस सम्बन्धमा सबैभन्दा महवपूर्ण खेलाडीको मनोवैज्ञानिक चरित्र हुन्छ। खेलाडीले सकारात्मक सोच्छ कि नकरात्मक भन्ने सबैभन्दा महत्वपूर्ण हुन्छ। सकारात्मक सोच्ने खेलाडीले प्लेटोलाई तोड्न सक्छ भने नकरात्मक सोच भएको खेलाडी सक्तैन। त्यस्ता विफल खेलाडी छिटै खेल जीवनबाट अवकाशतर्फ उन्मुख हुन्छन्।


आफ्नै भए पनि पुरानो रेकर्ड तोड्न नसक्नु, टाइमिङमा सुधार गर्न नसक्नु, समूहगत प्रस्तुति खस्किनु खेलकुदका लागि राम्रो स्थिति होइन। अतः राष्ट्रिय खेलकुद परिषद्, खेलकुद संघजस्ता सम्बन्धित निकायले खेलाडी प्रशिक्षक र व्यवस्थापकलाई दोष लगाएर पन्छिनुभन्दा संयुक्त बसेर प्लेटो तोड्ने उपाय पत्ता लगाउनु आवश्यक हुन्छ।

 

प्रकाशित: १७ श्रावण २०६७ २३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App