‘हरित’को अर्थ हुन्छ, हरण गरिएको । ‘आलिका’को अर्थ हुन्छ, सखी–सहेली–साथी । संस्कृत भाषामा अलिभी : सखिभ हरिता इति हरितालिका।
प्रसंग : भाद्र शुक्ल तृतीयामा पर्वतराज हिमालयकी सुपत्री पार्वतीलाई विष्णुहरिसँग विवाह गर्ने प्रस्ताव नारदमुनि लमीका रूपमा हिमालय र मैनालाई सुनाएपश्चात् यो प्रस्तावलाई पार्वतीले स्वीकृत गरिनन् र उदास भइन् । साथीहरूले उनलाई उदास देखेपछि सोधे, के भयो तपाईंलाई ? पार्वतीले उत्तरमा के भनिन् भने म विष्णुसँग विवाह कदापि गर्दिनँ, किनभने मैले कठोर तपस्या गरेर शिवलाई पतिका रूपमा वरदान मागेर उनीसँग विवाह गर्ने अठोट गरेको छु । तसर्थ नारदजीको प्रस्ताव मलाई मन्जुर छैन । अतः उनकी सखीले उनलाई यो प्रस्तावबाट जोगाउन उनलाई हरण गरेर लुकाइदिए । कहाँ हिमालयको काखमा बस्ने पार्वती, कहाँ समशीतोष्ण जलवायु भएको कन्या कुमारीमा गएर शरण लिन पुगिन् तर उनको साथमा उनकी सखी पनि थिइन्।
धार्मिक पक्ष : शिव र पार्वतीको दाम्पत्य जीवन सुखद भएकाले यसैलाई आत्मसात् गरेर महिलाहरू यो पर्व गर्ने संकल्प लिन्छन् र आफ्ना पतिदेवको दीर्घायु र चिरायु हुने कामना गर्छन् । यस पर्वमा व्रतालु महिलाहरू निराहार र निर्जल बस्ने गर्छन् । चौबीस घन्टासम्म पानी पनि नखाइकन यो व्रत बस्ने लामो परम्परा अद्यापि छ । एक दिन पूर्व दर खाने प्रचलन पनि छ।
नयाँ वस्त्र र गरगहना लगाएर महिलाहरू बडो उत्साह र उमंगका साथ भाग लिने गर्छन् । विवाहिता छोरीहरू माइतमा भेला हुन्छन् । मीठा मीठा खानपिन र गीत संगीतले भरिएको माहौलमा यो महिलाहरूको महोत्सव हो । गीतको माध्यमबाट महिलाहरू आ–आफ्नो ससुरालीको व्यथाकथा अभिव्यक्त गर्छन्।
विकृति र विसंगति : संसारको जुनसुकै संस्कृति परिवर्तनशील हुनुको साथसाथै सञ्चरणशील हुन्छ । संस्कृतिमा परिवर्तन हुन्छ, यसलाई स्वीकार गर्न सकिन्छ तर यसमा विकृति र विसंगतिको प्रवेशलाई परित्याग गर्नुपर्छ । समयको माग र गतिअनुसार केही सार्थक परिवर्तनलाई स्वीकार गर्न सकिन्छ तर विकृति र विसंगतिलाई अंगीकार गर्न सकिँदैन । संस्कृतिमा विकृति र विसंगति संस्कृतिको स्वरूप एवं संरचनालाई नै विरूप भनौँ कुरूप बनाउने खालको प्रवृत्तिहरू र मनोवृत्तिलाई प्रोत्साहित गर्न सकिन्न।
तीजमा आएका केही कुवृत्तिहरू र कुप्रथालाई यथाशीघ्र हटाउनु आवश्यक देखिन्छ । वास्तविक र मौलिक लोकगीतहरूमा फ्यूजन गर्ने र यसलाई भद्दा र अश्लील बनाउने काम रोक्नुपर्छ । महिनौँ अघिदेखि महँगा महँगा होटलमा दर खाने बानी । मौलिक परम्परामा गाउने गीतहरूमा छाडा प्रवृत्तिका गीत मिसाएर गाउने र क्यासेट निकाल्ने । तडकभडकबाट यसको मौलिकतालाई कुल्चने कोसिस रोकिनुपर्छ।
मधेसी महिलाहरू विशेष गरेर मैथिली महिलाहरू मन्त्रको उच्चारण गरेर शिव पार्वतीको आराधना एवं गर्छन् । शिव–पार्वतीको विवाहोत्सवको अवसरमा गाइने नचारी भजन यस्तो छ :
चले दिगम्बर गौर बिहाने
जटा से गंगा उछलके
कानों में कुण्डल, भसम रमा के
साँपों की माला, गले लगा के
डमरु से डिमडिम निकाल के चले
ताल बेताल बारात सजा के
छम छम छम छम नाच दिखा के
शिवजीको बसहा कमाल के
चले गिरपति बैठे शोक सभा के
मैना देखे रूप जिया के
गौर के दिनमा निहार के
चले नारद आए वीण बजाके
मैना ने जना रूप धियाके
गौर के वर हे कमाल के
(महादेव बिहे गर्नका लागि हिँड्नु भो
आफ्नो जटाबाट गंगा बहाउँदै
कानमा कुण्डल भष्म दलेर
साँपहरूको माला गलामा लगाएर
डमरुबाट डमडम आवाज निकाली
ताल बेतालको बारात सजाएर
छमछम नाच देखाएर
शिवजीको बसाहा कमालको
गिरिपति (हिमाल) शोक मग्न मुद्रामा
मैनाले देख्यो दुलहीको रूप
गौरीको दुलहा छन् कमालको)
प्रकाशित: २७ भाद्र २०७५ ०३:२५ बुधबार