११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

समयको महत्व कहिले बुझौँला त?

केही दिनअगाडिको कुरा हो। हामी उद्यममा लागेका केही व्यक्ति एउटा अन्तर्राष्ट्रिय सम्मेलनबारे ब्रिफिङ गर्न राष्ट्रपतिसमक्ष पुगेका थियौँ। हामीले भेटघाटको समय अगाडि नै निश्चित गरेका थियौँ। तोकिएको मिति र समयमा पुग्दा गेटकिपरले भने– ‘तपाईंहरू एक घण्टा छिटो आउनुभयो, भित्र गएर बस्दै गर्नूस्।’ मलाई अर्को एउटा मिटिङ पनि भ्याउनु थियो। त्यसैले एक घण्टाअघि नै अर्थात् कार्यक्रम सुरु हुनुअघि आइपुग्छु भनेर त्यहाँबाट हिँडेँ।

उताको मिटिङ छोट्याएर हतार–हतारमा हिँडियो। काठमाडौँको जाम, सबैलाई थाहा नै छ। कतै त्यसमै परेर ढिला हुने हो कि भन्ने डरले पनि केही क्षण तनाव भयो। धन्न, भेटघाट सुरु हुनुभन्दा २० मिनेटअगाडि नै आइपुगेँ। अचम्म त त्यतिबेला लाग्यो, जतिबेला हामीलाई एक घण्टापछि हुन्छ भनिएको कार्यक्रम त सुरु भइसकेछ, त्यो पनि आधा घण्टाअघि नै। अनि मलाई भनियो कि ‘झण्डै आधा घण्टाअगाडि कार्यक्रम सुरु भइसक्यो, सम्माननीयज्यूको सवारी भइसकेकाले तपाईं जान पाउनुहुन्न।’

मलाई रोक्नेसँग केही समय वादविवाद भयो। मैले भनेँ– तोकिएको समयभन्दा २० मिनेटअगाडि नै आइपुगेकी छु, किन जान नदिने ?’ मलाई बाटो छेक्नेको भनाइ थियो– ‘कार्यक्रम सुरु हुने बेला भएको त थिएन तर सबै सहभागी छिटै आएकाले कार्यक्रम पनि तोकिएको समयभन्दा छिटो नै सुरु भयो।’ यसो हुनुलाई उनले सामान्यरूपमै लिए र थपे– सबै आएपछि कार्यक्रम सुरु हुनु कुनै ठूलो कुरो पनि हैन।

सोचेकी थिएँ– राष्ट्र प्रमुख जस्तो व्यक्ति धेरै व्यस्त हुनुहोला। त्यही कारण पनि हामीले यो भेटघाटका लागि निकै अघि नै समय निश्चित गरेका थियौँ । जब यो घटनाको एक पात्र आफैँ बन्न बाध्य भएँ, त्यसपछि मेरो सोचाइ परिवर्तन हुन पुग्यो– आखिर राष्ट्र प्रमुख व्यस्त हुन्छन् भन्ने सोचाइ गलत रहेछ। नत्र त दिएको समयभन्दा एकाध घण्टा चाँडै कसरी भेटघाट वा कार्यक्रममा सहभागी हुन सकिन्छ र? सधैँजसो धेरै कार्यक्रममा प्रमुख अतिथि वा मुख्य मान्छे वा पदाधिकारी विभिन्न व्यस्तताका कारण ढिलो आउने गरेका र आफूहरूचाहिँ पट्यारलाग्दो पर्खाइमा बस्नुपरेको अनुभव भइरहेका बेला यो उल्टो परिस्थितिले अचम्मित तुल्यायो । जुन स्वाभाविक पनि थियो।

यो घटनाले मेरो मानसपटलमा एकैपटक धेरै प्रश्न पनि जन्माइदिएको छ। यतिखेर मुलुक राजनीतिक स्थिरताको आशा गरिएको दुई तिहाइ जनप्रतिनिधिको समर्थन प्राप्त सरकारद्वारा सञ्चालित छ। सोझै भन्दा यो सरकारसँग इच्छाशक्ति हुने हो भने धेरै राम्रो र जनभलाइका काम सम्पादन गर्न सक्छ । वर्तमान राष्ट्रपति पहिले अहिले सत्तासीन दलमध्येकै नेत्री हुनुहुन्थ्यो। यस अर्थमा मुलुक निर्माणमा सक्रियताका हिसाबले राष्ट्रपति पनि निकै व्यस्त हुनुपर्ने हो। तर उहाँ किन फुर्सदिलो हुनुभयो? कतै राष्ट्र निर्माणको अभियानमा उहाँको भूमिका खुम्च्याइएको त होइन? वा उहाँ आफैँले यसप्रति कम अभिरुचि राख्नुभएको हो?

विशिष्ट पदाधिकारी धेरै विषयमा व्यस्त हुनुपर्छ। त्यही मान्यताका आधारमा उनीहरूका गतिविधि व्यवस्थापन गर्न सचिवालयको व्यवस्था गरिएको हुन्छ। त्यस्तो सचिवालयका कर्मचारी तथा सबैखाले खर्चसमेत सरकारले नै व्यवस्था गर्छ। निश्चितरूपमा राष्ट्रपतिको पनि सचिवालय छ। भनिएको समयमा कार्यक्रम सम्पन्न हुन सक्दैन भने समय लिनुको अर्थ के हो? यस्तो अवस्थामा सचिवालयको भूमिकामाथि प्रश्न किन नगर्ने सर्वसाधारणले? तोकिएको समयभन्दा अघि वा पछि तोकिएको भेटघाट वा कार्यक्रम गर्न मिल्छ भने समय लिनु र तोकिनुको उद्देश्यचाहिँ के हो?

ल ठीक छ, कर्मचारीबाट कमजोरी भयो रे। अर्थात् भनिएको समयभन्दा अगाडि वा पछाडि कार्यक्रम हुने भयो रे। यस्तो अवस्थामा आफैँले मिलाएको समयभन्दा अगाडि पुग्ने सहभागीलाई समेत प्रवेश निषेध गर्नुको कारण के हो? के गल्ती छ यस्तोमा सहभागी हुन जानेको? यस्तो अवस्था सहभागीलाई अग्रिम खबर गर्नुपर्छ कि पर्दैन? राजतन्त्रकालीन नेपालमा त यो गतिविधि सामान्य मानिन्थ्यो होला तर अहिले त मुलुक गणतन्त्रमा रूपान्तरण भइसकेको छ। राजतन्त्रको यही र यस्तै व्यवहार परिवर्तन गर्नका लागि मुलुकले गणतन्त्र खोजेको थियो। तर राष्ट्रपति परिसरको यो व्यवहारले पुनः राजतन्त्रको झल्को दिँदैन र? के जनताले एउटा राजाको ठाउँमा अर्को राजा खोजेका हुन र? आखिर कमजोरी जोसुकैबाट भए पनि कमजोरी नै हो। त्यसलाई सच्याउन सकिएन भने आलोचनाको पात्र बन्नबाट कसैले रोक्न सक्दैन । यही वास्तविकता सबैखाले ‘माननीय, सम्माननीय’ लाई पनि लागु नहुने कुरै भएन।

यो घटनाबाट सबैभन्दा बिझेको विषयचाहिँ समयप्रतिको हेपाहा प्रवृत्ति हो। ल ठीक छ, राष्ट्रपति त फुर्सदिलो हुनुहुँदोरहेछ र तोकिएभन्दा अगाडि वा पछाडि नै सहभागीसँग बस्न सक्नुहुँदोरहेछ। तर उहाँ र उहाँजस्ता ‘भिभिआइपी’ले बुझ्नुपर्ने कुराचाहिँ के हो भने समय सर्वसाधारणको पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बोलाएको भन्दा यति समयअगाडि पुगिसक्नुपर्ने, कार्यक्रम सुरु भएपछि भित्र छिर्न नपाइने र त्यस्तो अवस्थामा कि आफन्तलाई कुर्नुपर्ने हैन भने लुरुलुरु फर्कनुपर्ने गर्दा सर्वसाधारणको समय बर्बाद हुन्छ कि हुन्न? के राष्ट्रपति वा उच्चपदस्थलाई भेट्न जाने कसैको पनि समयको मूल्य छैन? हैन भने गणतान्त्रिक मुलुकमा पनि योखाले नाटक किन मञ्चन भइरहन्छन् पटक–पटक?

एउटा भनाइ छ– एक मिनेटको महत्व थाहा पाउन त्यो व्यक्तिलाई सोध जसले भर्खरै प्लेन छुटाएको छ। हो, यसैगरी मिनेट मिनेटको मूल्य उत्तिकै महत्वपूर्ण छ सबैको जसरी ठूलाबडाको हुने गर्छ। त्यसैले त्यो दिन जस्तो घटना सामना गर्नुप-यो त्यसबाट राष्ट्र प्रमुखप्रति नै फरकखालले सोच्नुपर्ने अवस्था सिर्जना भयो। के यस्ता घटनाले राष्ट्र प्रमुखको वजन बढाउला त? सर्वसाधारणले आफ्नो राष्ट्र प्रमुखप्रति प्रदर्शन गर्नुपर्ने सम्मान उजागर गर्न सक्लान् त? यो राष्ट्र प्रमुखको कारणले नभई उहाँको सचिवालय वा कर्मचारीका कारण भएको पनि हुन सक्छ। अर्थात आफ्नो कार्यालयमा हुने यस्ता गतिविधिबारे उहाँ अनविज्ञ हुन पनि सक्नुहुन्छ। त्यसैले यस्ता घटना राष्ट्रपतिलाई जानकारी गराउन पनि यो लेख्नु परेको हो। र, अन्य उच्चपदस्थहरूले पनि आफ्नो कार्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न यसले सघाउने पु-याउने अपेक्षा लेखको छ।

अन्त्यमा, शेक्सपियरले भनेका छन् कि १ मिनेट ढिलो गर्नुभन्दा ३ घन्टा छिटो गरेको बेस। तर हामी भने उनलाई पछ्याउँदै छिटो जाँदा पनि कार्यक्रमस्थल पुग्नै नदिएर ‘कारबाही’मा पर्न बाध्य भयौँ। त्यतिबेला मलाई वास्तवमा थाहा भयो कि किन र कसरी ‘नेपाली समय’को जन्म भएको रहेछ भनेर। हैन भने निर्धारित समयभन्दा चाँडै पुग्नेलाई त झन् प्राथमिकता दिनुपर्ने हैन र?

प्रकाशित: ८ भाद्र २०७५ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App