१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

आत्मसम्मानको बार

मुल्ला नसरुद्दिनकी श्रीमतीलाई आफ्ना श्रीमान्सँग धेरै कुरामा गुनासो थियो । एकदिन उनले भनिन्– मुल्ला अरु कुरामा त सधैँं तिमी जिद्दी गर्छौं, आफ्नै तर्क माथि पार्छौ तर मलाई सधैँ आश्चर्य लाग्छ कि किन तिमी मेरा नातेदारलाई मन पराउँदैनौँ? आफ्नालाई मात्र मनपराउँछौँ? तिमीमा थोरै मानवीय संवेदना पनि छैन ? मुल्लाले हाँस्दै भने– तिमीले सही भन्यौ, तिमीलाई थाहा छ, म मेरो सासूलाई भन्दा तिम्रो सासूलाई धेरै माया गर्छु।

जीवन, धर्म, परम्परा र संस्कारबारे हामीले आफ्नै तर्क बनाएका छौंँ र कुनैपनि हालतमा आफ्नै कुरा सही भन्ने प्रमाणित गर्न लागिपरेका हुन्छौंँ । हरेक धर्म, दर्शन, सन्तपुरुषका वाणी र परम्पराले मानव जीवनसँग वैज्ञानिक आधारमै प्रत्यक्ष सम्बन्ध राख्ने गरेका छन् । साउनको सोमबार, शिवको आराधना,व्रत लिनु, मन्दिर जानु र महिलाको शृंगारसँग कुन गहिराइमा हेर्ने त्यो कलाबाट धेरै अझै अनभिज्ञनै छन् । मन्दिर जाने र व्रत लिने महिलालाई प्रश्न गर्ने हो भने पनि आज पनि उही जवाफ पाइन्छ–श्रीमान्को आयु बढाउन र जे माग्यो त्यही वरदान पाइन्छ भनेर व्रत बस्छौँ।

श्रीमान्–श्रीमतीबीचको प्रेम, अन्धविश्वास र परम्परासँगै जोडिएर आएका हुन्छन् यस्ता जवाफमा । व्रत बसेरै श्रीमान्को आयु बढ्ने हो त ? व्रतसँग जोडिएर आउने सात्विक भोजन, सरल र प्रेमल भावदशा, शान्त चित्त, प्रसन्न मुद्रा, हल्का शरीर यी सबै व्रतबाट प्राप्त हुने परिणामस्वरूप श्रीमान्प्रतिको या परिवारका सदस्य र अन्य व्यक्तिसँग पनि प्रेमभाव अवश्य बढ्छ । पुरुष शिव र नारीलाई शक्तिका रूपमा लिने हो भने पनि अर्धनारीश्वर अर्थात् प्रेम र चेतनाको मिलनको स्थिति हो । जहाँ प्रेम छ अनि चेतना पनि छ त्यो जस्तो शुभ घटना अरु के हुन सक्छ ? त्यसैले श्रीमान्–श्रीमती एकअर्काका परिपूरक हुन् । दुवैको सुख स्वास्थ्यका निम्ति दुवैको प्रेम भाव र चेतनाको स्तरबाट एकले अर्कोलाई जान्नु, बुझ्नु र आनन्दपूर्वक जीवन जिउनु महत्वपूर्ण पक्ष हो।

त्यसैले साउनको सोमबारमात्र यो भक्तिभाव र शुद्ध भावदशा भएर पुग्दैन । बाहै्र महिना, चौबीसै घण्टा, प्रत्येक पल कसरी यस्तो भावदशा कायम राख्न सकिन्छ त्यता पनि विचार पु-याउनु जरुरी छ । हरपल म प्रेमपूर्ण रहने प्रयास गर्छु, यो असम्भव विचार पक्कै होइन तर हामीले यसलाई असम्भव तुल्याइदिएका छौँं किनकि हामीले वास्तविक व्रत र धर्मको अर्थ बुझेका छैनौँँ । व्यक्ति हरपल प्रेमपूर्ण रहन, सधैँं व्रत नै लिएजस्तो भक्तिभावमा रहन २४ घण्टा समयमध्ये एक घण्टा ध्यान र मौन साधनाका लागि छुट्ट्याए पुग्छ । ध्यान, मौनता, प्रसन्नता, खानपान, आचरण, स्वभावको पहिचान र जागृत मनस्थितिबिना साउनको सोमबारमात्र बस्ने व्रत र मन्दिर दर्शनले जीवनमा रूपान्तरण आउन सक्दैन । साउन र सोमबारबाहेक अरु दिन कसले किन हामीलाई यी गुणबाट वञ्चित गर्न सक्छ र ? हामीले गहिराइबाट यसको मर्म बुझ्ने र व्यवहारमा उतार्ने कोसिस गरेकै छैनौँ।

साउन र सोमबारको दिनमात्र के खान हुन्छ र के खान हुन्न जानेर पुग्दैन । यो जीवन र आनन्दपूर्ण जिउने इच्छाको पछाडि हाम्रो स्वास्थ्य, जीवनशैली र खानपानले धेरै महत्व राख्छ । हामी जस्तो खान्छौँ, त्यस्तै रगत बन्छ र जस्तो रगत बन्छ हाम्रो स्वभाव त्यस्तै हुन्छ । त्यसैले त शाकाहारी र मांसाहारी व्यक्तिको स्वभावमा परिवर्तन देखिन्छ । मांसाहार गर्ने व्यक्ति आक्रामक, क्रोधी, निर्दयी र बेहोसी हुनु कुनै नौलो कुरा होइन । शाकाहारी व्यक्ति शान्त, सरल, प्रसन्न, सहज हुनु स्वाभाविक हो । त्यसैले हामी शरीर र स्वास्थ्यको ख्याल गर्दै खानपानमै ध्यान दिन सक्दैनौँं, शरीरको धर्म ख्याल गर्दैनौं भने बाहिरी धर्म र मन्दिर दर्शनको महत्व कसरी बुझौंँला?

प्रकाशित: २१ श्रावण २०७५ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App