सन् २००४ को कुरा हो । चीनको शेनजेन सहरमा अन्तर्राष्ट्रिय वातावरणसम्बन्धी बैठक बसेको थियो । यो नोभेम्बरको २६ देखि २९ तारिखसम्म चलेको थियो । यो चीनको राज्य वातावरण संरक्षण प्रशासनको तत्वावधानमा सम्पन्न भएको थियो । शेनजेन सहर चीनको दक्षिणमा बनेको छ । यो हङकङ नजिक पर्छ र त्यसैको नक्कल गरेर बनेको छ । अग्ला अग्ला भवनहरूले भरिभराउ छ । यसको परिकल्पना आधुनिक चीनका निर्माता तेङ सियाओ पिङले गरेका रहेछन् । उनको स्मरणमा उनको एउटा विशाल सालिक पनि राखिएको छ । यो सहर असलमा आधुनिक चीन चिनाउने खालको नै रहेछ । यस बैठकमा चीनको वातावरण मन्त्रालयका एक उपमन्त्री पान यु उपस्थिति थिए।
यो बैठकको दौरानमा विभिन्न देशहरूबाट आएका प्रतिनिधिहरूले बोल्ने मौका पाएका थिए । त्यसै अवसरमा यो पंक्तिकारले पनि एसियाको वातावरण पत्रकार समूहको पहिलो अध्यक्षको हैसियतले बोल्ने मौका पाएको थियो । त्यो बेला चीनको विकास तीव्र गतिमा भइरहेको थियो । तर भविष्यमा कतातिर लाग्ला भन्ने आँकलन जताततै भइरहेको थियो । यसबारे मलाई लागेको विचार पोख्ने राम्रो अवसर पाएको थिएँ । चीन चाँडै नै एउटा विश्व शक्ति हुनेमा कुनै शंका छैन । तर यो पनि अमेरिकी शक्ति जस्तै घमण्डी र निरंकुश भयो भने ठूलो अभाग्यको कुरा हुनेछ । शक्तिशाली हुनु राम्रो हो र चीन त्यो बाटोमा अग्रसर भइसकेको छ । तर शक्तिको आडमा अमेरिका जस्तो अहंकारी, अरुलाई धम्क्याउने, कर लगाउने र अप्ठेरो पार्ने बानी र नीति गलत हो । शक्तिशाली भएपछि यस्तो आनीबानीबाट कसरी जोगिने भनेर अहिलेदेखि नै चीनले विचार गर्नुपर्छ । यसका लागि चीनलाई सजिलो पनि छ । यसका लागि चीनले अरुतिर हेर्नै पर्दैन । आफ्नै इतिहास, संस्कृति र प्राचीन सभ्यतातिर हेरे पुग्छ । चीनमा महापुरुषहरू जन्मिएका छन् । कन्फ्युसियस र लाओत्सेजस्ता ठूला विद्वान्हरू जन्मिएका छन् । उनीहरूको दर्शनले चीनलाई शदीयौँसम्म दिशानिर्देश गरेका थिए । उनीहरूले चिनियाँ शासकहरू र जनतालाई सदाचार, सहनशीलता र सरलताका साथ कसरी बाँच्न सकिन्छ भनी सिकाएका थिए । आधुनिक चीनले उनीहरूलाई सम्झनु मात्र पर्छ र उनीहरूको अर्ति शिक्षालाई पुनर्जीवित पार्नुपर्छ । त्यसो हुन सके विश्वशक्तिका रुपमा अमेरिकाले जस्तो कलंक चीनले व्यहोर्नुपर्ने छैन । चिनियाँ उपमन्त्री पान युले यो विचारको सराहना गरेका थिए।
मलाई यो कुरा थाहा पाएर खुसी लाग्यो कि चीनले सन् २००७ देखि कन्फ्युसियस इन्सिच्युट खोल्न थालेको छ । यो अहिले संसारभर फैलि पनि सकेको रहेछ । यसै दौरानमा नेपालको काठमाडौँ विश्वविद्यालयमा एउटा कन्फ्युसियस इन्सिच्युट स्थापित भइसकेको पनि रहेछ । यसले विभिन्न गतिविधिहरू गरेर चीनको भाषा संस्कृतिको प्रसार गर्दै रहेछ । यसका साथै चीन र नेपालबीचको सम्बन्ध सुधार गर्ने दिशामा पनि महत्वपूर्ण गतिविधि गर्ने रहेछ । चीनसितको नेपालको सम्बन्ध दिन परदिन बढदै गएको र गहिरिँदै गएकाले चीनलाई राम्ररी बुझ्नु र सम्झनु अति महत्वपूर्ण मानिन्छ । सो कुरा हालैको नेपालका प्रधानमन्त्री केपी शर्माको ६ दिने चीन भ्रमणले देखायो । उनी १५९ जनाको टोली लिएर चीन गए र २२ वटा सम्झौता र समझदारीका पत्रहरूमा हस्ताक्षर गरे । तिनीहरूबाट चिनियाँ र नेपालीहरूबीचमा सम्पर्क बढ्ने र सम्बन्ध अरु व्यापक हुने भएको छ।
कन्फ्युसियसको सम्बन्धमा नागरिकका सम्पादक गुणराज लुइँटेलले आफ्नो एउटा लेखमा प्रकाश पारेका छन् । चीनको भ्रमणको सिलसिलामा उनले दिएको विवरणअनुसार बेइजिङबाट करिब आठ सय किलोमिटर टाढा रहेको सान्दोङ प्रान्तस्थित चुफुमा रहेको कन्फ्युसियस प्रतिमा, उनकै नाममा खोलिएका रिसोर्ट र उनका उक्तिहरूलाई पुनः क्यालिग्राफी लगायत प्राचीन चीनको अनुभव गर्ने केन्द्र स्थापना गरेर डाँडालाई हराभरा बनाइएको छ । अचेल चीनले कन्फ्युसियसलाई आफ्नो जीवन पद्धति बनाएको देखिन्छ । समृद्ध र नयाँ चीनले आफ्ना चिन्तकलाई संसारभरि गौरवसाथ चिनाउन थालेको अनुभूति पनि हुन्छ । चीनमा कम्युनिस्टहरू शासन सत्तामा आएपछि झन्डै लुप्त अवस्थामा रहेका कन्फ्युसियसलाई ‘ब्रान्ड’का रुपमा प्रस्तुत गर्न थालेको निकै भइसकेको छ । उनले यो पनि लेखेका छन् कि माओकालीन चीनमा कन्फ्युसियसका मूर्ति तोडफोड गरिएका थिए । अहिले चीनले कन्फ्युसियस प्रेमलाई ह्वात्तै बढाएको छ । चिनियाँ समाजको समृद्धि र सुसंस्कृत व्यवहारमा कन्फ्युसियसको ठूलो प्रभाव रहेको छ । झन् विश्व मानचित्रमा आफूलाई उदीयमान शक्तिका रुपमा उभ्याएको चीनका लागि कन्फ्युसियस दर्शनले झनै विनयी बनेर अघि बढ्न मार्गदर्शन गरेको छ । चीनले गर्ने कूटनीतिक व्यवहार, छिमेकीप्रतिको सद्भाव र समृद्धि यात्रामा आफ्नो निरन्तरको लगावमा कन्फ्युसियस दर्शनको झलक पाउन सकिन्छ । एक हिसाबले चीनले कन्फ्युसियसलाई आफ्नो ऐतिहासिक पहिचानका रुपमा अघि बढाउन थालेको देखिन्छ।
चीनलाई बुझ्न एकताका माओलाई बुझ्नु जरुरी ठानिन्थ्यो । त्यस पछि तेङ सियाओ पिङलाई बुझ्नु जरुरी ठानियो । अहिले आएर कन्फ्युसियसलाई बुझ्नु जरुरी देखिँदै छ । यसै सिलसिलामा गुणराज लुइँटेल भन्छन्, कन्फ्युसियसका उक्तिलाई आजको चीनका राजनैतिक परिदृश्यलाई चित्रित गर्न पनि अचेल चिनियाँहरूले उत्तिकै उपयोग गर्छन् । कुनै बेला माओका रेडबुकबाट उद्धृत गरिएका पंक्तिलाई कण्ठस्थ गर्ने चिनियाँका लागि अहिले कन्फ्युसियस अनिवार्य आवश्यकता जस्तै बन्न पुगेका छन् । अहिलेका राष्ट्रपति सी जिन पिङको बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत प्राचीन रेशम मार्गलाई पुनः कार्यान्वयन गर्न थाल्ने क्रममा कन्फ्युसियस दर्शनलाई पूरै आत्मसात् गर्न खोजेको देखिन्छ । कन्फ्युसियसले चिनियाँहरूलाई मात्र सुहाउने कुरा गरेका छैनन् । उनले हाम्रा नेताहरूलाई प्रेरित गर्ने कुराहरू पनि गरेका छन् । एउटा उक्तिमा उनी भन्छन्, ‘सही कुरा के हो भनेर बुझिसकेपछि सो नगर्नु साहसको कमी हो ।’ हाम्रा नेताहरूले यति मात्र बुझिदिए भने के नेपाल र नेपालीको कल्याण हुने थिएन?
एक उच्चस्तरको मान्छे आफ्नो वचनमा नम्र हुने गर्छ तर त्यस्तो मानिस काममा धेरै अगाडि हुन्छ । राजनीतिमा लागेका हाम्रा अग्रगामी मानिसहरू भने यसको ठीक उल्टा देखिन्छन् । बोलाइमा अगाडि तर काममा पछाडि । यसको माने उनीहरू उच्चस्तरका व्यक्तिहरू होइनन् । बोलाइ र गराइमा देखिने सामञ्जस्यता र विभिन्नताबाट नै चिनियाँ र अरू मुलुकका अगुवाहरू छुट्टिन्छन्।
प्रकाशित: २० श्रावण २०७५ ०२:०० आइतबार