८ वैशाख २०८१ शनिबार
विचार

चन्द्र शमशेरको हाँसो र मेरो रुवाइ

प्रायः हामी कसैलाई पनि माग्नेहरू मन पर्दैन । कुनै मन्दिर या मार्केट वरपर या कतै पनि माग्नेका झुन्ड देख्दा हामीलाई राम्रो लाग्दैन । बूढाबूढी, अपांगता भएका र असहायलाई सहानुभूति देखाउँदै केही रकम दिन सके तापनि हातखुट्टा चल्ने, ठीकठाक स्वास्थ्यमै देखिने, चुरोट फुक्दै गफ गर्दै गरेकाहरूलाई त हामी भन्छौँ, ‘‘काम गरेर खानू नि, किन यसरी मागेर हिँड्नु ? काम गर्ने लायककै देखिन्छौ त!’’

सत्य यो पनि हो कि मागेर खानुमै आनन्द मान्नेहरूलाई माग्नुमै छ मज्जा!

यो कुरा सत्य हो कि माग्नेहरूको कतै मान–इज्जत हुँदैन । मगन्तेको बिल्ला कसैलाई लागेपछि त्यो कलंकबाट छुट्न उसलाई कठिन हुन्छ । उसलाई त्यो मगन्ते बानी छोड्न पनि गाह्रै हुन्छ । लागेको बानी सजिलै छुट्दैन । मागेर सजिलै पाउन छोडेर को काम गरोस् ? छोराछोरी होऊन्, नातेदार होऊन्, ईष्टमित्र होऊन्, वा जोसुकै होऊन्, कसैलाई बिगार्नुछ भने माग्ने बानीलाई प्रोत्साहन दिए हुन्छ । धनीहरूका कति छोराछोरी यस्तै गरेर मायामा परेका बाबुआमाले बिगारेका छन् । ती छोराछोरीको भविष्य के–कस्तो हुन्छ, हामी सबैले अनुभव गरिसकेका छौँ । यस्ता घटना समाजमा दोहोरिइरहन्छन्।

हाम्रा शासकहरू उत्तर जाऊन् या दक्षिण, माग्ने लिस्ट त कुनै आन्दोलनकारीहरूले सरकारसित माग राखेजस्तै हुन थालेको छ।

माग्ने या मगन्ते खालि व्यक्ति मात्र हुन्छन्? के समाज या राष्ट्र पनि मगन्ते हुँदैनन् र ? समाज र राष्ट्र नै मगन्ते भएको छ भने तिनका नागरिक कस्ता होलान् त? के उनलाई कुनै बाहिरियाले सम्मान गर्लान् ? जसरी “मगन्तेका सन्तान” भनेर कसैलाई दाग लाग्छ भने त “मगन्ते देशका नागरिक” भनेर खोट पनि त लाग्छ होला । “भीखमा बाँचेकाहरू” भनेर चिनिने पनि त होलान्। यसो हो भने हामी अलि संवेदनशील भएर आज यसै विषयमा नेपाली र नेपाल राष्ट्रको स्थिति एकपल्ट कसैको या कुनै नेताको बहकावमा नलागी शान्त मनले नियालूँ । संसारको नजरमा हाम्रो के अवस्था छ, गम्भीर विचार गरौँ।

राणा शासनपछि हाम्रो सिंगो मुलुक मगन्ते भएको छ । भएको छ नभनूँ, बनाइया छ । नत्र हाम्रो यो प्राकृतिक स्रोत–साधनले भरिपूर्ण र उन्नतिका अनेक सम्भावना भएको देश, यत्रो मेहनती जनताले भरिएको मुलुक किन आज संसारकै महामगन्ते हुन पुग्यो त? राणा शासनलाई जति गाली गरे पनि उनको शासनमा त्यसबेलामै कठिन काम मानिने र कतिपय त भारतमै त्यसबेला समेत हुन नसकेका काम आफ्नै इच्छाशक्ति र स्रोत–साधनले पूर्ण भएका थिए । त्यस समय कुनै विदेशीका अगाडि हात पैmलाउन लाज हुन्थ्यो । विदेशीसित दान लिन लाज हुन्थ्यो । त्यसैले नेपाल र नेपालीको इज्जत थियो । त्यसैले कुनै विदेशीले प्रत्यक्ष रूपले हाम्रो आन्तरिक कुरामा हस्तक्षेप गर्न सकेका थिएनन् । हामी नेपाली सार्वभौम थियौँ । आफ्नै आफ्नो मालिक थियौँ । जनता थिचिए तापनि राष्ट्र बेचिएको थिएन।

चुरेको मोटर गुड्ने सुरुङ, धोर्सिङ–काठमाडौँको रोप–वे, फर्पिङको बिजुली, नेपाल गभर्मेन्ट रेल्वे यी सबै हामीले आपैmँ बनायौँ । कतै विदेशीलाई कन्ट्राक्ट दियौँ तर आफ्नै पैसामा । कतै आफ्नै प्राविधिक शक्ति र पैसाले ग¥यौँ । तर जसरी गर्दा पनि आफ्नै साधन–स्रोतले ग¥यौँ । वीर अस्पताल, मिलिटरी अस्पताल, त्रि–चन्द्र कलेज, दरबार हाइस्कुल, कमाराकमारी प्रथाको अन्त र अनेकौँ काम आफ्नै राष्ट्रको ढुकुटीबाट भए । आजको राष्ट्रपति बसेको भवन, सरकारको केन्द्र भनेर चिनिने सिंहदरबार, राष्ट्रको ढुकुटी भनेर मानिने राष्ट्र बैंक यी सबै राणाहरूले बनाएकै हुन् र अहिले हामीले सिन्को नभाँची यिनकै उपयोग गरेर आफ्नो शान देखाइराखेका छौँ । आज अरू त कुरै छोडौँ, हाम्रो इतिहास चिनाउने भुइँचालोले भत्किएको धरहरासम्म तीन वर्ष पुग्दा पनि बनाउन सकेका छैनौँ । राणाकै पालामा पनि १९९० सालको भयंकर भुँइचालो गएको थियो, तर तदारुकताका साथ जनताले राहत पाएका थिए।

अपांंगता भएका, रोगी, अशक्त, वृद्धवृद्धा माग्नेहरूलाई हामी कदर पनि गर्छाैं र सक्दो मद्दत पनि गर्छौं। तर हट्टाकट्टा, पठ्ठापठ्ठी, तरुनातन्नेरी, स्वस्थ अल्छीहरूले मागेको देख्दा हामी दिक्क मान्छौँ र कहिले त आक्रोशित हुँदै गाली पनि गर्छाैं। माग्नेहरूको कहीँ इज्जत छैन।

अचम्म यो लाग्छ कि हाम्रा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जाँदा पहिले नै माग्ने सूची बनाएर जान्छन् । सुरु सुरुकाले अलि थोरै माग्न जान्थे भने समय बित्दै जाँदा लिस्टहरू पनि त्यति नै लामो बन्दै गएको देखिन्छ । हालैमा त उत्तर जाऊन् या दक्षिण, माग्ने लिस्ट त कुनै आन्दोलनकर्ताहरूले सरकारसित माग राखेजस्तै हुन थालेको छ । अझ अचम्म त के छ भने यो माग्ने लिस्ट लग्दा उनी जति आफ्नो गौरव ठान्छन्, त्यत्ति नै भ्रमण सिद्धिएर फर्कंदा आफूले तीमध्ये के–केमा आश्वासन (मात्र !) पाएका छन् भनेर घोषणा गर्दा झन् बढी गौरवान्वित देखिन्छन् । मगन्ते गएका थिए, केही अंगमा विदेशीको धाप र थपथपा पाएर फर्के र यसमा उनको गर्वको सीमा नै रहँदैन । मुलुकको मगन्ते अनुहार देखाएर आएको त उनलाई भान नै हुँदैन । उताका शीर्ष नेतासित आमनेसामने कुरा गर्दा जत्ति सौहार्द विदेशीले देखाए पनि आखिर हाम्रा नेताले फर्केपछि तिनको असली के–कस्तो विचार हामीप्रति होला भनेर त्यसमा विचारेका होलान् ? त्यसको अनुमान हामी साधारण जनताले भने सजिलै गर्न–बुझ्न सक्छौँ, हामी भीखमंगा भनेर झनै चिनियौँ । तर फर्केका नेता राजकीय आतिथ्यको मस्तीले बुझ्दैनन् किनकि उनी त जता गए पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार सम्मान पाएका हुन्छन् । तर अन्तमा नतिजा त मगन्तेको बिल्ला भिर्ने र विदेश जाँदा हेपिने त हामी आम नागरिक नै हौँ । आर्थिक या अन्य केही सहयोग निश्चय नै पाइन्छ, तर त्यो पाइन्छ— आफ्नो स्वाभिमान, आफ्नो मानसम्मानको बलि चढाएर । के राष्ट्रवादी, स्वाभिमानी महान् देशका महान् जनता हामी भयौँ त ? या विदेश जाँदा गन्तव्यमा पुग्दा हाम्रा पासपोर्ट दश पटक पल्टाइनेमा हामी प-यौँ ?

भनिसकिया छ, अपांंगता भएका, रोगी, अशक्त माग्नेलाई हामी कदर पनि गर्छाैं  र सक्दो मद्दत पनि गर्छौं । तर हट्टाकट्टा, पठ्ठापठ्ठी, तरुनातन्नेरी अल्छीहरूले मागेको देख्दा हामी दिक्क मान्छौँ र कहिले त आक्रोशित हुँदै गाली पनि गर्छाैं । माग्नेहरूको कहीँ इज्जत छैन।

यहाँ पैसा छैन भनूँ भने सहरी क्षेत्रका भवन, सपिङ मलहरू, होटल, रेस्टुरेन्ट, डिस्को र बारहरू, सडकका गाडीहरू, राष्ट्रपति र प्रधानमन्त्रीदेखि तलसम्मका नेताहरूको शान र रवाफ, उनको लवाइ, खवाइ, गुडाइ र उडाइमा त कतै गरिबी देखिँदैन । तब पैसा छैन भनेर कसरी भनूँ ? छ भने कहाँ छ ? कता जान्छ ? देशको स्तर उठाउने तर्पmभन्दा सरकारी–राजनीतिक मोजमस्ती, तस्करी, माफिया र यताउतामै पैसा दबेर पोखराको सेती नदी जस्तै लुकेको छ।

भैगो पैसा कम छ हामीसित, तर मानवीय स्रोत त प्रशस्तै छ । नत्र रोजै तीन चार हजार कामदार किन विदेशिया छन् त ? आखिर बाहिर काम गर्न जानेले यहाँ पनि गर्न सक्थे । यो पनि हैन कि देशभित्र बस्दा काम गर्नै नसक्ने र विदेशिनेबित्तिकै हात–खुट्टा तंग्रिने ! तब यिनले मुलुकभित्रै आफ्नै घरदैलोमा काम किन पाएनन् ? खेतहरू किन बाँझो भए, कलकारखाना किन बन्द हुँदै गए ? कामदारबाहेक लाखौँ विद्यार्थी हरेक वर्ष बाह्र कक्षा पास गर्छन्, कलेजबाट त उनीहरूलाई पनि यहीँ उच्च शिक्षा र काम पाएमा उनीहरू पनि विदेशिने थिएनन् होला । तर यसको अभावमा उनी पनि प्लस टु बाहिर जानैका लागि पास गरेको देखिन्छ । हाम्रो देशभित्र नै यत्रो ठूलो श्रमिक र यत्रो ठूलो बौद्धिक शक्ति हुँदाहुँदै हामी किन मगन्ते हुन पुग्यौँ ? यो कलंक किन ? यो शक्तिको उपभोग किन गर्न सकेनौँ ? यी सबैको जवाफ हामी कसैबाट लुकेको छैन । तर जब शासकहरू मगन्ते हुनमा नै गर्व गर्छन् र अरूकै दानमा आफ्नो शान ठान्छन् र दान भित्र्याएकामा आपैmँलाई राष्ट्रवादीको तक्मा दिन्छन्, तब मुलुकले के आशा गर्ने ? यिनलाई यो विशाल शक्ति परिचालन गर्नमा के चासो ? देशभित्रको यो शक्ति यिनलाई किन चाहियो ? यिनलाई त बरू आफ्नाहरू पनि पढून् र विदेशै जाऊन् र कामदार पनि जत्ति हुन्छन् बाहिरै जाऊन् भने जस्तो देखिन्छ । किनकि कमिसन आउँछ उनलाई ।    हालै चीन भ्रमणबाट फर्केका हाम्रा प्रधानमन्त्रीले माग्ने झोला सोचेको भन्दा धेरै भरिएको भन्दै गौरव गरेको देख्दा त दिक्कै लाग्यो, मलाई त रुनै मन लाग्यो । तर त्यो भन्दा पनि ग्लानि त त्यस बेला लाग्यो जब राष्ट्रकै शिर ठानिने सिंहदरबारको पनि शान रहेको ग्यालरी बैठकमा भूकम्पपछिको मर्मतसम्भारपछि उद्घाटनको दृश्यले । राष्ट्रको प्रधानमन्त्री दुई तिहाइ मत पाएका शक्तिशाली व्यक्तिले अमेरिकी राजदूत पनि हैन, कार्यवाहक राजदूतसित सँगसँगै रिबन काटेको देखेर । राष्ट्रवादी प्रधानमन्त्रीको स्वाभिमान कता गयो होला त्यो उद्घाटनपछि ? नेपालीको राष्ट्रवाद र शानलाई कता लग्यो होला यो घटनाले । सिंहदरबार पनि विदेशी पैसा लिएर मर्मत गर्नुपर्ने भएपछि हामी नेपालीले सिंगो नेपाल नै बिकाउमा राखे भइहाल्यो । हाम्रा शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्रीलाई यो उद्घाटन गर्न किन यत्रो उत्सुकता ? जुन काम एउटा सहसचिव स्तरको प्रशासनिक नेपालीले गरे हुन्थ्यो । हाम्रो इज्जत केही त बच्ने थियो होला । यो दृश्य हेर्दा माथिबाट चन्द्र शमशेरले के सोचे होलान्? हाँसे होलान्, आजको नेपालको स्तर हेरेर ! म भने रोएँ।

हामी जनताले भोट दिएर पठाएका व्यक्तिले ठीक गरेनन् भने उनको मात्र दोष छैन । हामी भोट हाल्नेको पनि हो । तर विकल्प नभएपछि यस्तो स्थिति राष्ट्रले भोग्नुपर्दो रहेछ । यस्तो स्थितिबाट माथि उठ्न राजनीतिकै शुद्धीकरण हुनुपर्छ, नत्र सिस्टम जस्तै आए पनि व्यक्तिको आचरण, मानसिकता र नैतिकतामा आधारित आध्यात्मिक राज गर्ने नीतिले प्रवेश नपाएसम्म हामी अँध्यारोबाट उज्यालोतर्फ र विदेशीको नजरमा अपमानित हुनुबाट सम्मानित हुनेतर्पm जान सक्नेछैनौँ।

प्रकाशित: १९ असार २०७५ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App