क्रान्ति र आन्दोलनबिचको भेद बुझ्न इतिहासका पाना पल्टाउनु आवश्यक छ। क्रान्ति आमूल परिवर्तनको आँधी हो, जसले सामाजिक, राजनीतिक, आर्थिक वा प्राविधिक क्षेत्रमा तत्काल र व्यापक परिवर्तन ल्याउँछ। यो हिंसात्मक, अहिंसात्मक वा दुवै रूपमा प्रकट हुन सक्छ। यसले राष्ट्र वा समाजको संरचनालाई नै कायापलट गरिदिन्छ। यसको ठिक विपरीत आन्दोलन कुनै विशिष्ट लक्ष्य प्राप्तिका लागि गरिने सामूहिक र संगठित प्रयास हो। यो प्रायः दीर्घकालीन हुन्छ र यसले समाजमा परिवर्तन ल्याउन लामो समय लिन्छ, तत्कालका लागि आंशिक सुधार वा कुनै विशेष क्षेत्रमा मात्र परिवर्तन ल्याउँछ। इतिहास साक्षी छ, जसले क्रान्तिको नेतृत्व गर्छ, सत्ताको लगाम अन्ततः उसकै हातमा पुग्छ।
रुसी क्रान्ति (१९१७) पछि भ्लादिमिर लेनिन सोभियत संघको प्रमुख नेता (जनकमिसारहरूको परिषद्को अध्यक्ष) बने। क्युबाली क्रान्ति (१९५९) पछि फिडेल क्यास्ट्रो प्रधानमन्त्री र पछि राष्ट्रपति बने। चिनियाँ कम्युनिस्टक्रान्तिपछि माओ त्सेतुङ जनवादी गणतन्त्र चीनको प्रथम राष्ट्रपति बने। दक्षिण अफ्रिकाको रंगभेद विरोधी आन्दोलन नेल्सन मन्डेला प्रथम प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति बने । यी क्रान्तिले सत्ता मात्र परिवर्तन गरेनन्, बरु ती देशका जनताको सोच, प्रणाली र राष्ट्रिय दिशालाई नै स्थायी रूपमा बदलिदिए।
तर, हालै नेपालमा भएको ‘जेनजी आन्दोलन’लाई कुन परिभाषाभित्र राख्ने? यसको चरित्र विरोधाभासपूर्ण छ। यसलाई क्रान्ति नभनौं भने यसले कठोर हिंसा भोग्यो। यसअघि कहिल्यै नभएको भौतिक ध्वंश पनि गर्यो। सत्ता परिवर्तन पनि गरायो। आन्दोलन भनौं भने यसको प्रभाव देशको सीमा नाघेर अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय बन्यो। सबैभन्दा गम्भीर विडम्बना के हो भने यसले ‘आन्दोलनबाट सत्ता परिवर्तन हुन्छ र त्यसको नेतृत्व आन्दोलनकारीले नै गर्छ’ भन्ने ऐतिहासिक मान्यतालाई उल्ट्याइदियो।
क्रान्तिको मूल सार भिडको क्षणिक आक्रोशमा होइन, त्यसको लक्ष्य, संगठन र परिणाममा निहित हुन्छ। जेनजी आन्दोलनले पुराना दलहरूको अक्षमता, भ्रष्टाचार, अवसरवाद र निराशाजनक नीतिहरूविरुद्ध प्रखर असन्तोष प्रकट गर्यो। यो असन्तोषको ज्वाला बलियो थियो तर त्यसलाई स्थायी वैचारिक र संगठनात्मक संरचनामा रूपान्तरित गर्न सकिएन। आन्दोलनलाई ऊर्जा दिने युवा पुस्ताको त्याग र आक्रोशले नीतिगत वा नेतृत्वगत हस्तक्षेप गर्न सकेन।
यस्तो किन भयो? कारण स्पष्ट छ– नेतृत्वमा एकताको अभाव, दीर्घदृष्टिको शून्यता र संगठनात्मक दिशाको घनघोर कमजोरी। यही कारण आन्दोलनको विशाल ऊर्जा र त्यागको लाभ फेरि पनि पुरानै, थोत्रे नेतृत्व र दलहरूले लिने योजनाबद्ध तयारी गर्दै छन्।
यसैले कतिपय विश्लेषकहरू यो आन्दोलनलाई तात्कालिक ‘विचारको क्रान्ति’ मान्छन्, तर ‘सत्ताको क्रान्ति’ मान्दैनन्। यसको स्वर युवाको थियो, परिवर्तनको पक्षमा थियो तर त्यो स्वर नीतिगत निर्माणको कोठासम्म पुग्न सकेन। आन्दोलनको लक्ष्य परिवर्तन भए पनि त्यसको साधन (युवा शक्ति) असंगठित र दिशाहीन रह्यो। न नयाँ वैकल्पिक नेतृत्वले स्पष्टता पायो, न त दीर्घकालीन शासकीय योजना नै तयार भयो।
नेपालमा आन्दोलन र सत्ताबिचको यो दुरी नयाँ विडम्बना भने होइन। २०६२/६३ को जनआन्दोलनले सत्ताको स्वरूप बदल्यो तर शासनको चरित्र बदल्न सकेन। सडकमा रगत बगाउने नागरिकका सपनाहरू शीर्ष दलका नेताहरूको स्वार्थपूर्ण सानो सम्झौतामा सीमित भए। अहिलेको जेनजी आन्दोलनले उही इतिहास दोहोर्याएको छ, आन्दोलनको ऊर्जा युवाको, सहिद हुने युवा तर सरकार अर्कैको। अझै पनि अहम्ताको चर्चा पुरानैको छ। सत्ताको चाबी हात पार्ने प्रयासमा पुरानै जुटिसके।
यसै सन्दर्भमा प्राचीन उक्ति ‘सङ्घे शक्ति कलौयुगे’ (कलियुगमा शक्ति समूहमा रहन्छ) स्मरणीय छ। सत्ताप्राप्तिका लागि खप्पिस हाम्रा दलीय नेताहरू स्वार्थका लागि सधैं एक हुन जान्दछन्, चाहे उनीहरूको विचार वा सिद्धान्त जतिसुकै फरक किन नहोस्। तर सुशासन र सदाचारका लागि एकजुट हुनुपर्ने नागरिक समाज र जनताबिच भने कहिल्यै स्थायी एकता देखिँदैन। दलहरू स्वार्थका लागि मिल्छन्, जबकि नागरिकहरू सुधारका लागि छुट्टिन्छन्। यही गहिरो विडम्बनाले नेपालमा हरेक जनआन्दोलनलाई अपूर्ण र अधुरो बनाइदिन्छ।
तैपनि यो आन्दोलनलाई तत्काल विफल भन्न हतार गर्नुहुँदैन। इतिहासमा धेरै आन्दोलनहरू सत्ताको ढोका खोलेर होइन, चेतना र जागरणको ढोका खोलेर सफल भएका छन्। जेनजी आन्दोलनले पनि देशको स्थापित राजनीतिक संस्कृतिमा एउटा शक्तिशाली कम्पन ल्याइदिएको छ। यसले पुराना दललाई युवा पुस्ताको असन्तोष र वैकल्पिक सोचप्रति अनिवार्य रूपमा सजग हुन बाध्य बनाएको छ।
जेनजी आन्दोलनले यही सबभन्दा गहिरो प्रश्न उठाएको छ कि किन जनताको आक्रोश सामूहिक उद्देश्यमा परिणत हुन सक्दैन? किन युवा पुस्ताको विद्रोह संगठनात्मक एकतामा रूपान्तरित हुन सक्दैन? जबसम्म असन्तोष संयोजन, अनुशासन र स्थायी संगठनमा रूपान्तरित हुँदैन, तबसम्म सत्ताले त्यसलाई क्षणिक आक्रोश ठानेर आफ्नो हितमा सहजै प्रयोग गर्छ।
अन्ततः महत्त्वपूर्ण प्रश्न ‘कसले नेतृत्व गर्छ’ भन्ने होइन, ‘कस्तो नेतृत्व चाहिन्छ’ भन्ने हो। जेनजी आन्दोलनले आफ्नो प्रखर ऊर्जालाई संस्थागत र दीर्घकालीन दिशामा मोड्न सक्यो भने यसको प्रभाव दशकौंसम्म नेपाली राजनीतिमा रहिरहनेछ तर यो असन्तोष केवल क्षणिक भावना र आक्रोशमा सीमित रह्यो भने यो पनि इतिहासका असङ्ख्य अधुरा विद्रोहमध्येको एक अध्याय मात्र बन्न पुग्नेछ।
प्रकाशित: २६ कार्तिक २०८२ ०६:२४ बुधबार

