११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

अाेली–प्रचण्ड उडान

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच बिहीबार एकीकरण भएपछि बनेको नेकपालाई सबैले दिएको विशेषण हो– शक्तिशाली । एकीकरणको भोलिपल्ट शुक्रबार प्रकाशित प्रमुख दैनिक सबैको मुख्य समाचारमा ‘शक्तिशाली’ शब्द परेको छ । खासबेलामा अखबारको प्रमुख समाचारमा केही शब्द मिल्दाजुल्दा हुन्छन् । अखबारमा शीर्षक मिलेपछि सामाजिक सञ्जालदेखि चियापसलसम्म पाठकले ठट्टा गर्दै सोध्छन्– मुख्य समाचारको शीर्षक राख्ने बेलामा सम्पादकहरूले सल्लाह गर्छन् कि क्या हो ?

सल्लाह गर्दैनन् तर समाजमा भएका घटनालाई तिनले साक्षीभावले हेरे भने पक्कै पनि हेराइमा समानता हुन्छ । मुलुकमा लोकतन्त्र पुनस्र्थापित हुँदा, संविधान बन्दा, निर्वाचन हुँदा, शान्ति सम्झौता हुँदाका बेलामा अखबारहरूको उस्तैउस्तै खालको हेराइ हुन्छ । र, यसपटक नेकपा बन्दाको यो क्षण पनि त्यसैगरी हेराइमा सुखद संयोग जुरेको हो ।

यो एकीकरण प्रक्रियाका सबैभन्दा ठूला लाभग्राही दाहाल भएका छन् । ढिलो–चाँडो विसर्जनमा जान लागेको आन्दोलनलाई एमालेमा समाहित गरेर उनले आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेका छन्।

निर्वाचनपूर्व दुई दलबीच तालमेल र पार्टी एकीकरण हुनेसम्मको घोषणा हुँदा त्यसले मुलुकमा ल्याएको तरंगको परिणाम निर्वाचनका क्रममा समेत देखापर्यो । निर्वाचन सम्पन्न भई सरकार गठन, प्रदेश सरकारको गठन हुँदै सय दिन पुग्ने बेलासम्म पनि एकीकरणले गति लिन नसकेपछि शंकाको स्थिति देखिन थालेको थियो । माओवादी केन्द्रका मन्त्रीहरूमा असन्तुष्टि देखिन थालेकोमात्र होइन, अध्यक्ष पुष्पकमल दाहाल ‘तनाव मुक्ति’ का निम्ति सुकुटे किनारतर्फ हिँडेका खबरसमेत नआएका होइनन् । अझ यी दुई दलबीच एकीकरण हुनु दुई दिनअघि एकीकरण प्रक्रिया ‘स्थगन’ मा गएको पनि सार्वजनिक भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले दल एकीकरण हुने बेलासम्म आइपुग्दा सबैलाई आश्चर्यमा पारेका छन्।

‘यो हुनै सक्दैन’– धेरैलाई लाग्ने गरेको हो । माओवादी केन्द्रको ‘दीर्घकालीन जनयुद्ध’ को विरासत र एमालेको ‘संसदीय राजनीति’ को चातुर्यबीच मिलाप हुने ठाउँ धेरैले देखेका थिएनन् । तर ओली र प्रचण्ड दुवैका निम्ति मिलन अनिवार्यजस्तै बन्न पुगेको थियो । स्थायित्व र समृद्धिको आश्वासन दिएर निर्वाचन जितिसकेपछि यी दुईले एकीकरण अघि नबढाएका भए सर्वसाधारण मतदाताबीच धोका भएको सन्देश जाने थियो।

नेपाली कांग्रेससँग मिलेर माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउँदाको परिणाम निराश पार्ने किसिमको थियो । माओवादी केन्द्रले आमजनतामा विश्वास गुमाउँदै गएका कारण पछिल्ला दुई संघीय र प्रदेश निर्वाचनमा कमजोर प्रस्तुति हुने निश्चित थियो । ती दुई निर्वाचनमा कांग्रेसले माओवादीलाई एमालेले जस्तै ४० प्रतिशत स्थान दिने अवस्था पनि थिएन । एक हिसाबले माओवादी केन्द्रका निम्ति एमालेसँगको सहकार्य नाफाको यात्रा हुन पुगेको छ।

एमालेसँग निर्वाचनमा तालमेल गर्दा अपेक्षा गरेभन्दा राम्रो प्रतिफल मतदाताबाट प्राप्त भयो । वास्तवमा ‘स्थायित्व’ यसपटकको सबैभन्दा बिक्ने मसला बन्न पुग्यो । त्योभन्दा पनि महŒवपूर्ण घटना पार्टी एकीकरण नहुँदै एउटै दलका कार्यकर्तामा जस्तो हार्दिकता एमाले र माओवादी केन्द्रबीच देखिन पुग्यो । माथि नेताले कुरा मिलाए पनि नमिलाए पनि तल यसरी यति सजिलै तालमेल होला भन्ने देखिएको थिएन।

एकीकरणको जुत्ता तयार भइसकेको हुनाले खुट्टा ताछतुछ पारेर पनि मिलाइने भाष्यका रचनाकार ओलीले भनेजस्तै परिस्थिति एकीकरणपछि तयार भएको छ । एकीकरणको ओली साँचोमा पुष्पकमलले जसरी पनि मिल्नुपर्ने अवस्था आएको छ।

पहिले पहिलेका निर्वाचनमा पनि ‘एक वाम एक ठाम’का नारा बेलाबेला आउँथे । यस्ता नाराले मतदातालाई आकर्षित पनि गर्थे । तर वाम दलहरूबीचको अहंकारले एक ठाउँमा रहन दिँदैनथ्यो । वाम विचारधारा भए पनि कुनै न कुनै खोट देखाएर तिनीहरू आपसमा मिलेर अघि बढ्न सक्दैनथे । तर यसपटक एमाले र माओवादीबीचको यो एकताको ‘प्रेरक’ को हो भन्ने खासै खुलिसकेको छैन । ‘प्रेरक तहत्व’ बारे सबैका आ–आफ्ना बुझाइ छन् । दलहरूबीचको बेमेलले बेलाबेलामा गतिहीनताको अवस्था देखिएकै हो । दलहरूबीच सहकार्य भएको भए संविधानसभाको दोस्रो निर्वाचनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई निर्वाचन प्रयोजनको सरकारको नेतृत्व दिनुपर्ने आवश्यकता हुने थिएन । त्यो निर्णयपछाडि पनि यस्तै ‘प्रेरणा’ को भूमिका थियो।

मुलुकमा स्थायित्व नहुँदा यसरी खेल्ने काम कुनै न कुनै रूपमा हुन्थ्यो । यति हुँदाहुँदै पनि दोस्रो संविधानसभा निर्वाचनले सही बाटो लिन भने मद्दत गरेकै हो । फेरि पनि संविधान जारी नहुने अवस्था सिर्जना गर्ने तŒवहरूको कमी थिएन । जसोतसो संविधान जारी भयो, मुलुकले नाकाबन्दी बेहोर्यो, फेरि सबैको सहभागितामा निर्वाचन सम्पन्न भयो । यी प्रक्रियामा नेताहरूले खेलेको भूमिकाका निम्ति मतदाताले पुरस्कृत गरेका छन्।

दल एक बनेपछि यसबीच देखिएका सबै बाधा व्यवधान अन्त्य भएको छ । दुई अध्यक्षको प्रावधानसहित यी दुई दलको एकीकरण भएको छ । र, दुई अध्यक्षको प्रावधानको औचित्य पुष्टि गर्दै ओलीले एकीकरण समारोहमा भनेका छन्– ‘टेम्पो चलाएजस्तो होइन, जेटमा दुईटा पाइलट हुन्छन् ।’ अर्थात् जेटका दुई पाइलट ओली र पुष्पकमल दाहाल बनेका छन् । उडान कति सुखद हुन्छ, त्यो भने हेर्न बाँकी छ।

दुईटै अध्यक्षले एकीकरणको भोलिपल्ट शुक्रबार आफ्ना दुई कार्यालय धुम्बाराही र पेरिसडाँडामा पद बहालीसमेत गरेका छन् । यी कार्यालयको अवलोकन र पद बहालीका क्रममा दुवैले ‘अब नेपालमा कसैको सत्ता नआउने’ दाबीसमेत गरेका छन् । एकीकरणको जुत्ता तयार भइसकेको हुनाले खुट्टा ताछतुछ पारेर पनि मिलाइने भाष्यका रचनाकार ओलीले भनेजस्तै परिस्थिति एकीकरणपछि तयार भएको छ । एकीकरणको ओली साँचोमा पुष्पकमलले जसरी पनि मिल्नुपर्ने अवस्था आएको छ।

झट्ट हेर्दा दाहालले धेरै गुमाएको जस्तो एकथरीलाई लाग्न पनि सक्छ । पन्ध्र हजारभन्दा बढीको ज्यान जाने, हजारौं घाइते, बेपत्ता र घरबारबिहीन हुने गरी भएको ‘दीर्घकालीन जनयुद्ध’ एमालेमै समाहित हुनका निम्ति थियो त ? यस्ता प्रश्नले राज्यसत्ता कब्जाका निम्ति क्रियाशील माओवादी कार्यकर्तालाई उद्वेलित तुल्याउन सक्छ।

तर, यो एकीकरण प्रक्रियाका सबैभन्दा ठूला लाभग्राही दाहाल भएका छन् । ढिलो–चाँडो विसर्जनमा जान लागेको आन्दोलनलाई एमालेमा समाहित गरेर उनले आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेका छन् । त्यतिमात्र होइन, उनलाई निरन्तर लखेटिरहने ‘जनयुद्ध’ का प्रश्नले पनि बलियो आश्रय प्राप्त गरेका छन् । बस्, अब उनी नेकपाका नेता हुन् । विगतका ‘युद्ध अपराध’ को अनुसन्धान वा कारबाहीका निम्ति कहीँ कतैबाट आवाज उठे पनि त्यसका लागि भरथेग हुने बलियो घर एमाले हो दाहालका निम्ति।

यो प्रक्रियाको सफलताले ओलीलाई वाम इतिहासकै सफल नेतामध्ये एक बनाएको छ । दुई दललाई एक बनाउन पाएको सफलताका कारण ओलीको नाम पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीजस्तै गरी लिइने अवस्था उनले सिर्जना गरेका छन् । वाम आन्दोलनका हिसाबले उनले हासिल गरेको यो उपलब्धिको लेखाजोखा भविष्यमा पनि हुने नै छ । कम्तीमा अहिलेको विश्व व्यवस्थाका हिसाबले यो आन्दोलनलाई उचाइमा पुयाएकोमा विश्व कम्युनिस्टले समेत उनका गतिविधिमा अवश्यै ध्यान पुर्याएका हुनुपर्छ।

अब ओलीसँग दह्रिलो दल पनि भएको छ । साथमा गर्न चाहेको निर्णयसाथ अघि बढ्न सक्ने गरी सरकार र सातमध्ये ६ प्रदेशमा वामकै सरकार छ । यहाँभन्दा बढी स्थायित्व सरकारका निम्ति के हुन सक्छ र ? सरकारले स्थायित्व प्राप्त गरिसकेपछि समृद्धिको यात्रा अघि बढ्नुपर्ने हुन्छ । समृद्धिको यात्राभन्दा पनि अहंकार चढ्न थाल्यो भने स्थितिले फेरि कोल्टो फेर्न थाल्नेछ।

यो अवस्थाका बारेमा फेरि चिन्ता व्यक्त हुन थालिसकेको छ । दुई कम्युनिस्ट पार्टी मिलेर अर्को एउटा शक्तिशाली कम्युनिस्ट पार्टी बन्नुको अर्थ मुलुकमा अधिनायकवाद लगाउने बाटोमा जाला भन्ने अपेक्षा कसैको पनि छैन । क्रान्तिबाट सत्ता कब्जाको बाटोमा सफल नभएपछि निर्वाचनको बाटोबाट अघि बढेको वाम दलबाट यस्तो होला भन्ने धेरैलाई लागेको छैन । कथं त्यो भइहाल्यो भने पनि त्यो लामो समय जान सक्ने छैन।

मुलुकको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्दै अघि बढेमा ओली साँच्चिकै गौरवपूर्ण नाम बन्न पुग्नेछन् । त्यसमा पनि अहिले प्रचण्डलाई समेत लिएर नेकपा नामको जहाजका सहचालक बनेका यी दुवैको उडान मुलुकका निम्ति सुखद बनाउन कस्तो भूमिका हुने हो ? ब्यग्र प्रतीक्षा भइरहेको छ।   

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App