१ श्रावण २०८२ बिहीबार
image/svg+xml
विचार

आत्माश्लाघाको कहर

आत्ममुग्धता र अद्वितीय आत्मविश्वास अहिले कुन हदसम्म बढेको छ भने पछिल्लो समय मैले यसबारे लेखिएका दर्जनौं पुस्तकहरू फेला पारेँ। ती पुस्तक केलाउँदा यस्तो लाग्यो, हामी आत्ममुग्धता र अति आत्मविश्वासको ‘लहरेखोकी’बाट ग्रसित भएका छौं।

आफैंप्रतिको निर्लज्ज प्रेम र आत्मरति अद्वितीय आत्मविश्वासले जन्माउँछ। अचेल यस्तो निर्लज्ज आत्मरति सिकाउने जेनजी गुरुहरू बजारमा एक से एक फेला पर्छन्। गएको महिना मोबाइल स्क्रल गर्दै जाँदा जेनजी गुरु भनेर चिनिएकी ताम कौरको पोस्टमा म केहीबेर अडिएँ। त्यहाँ उनले ‘आत्मरतिका पाँच नियम’ भनी बाँडेको ज्ञानले एकै झमटमा चार लाख भ्युज पाएको थियो। दश हजारभन्दा बढी लाइक र निकै धेरै कमेन्ट ओइरिएको थियो।

ती पाँच नियम मेरा लागि भने विरक्तलाग्दा थिए। ती कुनै काम लाग्ने खालका थिएनन् र साह्रै विरक्त लाग्दा थिए तर उनकै लोकप्रियता चुलीमा छ। धेरैले यस किसिमको आत्मरति स्वयं गुरुहरूका लागि घातक हुनसक्ने मनोवैज्ञानिकहरूको राय छ।

बजारमा आएका केही किताबहरू पनि मैले यसबीचमा हेरेँ। बजारमा सन् २०२१ मा आएको पुस्तक ‘द जोय अफ बिइङ सेल्फिसः ह्वाई यु निड बाउन्ड्रिज एन्ड हाउ टु सेट देम’ पुस्तकमा लेखिका लाइफ कोच मासेल एल्म्यान सामान्य जीवनमा विषाक्त सम्बन्ध र दैनन्दिन हुने झैझगडाबाट बुद्धिमानी टाढै हुन्छन् भन्छिन्।

अर्को पुस्तक ‘सेल्फ–अब्सेसनः हाउ आवर निड फर आइडेन्टिटी थ्रिटेन्स आवर वेलबिइङ’ मा डा. टम डेभिस अहिलेको विषाक्त समयमा बाहिरी संसार र देखावटी कुरामाभन्दा आफूतर्फ र मनभित्र छिर्नुपर्ने आवश्यकतामा जोड दिन्छन्।

संसार अहिले पश्चिमा सोचप्रति आशक्त छ। पश्चिमा सोच भन्नाले घोर व्यक्तिवादी र पुँजीवादी सोच हो। यसले मान्छेको जीवन घोर निराशामा जाकेको छ। मान्छेले कोभिड १९ लाई महामारी भने तर वास्तविक महामारी चाहिँ ‘म’, ‘म’ र ‘मै मात्र’ हो।

यो कुरा युनिभर्सिटी अफ जर्जियाकी मनोविज्ञानकी प्राध्यापक डब्लु किथ क्याम्पबेलले सहलेखन गरेको पुस्तक ‘द नार्सिसिज्म एपिडेमिकः लिभिङ इन द एज अफ इन्टाइटलमेन्ट’ पुस्तकमा अझ बृहत् स्तरमा चर्चा गरिएको छ। क्याम्पबेलले अहिलेको समयलाई ‘आत्म आशक्तिको विष्फोटयुक्त शताब्दी’ भन्ने गरेकी छन्।

यो विषयमा यति धेरै पुस्तक निस्कनुको अर्थ यो समस्याले गम्भीर रूप लिइसकेको छ तर धेरैको ध्यानाकर्षण हुन सकेको छैन। यी पुस्तकले यो समस्यालाई मूलधारमा ल्याउने, चर्चा गर्ने गराउने कार्य गरिरहेका छन्।

यी सबै पुस्तकले देखाएको ऐना चाहिँ सामाजिक सञ्जालले अहिले हरकोहीलाई आत्ममुग्ध र आत्मआशक्तिको तहमा पुर्‍याइदिएको छ भन्ने विषय हो। हरकोहीले आफूलाई अरूभन्दा उम्दा रूपमा प्रस्तुत गरिरहँदा केहीलाई भने आत्महीनताको अवस्थामा पुर्‍याइरहेका हुन्छन् र त्यसले आत्महीनहरूले आफ्नो अहं तुष्टिका लागि अझ ठूलो केही गर्ने चाहका कारण दुर्घटना नै घट्न सक्छ।

त्यसो त अचेल अर्को मौलाएको व्यापार पनि छ, थेरापीको बजार। यस्तो बजारमा समस्या समाधानका लागि अन्यत्र हेर्ने बानीभन्दा आफैंबाट समाधान खोज्ने चलन बढेको छ। थेरापीमा बढीजसो प्रयोग हुने शब्दहरू ‘सेल्फ केयर’, ‘सेल्फ इम्प्रुभमेन्ट, सेल्फ एक्चुअलाइजेसन, सेल्फ लभ आदि छन्।

यसरी थेरापीबाट मान्छेलाई जे कुराबाट मुक्ति गर्न सकिन्थ्यो, अझ बढी जाक्ने काम भइरहेको छ। हामीले अरूप्रति कुनै धारणा राख्दैनौं। अरूप्रति हामीलाई कुनै करुणा जाग्दैन। अरूलाई के आइलागेको होला भन्ने सोच्दैनौं। मात्र आफू र आफैंमा केन्द्रित भइरहेका छौं।

हामी कुनै पनि कुराको ‘ओभर डुइङ’मा छौं। त्यो ओभर डुइङ चाहिँ आफैं र आफू मात्रमा केन्द्रित छ। यो संसारमा हामी मात्र बाँच्दैनौं। हाम्रा अघिल्तिर पनि मान्छेहरू नै छन्। तिनलाई पनि सहयोग, प्रेम, स्नेह चाहिन्छ। उनीहरूप्रति हाम्रा केही दायित्व छन्, नरम बोलीकै किन नहोस्!

हामीले कहिलेकाहीँ अरूलाई बिना स्वार्थ र अहं पनि केही गर्नुपर्ने हुन्छ। मान्छे हुनुको दायित्व पनि हो यो।

आफैंलाई स्नेह गर्नु राम्रो कुरा हो। मानसिक स्वास्थ्य बिग्रेकाहरूका लागि यो सकारात्मक पक्ष हो। यसले हामीलाई आफू अझ असल हुने बाटो देखाउँछ तर हामी जे जस्तो छौं, त्यसैमा सन्तुष्ट हुने र आफैंप्रति करुणाभाव राख्ने गर्नुपर्छ। आफूलाई उम्दा बनाउने दौडमा आफैंमाथि दबाब र तनाव थोपर्नु हुँदैन।

आफू केन्द्रित खुसी खोज्ने क्रम सन् २०११ बाट भएको विश्वास गरिन्छ। साँच्चिकै दीर्घकालीन खुसीका लागि यो अभियान सुरु गरिएको थियो। आफू राम्रो हुने कुरामा यति धेरै जोड दिनु पनि हुँदैन, जसले मान्छेले आफैंलाई घृणा गर्न थालोस्।

गएको महिना बेलायतमा नेसनल हेल्थ सर्भिसले गरेको सर्भेमा नयाँ पुस्ता र खासगरी जेनजीमा चार जनामध्ये एक जनामा अवसाद, निराशा, अति सोच्ने दुव्र्यसन, अनेक किसिमका डिस अर्डरहरू देखिएको थियो। यस्तो समस्या १६ देखि २४ वर्षसम्मका युवामा देखिएको थियो। यस्तो समस्या केटाभन्दा केटीमा बढी देखिन्थ्यो।

जब मान्छे आफूलाई केन्द्रमा राख्न थाल्छ, ऊ एक्लिन थाल्छ। एक्लोपनले त्यसपछि सारा समस्या थप्ने गर्छ। बेलायतीहरूमा देखिएको यो समस्या सन् २०२० मा ६ प्रतिशत थियो। अहिले बढेर ७.१ प्रतिशत पुगेको छ।

व्यक्तिवादले मान्छेलाई एक्ल्याउँछ। एक्लोपनले अरू र आफूलाई फरक पाउँछ। अरूले पाएको दुःख आफ्नो दुःख होइन भनी पन्छाउने गर्छ। यसले असहनशीलता बढाउँछ।

त्यसो त हामी सुध्रन उति ढिला भने भइसकेको छैन। आफ्ना आत्मरति, आत्माश्लाघा, अहं र अरूका नजरमा चढ्ने मोहभन्दा तिनलाई शमन गर्ने र हामी सबै एकै हौं, एकअर्कामा बाँधिएका छौं, मेरो एउटा कृत्यले अरूलाई पनि प्रभाव पार्छ भन्ने सोची दिए मात्र पनि समाजमा ठूलो प्रभाव पार्छ। संसारमा एक्लो कोही छैन। सबै एकअर्कामा गाँसिएका छन् भन्ने बुझ्नुपर्छ।

औषधविज्ञानमा सिपिआर भन्ने एउटा महत्त्वपूर्ण काम हुन्छ। लगभग श्वास थुनिएको अवस्थामा अर्को कुनै व्यक्तिले दिने श्वासबाट अर्को व्यक्तिको ज्यान जोगिन सक्छ। सिपिआर अर्थात् कम्प्यासन (करुणा), प्यासन (चाह) र रेस्पोन्सिबिलिटी (जिम्मेवारी) ले यो सारा आत्मकेन्द्रित भावबाट मुक्ति दिलाउँछ र अरूलाई पनि प्रेरित गर्छ।

करुणाले अरू व्यक्तिलाई पनि व्यक्ति ठान्छ। त्यसपछि अरूप्रति गरिने दृढतापूर्वक गरिने सेवाले अर्काको जीवनमा प्रभाव पार्छ। यी कामहरू आफ्नो जिम्मेवारी ठानेर गरियो भने त्यसले तपाईंको अहंलाई बढाउने होइन, घटाउन भूमिका खेल्नेछ। हामीले आफैंप्रति करुणा गर्ने बेला आएको छ।

प्रकाशित: २२ असार २०८२ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App