२९ असार २०८२ आइतबार
image/svg+xml
विचार

विकास, विनाश र मान्छे

पृथ्वी सबैको साझा घर हो। यहाँ मानिसलगायत सम्पूर्ण जीवजन्तु र वनस्पतिको उत्तिकै अधिकार छ। जीवजन्तु र वनस्पतिले पनि मानिसले जस्तै बाँच्न पाउनुपर्ने हो तर मानव मात्रले प्रकृतिमाथि बारबार दोहन गर्नाले अन्य जीवजन्तु र वनस्पति लोप हुने अवस्थामा पुगेका छन्। मानिसले आफ्नो स्वार्थ पूरा गर्न प्रकृतिमाथि हस्तक्षेप गरिरहँदा प्रकृतिको दोहन मात्रै भएन अरू जीवात्माको अस्तित्वमा संकट आउने अवस्थाको सिर्जना भयो। पर्यावरणीय चेतनाका कारण मानव संकट उत्पन्न भई मानिसले नै मानिसको भविष्य खतरातिर धकेलिरहेको छ।

पर्यावरण

हाम्रो वरिपरिको परिवेशलाई वातावरण भनिन्छ। प्रकृतिमा भएका हावा पानी, वन जंगल ढुंगा, माटो सूर्यको प्रकाश वातावरणमा पर्छन्। वातावरणलाई पर्यावरण पनि भनिन्छ। सम्पूर्ण प्राणी जगतको वासस्थान वातावरण भएकाले, यसको सन्तुलनबाट नै प्राणीको जीवनचक्र सहज ढंगले चलेको हुन्छ। हरेक प्राणीलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरू वातावरणबाटै प्राप्त हुन्छ। एकअर्कामा अन्योन्याश्रित भएर प्राणी जगतको जीवनचक्र अघि बढेको हुन्छ। प्राणीलाई अति आवश्यक र जीवनदायी मानिने शुद्ध हावा पानीको उपलब्ध गराउन वन जंगल, अर्थात् हरियालीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।

मानव र समस्त जीव तथा वनस्पतिले अनुभूत गर्ने यो पृथ्वीको जल, जमिन, हावा रहेको आवरण नै ‘पर्यावरण’ हो। त्यस दृष्टिले पृथ्वीको परिवेशलाई वातावरण वा पर्यावरण भन्न सकिन्छ। हाम्रो वरपरको परिवेश पनि पर्यावरण हो।

सबै जीवात्माले यही पर्यावरणभित्र जीवनचक्र पूरा गरिरहेका हुन्छन्। मानिससँगै जीवजन्तु तथा वनस्पतिको चक्रमा सबैको अस्तित्व एकअर्कामा निर्भर हुने गर्छ। यही पर्यावरणमा सबै जीवात्मा रहन्छन्। कसैले आफ्नो स्वार्थका लागि अर्काको दैनिकीसँग सरोकार राख्ने विषयमाथि हमला गर्न खोज्यो भने त्यसको असर सबैतिर पर्न जान्छ। अर्थात् पर्यावरणमा असन्तुलन हुन जान्छ।

पर्यावरण विनाश

प्रकृतिमाथिको दोहन र त्यसले पार्ने नकारात्मक असर पर्यावरण विनाश हो। मूलतः मानिसले आफ्नो सेवा सुविधाका लागि प्रकृतिको दोहन गर्दै आएको छ। त्यसको असर प्रत्यक्ष रूपमा अरू जीव तथा वनस्पतिमा परिरहेको देखिन्छ।

पर्यावरणलाई सन्तुलित राख्ने वन जंगलको विनाश र बढ्दो मानवीय अतिक्रणले डरलाग्दा पर्यावरणीय संकट निम्त्याएको छ। बाढी पहिरो रोक्ने, कार्वनडाइअक्साइडको शोषण गरेर जीवनदायी अक्सिजन प्रवाह गर्ने, मानवका हरेक आवश्यकता पूर्ति गर्ने र प्राणी जगतलाई भोजन र वासस्थानको व्यावस्था गर्ने वन जंगलसँग सन्तुलित पर्यावरण जोडिएको हुन्छ। सम्पूर्ण प्राणी जगतको श्रृष्टि सञ्चालन गर्ने प्रकृतिमाथि पृथ्वीकै सबैभन्दा चेतनाशील प्राणी मानिसबाट भएको अतिक्रमण र विनाशकारी कदमले पर्यावरणीय संकट चरम रूपमा बढी रहेको छ।

 चेतनाशील प्राणी भएका कारण मानवसँग असल खराब छुट्याउने विवेक भए पनि मानवले गरेका खराब कर्म र पृथ्वीमाथि एकाधिकार जमाउने होडबाजीको परिणाम स्वरूप विश्व पर्यावरण संंकटको भुमरीमा रुमलिन पुगेको छ। एकातिर वैज्ञानिक खोज, आविष्कारले मानवको जीवन सहज बनायो भने अर्कातिर यस्ता वैज्ञानिक आविष्कार वातावरण विनाशका कारण पनि बन्न पुगे। पेट्रोल, डिजेलले चल्ने मोटर गाडी, हवाइजहाज, उद्योग, धन्धा, कल कारखाना पर्यावरणको सन्तुलन खलबल्याउने प्रमुख कारक तत्त्व बन्न पुगेका छन्।

सानोतिनो वातावरण विनाशदेखि सिंगो प्राणी जगत चराचर ध्वस्त पार्ने अणुवम जस्ता हतियार अविष्कार गरेर मानवले आफ्नो विनाश आफैं गर्ने संकटको खाडल खन्न थालेको छ। तीव्र औद्योगिकीकरण र उत्सर्जित कार्बनडाइअक्साइडले ओजोन तह पातलिँदैछ भने पृथ्वीको तापक्रम बर्सेनि बढ्दै जानाले प्रकृतिमा सन्तुलन खलबलिएको छ। यही असन्तुलन नै वातारणीय विनाश हो।

पर्यावरणीय नारीवाद

पुरुषभन्दा महिला प्रकृतिको समिपमा हुन्छन्। पृथ्वी अथवा प्रकृति नारीको रूप हुन् भनिएको पाइन्छ। नारीवादी आन्दोलनले पर्यावरण र महिला दुवै पुरुषबाट दमित भएको निष्कर्ष निकाएको छ। पुरुषहरूले जसरी नारीमाथि शासन गर्छन् शोषण दमन गर्छन् त्यसैगरी प्रकृतिमाथि पनि प्रस्तुत हुन्छन्। नारीहरू पर्यावरण संरक्षण गर्न चाहन्छन् भने पुरुषहरू नाश गर्न मन पराउँछन्।

महिलाहरू रुखविरुवा रोप्ने कार्यदेखि हुर्काउने बढाउने र त्यसको प्रयोग गर्नेसम्ममा मानवीय चेतनाका साथ लागि पर्छन्। जस्तै पुरुषहरू बञ्चराले रुख ढाल्न उद्यत् हुन्छन् भने महिलाहरू रुखका सेउलाहरू काट्ने गर्छन्। पर्यावरण संरक्षणमा महिला जति बढी सचेत हुन्छन् त्यति नै बढी पर्यावरण संरक्षित रहने सम्भावना हुन्छ। त्यो चेतना पुरुषमा पनि हुुनुपर्छ। पर्यावरणीय नारीवादले पुरुषहरू नारीलाई जस्तै प्रकृतिमाथि शोषण गर्छन् भन्ने मान्यता राख्छन्। प्रकृतिको अर्थात् पर्यावरणीय संरक्षणमा नारीहरू अगाडि भएको कुरा पर्यावरणीय नारीवादले गर्छ।

पुँजीवादमा पर्यावरण

पर्यावरण विनाश वा संरक्षणमा विश्व एकजुट हुनुपर्छ। तीव्र गतिमा भइरहेको पर्यावरण विनाश रोक्न विश्व समुदाय नै एक ठाउँमा उभिन नसक्दा पुँजीवादी विश्वव्यवस्थाले पर्यावरणमा असर पारिरहेको छ। पुजीवादी व्यवस्थामा व्यापारीहरू जसरी पनि तत्काल नाफा कमाउन चाहन्छन्। व्यक्ति केन्द्रित नाफामुखी मानसिकताका कारण पुँजीपतिहरूले मानव श्रम शोषण गर्दै प्राकृतिक स्रोतको दोहन गर्छन्। त्यसका लागि पुँजीवादी समाजले नीतिगत रूपमै पुँजीपतिहरूलाई अनुमति दिइरहेको हुन्छ।

नदी किनाराको गिट्टी बालुवा, वनजंगल, खनिजमा लगानी र फाइदाको अधिकार पुँजीपति र तिनका एजेन्टहरूलाई दिइएको हुन्छ। ठेकेदार र ठेकेदार कम्पनीले कहिल्यै पनि प्राकृतिक स्रोत भावी सन्ततिलाई भनेर छोड्दैन बरु जतिसक्दो आजै सकेर भए पनि नाफा कमाउन चाहन्छ।

आज पर्यावरण विनाशको मूल कारण यहीं यिनै प्रकारको प्रवृत्तिले भएको छ। धनी देशहरूले आफ्नो देशमा पर्यावरण विनाश गरेर विकास गरिरहेका छन्, त्यसको असर हाम्रोजस्तो विकासोन्मुख देशहरूमा परेको छ। ठूला उद्योगधन्दा खोल्ने प्रतिस्पर्धा, हानिकारक युरेनियम जस्ता धातुको उत्खनन, आणविक भट्टीहरू खुलाउने प्रतिस्पर्धा आदिका कारण पृथ्वीमा ठूलो असर परेको छ। औद्योगिक प्रतिस्पर्धा, आणविक भट्टी निर्माण, खनिज उत्खनन मात्रै नभई हरेक विषयलाई नाफा कमाउने माधयमका रूपमा लिइँदा पृथ्वीको दोहन बढिरहेको छ।

पर्यावरणीय समस्या

पृथ्वीको सम्पूर्ण भौतिक परिवेश पर्यावरण हो। मानिस, जनावर, चराचुरुङ्गी, वनस्पति र अन्य सबै जीवित चिजहरू यसैभित्र पर्छन्। यो धर्तीमा कुनै एकले गर्ने गतिविधिले अर्कोलाई प्रभाव पारिरहेको हुन्छ। पर्यावरणमाथिको आक्रमणले पर्यावरणीय समस्याहरू निम्त्याउने गर्दछ। वनजङ्गल विनाशदेखि बाढीपहिरो जलवायु परिवर्तन, जैविक विविधताको विनाश, ऊर्जाको सङ्कट, जीवात्माहरूको वासस्थानको नाश र त्यसका कारण कतिपय प्राणीहरू लोप हुने अवस्थाको सिर्जना, पानीको अभाव, वायु र ध्वनि प्रदूषण, बसाइँसराइ, खाद्य संकटलगायतका असरहरू पर्यावरणीय विनाशले निम्त्याएका हुन्। जसले गर्दा पृथ्वीमा मानिसलगायत सबै प्राणी र वनस्पतिको अस्तित्व संकटमा पुग्ने अवस्थामा छ।

दिन प्रतिदिन बढ्दै गएको पर्यावरणीय समस्या हेर्दा नेपालजस्ता देशहरू अझ बढी जोखिममा परेका देखिन्छन्। हुन त जलवायु परिवर्तन, बढ्दो तापक्रम, ओजोन तहको विनाश विश्वव्यापी रूपमा देखिएका समस्या हुन्। विकसित मुलुकले पर्यावरणीय समस्या निम्त्याउन बढी भूमिका खेलेका छन् भने त्यसको असरचाहिँ विकासोन्मुख मुलुकले बढी खेप्नुपरेको छ।

हाम्रो मुलुकमा पनि वन जङ्गलको विनाश, विभिन्न नदी, खोला र पोखरीहरूमा देखिएको प्रदूषण, भूमि र बालीनालीमा रासायनिक र विषादीको प्रयोग, प्लाष्टिकको उपयोग र अव्यवस्थित फोहोरमैलाजस्ता समस्या स्पष्टै देखिने समस्या हुन् भने कालान्तरमा देखिने समस्याहरू भित्रभित्रै छन्। वनजङ्गलको विनाशले बाढी पैरोको समस्या बर्सेनि बढेको देख्छौं भने वनजंगलमा बस्ने जीवजन्तुको बास नै समाप्त भएको छ। बासस्थान नै नभएपछि कतिपय पशुपक्षीहरू क्रमशः लोप हुने अवस्थामा पुग्न थालेका छन्।

फोहोरमैलाको व्यवस्थापन उचित रूपमा नहुदा जल तथा वायु प्रदुषण बढेको छ। उद्योग कलकारखानाबाट निस्केका रसायनहरू नदीमा फाल्ने गर्दा नदीमा रहने जीवहरू संकटमा परेका छन्।

बढ्दो शहरीकरण र वस्ती विस्तारले सहरहरू कङ्क्रिटको जंगलमा हुन थालेका छन्। पानीका मुहानहरू सुक्दैछन्। जसका कारण जमिन भासिने र पानीको अभाव हुने अवस्था छ। कृषि उत्पादनमा एकैचोटी नाफा कमाउने मनसायले जमिनमा रासायनिक विषादीको अत्यधिक र अव्यवस्थित प्रयोग गरेका कारण उत्पादन घट्ने क्रममा छ, धूलो, धुवाँ र ध्वनिको प्रदूषणको समस्या पनि बढ्दो छ। उल्लिखित समस्याहरूले मानवस्वास्थ्यमा गहिरो असर गरेको छ नयाँनयाँ र जटिल रोगहरू देखिन थालेका छन्।

यसरी नै पर्यावरणमाथि दोहन गर्दै जाने हो भने मान्छे लगायत विभिन्न प्रजाति र वनस्पतिहरूमा त खतरामा पर्ने निश्चित छ।

समग्रमा पर्यावरण संरक्षणको क्षेत्रमा धनीदेखि गरिब देशसम्मले आआफ्नो हैसियत अनुसारको बजेट छुट्याउने कार्य पनि गरिरहेका छन्। सरकारी तथा गैरसरकारी संस्थाले अभियान र वकालत गरिरहेका छन्। जतिजति सचेतनाका कार्यक्रमहरू गर्न थालिएको छ त्यतिकै मात्रामा पर्यावरणमा असर पर्ने गतिविधिहरू बढेका पनि छन्। पर्यावरण जोगाउन प्रकृतिमाथिको मानवीय अतिक्रमण रोक्नुको विकल्प देखिएको छैन।

शक्तिशाली देशहरूदेखि गरिब मुलुकहरूले समेत रणनीतिक योजना बनाउनुपर्‍यो। विश्वभरिका मानवले सुख, सुविधा र स्वार्थका लागि पर्यावरणीय समस्या निम्त्याउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेका आफ्ना गतिविधि र क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने छ। विकासका गतिविध गरिँदा पर्यावरणीय ह्रास आउने गरी गर्नुहुदैन। मान्छेको जत्तिकै यो प्रकृतिमा सबै जीव र वनस्पतिको अधिकार छ भनेर युवा पुस्तामा सञ्चार हुनुपर्छ।  

प्रकाशित: २० असार २०८२ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App