२९ असार २०८२ आइतबार
image/svg+xml
विचार

भ्रष्टाचारकाे महामारी

निजी स्वार्थ वा लाभका लागि सार्वजनिक पद र अधिकार दुरूपयोग भ्रष्टाचार हो। भ्रष्टाचार सानो वा ठुलो देश, विकसित वा अविकसित अर्थतन्त्र, सार्वजनिक वा निजी क्षेत्र, नाफामूलक वा सेवामूलक संगठन सर्वत्र छ अर्थात् विश्वव्यापी छ। घुस लिने/दिने, जबरजस्ती असुली, जालसाजी, हिनामिना, नातावाद, कृपावाद र निजी स्वार्थका लागि सार्वजनिक सम्पत्तिको उपयोग तथा प्रभावमा पारी काम लिने जस्ता कार्यलाई भ्रष्टाचारजन्य व्यवहार मानिन्छ।

भ्रष्टाचार विभिन्न तवरले गर्ने गरेको पाइन्छ, जस्तै– वास्तविक आयले भ्याउनेभन्दा बढी सम्पत्ति जम्मा गरेर; सरकारी पद वा शक्तिको दुरूपयोग गरेर; तल्लो स्तरको काम गर्न स्वीकृति दिएर; लापरबाही गरेर सरकारी सम्पत्तिको नोक्सानी वा हिनामिना गरेर; तल्लो स्तरको सामान वा कम सामान खरीद बिक्री गरेर; नियमको गलत व्याख्या गरेर भ्रष्टाचार गरेको देखिएको छ।

भ्रष्टाचारजन्य कार्य गर्न उत्प्रेरित हुने कारणहरूमा विभिन्न विषय औंल्याउन सकिन्छ। मूलतः परिवारलाई पालन पोषण गर्न बढी खर्च गर्नुपर्ने तर आम्दानी थोरै हुने; आम्दानी थोरै हुने तर अर्काको देखासिकी गर्नुपर्ने; उच्च जीवनस्तर कायम गर्न र अनियमित रूपले पैसा कमाएर समाजमा सबभन्दा बढी प्रतिष्ठित व्यक्ति कहलाउन खोज्ने; कर्मचारीहरूमा नैतिकताको ज्ञान नहुने र आफ्नो कार्यप्रति उत्तरदायित्व बोध नगर्ने बुँदा तिनै मध्येका हुन्।

त्यसैगरी राष्ट्रियताको भावना नजाग्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्ने; गरिबी, बेरोजगारी र महँगीको मारबाट उम्कन आपराधिक क्रियाकलाप (चोरी, डकैती, हत्या आदि) कार्य गर्न पछि नपर्ने; कुनै व्यक्तिले घुसखोरी गरे त्यसलाई दण्ड सजायको रूपमा सरकारले नोकरीबाट मात्र बर्खास्त गर्ने कार्यले कुनै पनि व्यक्तिले यसबाट आर्थिक भ्रष्टाचार गर्न प्रोत्साहन पाउने र प्रचलित ऐन, नियम आदेश र निर्देशनहरूको पालना नगर्ने जस्ता बुँदालाई प्रमुख मान्न सकिन्छ।

भ्रष्टाचारको विजारोपण उच्चपदस्थबाटै हुने अध्ययनहरूले देखाएका छन्। एसिया, अफ्रिका लगायतका नयाँ प्रजातन्त्रिक देशमा प्रजातन्त्रका नाममा जनतालाई भोटको बन्धक बनाएर नेतृत्व तह नै भ्रष्टाचारमा डुबेका उदाहरण कयौँ छन्। कतिपय राष्ट्र प्रमुख र सरकार प्रमुख पनि जेल परेका छन्।

एउटा नेतृत्वले देशमा भ्रष्टाचार रोक्न कति गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण दक्षिण अफ्रिका हो। नेल्सन मण्डेलाको नेतृत्वकालमा त्यहाँ भ्रष्टाचारको कुरा सुनिएन। उनी पछिका राष्ट्र«पति ज्याकोब जुमा भ्रष्टाचारमा मुछिएको समाचार सञ्चार माध्यममा आइसकेका छन्। हालै फ्रान्सका पूर्वराष्ट्र«पति निकोलास सार्कोजीलाई पनि त्यस्तै अभियोग लागेको छ। कुनैकुनै नेताले आफ्नो पेशा नै राजनीति हो भनेको सुनियो र ‘हामी जोगी हुन्, राजनीति गरेका होइनौं’ भन्नेहरू पनि देखियो।

यस्ता अभिव्यक्ति ठिक/बेठिक भन्दै आआफ्नो तवरले तर्कवितर्क गरिएलान् तर राजनीति गरेर देश र जनताको सेवा गर्छु भन्ने नेतृत्वले आफूमाथि आफैँले निगरानी गर्न आवश्यक छ।

विशेषतः चुनावका बेला लिइने सहयोग सहयोग कहाँबाट र कसरी आयो? आफू र आफ्ना नातेदारले प्रयोग गरेका सवारी साधन आफ्नै आर्जनका हुन् कि कसैबाट उपहारस्वरूप आएका हुन् ? विभिन्न उद्योग व्यवसायमा भए/गरेका लगानीको स्रोत आफ्नै कमाइ हो वा पैतृक सम्पत्ति ? आफ्ना र नातेदारका छोराछोरी प्रतिस्पर्धाबाट छानिएर विदेश पढ्न गएका हुन् कि विभिन्न दातृसंस्थामा भनसुन गरेर पठाइएका हुन्?

यस्ता विषयमा नेताहरूले आफैंलाई नियाल्न जरुरी छ। संसारका विकासशील देशहरूमा अस्थिर राजनीति हुनुका विभिन्न कारणमध्ये चरम भ्रष्टाचारलाई नै मानिँदै आएको छ।

भ्रष्टाचारका कारण

ऐन नियमको पालना सही ढंगबाट नगरी लेखा राख्नु; स्थलगत लेखापरीक्षण गर्दा लेखामा भिडाउनुपर्ने आर्थिक कारोबारको कागजात विवरण लेखापरीक्षकलाई उपलब्ध नगराउनु; ऐन नियमभन्दा माथि उठेर लिखितभन्दा मौखिक आदेशको आधारमा खर्च लेख्नु; कानुनले तोकेको प्रक्रिया र परिधिभन्दा बाहिर गएर निर्णय गर्नु; ठूलाठूला आयोजनामा आर्थिक कारोवार गर्न सरकारले कानुन मान्नेभन्दा आफ्नो मान्छे पठाउनुलाई औंल्याइँदै आएको छ।

आर्थिक कारोबार गर्दा रिझाउने र रिझाउने मनसायले खर्च गर्नु, दण्ड र पुरस्कारको वित्तीय प्रशासनमा विद्यमान नहुनु, कार्यालय प्रमुखले आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण जिम्मेवारी लेखा कर्मचारीका भरमा छाड्नुलाई पनि भ्रष्टाचारका कारणकै रूपमा लिइँदै आएको छ। यसैगरी बढ्दो सामाजिक विकृति, कमजोर र कार्यान्वयन हुन नसकेका ऐनकानुन, दण्डहीनता बढ्नु पनि भ्रष्टाचार बढ्ने कारण हुन्।

यसको साथसाथै जीवनयापन गर्न पनि नपुग्ने खालको मासिक पारिश्रमिक; विकसित देशका नागरिकहरूले उपभोग गरेको अत्याधुनिक जीवनशैली र आधुनिकताका नाममा गरिने अन्धानुकरण; आयको वैधताबारे सरकारी प्रमाणीकरणको अनावश्यकताजस्ता पक्षहरू पनि भ्रष्टाचार बढाउने कारण हुन्।

भ्रष्टाचारबाट पर्ने प्रभाव

विकासका नवीन मुद्दाहरूमा अपेक्षित नतिजा प्राप्त गर्न कठिनाइ हुनुलाई भ्रष्टाचारको प्रभावका रूपमा बुझिन्छ। यस्ता प्रभावका रूपमा थुप्रै विषय खुट्याउन सकिन्छ। जस्तै गरिबी निवारण, दिगो विकास, जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण जस्ता प्रयासमा अवरोध सिर्जना हुनु। विकास आयोजना समयमै सम्पन्न हुन नसक्नु। सार्वजनिक क्षेत्रमा गरिने निर्माण कार्यमा लागत अस्वाभाविक रूपमा बढ्दै जानु। विकासका पूर्वाधार तथा सार्वजनिक सेवामा अपेक्षित गुणस्तर कायम हुन नसक्नु आदिलाई लिइन्छ।

यस्तै अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणमा फरक आउनु; दोस्रो दर्जाको नागरिकका रूपमा आफूलाई पाउनु; मुलुकको शान्ति सुव्यवस्थामा खलल पुग्नुलाई पनि भ्रष्टाचारकै प्रभावका रूपमा बुझिन्छ। असमानता र विभेद बढ्न जाँदा हुँदा खाने र हुने खाने बिचमा ठुलो खाडलको सिर्जना हुन जानु; कुशासनको बोलावाला हुने विकासका प्रयत्न निरर्थक बन्ने; र सरकार र शासन दुबैको बैधतामा प्रश्न चिन्ह खडा हुनु पनि भ्रष्टाचारको प्रभावका रूपमा बुझ्नुपर्छ।  

प्रकाशित: ११ असार २०८२ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App