२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

फुटवलमा गोललाइन प्रविधिको आवश्यकता

'सन् १९६६ मा हुँदै नभएको गोल अर्को टिमलाई दिएर हामीमाथि अन्याय भएको थियो तर आज त्यस गोलले बल्ल न्याय पाएको छ।' जर्मनीका फर्वाड थोमस
म्युलरले टिप्पणी गरे।सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा इङल्यान्डले जर्मनीलाई ४-२ ले हराएको थियो। इङयाण्डका तर्फबाट हस्टले तीन र पिटर्सले एक गोल गरेका थिए। हस्टले गरेको एउटा गोल बिममा ठोकिएर सिधै लाइनमा झरेको थियो। गोलपोस्टको लाइन क्रस गर्दै नगरेको बललाई लाइन क्रस गर्‍यो भन्ने ठानेर स्वीटजरल्यान्डका रेफ्री डेन्स्टले गोल दिएका थिए। जर्मनहरू अहिलेसम्म पनि त्यस बलले गोललाइन ननाघेको दाबी गर्छन् र त्यो गोल थियो कि थिएन भनेर अहिलेसम्म पनि वादविवाद हुने गरेको छ।

यस पटक पनि जर्मनी र इङल्याण्ड बीचको खेलमा विवाद भएको छ। इङल्याण्डका मिड फिल्डर फ्रान्क लाम्पाडले हानेको बल बिममा लागेर गोललाइन क्रस गरेको प्रस्टै देखिन्थ्यो। तर बलले लाइन क्रस गरेको घटना उरुग्वेका रेफ्री जर्ज लारिओन्डा र उनका सहायक रेफ्रीले देखेनन्। अर्थात् उनीहरूले गोल थिएन भनेर खेल अगाडि बढाए। लाम्पाडको उक्त गोललाई मान्यता दिएको भए इङल्याण्डले खेल २-२ गोलको बराबरीमा ल्याउने थियो र खेलको मोड नै फरक पर्ने
थियो।

'पूरै खेलको त्यो नै निर्णायक क्षण थियो। फुटबलमा ससाना घटनाले पनि ठूलो प्रभाव पार्छ। लाम्पाडको प्रहार गोल भएको थियो र त्यो पूरा खेलको सर्वाधिक खेलको महत्वपूर्ण घटना थियो भनी गुनासो पोखे इङल्यान्डका प्रशिक्षक फाबियो कपेलोले।

जर्मनीका रेफ्री हेल्मट क्रुगले पनि टेलिभिजन हेरेपछि भने त्यो वास्तवमा गोलै थियो। रेफ्रीले भन्न नसके पनि कम्तीमा लाइन्सम्यानले पक्कै देख्नुपर्ने थियो। नांगो आँखाले देख्न सकिने गोल थियो।

वास्तवमा फुटबलमा लाइनभित्र बल छिर्‍यो कि छिरेन भन्ने विवादको अन्त्य गर्नुपर्छ भन्दै इङल्यान्ड र स्कटल्यान्डका फुटवल संघहरूले फिफालाई सुझाव दिएका थिए तर फिफाले तिनको सुझावलाई ठाडै अस्वीकार गरेको थियो।

गोललाइन प्रविधि हुनुहुँदैन भन्छन् फिफाका अधिकारी। तर सुझावका रूपमा दुई विकल्प अगाडि सारिएको थियो। बलभित्र कम्प्युटर चिप्स हाल्ने वा टेनिस र क्रिकेटमा प्रयोग हुँदै आएको हक आई प्रविधि प्रयोग गर्ने।

एथलेटिक्समा, पौडी खेलमा पनि उच्च प्रविधि प्रयोग गरिँदै आएको छ। एथलेटिक्समा फोटो फिनिसले निर्णय गर्न मद्दत पुर्‍याउँछ। अतः फुटबललाई पनि विवादरहित बनाउन यथाशीघ्र उच्च प्रविधिको प्रयोग गर्नुपर्छ। तर फिफाले यसै वर्षको मार्चमा गोललाइन प्रविधि प्रयोग गर्ने सम्भावनालाई अस्वीकृत गरेको छ।

फुटबल खेलमा विवादास्पद घटना भई रहन्छन्। अर्को एउटा विवादग्रस्त घटना असार १८ गते भएको उरुग्वे र घानाबीच खेलिएको क्वाटर फाइनल खेलमा भएको थियो। अतिरिक्त समयमा घानाका डोमिनिक अडिबिययलले हेड गरेको गोलले गोललाइन क्रस गरेको थियो। त्यस बललाई उरुग्वेका स्ट्राइकर डेभिड सुआरेजले गोलपोस्टभित्र पसेर जानीजानी हातले रोके। त्यसो गरेबापत डेभिडलाई पोर्चुगलका रेफ्री ओलेगरियो बेनकुइरेनकाले सिधै रातो कार्ड दिएर मैदानबाट हटाइदिए। रातोकार्ड दिएर मैदानबाट खेलाडीलाई बाहिर पठाउनु भन्दा पनि उक्त गोल हो वा होइन त्यसमाथि घानाले न्याय पाउनु पर्थ्यो। वास्तवमा विजयको नजिक पुगेको घानामाथि ठूलो अन्याय भयो। यसको चर्चा विश्व भरी भइरहेको छ।

भोलिका दिनमा गोललाइनभित्र उत्पन्न हुने विवादको अन्त्य गर्न बलभित्र कम्प्युटर चिप्स वा टेनिस र क्रिकेटमा प्रयोगमा हुँदै आए जस्तै 'हक आइ' वा अन्य कुनै प्रविधिलाई फिफाको आगामी बैठकमा राख्ने विषयमा फिफाका अध्यक्ष सेप ब्लाटरले बल्लबल्ल सहमति जनाएका छन्। फुटबलमा गोललाइन प्रविधिको प्रयोगबाट पक्कै पनि विवादास्पद घटना कम हुनेछ। 

 

प्रकाशित: २० असार २०६७ २३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App