केही दिनअघि झिल्को फिल्म हेरेँ। त्यसमा अभिभावकले छोरीलाई सानैदेखि मोबाइल चलाउन दिएर गल्ती गरेको, मोबाइल हेर्दा बानी परिवर्तन भएको पनि वास्ता नगरेकाले बालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ भनेर एक सामाजिक समस्या उजागर गरिएको छ। यो अहिलेको सामाजिक यथार्थ हो।
अहिले आमाबाले बालबालिकलाई ‘मोबाइलमा गीत र भिडियो’ हेरेर खाना ख्वाउने गर्दा बच्चाले पछि त मोबाइल नभई खान नै मान्दैन, ठूलो भएपछि आफैँ खाँदा पनि गीत, मोबाइल हेरेर नै खाना खाने बानी परेपछि मात्र ‘अब त समस्या भयो’ भन्ने लाग्छ। जब किशोर÷किशोरी मोबाइल नभए एकछिन बस्न सक्दैनन्, छट्पटी हुने, झगडा गर्ने, अरूलाई पिट्ने गर्छन् तब बुझ्नुपर्छ मोबाइल हेर्ने बानी त ‘कुलत’ मा परिणत भइसकेको छ। यही समस्याको कथा बुनेर देखाइएको झिल्को ले सन्देश दिन्छ। अहिले यो ‘झिल्को’ ननिभाए पछि आगो ठूलो हुनेछ।
बालबालिकादेखि वृद्ध, किशोर/किशोरी, वयष्क सबैलाई सामाजिक, मानसिक समस्या हुने सामाजिक सञ्जालको कुलत हुन सक्ने भएकाले बालबालिकालाई विशेषगरी सुरक्षित राख्न अभिभावकले सावधानी अपनाउनुपर्छ। बालबालिकाले इन्टरनेट, सामाजिक सञ्जालमा हरेक दिन लामो समय बिताएपछि उनीहरूलाई यसको ‘कुलत’ लाग्न सक्छ, रक्सीको कुलत जस्तै। जसरी रक्सी वा लागु औषधिको कुलत लागेपछि त्यो एकछिन नखाएपछि छट्पटी हुन्छ, त्यसरी नै सामाजिक सञ्जालको कुलत लागेपछि त्यो बिनाछट्पटाहट हुन थाल्छ।
आफ्ना बालबालिकाको मानसिक स्वास्थ्य सुरक्षित र स्वस्थ राख्न अभिभावकले केही कदम चाल्नै पर्छ। तर यसका लागि अभिभावकहरू आफैँ पनि यस्तो ‘कुलत’ बाट मुक्त हुन जरुरी छ। आफूले दिनभर फेसबुक चलाएर, छोराछोरीलाई ‘फेसबुकमा नझुण्ड’ भन्न सकिन्न। आफू र बालबालिकालाई खाना खाने टेबुल मोबाइल फोनमा गीत वा सिनेमा हेर्न दिनु हुँदैन। खाना घरपरिवारका मानिस बसेर खाने गर्नुपर्छ। शिशुलाई मोबाइल देखाएर होइन कथा, गीत भन्दै ख्वाउनुपर्छ। साथै ठूलो भएपछि उनीहरूसँग रमाइला, घरायसी दुःख सुखका कुरा गर्नु, उनीहरूलाई भोजन बनाउँदा सहयोग गर्न लगाउनु, बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि राम्रो हुन्छ। यीबाहेक सामाजिक सञ्जालको कुलतबाट बचाउन गर्न सकिने निम्न कुरा छन्:
- राति सुत्दा, फेसबुक, मोबाइल र टिभी हेर्न नदिने, बरु किताब पढ्ने, कथाहरू सुन्न प्रेरित गर्ने।
- परिवारमा इन्टरनेटका जोखिमहरूबारे, साइबर अपराधबारे बुझ्ने, बालबालिकालाई समस्या परेमा के गर्ने भनेर छलफल गर्ने।
- बालबालिका, किशोरीलाई सडक पार गर्दा मोबाइल फोन प्रयोग गर्न वर्जित गर्ने। कानमा एअरपड ठुसेर हिँड्दै ‘संगीत’ सुनेमा कसरी कान बिग्रन्छ भनेर बुझाउने। त्यसका लागि अभिभावक आफैँले पनि यसरी संगीत नसुन्ने, आफूले मोटर चलाउँदा मोबाइल प्रयोग नगर्ने।
- बालबालिकलाई किताब उपहार दिएर पढ्न प्रेरित गर्र्ने। ‘किताब’ पढ्ने ‘लत’ लागेपछि बच्चाहरूको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ। ब्रिटेनमा १४ वषर््ािया मोलिर सेलले सन् २०१७ मा आत्महत्या गरिन्। उनी एकदम धेरै सामाजिक सञ्जालमा व्यस्त हुन्थिन्। परिवारले त्यति वास्ता गर्दैनथे। तर आत्महत्यापछि परिवारले उनको इन्स्टाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्रीहरू देखियो। लगातार त्यस्ता सामग्रीहरू हेरेपछि मोलीको मनस्थिति बिग्रियो। उनका पिता इयानले छोरीले आत्महत्या गर्नुमा इन्स्टाग्रामलाई देखे तर उनले आफ्नो छोरी कसरी आफ्नो समय बिताउँछिन्, किन यति धेरै समय हेर्छिन् भनेर बुझ्ने प्रयास गरेनन्। बिबिसीको एक समाचारमा आधारित घटनाले पनि सामाजिक सञ्जालको लत कति खतरनाक छ भन्ने देखाउँछ।
यसैगरी स्मार्ट फोन किन्न आफूसँग पैसा नभएपछि दिक्क भएका एक चिनियाँ युवकले ‘जसरी भए पनि महँगो स्मार्ट फोन चाहिन्छ’ भन्ने सोचे। उनी त्यो मोबाइलको कुलतमा यसरी फसेका थिए कि उनले सबै कुरा बिर्सिए। उनले आफ्नो मिर्गौला बेचेर आएको पैसाले ‘स्मार्ट फोन’ किने। विदेशमा भएको यस्ता घटना नेपालमा पनि हुन नसक्ला भन्न सकिन्न। यस्तै समस्यालाई लिएर बनाइएको एक फिल्म हो ‘भिल्को’। उनले पछि भविष्य के होला भनेर विचार गरेनन्। यसरी रक्सी होस वा सामाजिक सञ्जालको ‘कुलत’ मा फसेकाहरूले राम्रो र नराम्रो छुट्याउन सक्दैनन्। उनीहरू विवेकहीन हुन जान्छन्। उनीहरूलाई मानसिक र शारीरिक समस्या देखिन सक्छ। वयस्कहरू प्नि सामाजिक सञ्जालको कुलतमा पर्न सक्छन्। शारीरिक समस्या त भइहाल्छ।
त्यसैगरी गृहिणीहरूको पनि दिनरात फेसबुक हेर्दा ‘शरीर, गर्धन दुख्यो’ भनेर उपचार गर्नुपर्ने हुन्छ। तर दुखाइ कम गर्ने औषधि मात्र खाएर ठीक पारियो तर पुनः धेरैबेर कम्प्युटरमा बस्ने वा मोबाइल चलाइरहेपछि समस्या थपिँदै जान्छ। सुरुमा गर्धनका मांसपेसी कक्रक्क हुन्छ, दुख्न थाल्छ, कहिलेकाहीँ त उपचारले निको हुन नसक्ने अवस्थामा पनि पुग्छ। ‘त्यस्तै कम्प्युटर मोबाइल हेर्ने कारण घाँटी कक्रक्क पार्न थाल्यो र दुखाइ सुरु भयो भने उपचार सोचिहाल्नु पर्छ’ - चिकित्सकहरू भन्छन्।
यसरी सामाजिक सञ्जालले शारीरिक र मानसिक दुवै समस्या हुने भएपछि र उपचार गर्दा पनि कहिले सामान्य अवस्थामा फर्किन नसकिने पनि हुन सक्छ। त्यसैले यस्तो समस्याको रोकथाम गर्नु नै एक मात्र उपाय हो सञ्जालको ‘कुलत’ नलगाउनु। यसरी कुलतबाट बच्न के गर्ने तभन्दा शारीरिक सक्रियता, व्यायाम, हिँडाइ आदिलाई दैनिक जीवनमा महत्त्वपूर्ण स्थान दिनुपर्छ।
अभिभावकले के गर्ने त?
- जति व्यस्त भए पनि शारीरिक मानसिक स्वास्थ्यलाई बढी महत्त्वपूर्ण भन्ने आत्मसात गर्ने र हरेक दिन आफूसँगै बालबालिकालाई पनि हिँडाउने, व्यायाम गराउने।
- बालबालिकालाई पनि सानैदेखि यस्तो ‘कुलत’ नलागोस् भनेर हिँड्न, खेल्न, उफ्रन प्रोत्साहन गर्ने।
- स्कुलमा ‘जुम’ आदिबाट लगातार पढाइरहँदा बालबालिकालाई समस्या पर्छ भनेर बुझ्ने, त्यसैले अन्य समयमा उनीहरूलाई ‘जुम’ बाट टाढा रहन प्रेरित गर्ने।
- कम्प्युटरमा काम गर्दा केहीबेर घाँटी, ढाड, पाखुरा चलाउने, मेचमा बसेर गर्ने योगासन समय–समयमा गर्ने।
बालबालिका र वयष्कले पनि लगातार ‘सामाजिक सञ्जाल चलाइ ढाड र गर्धनमा मात्र नभई आँखामा पनि समस्या बढेको छ’, आँखाका डाक्टरहरू भन्छन्। यसरी लामो समय मोबाइल हेर्दा आँखामा सुक्खापन हुन्छ।
मोबाइलमा खेल खेल्ने बच्चाहरूको टाढा नदेखिने समस्या (मायोपिया) बढ्दै गरेको देखिन्छ। प्रविधिले मानिसलाई स्वस्थ बनाउनुपर्ने हो तर अविवेकशील तरिकाले प्रयोग गर्दा दुःख दिन थालेको छ। यो दुःख एकछिन वा एकछिनको मात्रै हुँदैन, यसले जीवनभर दुःख दिइरहन्छ। त्यो दुःख नहोस् भनेर आफैँ विवेकशील बन्ने कि? मन, शरीर र आँखा स्वस्थ रहे मात्र आनन्दको जीवन बिताउन सकिन्छ भनेर सामाजिक सञ्जाल र विवेकशील प्रयोग गरेर आफूलाई र छोराछोरीलाई लत नलागोस् भन्नेतर्फ विचार गर्ने बेला भइसकेको छ।
प्रकाशित: ९ जेष्ठ २०८२ ०८:४१ शुक्रबार

