विगतका दिनहरूमा, हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौँ। सबैभन्दा पहिले भारतीय जनताको तर्फबाट म भारतका वीर सेना, सशस्त्र बल, हाम्रा गुप्तचर निकायहरू र हाम्रा वैज्ञानिकहरूलाई सलाम गर्छु। हाम्रा वीर सैनिकले ‘अपरेसन सिन्दूर’का उद्देश्यहरू प्राप्त गर्न असीम साहस प्रदर्शन गरे। म उनीहरूको बहादुरी, साहस र पराक्रमलाई नमन गर्छु। यो वीरता देशका हरेक आमा, हरेक दिदीबहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु।
अप्रिल २२ मा पहलगाममा आतङ्ककारीहरूले देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो। धर्मको आधारमा निर्दोष नागरिकका परिवार र उनीहरूका बच्चाका सामु निर्दयी हत्या आतङ्क र क्रूरताको एक विभत्स अनुहार थियो। यो देशको सद्भाव र एकता तोड्ने घृणित प्रयास पनि थियो।
मेरो लागि व्यक्तिगतरूपमा यो निकै नै पीडादायी थियो। यो आतङ्कवादी हमलापछि सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समुदाय, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल, एकजुट भएर आतङ्कवादविरुद्ध कडा कारबाहीका लागि उभिए। आतङ्ककारीहरूलाई सखाप पार्न हामीले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दियौँ। र, आज हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई हाम्रा दिदीबहिनी र छोरीचेलीहरूको सिन्दूर मेटाउँदाको परिणाम के हुन्छ थाहा भएको छ।
‘अपरेसन सिन्दूर’ केवल एउटा नाम मात्र होइन, यो देशका करोडौँ जनताको भावनाको प्रतिबिम्ब हो। अपरेसन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो। मे ६ को अबेर राति र मे ७ को बिहान, सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो। भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरू र उनीहरूका तालिम केन्द्रहरूमा बडो सटीक ढंगले आक्रमण गर्यो। भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतङ्ककारीहरूले कहिल्यै कल्पना गरेका थिएनन्। तर जब देश एकजुट हुन्छ, राष्ट्र प्रथमको भावनाले ओतप्रोत हुन्छ र राष्ट्रिय हित सर्वोपरि हुन्छ, तब बलिया निर्णयहरू लिइन्छ र परिणामहरू प्राप्त हुन्छन्।
भारतको सुरक्षा सिद्धान्तका तीन प्रमुख स्तम्भ
१. निर्णायक प्रतिशोध: भारतमाथि हुने कुनै पनि आतङ्कवादी आक्रमणको कडा र दृढताका साथ प्रतिक्रिया दिइनेछ। आतङ्कवादी केन्द्रहरूलाई लक्षित गर्दै भारतले आफ्नै सर्तहरूमा जवाफ दिनेछ।
२. न्युक्लियर ब्ल्याकमेलका लागि कुनै सहनशीलता अपनाइने छैन: भारत आणविक खतराहरूबाट डराउने छैन। यस बहानामा सञ्चालन हुने कुनै पनि आतङ्कवादी सुरक्षित स्थलहरूले सटिक र निर्णायक हमलाहरूको सामना गर्नेछ।
३. आतङ्कलाई सघाउने र आतङ्कवादीहरूबीच कुनै भिन्नता छैन: भारतले अब आतङ्कवादी नेताहरू र तिनीहरूलाई आश्रय दिने सरकारहरूलाई छुट्टाछुट्टै संस्थाका रूपमा हेर्ने छैन।
जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतङ्कवादी आहरूमा आक्रमण गर्यो, आतङ्कवादी संगठनहरूको भवन मात्र नभएर उनीहरूको साहस पनि नराम्रोसँग डगमगाएको थियो। बहावलपुर र मुरिदके जस्ता आतङ्कवादी आहरू विश्वव्यापी आतङ्कवादका विश्वविद्यालय हुन्।
विश्वका ठूला आतङ्कवादी हमलाहरू, चाहे त्यो ९/११ होस्, लन्डन ट्युब बम बिष्फोट होस् वा पछिल्ला धेरै दशकहरूमा भारतमा भएका ठूला आतङ्कवादी हमलाहरू हुन्, तिनीहरूको सम्बन्ध कुनै न कुनै रूपमा यी आतङ्कवादी लुक्ने ठाउँहरूसँग जोडिएको छ।
आतङ्ककारीहरूले हाम्रा दिदीबहिनीहरूको सिन्दूर मेटाएका थिए र भारतले उनीहरूको आतङ्कवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो। भारतद्वारा गरिएका यी आक्रमणहरूमा एक सयभन्दा बढी खतरनाक आतङ्कवादीहरू मारिएका छन्। धेरै आतङ्कवादी नेताहरू विगत साढे दुई–तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्ररूपमा घुमिरहेका थिए जसले भारतविरुद्ध षड्यन्त्र रच्थे। भारतले एकै प्रहारमा उनीहरूलाई मारिदियो।
भारतको यो कार्यबाट पाकिस्तान अत्यन्तै निराश र दुःखी भयो। यो अन्योलमा प¥यो र यसै अन्योलबीच उसले अर्को कायरतापूर्ण कार्य गर्यो। आतङ्कवादविरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो।
पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वारा, मन्दिर र सर्वसाधारणहरूको घरलाई निशाना बनायो। पाकिस्तानले हाम्रो सैन्य आलाई निशाना बनायो। तर यस कार्यमा पाकिस्तानको आफ्नै पर्दाफास भयो। विश्वले देख्यो कि कसरी पाकिस्तानका ड्रोन र मिसाइलहरू भारतको अगाडि पराल जस्तै खसे। भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरूलाई आकाशमै नष्ट पारिदिए।
पाकिस्तानले सीमामा आक्रमणको तयारी गरेको थियो तर भारतले पाकिस्तानको मुटुमा प्रहार गर्यो। भारतका ड्रोन र मिसाइलहरूले सटिकताका साथ आक्रमण गरे। तिनीहरूले पाकिस्तानी वायु सेनाका ती एयरबेसहरूलाई क्षति पुर्याए जसमा पाकिस्तानलाई धेरै गर्व थियो। भारतले पहिलो तीन दिनमा नै पाकिस्तानलाई ठूलो क्षति पुर्यायो जुन उसले कहिल्यै कल्पना गरेको थिएन। त्यसैले भारतको आक्रामक कारबाहीपछि, पाकिस्तानले भाग्ने उपाय खोज्न थाल्यो।
तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो। र भारी क्षति बेहोरेपछि, पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डिजिएमओलाई सम्पर्क गर्यो। त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादका पूर्वाधार नष्ट गरिसकेका थियौँ। आतङ्ककारीहरूलाई समाप्त पारिसकेका थियौँ।
हामीले पाकिस्तानको मुटुमा स्थापित आतंकवादी आहरू नष्ट गरिसकेका थियौँ। त्यसकारण, जब पाकिस्तानले अपिल गर्यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुने छैन। भारतले यसमाथि विचार गर्यो। र, म फेरि पनि भन्दैछु, हामीले पाकिस्तानको आतङ्क र सैन्य अखडाहरूविरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौँ। आगामी दिनहरूमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अपनाउनेछ भन्ने मापदण्डमा मापन गर्नेछौँ।
भारतका तीनवटै सेना, हाम्रो वायुसेना, हाम्रो सेना र हाम्रो नौसेना, हाम्रो सीमा सुरक्षा बल (बिएसएफ), भारतका अर्धसैनिक बलहरू, निरन्तर सतर्क अवस्थामा छन्। सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अपरेसन सिन्दूर आतङ्कवादविरुद्ध भारतको नीति बनेको छ।
‘अपरेसन सिन्दूर’ले हाम्रो आतङ्कविरुद्धको लडाइँमा नयाँ मापदण्ड स्थापना गरेको छ र नयाँ मानक तय गर्नुका साथै ‘न्यु नर्मल’समेत स्थापना गरेको छ।
‘अपरेसन सिन्दूर’का क्रममा जब शीर्ष पाकिस्तानी सेनाका अधिकारीहरू मारिएका आतङ्कवादीहरूलाई बिदाइ गर्न आए तब संसारले एकपटक फेरि पाकिस्तानको घीनलाग्दो अनुहार देख्यो। यो राज्यद्वारा सहयोग गरिएको आतङ्कवादको बलियो प्रमाण हो। हामी भारत र आफ्नो नागरिकहरूलाई कुनै पनि खतराबाट जोगाउन निरन्तर निर्णायक कदम चालिरहनेछौँ।
हामीले प्रत्येकपटक युद्धभूमिमा पाकिस्तानलाई पराजित गरेका छौँ। र, यसपटक अपरेसन सिन्दूरले एक नयाँ आयाम थपेको छ। हामीले मरुभूमि र पहाडहरूमा आफ्नो क्षमता प्रदर्शन गरेका छौँ र न्यु एज वारफेयरमा पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेका छौँ। यस अपरेसनका क्रममा ‘मेड इन इन्डिया’ हतियारहरूको विश्वसनीयता पनि प्रमाणित भएको छ। आज संसार देखिरहेको छ कि २१औँ शताब्दीको वारफेयरमा ‘मेड इन इन्डिया’ रक्षा उपकरणहरूको समय आइसकेको छ।
सबै प्रकारका आतङ्कवादविरुद्ध हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यो निश्चित रूपमा युद्धको युग होइन तर यो आतङ्कवादको युग पनि होइन। आतङ्कवादविरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो। जसरी पाकिस्तानी सेना, पाकिस्तान सरकारले आतङ्कवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त पार्नेछ।
पाकिस्तान जिउन चाहन्छ भने उसले आफ्नो आतङ्कवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ। यसबाहेक शान्तिको अर्को कुनै बाटो छैन। भारतको अडान एकदम स्पष्ट छ। आतङ्क र वार्ता सँगै जान सक्दैनन्। आतङ्क र व्यापार सँगै जान सक्दैनन्। पानी र रगत सँगै बग्न सक्दैनन्।
आज म विश्व समुदायलाई पनि भन्न चाहन्छु कि हाम्रो घोषित नीति यस्तो छ– पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतङ्कवादबारे हुनेछ र पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल पाकिस्तान अधिकृत कश्मीर (पिओके) का बारेमा हुनेछ।
आज बुद्ध पूर्णिमा हो। भगवान बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ। शान्तिको मार्ग पनि शक्ति हुँदै जान्छ। मानवता शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ। प्रत्येक भारतीयले शान्तिपूर्वक बाँच्न सकून् र उनीहरूले विकसित भारतको सपना पूरा गर्न सकून्।
यसका लागि भारत शक्तिशाली हुनु अत्यावश्यक छ। र आवश्यक पर्दा यो शक्ति प्रयोग गर्नु पनि जरुरी छ। पछिल्ला केही दिनहरूमा भारतले यही काम गरेको छ। म फेरी एकपटक भारतीय सेना र सशस्त्र बलहरूलाई सलाम गर्दछु। प्रत्येक भारतीयको साहस र भारतवासीहरूको एकताको शपथ तथा संकल्पलाई म नमन गर्छु।
(भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रको नाममा गरेको सम्बोधनको सम्पादित अंश।)
प्रकाशित: ३१ वैशाख २०८२ ०७:४७ बुधबार

