कुनै पनि कुराको बढी प्रयोगले मस्तिष्कलाई निष्क्रिय बनाउने र नोक्सान पुर्याउने अवस्थालाई ब्रेन रट भनिन्छ। यसले मानिसको सोच्ने क्षमतामै गम्भीर किसिमको असर पुर्याउँछ। संज्ञानात्मक र बौद्धिक क्षमतालाई कमजोर बनाउँछ।
सामाजिक सञ्जालमा निरन्तर व्यस्त रहने, अनन्त रूपमा स्क्रोलिङ गरिरहने तथा मानसिक क्षति पुग्ने किसिमका गुणस्तरहीन सामग्रीहरू हेर्ने तथा क्षणिक मनोरञ्जनात्मक विषयमा अल्झिरहने प्रवृत्तिले आज व्यक्ति र समाजलाई दिशाहीन गन्तव्यतर्फ धकेलिरहेको छ। यही विषयमा गरिएको महत्त्वपूर्ण अध्ययनलाई सन् २०२४ को अक्सफोर्ड वर्ड अफ दि इयरको सन्दिग्ध उपाधि दिइएको थियो।
स्मार्टफोनले आज मान्छेको एकाग्रता भङ्ग गरिदिएको छ। कल्पना शक्तिमाथि प्रहार गरेको छ। यस सम्बन्धमा एउटा अनुसन्धानले भनेको छ– मानिसको एकाग्रता र ध्यान आठ सेकेन्डमा झरेको छ। यो गिरावट कुनै संयोग होइन, डरलाग्दो भविष्यको सङ्केत हो। डिजिटल संसारले प्रयोगकर्तालाई अनन्त सूचना दिएको जस्तोगरी बमबारी बर्साएको छ।
यस्ता कुराबाट स्मार्टफोन र सामाजिक सञ्जालसँग गहिरो मित्रता गाँसेका युवाहरू विशेषगरी प्रभावित हुन पुगेका छन् र उनीहरूलाई नजाँनिदो गरी कमजोर बनाएको छ। आज यस्तो किन भइरहेको छ? यसले हाम्रो दिमागमा कस्तो अर्थ र असर पुर्याइरहेको छ? हामीले किन यस्तो गम्भीर समस्यामाथि ध्यान दिन सकिरहेका छैनौं? जवाफ खोज्ने बेला भइसकेको छ।
मानव विकासक्रमा असन्तुलन
आज मानव सभ्यताको विकासक्रमलाई नियाल्ने हो भने विगतको तुलनामा वर्तमान असन्तुलित बन्दै गएको देखिन्छ। मानिसका खानपान, शारीरिक र मानसिक गतिविधिहरू हिजोका व्यवहार र विशेषतासँग नमिल्दा छन्। यस्ता तथ्यलाई बुझ्न विगतमा गुफाहरूमा बस्ने हाम्रा पुर्खाहरूलाई सम्झन सक्छौं। उनीहरूले बाँच्नका लागि अनेक सङ्घर्ष गरे, सिकार गरे। जसरी हुन्छ, समस्याहरूको यथोचित समाधान गरी आफ्नो समूहको रक्षा गरे। उनीहरूले समस्या आइपर्दा धैर्य भएर समस्याको समाधान गर्न सिके।
यही सिकाइको हजारौं हजार वर्षको प्रक्रियाबाट मान्छेले नयाँ नयाँ ज्ञान, सिप र उपलब्धिहरू हासिल गर्न सकेको हो। यही सिप र ज्ञानप्रतिको ध्यान र अर्जुनदृष्टिले नै आज मानवजातिको अस्तित्व सुरक्षित भएको मानिन्छ। उनीहरूका निम्ति संज्ञानात्मक संलग्नता र मनोरञ्जन जीवनको महत्त्वपूर्ण हिस्सा थियो। यसबाट उनीहरू कहिल्यै पनि भागेनन्। केही दशक अघिसम्म पनि मान्छे मान्छेबिच हार्दिकता थियो।
छरछिमेकीबिच आउजाउ थियो। मानिसहरू एक आपसमा भेटेर कुराकानी गर्थे। आजको प्रविधिको विकास भएको थिएन। प्रविधिलाई बैसाखी नबनाएर पनि उनीहरूले जटिल भन्दा जटिल समस्याहरूको समाधान गर्न सक्षम थिए। कतिपय अवस्थामा तत्काल सन्तुष्टि र सफलता पाउनु उनीहरूका लागि दुर्लभ कुरा भए पनि हम्मत हारेनन्, आत्तिएनन्।
आज हामी हाम्रो दिमागका लागि डिजाइन गरिएको भन्दा एकदमै फरक युगमा छौं। आजको डिजिटल र टेक्नोलोजीको यस समयमा सोसल मिडिया प्लेटफर्महरूले, भिडियो स्ट्रिमिङ सेवाहरूले साथै गेमिङ एप लगायतका सामग्रीले हाम्रो ध्यान र एकाग्रता अपहरण गरेका छन्। डिजिटल सामग्रीको निरन्तर अवरोधले हाम्रो संज्ञानात्मक विकासमा ठुलो असन्तुलन सिर्जना गरिदिएको छ।
जेड र अल्फा पुस्ताका चुनौती
जेन जेड पुस्ता भन्नाले लगभग सन् १९९७ देखि सन् २०१२ भित्र जन्मेका र जेन अल्फा भन्नाले लगभग २०१३ पछि जन्मेका पुस्ताहरूलाई बुझिन्छ। यी दुवै पुस्ता डिजिटल संसारमै हुर्किएका हुन्छन्। यिनीहरूमा डिजिटल संसारप्रति पूर्ण निर्भरता रहन्छ। उनीहरूले वास्तविक जीवनमा व्यवहार र सामाजिक सिपहरू ग्हिरोसँग जानेका र बुझेका हुँदैनन्। उनीहरूमा स्वतन्त्र रूपमा सोच्ने र कल्पना गर्न सक्ने सामथ्र्य पनि हुँदैन।
साँच्चै नै उनीहरू डिजिटल संसारको सतही ज्ञानको जालोमा फसिरहेका हुन्छन्। उनीहरू डिजिटल संसारबाट निकै थिचिएका छन्। प्राप्त सूचना प्रशोधन गर्न सक्ने र समाजसँग अन्तक्र्रिया गर्न सक्ने आँट पनि उनीहरूमा हुँदैन। आज विश्व समाजमा यसैको नतिजा र प्रभावबारे विश्वव्यापी चिन्ता र चासो बढ्दै गएको छ।
विभिन्न अनुसन्धानले पनि अत्यधिक डिजिटल एक्सपोजरका खतरा र चुनौतीलाई विशेष रूपमा देखाएको पाइन्छ। यस्ता खतराहरू आन्तरिक रूपमा अझ बढी हुने गर्छन्। बाहिरी रूपमा त समुद्रमा रहेको हिउँको टुप्पोजस्तै थोरै मात्र देखिएको हुन्छ। सामाजिक सञ्जालमा नकारात्मक समाचारहरू उपयोग गर्ने बानी र डिजिटल सामग्रीको अत्यधिक प्रयोगले व्यक्तिमा मानसिक थकान बढ्ने ध्यान छरिँदै जाने हुन्छ ।
अनलाइन सामग्रीको अधिक उपयोगलाई ट्रेजेडी अफ द कमन्स अर्थात् साझा स्रोतहरूको समाप्तिसँग पनि जोडेर हेर्न सकिन्छ। सामाजिक सञ्जालहरूमा प्रचुर तर न्यून गुणस्तरका प्रशस्त सामग्रीहरूको व्यापक खपत भइरहेको हुन्छ। यस्ता कमसल सामग्रीको पहुँचले व्यापक नकारात्मक परिणामहरू निम्त्याउँछ। यहाँ कम गुणस्तर सामग्री भनिए पनि यस वाक्यांशले धेरै गहिरो अर्थ राखेको छ। व्यक्ति र समाजलाई उथलपुथल गराउन सक्ने सनसनीपूर्ण सामग्रीलाई नै कम गुणस्तरीय सामग्रीका रूपमा बुझ्न सकिन्छ।
यस्ता सामग्रीले हाम्रो गहिरो सोच्ने क्षमता, रचनात्मक शक्ति र अर्थपूर्ण शिक्षा र व्यावहारिक सिपमाथि निर्मम प्रहार गरिरहेको हुन्छ। मस्तिष्कको कल्पनाशीलतासँग सम्बन्धित अध्ययनका निष्कर्षहरूले पनि अत्यधिक समय स्क्रिनमा खर्चनेहरूको मस्तिष्क संरचनाहरूमा पनि नकारात्मक असर पारेको हुन्छ भन्ने देखाएको पाइन्छ।
यी विभिन्न तथ्यहरूले पनि डिजिटल निर्भरताले व्यक्तिको संज्ञानात्मक विकास आलोचनात्मक चेत र समग्र मानसिक तीक्ष्णतामा ह्रास ल्याउँछ भन्ने पुष्टि गर्छन्। त्यसैले जेड र अल्फा पुस्ताका हकमा उनीहरूका लागि प्रमुख चुनौती भनेको जानी जानी टेक्नोलोजीको अधिक प्रयोग गर्नु हो।
आजको युगमा टेक्नोलोजीलाई अस्वीकार गर्न सकिँदैन तर बेपरबाह टेक्नोलोजीको उर्लंदो भेलमा हाम फाल्नु पनि हुँदैन भन्ने कुरालाई अहिलेका पुस्ताले गम्भीरतासाथ लिन नसक्नु डरलाग्दो कुरा हो।
कसरी सम्हाल्ने?
यस्तो अवस्थाबाट मुक्ति पाउन गम्भीर सोचका साथ आफूलाई रचनात्मक बनाउनेतिर लाग्नुपर्छ। आफूले आफैंलाई नियाल्न सक्नुपर्छ। घरायसी काममा सक्रियता, नियमित यात्रा र दैनिक कार्यहरूमा सहभागी बनाउँदै लैजानुपर्छ। ठुला र महत्त्वाकांक्षी सपनाहरू देख्नु हुँदैन बरु साना र आकर्षक लक्ष्यहरू पहिचान गरी तिनलाई समात्न बल गर्नुपर्छ।
सामाजिक गतिविधिहरूमा खेल्ने रमाउने र जिज्ञासु भएर आफू वरिपरिको वातावरण अवलोकन गर्नुपर्छ। यस किसिमको एकान्तपनलाई बाधा र अवरोधका रूपमा नहेरी अर्थपूर्ण र बौद्धिक किसिमले स्वीकार गरेर अगाडि बढ्नुपर्छ।
हामीले हाम्रा लक्ष्य प्राप्ति गर्न आवश्यक प्रक्रिया अपनाउन थाल्नुपर्छ। यसका लागि व्यक्तिमा एउटा दृढ इच्छाशक्ति भएमा मात्रै हाम्रा सोख र चाहनाहरूले प्रत्येक क्षणलाई आनन्दित बनाउन सक्छन्। एक्लोपनालाई हराउन प्रमुख भूमिका खेल्न सक्छन्।
कुलतको पराकाष्ठा
वास्तवमा सामाजिक सञ्जाल, अनलाइन, स्क्रोलिङको अति प्रयोगले प्रयोगकर्तालाई अस्थायी खुसी वा क्षणिक सन्तुष्टि दिन सक्छन् तर यसले हामीलाई दीर्घकालीन खुसी र मानसिक वृद्धिमा कुनै योगदान पुर्याउन सक्दैन। त्यसकारण आजको परिवेशमा तीव्र रूपमा भइरहेको अनलाइन प्रयोगप्रतिको उच्च आकर्षणले मानव मस्तिष्कलाई लथालिङ्ग बनाएको छ। यस्तो अवस्थामा अनलाइन प्रयोगलाई पूर्ण रूपले निषेध गर्न सम्भव छैन तर कुनै पनि कुराले आकर्षण गर्ने क्षमता (न्युरोप्लास्टिकिटी) सँग जोडिएको अवधारणालाई आत्मसात गरेर डिजिटल दुनियाँको गहु्रङ्गो भारीलाई कम गर्न सक्छौं।
यस सन्दर्भमा सन् १९४९ मा डोनाल्ड हेबले एउटा नियम अघि सारेका छन्। हेवियन नियमअनुसार हामीले जुन क्रियाकलाप बारम्बार गर्छौं, तिनले हाम्रो मस्तिष्कलाई परिवर्तन गर्छन्। जस्तै मोबाइलमा धेरै स्क्रोल गर्ने, ध्यान विकेन्द्रित गर्ने आदि जति बढी गर्छौं, त्यति नै हाम्रो मस्तिष्क पनि अस्थिर हुने गर्छ। यदि हामी सचेत भएर नयाँ सिप सिक्ने, सकारात्मक बानी व्यवहारहरू गर्ने कुरामा ध्यान दिन्छौं भने हाम्रो मस्तिष्कलाई पुनः प्रशिक्षित गर्न सक्छौं। यही मस्तिष्क परिवर्तन गर्ने मान्यतालाई न्युरोप्लास्टिसिटी भन्ने गरिन्छ।
यसरी हेबको नियमानुसार सकारात्मक बानीहरू दोहोर्याउँदा हाम्रो मस्तिष्क बलियो रूपमा स्थापित हुने र नकारात्मक बानीहरू हटाउँदा ती बिस्तारै हराएर जाने गर्छन्। हाम्रो मस्तिष्कमा विशेष प्रकारको कोषका रूपमा रहेका न्युरोनले सूचना प्रवाह गराउने काम गरेका हुन्छन्। न्युरोनले तीव्र गतिमा सूचनाको आगो लगाउने गर्छन्। हामीमा डिजिटल लत भएमा मस्तिष्कका तारहरूमा परिवर्तन आउन थाल्छ तर न्युरोन्सहरूले नियन्त्रित ढङ्गले काम गरेका हुन्छन्।
यस्ता कुरा हामीलाई सामान्यजस्ता लाग्न सक्छन् तर न्युरोन्सका माध्यमबाट हामीले उपयुक्त बानी र कुनै पनि कुराका सीमाहरूलाई स्थापित गरेका हुन्छौं। त्यसैले हामीले स्क्रिन प्रयोगका सन्दर्भमा विशिष्ट समयका फ्रेमहरूलाई व्यवस्थापन गर्न सक्यौं भने स्क्रोलिङप्रतिको मोहलाई रोक्न मद्दत गर्न सकिन्छ। मोबाइललगायतका डिजिटल सामग्रीमा गरिने लाइक, सेयरजस्ता कुरा क्षणिक सन्तुष्टिका कुरा हुन्। नयाँ सिप सिक्ने, स्वयंसेवा गर्ने वा अन्य रहरहरूमा संलग्न हुनेजस्ता कुरामा ध्यान पुर्याउन सक्यौं भने गहिरो र स्थायी सन्तुष्टि प्राप्त गर्न सकिन्छ।
समयले मागेको कुरा
आज डिजिटल प्रविधिले हाम्रो दिनचर्यालाई पूर्ण रूपमा नियन्त्रणमा राखेको छ। यसलाई हामी चटक्क छोड्न पनि सक्दैनौं। यो सबैका निम्ति चुनौतीको विषय बनेको छ। स्क्रिन समय र अफलाइन अनुभवबिच सन्तुलन कायम राखेर अगाडि बढ्नुको विकल्प छैन। यो पुरानो बानी र व्यवहार पुनर्जीवित गर्ने समय हो।
अब हामीले मोबाइल स्क्रोलिङमा समय बर्बाद गर्ने होइन, पुस्तक समातेर त्यहाँका पाना पानामा आफूलाई हराउनुपर्छ। शारीरिक क्रियाकलापमा सक्रिय बन्नुपर्छ। बास्केटबल, टेनिस नै खेल्नुपर्छ भन्ने होइन, बरु पैदल यात्रामा रमाउने गरौं। प्र्रकृतिमा विचरण गरौं। त्यसैले सुझबुझपूर्ण कदम उठाएर ब्रेन रटलाई वर्षको शब्द हुनबाट रोकौं। यही सिलसिला जारी रह्यो भने कुनै दिन यसैले हामीलाई थाहै नदिई तहसनहस बनाउनेछ । भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन।
प्रकाशित: १६ फाल्गुन २०८१ ०७:११ शुक्रबार