कृषि धर्तीका सम्पूर्ण मानवको बाँच्ने मुख्य आधार हो। विज्ञानको चमत्कार जति नै चुलिए पनि अनाजबिनाको जीवन सम्भव देखिएको छैन। वैज्ञानिक, खर्बपति, महाशक्तिपति जे जे भए पनि अन्नलाई चुनौती दिन सक्ने शक्ति कसैमा देखिएको छैन। त्यसैले अन्न उत्पादनसँग जोडिएको कृषि पद्धति र जीवन एकअर्काका पर्याय भएकामा शङ्कै छैन।
स्वाभाविक हो, समय सधैँ एकैनाश रहँदैन। बढ्दो जनसङ्ख्यालाई खाद्यान्न पुर्याउनैपर्ने आवश्यकताले बढी उत्पादन माग गर्यो। यसका विभिन्न उपायमध्ये रासायनिक मल, रसायनयुक्त कीटनाशक विषादी आदि उपस्थित भए। उत्पादन प्रतिस्पर्धाको दुनियामा यिनको साम्राज्य यतिसम्म फैलियो कि आज न यिनलाई पूरै निषेध गर्न सकिने अवस्था छ न त प्रयोग गरेरै अघि बढ्न सकिने स्थिति। अहिले जसरी नै अन्धाधुन्ध प्रयोग गरिरहूँ, केही वर्षपछि माटो नै थला पर्ने स्थिति आइसक्यो। अर्कोतर्फ वातावरणीय अवयवहरूको दोहोलो काड्ने काम पनि उत्तिकै तीव्र गतिमा जारी छ।
के हो पर्यावरणीय कृषि?
यही अवस्था हो जसले अब माटो र वातावरण जोगाउने खालको कृषि पद्धतिको आवश्यकता महसुस गर्यो। सन् १९३० को दशकमा युरोपबाट सुरु भएको यो बहस अर्गानिक (रासायनिक मल र रसायनयुक्त विषादीरहित उत्पादन) मा केन्द्रित थियो।
यही क्रममा समयक्रमले पुष्टि गर्दै गयो कि यो मानव स्वास्थ्यका लागि समाधानको एक कदम भए पनि वातावरणीय उपचारका लागि पर्याप्त छैन। फलस्वरूप, सन् १९७० को दशकमा यो बहस दिगोपनातर्फ मोडियो जसले कृषि पारिस्थितिक प्रणालीलाई केन्द्रमा राख्यो।
यसैगरी सन् २०१९ मा १९७ देशले एफएओको पर्यावरणीय कृषिका १० तत्त्व अनुमोदन गरे। साथै खाद्य सुरक्षा र पोषणका विशेषज्ञहरूको उच्चस्तरीय प्यानलले कृषि पर्यावरणका १३ सिद्धान्तसमेत जारी गरे। यसरी पर्यावरणीय कृषिको विषय एकाध देशको मात्र चासो र रुचिको विषयमा सीमित रहेन। विश्वव्यापी चुनौतीको विषय भएकाले यसमा सबैको जोडबल रहनु स्वाभाविक किन पनि हो भने यसको सूक्ष्म चक्षु दिगो खाद्य सुरक्षा र जलवायु परिवर्तनका असर सम्बोधनमा केन्द्रित छ।
एकातिर बढ्दो जनसङ्ख्याका लागि खाद्य सुरक्षा परिपूर्तिको सवाल अर्कोतिर कृषियोग्य जमिनको सीमितता। न जमिन तन्काउन मिल्ने न त आफ्ना जनतालाई भोकै राख्न पाइने। यस्तो अवस्थाले प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गर्नुपर्ने माग खोज्यो।
यति मात्र हैन, सधैँ र अझ बढी उत्पादन दिन सक्ने गरी कृषि भूमिलाई जोगाइराख्ने पद्धतिको सुनिश्चितता पनि खोज्यो। सँगै यस्तो पद्धतिले पर्यावरणलाई हानि नतुल्याउने र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि चाह्यो। फलस्वरूप पर्यावरणीय कृषिको अवधारणाले मूर्त रूप धारण गर्यो।
पर्यावरणीय कृषि झट्ट हेर्दा र सुन्दा वातावरणीय हिसाबले उपयुक्त मात्र लाग्छ। तर न यो अर्गानिक जस्तो रासायनिक मल र रसायनयुक्त कीटनाशक विषादिरहित उत्पादनको परिकल्पना हो न त वातावरणमैत्री संज्ञाले मात्र काफी हुने पद्धति हो। यसका केही विशिष्ठ मान्यता छन्।
जस्तो–पर्यावरणीय कृषिले मोनसान्टो (नपुंसक) बिउहरूको प्रयोगलाई निषेध गर्छ र हाम्रा पुर्खाले जोगाउँदै आएका बिउलाई प्रवर्धन गर्ने मान्यता राख्छ। यसले महिनावारी भएका बेला बिउ रोप्न नहुने जस्ता गलत परम्पराहरूलाई बहिष्कार गर्छ। अनि माथिबाट लादिने शैलीलाई तिरष्कार गर्छ र सन्दर्भ र परिवेशअनुसार किसानकै सहभागितामा हुने निर्णयअनुसारको मागलाई प्रोत्साहन दिन्छ। अनि कृषि उत्पादनका अवशेषहरूबाट पुनः उपयोग, प्रशोधन जस्ता माध्यममार्फत अधिकतम फाइदा लिने र स्थानीय स्रोतमा आधारित कच्चा पदार्थ प्रयोगमार्फत हरित उद्यम सिर्जनामा पनि नजर लगाउँछ। यी सबै पक्षसँग बजारीकरण त जोडिने नै भइहाल्यो।
पर्यावरणीय कृषिका मान्यता यतिमा सीमित छैन। यसले महिनावारी भएका बेला दही÷दुध खाएमा गाई÷भैंसी बिरामी हुने, रुख चढ्ने जस्ता सनातनी अभ्यासविरुद्ध चेतना अभिवृद्धि गर्छ भने पोषक तत्त्वहरूको महत्व प्रवर्धन गर्छ। रासायनिक मलको विकल्प सुझाउँछ र बाली विविधीकृतलाई जोड दिँदै तिनको निरन्तरताप्रति रुचि जगाउँछ। ‘उहिलेका कुरा खुइले’ उखानलाई खारेज गर्दै ‘वल्ड इज गोल्ड’ लाई प्रबद्र्धन गर्छ अर्थात् परम्परागत ज्ञानलाई ब्युँताउँछ र बाँडचुँड गर्छ, चाहे त्यो खेतीको शैली होस् या बीउको माया गर्ने तरिका। समग्रमा भन्दा पर्यावरणीय कृषि त्यस्तो अवधारणामा उभिएको छ जसले उत्पादनलाई रुख/बिरुवा, जनावरदेखि प्राकृतिक तत्त्वहरूलाई समेत एकीकृत गर्दै थप सन्तुलित र दिगो पारिस्थितिक प्रणालीहरू स्थापनामा मद्दत गर्छ।
सन्दर्भ नेपालको
नेपालको कृषि प्रायः पारिवारिक खेती प्रणालीमा आधारित छ। पुरुषहरू रोजगारीका लागि विदेशिएका कारण कृषिमा महिलाकरण बढ्दो छ। यही कारण गाईवस्तु पाल्ने जनशक्ति अभाव छ। फलस्वरूप रासायनिक मलको माग बढ्दो छ। महिलामैत्री कृषि औजार अभाव छ।
जलवायु परिवर्तनका कारण अस्वाभाविक मौसमी क्रियाकलापले भिœयाउने विकृतिस्वरूप नयाँ नयाँ किरा र रोग देखा परिरहेछन्। फलस्वरूप, किसानहरू कडा कीटनाशक विषादि प्रयोग गर्नुपर्ने अवस्थामा छन्। यसले प्रयोगकर्ता किसान मात्र नभई उक्त उत्पादनको उपभोगकर्ताको समेत स्वास्थ्यमाथि खेलवाड भइरहेको छ। माटो क्रमशः रोगी भइरहेको छ। र, समग्रमा अन्य मित्र जीव, मित्र बिरुवा र हामीले सास फेर्न प्रयोग गरिरहेका हावासमेत दूषित भइरहेका छन्। तर यस्तो अवस्था नियन्त्रण गर्न वा सुधार गर्न पर्याप्त ध्यान भने पुगेको छैन।
हुन त नेपालको कृषि जैविक विविधता नीतिले स्वदेशी बिउ र परम्परागत खेती अभ्यासहरू संरक्षणमा जोड दिएको छ। राष्ट्रिय कृषि नीतिले स्थानीयरूपमा उपयुक्त बालीहरूलाई प्रवर्धन गर्ने भनेको छ भने बहुक्षेत्रीय पोषण योजनाले दिगो कृषिलाई सुधारिएको खाद्य सुरक्षा र पोषणसँग जोडेको छ।
त्यसैगरी शून्य भोकमरी चुनौती राष्ट्रिय कार्ययोजनाले खाद्य सुरक्षा अभिवृद्धिमा पर्यावरणीय कृषिको भूमिकालाई मान्यता दिएको छ भने कृषि व्यवसाय नीतिले अर्गानिक उत्पादनमा जोड दिएको छ। अनि कृषि जैविक विविधता नीतिले कृषि विकासका लागि विविधताको उपयोगलाई जोड दिएको पाइन्छ भने २० वर्षे कृषि विकास रणनीति पूरै दिगो खेती अभ्यासमा केन्द्रित छ।
त्यसैगरी खाद्य अधिकार ऐनले राष्ट्रिय वा स्थानीय सन्दर्भमा खाद्य अधिकारका सिद्धान्तलाई अनुकूलन र कार्यान्वयन गर्ने प्रक्रियामा जोड दिएको छ। यो भनेको प्रणालीको स्थानीयकरण हो जुन पर्यावरणीय कृषिको अर्को विशेषता हो।यसरी हेर्दा नेपालका थुप्रै नीति, योजना प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पर्यावरणीय कृषिकै पक्षमा देखिन्छन्। तर विडम्बना नै भन्नुपर्छ, यी नीतिअनुसार काम भने विरलै भएका भेटिन्छन्।
सम्भव छ पर्यावरणीय कृषि?
रासायनिक मल प्रयोग नगर्ने, रसायनयुक्त कीटनाशक विषादि प्रयोगबिना र वातारणीय हानि नहुनेखालका खेती हाम्रो सन्दर्भमा सम्भव छ त ? प्रश्न धेरै ठाउँबाट उठ्ने गर्छ। यसका लागि केही अभ्यास हेरौँ– रौतहटको गढीमाई नगरपालिका–४ स्थित सङ्ग्रामपुर गाउँका किसान यतिखेर आफ्नो बालीमा रासायनिक मल प्रयोग गर्दैनन्। तर पनि उत्पादनमा कमी नआएको सङ्ग्रामपुर कृषक समूहका अध्यक्ष वीरबहादुर चौधरीले सुनाए।
बाराको कलैया उपमहानगरपालिका–२४ मा पर्ने मनहर्वा गाउँका किसानले त नजिकैको जङ्गलबाट आउने जनावरले बाली खाइदिएपछि नयाँ जुक्ति निकाले। जसअनुसार उनीहरू जनावर मार्न र धपाउनतिर लागेनन्, बरु घरको छत र कौसीमा सम्भव खेती गर्न हौसिए। विशेषगरी तरकारी। न बाली खाइदिने जनावर मार्नुपर्यो न त जनावरले खान्छ÷मासिदिन्छ भनेर बाली नै नलगाइ जमिन बाँझै राख्नुपर्यो।
पर्यावरणीय कृषि सम्भव तुल्याउनेहरू यति मात्र होइनन्, कृषकहरूकै समूह राष्ट्रिय कृषक समूह महासङ्घको नेतृत्वमा भइरहेको यस्तो अभ्यास मधेसमा मात्र नभई कर्णालीको सुर्खेतमा झन् प्रभावकारी देख्न सकिन्छ। यहाँको भेरीगङ्गा नगरपालिकास्थित करेलेका दलित समुदायले महासङ्घकै पहलमा जङ्गलको मुहानबाट पानी ल्याएर बस्ती नजिकको बाँझो जमिनलाई ऊर्वर तुल्याएका छन्। आफ्नै भूमि नहुँदा पनि उनीहरू यतिखेर तरकारी उत्पादक किसानका रूपमा चिनिएका छन्, त्यो पनि अर्गानिक किसानका रूपमा।
अझ सुर्खेतकै वीरेन्द्रनगर–९ स्थित चाँदनी चौकका महिला त पर्यावरणीय कृषिको क्षेत्रमा गतिलै उदाहरण बनेका छन्। लगनशील लघुउद्यमी महिला कृषक समूहमा आबद्ध उनीहरू नजिकैको जङ्गलबाट झरेका सालको पात ल्याउँछन् र फुर्सदमा दुना टपरी बनाएर राम्रो आम्दानी गर्छन्। महासङ्घले उपलब्ध गराएको मेसिन प्रयोगले उनीहरूको उद्यमशीलता फस्टाएको पनि छ।
आफैँले बुनेको दुना लगेर वीरेन्द्रनगरका होटलमा दिने र त्यसैमा दिइएको खाजा (मम, चाउमिन) खाएर आउनु उनीहरूको दिनचर्या नै भइसकेको छ। एकातिर खेर गइरहेको पातबाट आम्दानी लिन सकिने, अर्कोतिर प्रयोग भएका दुना टपरीबाट पुनः कम्पोस्ट मल बन्नाले फेरि प्रयोग गर्न सकिने। न वातावरणलाई कुनै हानि न त आम्दानीका लागि लगानी नै धेरै गर्नुपर्ने। यसरी पर्यावरणीय कृषिले हरित उद्यमलाई पनि बढावा दिइरहेको प्रमाण हुन् यहाँका महिला।
उल्टो यात्रा
माथि भनिएझैं एकातिर सरकार आफ्ना कृषि नीतिहरूमा खाद्य सुरक्षाको दिगोपनाका लागि पर्यावरणीय कृषिलाई बढावा दिने उल्लेख गरेरै भ्याउँदैन। अर्कोतिर विगत पाँच वर्षमा सरकारले कृषि क्षेत्रका लागि दिएको अनुदान एक खर्ब सात अर्ब ६६ करोड रुपियाँमध्ये ८७ अर्ब ३६ करोड जति (करिब ८१ प्रतिशत) त रासायनिक मलकै लागि थियो। जबकि पर्यावरणीय कृषि र रासायनिक मल नदीका दुई किनारा हुन्। यस्तो अवस्थामा सरकारको भनाइ र गराइ कसरी भेट होला ? सोचनीय छ।
अन्त्यमा,
भेसान्टो मेलिना क्यानडाकी पोषणविद् हुन्। शाकाहार र रैथाने खानासम्बन्धी एक पुस्तक (जुन अङ्ग्रेजीमा १० लाख प्रति बिक्री भइसकेको छ भने अन्य नौ भाषामा पनि छापिएको छ) की सहलेखकसमेत रहेकी उनले भनेकी छिन्– सकारात्मक प्रभाव पार्ने उत्पादन र अभ्यासहरू फेला पार्न पाउनु मेरा लागि ठूलो खुसीको कुरा हो। राष्ट्रिय कृषक समूह महासङ्घले सुरु गरेको नेपाली परिवेशअनुसारको पर्यावरणीय खेती देखिन् भने यिनको इच्छा पक्कै पूरा हुने थियो, सायद।
प्रकाशित: १५ फाल्गुन २०८१ ०८:०४ बिहीबार