१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

जबजको सार्थकता र श्रेष्ठता

परिवर्तित विश्वमा माक्र्सवादलाई सान्दर्भिकताको त्राण दिनु र जनसमर्थनको जगमा उभ्याउनुसँगै मदन भण्डारीले एमालेको अटल सौभाग्यको भाग्यरेखा कोरेकामा कसैको विमति नरहला। आधुनिक विश्वमा शक्ति पृथकीकरणका विभिन्न अभ्याससहित लोकतान्त्रिक व्यवस्था बहुप्रचलित छ। पुँजीवादी लोकतन्त्रको विश्वव्यापी लहर चलेको बेला संसद् र शक्तिपृथकीकरणको सिद्धान्त पुँजीवादीहरूका मात्र बपौती होइनन्, बरू मानव जातिले हासिल गरेका साझा उपलब्धिहरू हुन् भनेर कम्युनिस्टहरूको तर्फबाट पहिलो हकदाबी गर्ने र त्यसमा स्वामित्वको सुनिश्चिततासहित वैचारिक लालपुर्जाको जोहो गर्ने पहिलो वामपन्थी वैचारिक नेता भण्डारीप्रति नेपालका कम्युनिस्टहरू सदैव कृतार्थ छन्। मदन भण्डारी र जनताको बहुदलीय जनवादमाथिको गडबडी एमालेले गुणग्राहितासँग गरेको दुस्मनी ठहरिनेछ। पुँजीवादी लोकतन्त्रको पक्षमा विश्वव्यापी लहर चलेको र समाजवादी व्यवस्था अवलम्बन गरेका देशमा वामपन्थी पार्टीहरूविरुद्ध जनताको कोप बढेको बेला २०४९ सालमा नेकपा (एमाले)ले दृढतापूर्वक कम्युनिस्ट पार्टी जनताको परीक्षणको विषय हुनुपर्छ भन्ने मान्यता अवलम्बन ग¥यो। चुनाव लड्ने पार्टी कम्युनिस्ट हुन सक्तैन भन्ने भ्रान्ति बलशाली भएको बेला एउटा कम्युनिस्ट पार्टीले चुनावका माध्यमबाट जनादेश प्राप्त गरी क्रान्तिपूर्व सरकार सञ्चालन गरी क्रान्तिका लागि अनुकूल भूमिका खेल्न सक्छ भन्ने कुरा त्यति बेला धैरैका लागि खिल्ली उडाउने बहाना बनेको थियो। आज यो सत्य नेपालका वामपन्थी पार्टीहरूको जीवनशैली बनेको छ। एघार पुस्तासम्म जनतामा जरो गाढेर रहेको निरंकुश राजतन्त्रप्रति जनतामा रहेको बाक्लो भ्रम, आफूलाई संसदीय लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांगे्रसको उत्कर्षकालीन दम्भ र दबदबा, काँधमा भिरेको बन्दुक र छातीमा झुन्ड्याइएको एम्बुस, शत्रु ठानिएका जतिको ज्यान लिनु वा लक्ष्य प्राप्तिका खातिर आफ्नो ज्यान दिनुभन्दा पर छुट्टै वाद, विकल्प, विचार, व्यवहार, जीवन र संसार छ भन्ने सत्यलाई मिथ्या ठानिरहेको क्रान्तिकारी भावनाले ओतप्रोत कार्यकर्ताहरूको घनकुवेर पार्टी तत्कालीन माओवादीले ल्याएको तरंग समेतबाट सृजित भवसागर एमालेले कसरी पार गर्न सक्यो त? आग्रहरहित ढंगले एउटै शब्दमा भन्नुपर्दा एमालेका लागि जनताको बहुदलीय जनवाद नै यस वैतर्णीबाट पार लगाउने तारनहार थियो।

पछिल्लो दशकमा एमालेले जबजलाई जनवाद, लोकतन्त्र र देशभक्तिको त्रिवेणीका रूपमा जनसमुदायमाझ स्थापित गर्न सकेको छ। एमालेमा जबज मात्र यस्तो जीवित सत्य हो जो हरेक महाधिवेशनमा पारित हुँदै आएको छ। अरू नीतिहरू र नेतृत्व भित्रिने बाहिरिने गर्छन् तर जबज हल्लाउने र चलाउने जति मेरो पनि यसैमा आस्था छ भन्न बाध्य भएको शृंखला छ। जबज जगैदेखि लोकतन्त्रको मेरुदण्डमा उभिएको विचार हो। वास्तवमा आजसम्म कम्युनिस्ट पार्टीको प्रमुख नबितेसम्म वा ऊ स्वयंले आफैँ अग्रसर भएर कसैलाई टीका नलगाइदिएसम्म अर्काे नेताले प्रतिस्पर्धाबाट पार्टी प्रमुख हुन सकेको नजीर थिएन। जबज अवलम्बन भएपछि एमालेको आन्तरिक लोकतन्त्रको अभ्यास सङ्लो र सबल भएको छ। म नै राज्य हुँ ठान्ने लुई चौधाँै शैलीको पार्टी प्रमुखको भूमिका, पार्टी प्रमुखले भनेको मान्नुपर्छ र त्यहाँ भन्दा अरू विकल्प छैनन् ठान्ने अन्धविश्वास, दण्ड र फण्डको दुरुपयोग, लेनिनवादी संगठनात्मक सिद्धान्तको नाभि मानिने कमिटीको बहुमत, संस्थापनले गर्न सक्ने संगठक, व्यवस्थापक र दार्शनिकहरूको जोहो जस्ता तगाराहरू पन्छाउँदै नवौँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चुनिन सक्ने दृष्टान्त दिन र सुनिश्चिता प्रदान गर्न जबजले सकेको छ।

जनताको बहुदलीय जनवाद वामपन्थी जनमत, लोकतन्त्रिक जनमत र देशभक्त जनमतको त्रिवेणी हो। नदीको त्रिवेणीको धार्मिक र पर्यटकीय महत्व भएजस्तै भिन्नाभिन्नै प्रकारका जनमतलाई एकतामा बाँध्न सक्ने सामथ्र्य राख्ने विचारको पनि राजनीतिक, ऐतिहासिक र भविष्य समेतका हिसाबले महत्व र सार्थकता रहने नै भयो। जनताको बहुदलीय जनवादको आधुनिक एमालेको रसायन निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ र सच्चा एमालेको नशा नशामा जबज रगत भएर बग्ने र सल्बलाउने गरेको छ। जबजकै कारणले एमालेमा तीन प्रकारका रसायन अटाएका छन्। आजको एमालेमा मूलतः वामपन्थी, लोकतान्त्रिक र राष्ट्रवादी रसायन छ। त्यसैले अध्यक्ष ओलीले भनेजस्तै एमाले सरदर पार्टी होइन। एमालेमा मौजुद विशेष रसायन थाह पाउन यसले विभिन्न चुनावमा प्राप्त गरेको हैसियतको अन्तरमाथि विमर्श गर्नुपर्ने हुन्छ।

आज एमालेलाई देशभरको प्रगतिशील र वामपन्थीहरूको मात्र नभई लोकतन्त्रवादी र देशभक्तहरूको साथ र समर्थन छ। वास्तवमा एमालेको एक्लो औकात भनेको २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फका २४० मध्ये विजय हासिल गरेका ३३ सिट मात्र हो। दोस्रो संविधान सभा निर्वाचनमा एमालेले ९० सिट जित्यो। अहिलेको २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमाले बहुमत नजिक छ। २०६३ तिर एमालेको शाख गिरेको थियो। विचारका हिसाबले एमालेसँग त्यति बेला पनि जबज थियो तर व्यवहारमा कमजोरी रह्यो। कांग्रेस र माओवादीलाई सहकार्यको एउटै जुवामा ल्याउने सिद्धान्त जबज थियो तर बाहिर भान बेग्लै प-यो। क्रान्तिमा लोकतान्त्रिक कित्ताको नेतृत्व कांग्रेसले र वामपन्थी शक्तिको नेतृत्व माओवादीले मात्र गरे जस्तो र एमाले अरूका पछाडि घिसारिए जस्तो भ्रम पर्न गयो। जबजको प्रकाशमा अघि बढेको सहकार्यको राजनीतिलाई स्वामित्व ग्रहण गर्नलाई चाहिने आवाजमा दम नेतृत्वले आपूर्ति गर्न नसकेकै हो। प्रतिस्प्रर्धाको राजनीतिमा आवाजमा दम नभएको नेताले थाहै नपाएर विरोधीलाई सघाउँछ र आफ्नो पार्टीको शक्ति ऐँठन पारिदिन्छ। २०७० सालमा एमाले उठ्न सक्नुमा संसदीय अभ्यासमा अनुभव नभएको उत्कर्ष कालको माओवादीसँग मिलेर यथेष्ट गडबडी गर्न सक्ने अवसर हुँदाहुँदै पनि एमालेले लोकतन्त्रप्रति घात नगर्नु प्रमुख कारण थियो। अरूकापछि नलतारिने र लोकतन्न्त्रका प्रतिको निष्ठा नडगाउने केपी ओली नेतृत्वको तत्कालीन केन्द्रीय कमिटीको बहुमतलाई  जनदेवताले प्रदान गरेको पुरस्कार थियो। लोकतन्त्रको लक्ष्मण रेखा ननाघ्ने गरी इतिहासको निर्णयक मोडमा एमालेले देखाएको त्यो इमानदारी लोकतन्त्रका हरेक पुस्ताका साधकहरूका लागि पे्ररणाको स्रोत बन्नेछ । लोकतन्त्रप्रतिको अटल निष्ठा र प्रतिबद्धताका कारण एमालेले जनसमुदायबाट दोहोरो पुरस्कार पायो। एकातिर लोकतान्त्रिक जनमतमा रहेको कांग्रेसी एकाधिकार समाप्त हुनु अर्कोतर्फ वामपन्थी आन्दोलनको मूल प्रवाह पनि एमाले नै रहेको पुनर्पुष्टि हुनु एमालेले थापेका दोहोरा पुरस्कार थिए । भारतले लगाएको नाकाबन्दीको सामना गरेर बलभद्र, भक्ति थापाजस्ता वीर अग्रजहरूको पालादेखिको देशभक्तिको विरासतलाई एमाले संस्करणमा नवीकरण गर्न सकेकाले चुनावमय २०७४ सालभरि एक्लो पर्दा होस् वा गठबन्धन कस्तो होस् जनताको अपार साथ र विश्वास एमालेको पोल्टा ओइरिइरह्यो।

विचारको राजनीतिका कारणले आज एमाले र अन्य दलको सम्बन्ध खुकुरी र कुभिण्डोको जस्तो रहेको देखिन्छ। जसरी खुकुरीसँग ठोक्किँदा पनि ताछिनुपर्ने कुभिण्डोले हुन्छ र नठोक्किँदा पनि कुभिण्डो सुरक्षाको सुनिश्चितता रहँदैन, त्यसरी नै एमालेसँग नमिल्नेको त हरिबिजोग छ नै, मिल्ने पनि तर्सिने गरेको सिलसिला छ। सत्यसँग तर्किनु पर्दैन। किनकि सत्यको चरित्र नै मिल्नेसँग नौनीको डल्लो हुन सक्नु हो भने चिल्न खोज्नेसँग बिच्छीको चल्लो बन्न सक्नु हो । एमालेसँग मिल्ने जति बाघ र ठोक्किने जति बिराला हुँदै गएका छन्। जनतालाई शिरमा राख्ने राजनीतिको महत्व कहिल्यै घट्दैन। पृथ्वीनारायण शाह समकालीन राजाहरूमध्येमा हाबी हुनुमा जनताको साथ र सामथ्र्यको महत्व थाह पाउने गुण मुख्य आधार थियो। भारदार, काजीदेखि आम जनताका लागि सहज पहुँचमा रहनु जस्तो इमानदार राजनीतिले पृथ्वीनारायण शाहलाई उठायो। नुवाकोट विजयको बेला गोर्खाली फौजलाई रातैभित्र त्रिशुली नदी तराइदिन नुवाकोटपट्टिका माझी समुदायलाई राजी गराउनु गोर्खालीहरूको उदयको प्रस्थान बिन्दु थियो। वैचारिक नेता पुष्पलाललाई उठ्न नदिने गरी केशरजंग रायमाझीले अवसरवादीहरूको घेरा बलियो पारेकै बेला बिपी कोइरालाले लक्ष्यवर्ती राजनीतिको बलमा सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, बलबहादुर राई जस्ता नेतालाई एकढिक्का पारेर कांग्रेसलाई एक बलियो राष्ट्रिय दलका रूपमा उभ्याएर जनताको साथको सुगन्ध थपे। पोल्टामा आइसकेको प्रधानमन्त्रीको पद अस्वीकार गर्दा गणेशमान सिंहको व्यक्तित्वको उचाइले सगरमाथा चुम्यो। पार्टी फोडेर आफ्नो जातबाट नेकपा मानन्धर, वर्मा, अमात्य जस्ता कम्युनिस्ट घटकहरूको पसल थाप्ने होड चलेको बेला मदन भण्डारीले सबैभन्दा उम्दा मानिएको वाम घटक नेकपा(माले) को एक नम्बरको नेता हुनुभन्दा एकीकृत पार्टीको दुई नम्बरको नेता हुने त्याग र दूरदर्शिता देखाएर वामपन्थीहरूको फूट र विभाजनको निरन्तरतरताको क्रमभंग गरिदिएकाले आज एमालेले यो आकार लिएको हो। अब भविष्य उसैको हो जसले पृथ्वीनारायण शाह, बिपी, गणेशमान र मदनले देशको एकताका तन्तुहरू सबल पार्नमा राखेको कीर्तिमान तोड्ने त्याग र दूरदर्शिताको आपूर्ति गर्ने चेत राख्नेछ। सानो परिवारमा बाक्लो दाल खाने कुलत नेता हुन त के संयुक्त परिवारको घरमूली हुन पनि बाधक बन्ने गर्छ।

प्रकाशित: ७ वैशाख २०७५ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App