२८ पुस २०८१ आइतबार
image/svg+xml
विचार

भ्रष्टतन्त्रको भारी

बाइरोडको बाटोमा

अमेरिकी लेखक, अपाङ्गता अधिकारकर्मी तथा राजनीतिक अभियन्ता हेलेन केलरले भनेकी छिन् -‘एउटा युगको पाखण्ड अर्कोका लागि रुढीवाद बन्न पुग्छ।’

एउटा पुस्ताले अपनाएका कुनै गलत अभ्यासलाई अर्को पुस्ताले निरन्तरता दिँदा त्यही तिनको संस्कृति जस्तो बन्न पुग्छ। भ्रष्टाचारको हकमा पनि त्यही हुन्छ। जब पुस्ता पुस्ताले यसलाई स्वीकार्न थाल्छन्, त्यो संस्कृति बन्न थाल्छ। यस मामिलामा हाम्रो मुलुक यही दुष्चक्रभित्र छिरेको छ।

गत साता खोज पत्रकारिता केन्द्रले आयोजना गरेको ‘भ्रष्टतन्त्र’ माथिको छलफलले हामीकहाँ यो संस्कृतिका रूपमा विकास हुँदै गएको लक्षणमाथि जोड दियो। अंग्रेजीमा ‘क्लेप्टोक्रेसी’ भनिने ‘भ्रष्टतन्त्र’ वा ‘चौर्यतन्त्र’ नेपाली समाजको अभिन्न अंग बनेका अनेकन उदाहरण छन्। ‘अनियन्त्रित राजनीतिक भ्रष्टाचारको स्थिति’ लाई ‘क्लेप्टोक्रेसी’ भनिन्छ।

हाम्रो मुलुकमा ‘भ्रष्टतन्त्र’ सुरु भएको छ/छैन ? सामान्यतः कुनै व्यक्तिले लामो समयसम्म शासन गर्दै राज्यका निकायहरूलाई प्रयोग गर्ने योजनाबद्ध अभ्यास भएका छन् भने ‘भ्रष्टतन्त्र’ सुरु भएको मान्न सकिन्छ।

हामीकहाँ कैयन् मुलुकमा जस्तो एउटै व्यक्तिले लगातार शासन गरेका छैनन्। तर बितेका तीन दशकमा कुनै न कुनै रूपमा सत्ता राजनीतिमा रहिरहेको एउटा वर्ग छ। तिनले गरेको अभ्यासका आधारमा यसलाई ‘नवभ्रष्टतन्त्र’ का रूपमा चित्रण गर्नु उचित हुने सल्लाह विज्ञहरूले दिएका छन्।

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागमा प्राध्यापनरत दीपेश घिमिरेले चौर्यतन्त्र, चोरतन्त्र, भ्रष्टतन्त्रलाई बुझाउने गरी यसका विविध आयामबारे चर्चा गरेका छन्। चोर, लुटेरा र भ्रष्टाचारीले गरेको शासन नै ‘भ्रष्टतन्त्र’ हो।

सामान्यतः भ्रष्टाचार भनेको एउटा घटना मात्र हो। यस्तो एउटा घटना मात्र हुनु भनेको ठूलो समस्या होइन। जब राजनीतिक प्रणालीलाई नै भ्रष्टाचारले चलाउन थाल्छ, त्योबेला मुलुकमा ‘भ्रष्टतन्त्र’ रहेको अर्थ लगाउन सकिन्छ।

ग्रिक शब्द ‘क्लेप्टेस’ को अर्थ ‘चोर’ हुन्छ भने ‘क्रातोस’ को अर्थ शक्ति वा शासन भन्ने हो। यी दुई शब्द मिलाएर ‘चोरको शासन’ बन्छ। चोरको शासन भन्नु नै राज्यको सम्पत्ति चोर्ने र स्रोत दोहन गर्ने र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुनु हो। यस्ता व्यक्तिले राज्यको सम्पत्ति आफ्नो हितमा प्रयोग गर्ने मात्र होइनन्, त्यसलाई आफू अनुकूलका व्यक्तिबीच वितरण गर्छन्। राज्यको सम्पत्ति, पद र अन्य अवसर सबै तिनीहरूमै सीमित हुन्छ।

प्रत्येक पटक शासनसत्ता परिवर्तन हुँदा नागरिक सबैभन्दा बढी हौसिन्छन्। तिनलाई अब भने कानुनको शासन सुरु हुने र योग्यले मौका पाउने विश्वास हुन्छ। तर शासनसत्तामा पुगेका केही व्यक्तिले त्यसो हुन दिँदैनन्।

लोकतन्त्र सबैभन्दा सुन्दर व्यवस्था हो। त्यो यस अर्थमा सुन्दर हो कि प्रत्येक व्यक्तिले आफ्नो क्षमताअनुसारको जिम्मेवारी पाउँछन्। प्रतिस्पर्धाले स्थान पाउँछ। आवधिक निर्वाचन, मानव अधिकार मात्र होइन, समृद्धि यात्रामा त्यस्तो मुलुक अघि बढेको हुन्छ। निर्वाचनले प्रत्येक पटक असल मानिसलाई शासनमा ल्याउँछ।

यही विश्वासका आधारमा मानिस लोकतन्त्रप्रति अभिभूत हुन्छन्। तर जुन मुलुकमा आममानिसका सपनाभन्दा भिन्न परिस्थिति तयार हुन्छ, त्यहाँको शासन ‘भ्रष्टतन्त्र’ मा प्रवेश गर्छ। यसले लोकतन्त्र जस्तो सुन्दर शासन प्रणालीको विरोध गरी हिजोको तानाशाही व्यवस्था नै ठीक भन्ने अवस्थामा पुर्‍याउँछ।

प्रत्येक युगमा नयाँ मानिस आउँछन्। पुरानो समयका उपलब्धि तिनले बिर्सिसकेका हुन्छन्। नयाँले जताततै बिग्रेको देखेपछि हिजो को कति जेल बस्यो भन्ने कुराको कुनै अर्थ हुँदैन। हाम्रो मुलुकमा लोकतन्त्र भए पनि केही दशकयताको शासकीय कमजोरीले सर्वसाधारणलाई वाक्क पारेको छ।

अनुसन्धाता घिमिरेले प्रस्तुत गरेका बुँदाले हाम्रो मुलुकको वर्तमान अवस्था बुझ्न सहज हुन्छ। ‘भ्रष्टतन्त्र’ का आधारभूत विशेषता के हुन् ? पहिलो, सरकारको उच्च तहमा भ्रष्टाचार हुन्छ। दोस्रो, दोस्रो कुलीनका बीचमा सम्पत्ति एकत्रित हुन्छ। तेस्रो, संस्थागत सन्तुलन र नियन्त्रण कमजोर हुन्छ। चौथो, जवाफदेहीको अभाव हुन्छ। पाँचौँ, आर्थिक असमानता हुन्छ। छैटौँ, लोकतन्त्रकै बेवास्ता हुन्छ।

यी बुँदाकै सेरोफेरोमा हेर्दा पनि हामी बिस्तारै ‘भ्रष्टतन्त्र’ को चंगुलमा परिसकेको प्रष्ट हुन्छ। भ्रष्टाचार राज्यको उपल्लो तहमा व्याप्त छ। मुलुकका प्रत्येक ठूला भ्रष्टाचार काण्डमा को परेका छन् भन्ने पक्षबाट पनि सहजै बुझ्न सकिन्छ। सार्वजनिक सम्पत्ति र जग्गा कब्जा गर्न राज्यकै उपल्लो तहमा स्थान बनाएका राजनीतिक व्यक्ति र उच्च कर्मचारीको यसमा भूमिका छ। कुनै पनि ठूला खरिद र काममा भ्रष्टाचारको बोलवाला छ।

आज सामान्य मानिसको जीवन झन् जटिल बनिरहेको छ। तर थोरै व्यक्तिको सम्पत्ति दिनानुदिन बढिरहेको छ। व्यापारी पनि तिनै धनी छन् जसको नजिकमा राज्य सञ्चालक छन्। प्रतिस्पर्धाको समान अवसर छैन। राज्यका संस्थाहरूबीचको सन्तुलन र नियन्त्रण व्यवस्था अत्यन्त कमजोर छ। सरकार, न्यायालयदेखि संसद्सम्ममा प्रश्न उठेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रण र अनुसन्धानका निम्ति खुलेका संस्थाको समेत विश्वसनीयता कमजोर भएको छ। अख्तियारलाई कति अधिकार दिने भन्ने विषयमा महिनौँ संसद्का समितिमा छलफल हुन्छ। यसको अर्थ जसले अधिकार पाउँछ, त्यसले दुरूपयोग गर्छ भन्ने नै हो।

कुनै पनि संस्थाले सन्तुलन र नियन्त्रण राख्न नसकेपछि राज्य कमजोर हुन्छ। अचेल लोक सेवा आयोगको निकै प्रशंसा सुनिन्छ। कारण, यसले केही हदसम्म प्रयास गरेका कारणले हो। त्यसैले अहिले जुनसुकै तहको परीक्षा सञ्चालनको जिम्मेवारी लोक सेवालाई दिनुपर्छ भन्ने सुनिन थालेको छ। ‘भ्रष्टतन्त्र’ बढ्दा कुनै पनि अनियमिततामा कारबाही नहुने अवस्था आउँछ।

अहिले कतिपय ठूला व्यक्तिहरूमाथि कारबाही गर्न कठिन छ। आर्थिक अनुशासन कायम गर्न नसक्ने मुलुकमा समृद्धि सम्भव हुँदैन। जहाँ धेरै भ्रष्टाचार हुन्छ, त्यहाँ लोकतन्त्र बलियो हुँदैन। यसलाई सजिलै हल्लाउने अवस्था आउँछ।

‘भ्रष्टतन्त्र’ हुर्किन केही पक्षले काम गर्छन्। कमजोर सुशासन र संस्थाहरूले यो तन्त्रलाई बढावा दिन्छन्। गलत काम गर्ने राष्ट्रपतिलाई समेत जवाफदेही बनाउने शासन व्यवस्था यथार्थमा लोकतान्त्रिक हो।

दक्षिण कोरियामा केही घन्टाका निम्ति संकटकाल लगाउने राष्ट्रपतिमाथि गरिएको कारबाहीबाट संस्थाहरू कति सशक्त हुनुपर्छ भन्ने सन्देश दिन्छ। डोनाल्ड ट्रम्पको अघिल्लो शासनकालका बेला सुरक्षा अधिकारीले ‘चूप लाग्न’ दिएको सुझावले आफ्नो जिम्मेवारीमा रहेका व्यक्तिको भूमिकालाई कति सशक्त ढंगले निर्वाह गर्नुपर्छ भन्ने देखाएको छ। तर भ्रष्टतन्त्रले गाँजेको देशमा सुशासन कमजोर हुन्छ। संस्थाहरू काम नलाग्ने बन्छन्।

लोकतन्त्रमा जवाफदेही सबैभन्दा ठूलो पक्ष हो। सार्वजनिक जिम्मेवारीमा पुगेका सबै व्यक्ति आफूलाई नियुक्ति वा निर्वाचन गर्ने संस्था र व्यक्ति मात्र होइन, आमनागरिकप्रति जवाफदेही हुनुपर्छ। हामीकहाँ कतिपय अवस्थामा यसको सर्वथा अभाव देखिएको छ।

राजनीतिक र आर्थिक स्थायित्व भएन भने पनि ‘भ्रष्टतन्त्र’ ले जरा गाड्छ। हामी कैयन् वर्षदेखि राजनीतिक स्थायित्वका निम्ति प्रतीक्षारत छौँ। यो अवस्था प्राप्त हुन सकेको छैन। आर्थिक अस्थिरताले मुलुकको लोकतन्त्रलाई सबैभन्दा बढी अप्ठ्यारोमा पारिरहेको छ।

दिनहुँ मानिस विदेश भाग्ने अवस्था आउनु र सकेसम्म देशमा बस्ने अवस्था नदेखिनुले यसलाई उजागर गरेको छ। उच्च स्तरमा हुने भ्रष्टाचार र त्यसलाई संरक्षण गर्ने अवस्था पनि उत्तिकै छ। यसले पनि मुलुकको अवस्था कमजोर देखिँदैछ। गल्ती गर्ने जोसुकैलाई सजिलै कारबाही गर्ने र आवश्यकता पर्दा मुलुकको सर्वोच्च स्थानमा पुगेका व्यक्ति पनि कारबाहीमा पर्ने सन्देश यतिबेला आवश्यक छ। आफ्नालाई जोगाउने र अरूलाई मात्र कारबाही गर्न खोज्नु ‘भ्रष्टतन्त्र’ को लक्षण हो।

हाम्रो मुलुकमा समस्या धेरै गहिरिइसकेका छन्। त्यसलाई समयमै सम्बोधन गर्ने बेला भइसकेको छ।

‘भ्रष्टतन्त्र’ ले जति धेरै जरा गाड्छ, त्यति नै यसले लोकतन्त्रलाई कमजोर बनाउनेछ। अहिले आम नागरिकमा देखिएको उद्वेलित अवस्थामा सुधार अपरिहार्य भइसकेको छ। हाम्रो शासन व्यवस्था ‘भ्रष्टतन्त्र’ भइसकेको छ/छैन अध्ययन गर्ने बेला भइसक्यो कि ? 

प्रकाशित: २८ पुस २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App