१२ पुस २०८१ शुक्रबार
image/svg+xml
विचार

भाइ फुट्दाको भाँडभैलो

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समययता बारम्बार संकटपूर्ण परिस्थितिको सामना गर्नुपर्ने सम्भावित अवस्थाप्रति सचेत गराउने सन्देश दिनुभएको सुनियो। यसले प्रष्टै इङ्गित गरेको आभाष हुन्छ कि देशमा संकटपूर्ण अवस्था विद्यमान छ वा निकट भविष्यमा हामीसामु आउँदैछ। उहाँले औल्याउन खोज्नुभएको संकट अवश्य पनि बाढी, पहिरो, भूकम्प, आँधीबेहरी जस्ता प्राकृतिक प्रकोप होइन होला। एउटा राजनीतिक शीर्ष व्यक्तित्वबाट आएको सन्देशमा उल्लेख भएको संकटपूर्ण परिस्थिति भनेको अवश्यम्भावीरूपमा राजनीतिक संकट नै हुनुपर्छ भन्ने आंकलन गर्न गाह्रो परेन।

मनमा एक प्रकारको खुल्दुली मच्चिन थाल्छ। के हो त त्यो राजनीतिक संकट जसको समाधान गर्न देशका सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुनुपर्ने भयो। विश्व परिवेशमा भइरहेका विभिन्न राजनीतिक घटनाले हाम्रो मनलाई पनि आशान्त पार्नु स्वाभाविक हो।

१९९० पूर्वको शीतयुद्धकालीन अवस्थामै विश्व फर्किन लागेको हो कि भन्ने शंंका नउब्जिएको अवश्य होइन। जताततै सुनिन थालिएको युद्धको शंखघोष अनि अस्थिरता दक्षिण एसिया र छरछिमेकसम्मै आइपुग्ने हो कि भन्ने त्रासले आक्रान्त बनाएको छ हामीलाई पनि। कमरेड प्रचण्डले यदाकदा विश्वमा देखापरेको यो समस्याबारे उल्लेख गर्नु नभएको पनि होइन। तर यो विश्वव्यापी समस्या समाधान गर्ने वा यसमा होमिनु हाम्रो सामथ्र्यले भ्याउने कुरा होइन जस्तो लाग्छ।

शान्तिका पक्षपाती नेपाली जनता हरदम बुद्धका सन्देश फिजाउन तत्पर रहँदै आएका छौं। यो नै हाम्रा लागि उत्तम मार्ग हो। नेपाललाई शान्तिक्षेत्र बनाउनुपर्ने कुरा समय समयमा उठेको पनि हो र वर्तमान अवस्थामा पनि यदाकदा उठ्दै आएको छ।

विश्वका शक्ति राष्ट्रहरू पुनः दुई धु्रवमा विभाजित हुने दिशामा अघि बढिरहेका आभाष हुन थालेको छ। तर दुई विशाल छिमेकी राष्ट्र भारत र चीनको बीचमा अवस्थित नेपाललाई निरपेक्ष रहनुको अर्को विकल्प छैन। हालसालै सम्पन्न ब्रिक्स सम्मेलनताका छिमेकी मुलुक भारत र चीनबीच भएको सम्बन्ध सुधारको संकेतले यस क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। तर यसबाहेक विश्व परिवेशमा देखिएको धु्रवीकरणले नेपाललाई पार्न सक्ने असरले हामीलाई चिन्तित बनाएको छ र चिन्तित हुनुभन्दा बाहेक हामीले केही गर्न सक्ने अवस्था छैन।

आफैंले समाधान गर्न नसकिने समस्या त विवशता बनेको छ हाम्रा लागि। नेपालले त्यस्तो क्षमताको विकास गरिसकेको पनि छैन कि विश्वका महाशक्ति राष्ट्रहरूलाई सम्झाउन सकोस्, बुझाउन सकोस्। गहिरिँदै गरेको युद्ध सन्त्रासबाट त्राण पाउन कठिन हुँदै गइरहेको छ, विश्वलाई। कमरेड प्रचण्डको संकटपूर्ण परिस्थितिको तात्पर्य यो विश्वव्यापी संकट अवश्य होइन होला, शायद ! संकटपूर्ण अवस्था देशभित्रैको हो र आन्तरिक हो भने के हुन सक्छन् त ती संकटपूर्ण अवस्थाहरू ?

सरकार गिर्ने र नयाँ बन्ने ? सरकार गिर्नु र बन्नु त अब नेपालीका लागि कुनै नौलो घटना भएन। तीन तीन चार चार महिनामा मञ्चन भइरहने यो नाटक कुनै समस्या भएन हाम्रा लागि। के त व्यवस्था परिवर्तन ? व्यवस्था परिवर्तनकै कालो बादल मडारिन थालेको हो नेपाली आकाशमा भने, यो भिन्नै संकटपूर्ण परिस्थिति हुन सक्छ।

बहुसंख्यक नेपालीले यो मनस्थिति बनाइसकेको जस्तो लाग्दैन। तर जनतालाई एउटा व्यवस्था मन नपर्नु र त्यो व्यवस्थाको विकल्प खोज्नु उसको सार्वभौम अधिकार हुन सक्छ। जनताको चाहना र आवाजसामु जोकोही झुक्न बाध्य हुन्छन् भन्ने कुरा विगतले प्रमाणित गरेको सत्य हो।

वर्तमान व्यवस्थाविरुद्धको गतिविधि सल्बलाउनु नै संकट हो भन्ने संकेत हो भने यो गम्भीर विषय बन्न सक्छ। त्यत्रो लामो संघर्षपछि स्थापित व्यवस्था सजिलै परिवर्तन नहुन सक्छ। तर संवैधानिक व्यवस्थाको सही अभ्यास नहुनु, ठूला दलले बलमिच्याइँ गर्नु र यसलाई बारम्बार कमजोर पार्नु, जनताको चाहना र आवश्यकतालाई छायामा पार्ने जस्ता कार्यले व्यवस्थाप्रति वितृष्णा जगाउनु स्वाभाविक हो। यसमा सबैको बराबरी दोष छ। कुनै पनि दल पन्छिन सक्दैनन्, यो दोषबाट।

यो संकट निम्त्याउन बाहिरियाहरूको भूमिका रहेको छ भन्ने हो भने तिनलाई घरको समस्या समाधानमा समावेश गर्नु नै हाम्रो भूल थियो। दाजुभाइको झगडा बाहिरियाको संलग्नतामा एकचोटिका लागि त मिलाइयो तर उसलाई हरहमेशा खेल्ने स्थान पनि हामीले नै दियौं। ती बलिया बाहिरिया न आफैँ बाहिरिन्छन् न त हामी नै निकाल्न सक्छौँ उसलाई। केही बोल्नै नहुने, घरभित्रै थुनेर मारुँला, कुटुँलाझैँ गर्छ।

घरभित्रको समस्या परिवारै मिलेर समाधान गर्ने विकल्प त नभएको होइन। तर हामी चुक्यौं। दाजुभाइलाई मिलाएझैँ गर्ने उल्टै बलेको आगोमा घिउ थप्ने। समस्या सधैँ ज्युँका त्युँ। घरको समस्या घरभित्रैबाट समाधान हुनुपर्छ। त्यसका लागि परिवारमा मेल हुनुपर्‍यो एकमत हुनुपर्‍यो। म नै सबथोक हुँ, म नै बलवान छु, शक्तिशाली छु भन्ने दम्भ हटाइ सकारात्मक रूपमा संकटपूर्ण परिस्थिति निराकरण गर्नेतिर नसोच्ने हो भने भाइ फुट्दा आउँने भाँडभैलो कल्पनातीत हुनेछ। 

प्रकाशित: २९ कार्तिक २०८१ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App