नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ। धतुरा जस्ता विषालु बिरुवालाई पनि भगवान शिवको प्रसाद मानिन्छ।
हामीले अन्य ग्रह र नक्षत्रहरूलाई पनि ईश्वरसँग जोडेर पूजायोग्य बनाएका छौँ। प्रकृति संरक्षण हाम्रो जीवनशैलीको अभिन्न अंग भएको छ। हिन्दु दर्शन ‘बाँचौँ र बाँच्न दिउँ’ को सिद्धान्तमा आधारित छ। नेपालका अधिकांश चाडपर्व प्रकृतिमा केन्द्रित हुन्छन्। यहाँ सर्पलाई दूध खुवाउने चलन छ। हिन्दु धर्म जस्तै इस्लाम, जैन, सिख र बौद्ध धर्मले पनि वातावरण संरक्षणमा जोड दिन्छ।
सबै धर्ममा वातावरण संरक्षणमा जोड दिँदा दिँदै पनि पृथ्वीको घाउ गहिरो हुँदै गइरहनु विडम्बना नै हो। अहिलेको वातावरणको ह्रास यसअघि कहिल्यै देखिएको थिएन। हावा, पानी, नदी, समुद्र, खाना सबै प्रदूषित हुँदै गइरहेको छ। यस प्रदूषणको नतिजा विश्वको ठूलो जनसंख्याले भोगिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदनमा जनाइए अनुसार वायु प्रदूषणका कारण बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ। विश्वका ९३ प्रतिशत बालबालिकाले विषालु हावामा सास फेर्छन्।
द लान्सेट जर्नलको प्रतिवेदनमा विश्वमा हरेक वर्ष प्रदूषित हावा र पानीका कारण हुने मृत्युको संख्या सबै युद्धका कारण हुने मृत्युभन्दा बढी रहेको उल्लेख छ। धूमपान, भोक र प्राकृतिक प्रकोपका कारण हुने मृत्युभन्दा प्रदूषणका कारण मृत्यु हुनेको संख्या ठूलो छ।
एड्स, टिबी र मलेरियाले दूषित हावा र पानीले जत्तिको मृत्यु निम्त्याउँदैन। औद्योगिकीकरण, शहरीकरण र बढ्दो जनसंख्यासँगै धार्मिक गतिविधिले पनि वातावरणमा हानि पुर्याइरहेको छ। नेपालमा नदीलाई आमाको हैसियत छ तर उनीहरूको अवस्था हेर्दा छोराछोरीहरूले बिर्सेको जस्तो लाग्छ। दिनहुँ ठूलो मात्रामा फोहोर, मलमूत्र र औद्योगिक फोहोर नदी हुँदै समुन्द्रमा पुग्ने गरेको छ। जसले प्रदूषण ह्वात्तै बढाएको छ।
औद्योगिक क्रान्तिपछि मानिसमा प्रकृतिलाई नियन्त्रण गर्ने प्रवृत्ति बढ्यो। सूचना र समृद्धिको आगमनसँगै मानिसले गर्व गर्न थाल्यो र आफू प्रकृतिको अंश होइन, प्रकृति उसका लागि हो भन्ने महसुस गर्न थाल्यो। धर्मको मूल भागमा प्रकृतिलाई सर्वोच्च मानिन्छ तर मानिसले गर्व गरेपछि आफूलाई सर्वोच्च मान्न थाल्यो। धर्मको गलत व्याख्याका कारण प्रकृतिमा हानि भइरहेको छ। मूर्तिहरू आदिम प्रकृतिका भए नदीमा मूर्ति विसर्जनमा कुनै समस्या छैन।
आदिम मूर्ति विसर्जन गर्दा नदीको पानी प्रदूषित हुँदैन तर राम्रो र बलियो बनाउने नाममा सिसा, रसायन, रंग र प्लास्टर अफ पेरिसबाट मूर्ति बनाउन थालेपछि प्रदूषणको चिन्ता बढेको छ। यी प्रदूषकहरूबाट बनाइएका मूर्तिहरू हाम्रो विश्वासमा थिएनन्। यो पनि तथ्य हो कि पहिले मूर्तिहरू थोरै मात्रामा विसर्जन गरिन्थ्यो। तर अहिले बजार, अर्थतन्त्र र देखावटीका कारण मानिस धर्मको जराबाट टाढा सरेका छन्, जसको परिणाम नदी प्रदूषणका रूपमा देखापरेको छ।
वास्तवमा हामीले धर्म र आस्थाका नाममा वातावरणलाई जुन हानि पु¥याइरहेका छौँ, त्यसले हामीलाई दीर्घकालीनरूपमा नोक्सान गरिरहेको छ। प्रकृति वा आफूलाई हानि पु¥याउनु कुनै धार्मिक कार्य होइन, यसलाई अधार्मिक भनिन्छ।
आज वातावरण विनाश भइरहेको भए पनि हामीलाई वातावरणप्रति सचेत गराउन धर्मले महत्वपूर्ण भूमिका खेलेको छ। वातावरणप्रति मानिसको व्यवहार धर्मद्वारा निर्देशित हुन्छ र यसले मानिसमा गहिरो प्रभाव पार्छ। त्यसो भए के यो मान्न सकिन्छ कि धार्मिक हुनु भनेको वातावरणप्रति संवेदनशील हुनु पनि हो ? के भगवानमा विश्वास गर्नु भनेको जनावर र वातावरणको कल्याणबारे सोच्नु पनि हो ? यो पनि सत्य हो कि धेरै धर्मले संसार नश्वर छ भनेर बताउँछन्। यसले पृथ्वीको शोषणलाई पनि बलियो बनाउँछ। यद्यपि जैन जस्ता केही धर्मले करुणामा जोड दिएका छन् र जनावरलाई मार्न निषेध गर्छन्, मानव व्यवहारको विज्ञानले के भन्छ?
धेरै धार्मिक क्रियाकलापले वातावरणमा हानि पुर्याउने गरेको पाइएको छ। तर के वातावरण बचाउने बाटो धर्मबाट जान्छ ? यो प्रश्न हो किनभने धार्मिक नेताहरूले अब जलवायु परिवर्तन र ग्लोबल वार्मिङको अवधारणालाई वातावरणका लागि खतराका रूपमा स्वीकार गर्न थालेका छन्। यी धार्मिक नेतामध्ये सबैभन्दा मुखर नाम रोमन क्याथोलिक नेता पोप फ्रान्सिसको रूपमा देखापरेको छ।
उनको अपिलमा, विश्वभरका क्याथोलिक संस्थाहरूले जीवाश्म इन्धनबाट छूटकारा पाउन पहल गरिरहेका छन्। भर्खरै, भारतको क्याथोलिक संगठन क्यारिटास इन्डिया १९ क्याथोलिक संगठनहरूमा सामेल भयो जसले जीवाश्म इन्धनहरू त्याग्ने निर्णय गरेको छ।
ग्लोबल क्याथोलिक क्लाइमेट मुभमेन्ट (जिसिसिएम) जलवायु परिवर्तन र चरम मौसमी घटनाहरूलाई ध्यानमा राखेर यो कदम चाल्न प्रेरित भएको थियो। सन् २०१६ मा सुरु भएको यस अभियानमा कुल १२२ क्याथोलिक संस्थाले भाग लिएका छन्। क्यारिटास इन्डियाका अध्यक्ष विशप लुमेन मोन्टेरो पनि जलवायु परिवर्तनले भारतमा विशेषगरी गरिब र वञ्चित वर्गको जीविकोपार्जनमा नराम्ररी असर गरेको विश्वास गर्छन्।
प्रकाशित: ११ कार्तिक २०८१ ०७:५९ आइतबार