२३ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

राउटे, कन्सर्ट र समावेशी संविधान

बाइराेडकाे बाटाेमा

राउटे समुदायका २२ वर्षीय युवा वृषबहादुर शाहीको बुधबार राति असामयिक निधन मुलुकका निम्ति ठूलो खबर नहुन सक्छ। हामीले नागरिक दैनिकमा भने यो खबरलाई प्रथम पृष्ठमै छाप्नु आवश्यक ठान्यौँ। असामयिक भनेको शायद यही हो। उमेर, अल्पसंख्यक समुदाय आदिका हिसाबले उनको मृत्यु असमयकै हो।

वृषबहादुरको निधनसँगै राउटे समुदायको जनसंख्या मुलुकमा अब एक सय ३४ मात्र रहेको छ। केही वर्षयता खानपान, रोगव्याधि आदिले राउटेको जनसंख्या घटिरहेको छ। मुलुकबाट एउटा सिंगो जाति लोप हुनु आफैँमा चिन्तालाग्दो विषय हो। मुलुककै जनसंख्या वृद्धि कम भइरहेका बेला राउटे समुदायको संख्या निरन्तर घट्दै गए एकदिन उनीहरू इतिहासको पानमा मात्र सीमित हुनेछन् ।

हाम्रो मुलुकका निम्ति जाति, भाषा, संस्कृति र परम्पराको ठूलो महत्त्व छ। त्यसो नहुँदो हो त संविधान दिवस मूल समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलबाट हाम्रो देश एक सय २३ भाषा बोल्ने एक सय २६ जातजातिको साझा घर भएको बताइरहनुपर्ने थिएन। प्रधानमन्त्रीले संबोधन गरिरहँदा पनि केही जातिको जनसंख्या घटिरहेको थियो भने केही भाषा मर्ने तयारीमा छन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले यसै भनेका होइनन्– ‘बुढा मरै भाषा सरै।’

एकथरी मानिसको मृत्युसँगै तिनका भाषा, संस्कृति र संस्कार पनि मर्दै जान्छन्। अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तासम्म आइपुग्ने गरी तिनलाई संरक्षण गर्दै जान सकेकाहरू मात्र अहिलेसम्म आइपुगेका छन्। आजभन्दा दुई दशकअगाडि नै पाँच सय ३७ भाषा पूर्णतः लोप भइसकेको खबर छापिएको थियो। प्रत्येक १४ दिनमा एउटा भाषा मर्ने ठानिन्छ। जुलाइ २०१२ को नेसनल जियोग्राफिक म्यागेजिनका अनुसार आगामी शताब्दीका आधासम्ममा अहिले बोलिने सात हजारमध्ये आधा भाषाको मृत्यु भइसक्छ।

मुलुकमा संविधान दिवसको अवसरमा आयोजना हुने कन्सर्टको तयारी भइरहेकै बेला वृषबहादुरले अन्तिम सास लिएका हुन्। नारायणहिटी राजदरबार संग्रहालय प्रवेशको मूलद्वार बाहिर आयोजना गरिएको कन्सर्ट युवाहरूलाई लक्षित गरी आयोजना गरिएको हो। सुगममा रहेका वा अन्य जातजातिका युवा भएका भए शायदै वृषबहादुरको निधन हुन्थ्यो। उनी पनि त्यो कन्सर्टमा नाचिरहेका हुन सक्थे।

कुनै भाषाको अन्त्य कसरी हुन्छ भन्ने उदाहरण हाम्रै मुलुकमा हामी आफैँले देखिसकेका छौँ। कुनैबेला म आफैँले कुसुन्डा भाषाका अन्तिम वक्ता राजामामाबारे लेख्ने मौका पाएका थिएँ। सन् २००० मै लेखिएको रहेछ– ‘सधैँका लागि लोप हुन लागेका छन् कुसुन्डा।’

संयोगले त्यतिबेला राष्ट्रिय जनजाति आयोगले कुसुन्डाका बारेमा अध्ययन गर्न काठमाडौँमा राजामामालाई झिकाएको थियो। यो भाषा बोल्न जान्ने राजामामाकी आमा मात्र एकजना बाँकी थिइन् त्यो बेला। तिनको पनि निधन भएपछि राजामामा मात्र बाँकी रहे। उनीसँगै कुसुन्डा भाषा सकिन्छ भन्ने चिन्ता अध्ययनमा संलग्न बिके रानाले व्यक्त गरेका थिए। पछि राजामामाको बिहे भएकोसम्म खबर सुनियो। त्यसपछि यो भाषालाई निरन्तरता दिने कोही भए÷नभएको थप अध्ययन भइरहेको छैन।

वृषबहादुर शाहीको मात्र कुरा होइन यो। एउटा सिंगो इतिहास मर्ने वा एउटा जाति नै यो संसारबाट लुप्त भएर जाने अवस्थाको परिकल्पना सहज छैन। आफू र आफ्नो जातिको मात्र उत्थानको कुरा गर्ने हो भने बेग्लै हो। तर मानिस आफैँ कति खतरनाक भएर गएको छ भने ऊ आफूबाट अरूलाई सिध्याउन उन्मुख छ। मानिसकै एउटा जातिले अर्को जातिको निरन्तरता खोजिरहेको हुँदैन भने अरू जीवजन्तु, पशुपन्छी, चराचर जगत्को के कुरा भयो र ? मानिस आफैँ नभए पनि यो संसार चल्छ तर मानिस मात्र भए यो चल्दैन।

त्यसकारण पनि कुनै एउटा जाति, भाषा, संस्कृतिको अन्त्य हुँदा हामीले उपलब्धि हासिल गरिरहेका हुँदैनौँ। सबैलाई बचाउनतिर ध्यान पुग्नुपर्ने रहेछ। त्यतिकै हामीलाई सिकाइएको होइन– वसुधैव कुटुम्बकम्।

हामीकहाँ पनि कैयन् भाषाले विगतमा आफूलाई जोगाउन सकेनन्। पञ्चायतका बेलामा भाषाभाषीमाथि दमन भएको भोग्नेहरू अहिले पनि छन्। नेपाल भाषाले आफूलाई जोगाउन निकै कठिन भएको थियो त्यो बेला। तामाङ समुदाय राजधानी उपत्यकाको वरिपरि बसेर पनि परित्यक्त जस्तो अवस्थामा रहेकै हुन्।

मुलुकमा यतिबेला समावेशी चरित्रको संविधान छ। त्यसमा पनि असन्तुष्ट हुन पाइने अधिकार सुनिश्चित छ। कम्तीमा यहाँ सबैलाई स्वीकार गरिएको अवस्था छ। ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ भन्न सक्ने अवस्थामा पुगेका छौँ। यदाकदा समावेशी पक्षले पनि कैयन्लाई चित्त दुखाइ भइरहेको छ। समस्या समावेशी भएर हुने होइन क्षमता र गुणका आधारमा अवसर सबैले नपाउँदा मात्र हुने हो।

प्रायः सबैजसो मुलुकले त्यहाँका आदिवासी तथा जनजातिलाई जोगाउन खोजेका देखिन्छ। तर राज्यले तिनलाई दिनुपर्ने सेवा र सुविधाको अभाव नै देखिन्छ। हामीकहाँ पनि राउटे समुदायलाई राज्यले केही सुविधा उपलब्ध गराउन थालेको छ। तर तिनलाई दिएको सहयोगबाट नै तिनको स्वास्थ्य बिग्रिरहेको र अनेकन रोगको शिकार हुने गरेको देखिएको छ। मदिराजन्य पदार्थको सहज प्राप्तिले तिनलाई सिध्याउन लागेको छ। त्यही भएर तिनलाई सिधै नगद नदिएर अन्न र अन्य स्वास्थ्यबद्र्धक खाना ख्वाउनुपर्ने विचार पनि व्यक्त भएका छन्।

उपचारका गराउन नजाने तिनको परम्परालाई सहजीकरण गर्न पनि सकिएको छैन। यसपटक समयमै उपचार गराउन पाएका भए ती युवाको २२ वर्षकै उमेरमा क्षयरोगले निधन हुने थिएन। हाम्रो छेउबाट एउटा युवाको निधन हुनु ठूलो घटना हो। अन्यत्र मुलुकमा हुँदो हो त यसैबाट पाठ सिकेर पनि भविष्यमा त्यो समुदायलाई बचाउन भूमिका खेल्ने काम हुन्थ्यो।

त्यसमाथि पनि राउटे त हाम्रो विगतलाई देखाउने एउटा समुदाय हो। हामीले हिजो शिकारी युगमा कसरी आफूलाई बचाएर ल्यायौँ भन्ने पनि यसले देखाउँछ। खेतीपाती गरेर एक ठाउँमा बस्नुअघिको हाम्रो अवस्था हो यो। तिनले अलि अघिसम्म पैसा छुने गरेका थिएनन्। पछि तिनले पैसा लिन थाले। आफूले जंगलमा काठले बनाएका सामानसँग अनाज साट्ने राउटे अहिले समाजसँग निकै हेलमेल गर्ने भइसकेका छन्। तिनलाई आधुनिक चिकित्सा, स्वास्थ्य र अन्य सुविधा दिँदै र तिनलाई पनि बचाउँदै जाँदा मात्र अहिलेको समावेशी संविधानको सार्थकता हुन्छ।

हाम्रो समाजमा विविध जाति र भाषा हुँदाहुँदै पनि यहाँ वर्गीय खाडल पनि उत्तिकै छ। एकथरीका निम्ति नेपाल आफैँमा स्वर्ग हो। तिनले संसारमा प्राप्त सबै सुविधा उपभोग गरेका छन्। अर्काथरी पनि यहीँ छन्, जसले आधुनिकतासम्म पुग्नै पाएका छैनन्। अझै पनि ती गाँस, बास र कपासका निम्ति संघर्षरत छन्। यी दुईथरीभन्दा पनि पर आफू र आफ्नो समुदायका बारेमा कुरा राख्न नसक्ने अवस्थाका राउटे समुदाय पनि छन्।

अवसर पाउनेले अवसर वञ्चितलाई सहयोग गर्ने हो। अवसरको साझा बाँडफाँट हुन सकेन भने संविधानको ‘समाजवाद उन्मुख’ विशेषताको पनि केही काम छैन। समाजवाद उन्मुख संविधानले वृषबहादुर शाही जस्ता आफ्नो आवाज उठाउन नसक्नेलाई पनि उत्तिकै साथ र संरक्षण गर्नुपर्ने हुन्छ। हाम्रो छेउबाट उनीहरू हराउनु हुँदैन। आजको सूचना प्रविधिको उपलब्धिबाट तिनले पनि आफूलाई मानव सभ्यताको अनुभूति गर्न पाउने अवस्थामा पु¥याउन सक्नुपर्छ। वृषबहादुरको निधनले सिंहदरबारलाई छोयो होला त ?

प्रकाशित: ६ आश्विन २०८१ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App