१ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

सामाजिक विषयमा किन अरूचि?

कुनै पनि विद्यार्थी गणित, विज्ञान प्रविधि वा अन्य कुनै पनि विषयमा दक्ष बन्न सक्छ तर उसमा सामाजिक आचरण, संस्कार र मूल्य नभएमा समाजका लागि आदर्श व्यक्ति बन्न सक्दैन।

यति मात्र होइन, विषयवस्तुगत दक्षताले प्राप्त गरेको सिप समाज र समुदायका लागि उपयोगी बन्न सक्दैन। यस्तो अवस्थामा शिक्षित भए पनि ऊ सामाजिक मूल्यविहीन, अराजक, असहिष्णु एवं स्वार्थी मात्र बन्न सक्छ।

व्यक्तिलाई प्राविधिक, पेसागत तथा विषयगत सिपका अतिरिक्त जीवन जिउन सिकाउने सिपलाई सफ्ट स्किल वा जीवनोपयोगी सिप भनिएको छ। जीवनोपयोगी सिपले व्यक्तिलाई बढीभन्दा बढी सामाजिकीकरण गर्न प्रेरित गर्छ। अन्तरक्रिया, सम्मान, सहिष्णुता र माया ममता जस्ता सामाजिकीकरणका आधारभूत गुणहरू विद्यार्थीले मूल पाठ्यवस्तुका साथसाथै समावेश गरिएको जीवनोपयोगी सिपमूलक क्रियाकलापबाट आर्जन गर्न सक्छ।

समाज विज्ञानसँग सम्बन्ध राख्ने समाज विज्ञानका विविध विधा तथा भाषा र साहित्यका विषयबाट यस प्रकारका सिपहरूलाई सबलीकरण गर्न सकिन्छ। मानव मूल्यसँग सम्बन्ध राख्ने सिपले स्वस्थ व्यक्तित्व निर्माण, सामाजिकीकरण र सामूहिक भावनालाई प्रवर्तन गर्ने भएकाले व्यक्ति आफ्नो समाजसँग परिचित हुनुपर्छ भन्ने मानिन्छ।

शिक्षाले व्यक्तिलाई समाजमा समायोजन हुनका लागि सहयोग पु¥याउनुपर्छ। यसका साथसाथै विश्वका विभिन्न क्षेत्रमा विकसित भएका आधुनिक प्रविधिहरूसँग अभ्यस्त भई समाज रूपान्तरणका लागि सहयोग पु¥याउनु पनि शिक्षाको उद्देश्य हो। यस अर्थमा शिक्षा व्यक्तिविशेषले प्राप्त गर्ने कुरा भए पनि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा समाज र सामाजिक एकाइहरूसँग जोडिएको हुन्छ।

सामाजिक एकाइकै रूपमा रहेको घर÷परिवार, टोल समिति एवं औपचारिक÷अनौपचारिक सामाजिक सङ्घ÷संस्थाहरूसँगको अन्तरक्रियाबाट नै व्यक्तिको व्यक्तित्व विकास हुन्छ। व्यक्तित्वको महŒवपूर्ण पाटो जीवनोपयोगी सिप यिनै परिघटनाहरूबाट विकसित हुने भएकाले विद्यालयस्तरीय पाठ्यक्रममा सामाजिक विषय समावेश गरिएको छ।

विद्यालयस्तरीय पाठ्यक्रमले विद्यार्थीलाई समाजशास्त्रका बारेमा दक्ष बनाउन खोजेको होइन। विद्यालयस्तरीय पाठ्यक्रमले त विद्यार्थी बाँचिरहेको समाज, सामाजिक एकाइ, क्रिया÷प्रतिक्रियाहरूको वर्णन र विश्लेषण गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्य राखेको छ।

सैद्धान्तिक रूपमा समाज बुझेपछि व्यक्तिले त्यसअनुकूलका गुणहरू आफूमा विकास गरी अन्तरक्रिया गर्न सक्नुपर्छ। समाजसँग परिचित भई सामाजिक मूल्यमा आफूलाई समाहित गर्नुलाई नै सामाजिक विषय शिक्षणगत सक्षमता मान्न सकिन्छ।

शिक्षाले ज्ञान, सिप, अभिवृद्धि, तत्परता र मूल्य बोध गराउन सक्नुपर्छ। जुनसुकै विषय वा क्षेत्रको अध्ययन गरे पनि आधारभूतरूपमा उपयुक्त पाँचवटा पक्षको विकास भएकै हुनुपर्छ।

विद्यालयस्तरीय पाठ्यक्रमलाई सरसरी हेर्दा अङ्ग्रेजी, नेपाली र सामाजिक विषयले उपयुक्त पाँचै तŒवलाई केन्द्रमा राख्नुपर्छ। विषयवस्तु र क्षेत्रगत वितरणलाई हेर्दा मूलतः सामाजिक विषयले एक्काइसौँ शताब्दीले अपेक्षा गरेका जीवनोपयोगी सिपहरू सिकाउनुपर्छ। यसैले सामाजिक विषयमा कोरा सिद्धान्तको अध्यापनलाई जोड दिइँदैन। बरु विद्यालय वरिपरिको समाज र यसको सङ्गठन र सङ्घटनलाई सरल रूपमा बुझ्ने प्रयास गरिन्छ। यसका लागि विद्यालय र घरपरिवारसँग सम्बन्धित क्रियाकलापहरूमा विद्यार्थीलाई बढीभन्दा बढी सहभागी गराइन्छ। समाजका औपचारिक र अनौपचारिक संस्थाहरूसँग अन्तरक्रिया गर्ने किसिमका परियोजना कार्य गर्न निर्देश गरिन्छ।

विद्यार्थीमा दया, माया, सहयोग र सहानुभूतिको भाव विकास गर्नका लागि प्रत्यक्षरूपमा सामाजिक क्रियाकलापहरूमा संलग्न गराइ उपयुक्त किसिमले मार्गदर्शन गर्ने उद्देश्य सामाजिक शिक्षाले राखेको छ। यसैले सामाजिक शिक्षा पाठ्यक्रम र पाठ्यक्रमअनुरूप लेखिएका नमुना पाठ्यपुस्तकहरू मार्गदर्शक मात्र हुन्। यिनलाई वास्तविकरूपमा पूर्णता दिनका लागि समाज बुझेको र सामाजिक मर्यादाअनुकूलको आचरण गर्न सक्ने शिक्षकको भूमिका महŒवपूर्ण हुन्छ।

 सहनशील, सहयोगी, सदाचारी र समसामयिक घटनालाई समाजपरक दृष्टिकोणबाट विश्लेषण गर्न सक्ने शिक्षकले मात्र सामाजिक विषयको मूल आशयअनुकूलका सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्छ।

यस अर्थमा किताबमा लेखिएका तथ्यहरूको अध्ययन गरी परीक्षामा अङ्क प्राप्त गर्दैमा सामाजिक विषय अध्ययन गर्नुको उद्देश्य पूरा हुन सक्दैन। हरेक क्रियाकलापलाई समाजसँग जोडेर नमुनाका रूपमा लिएको वा विद्यालय नजिकको समाजमा रहेका संस्कार, संस्कृति, आचरण, प्रथा, परम्परा एवं सामाजिक विश्वास र अन्य समाजका यस्तै परम्परामा कति समानता छन् वा के कस्ता विशेषताहरू रहेका छन् भन्ने कुराको पहिचान गरी वर्णन, विश्लेषण र तुलना गर्ने एवं समालोचनात्मक सिप विकास गर्ने क्रियाकलापहरू सञ्चालन गरेर पाठ्यक्रमको उद्देश्य पूरा गर्न सकिन्छ। ४०–४५ मिनेटको कक्षामा आफूले जानेका कुरा र पाठ्यपुस्तकमा लेखिएका विषयवस्तुहरू जस्ताको तस्तै विद्यार्थीसामु प्रस्तुत गरेर शिक्षकको दायित्व पूरा हुन सक्दैन।

अन्य विषयमा विषयवस्तुगत जानकारी र तथ्य प्राप्त गर्नका लागि धेरै हदसम्म पाठ्यपुस्तकले सहयोग गरेको हुन्छ तर सामाजिक विषयको सन्दर्भमा पाठ्यपुस्तकमा उल्लेख भएका वा समाजमा रहेका कुनै पनि घटनाहरूको प्रकार्य र सामाजिक एकतामा खेलेको भूमिका विद्यार्थीले प्रत्यक्ष अनुभव गर्न नसके खोक्रो रटानले कुनै अर्थ राख्न सक्दैन। यसका लागि सामाजिक गुणले सम्पन्न सहजकर्ता आवश्यक पर्छ। अध्ययनशील, सामाजिक संरचना बुझेको, मिलनसार, सहिष्णु र सामाजिक क्रियाकलापमा रमाउन सक्ने व्यक्ति सामाजिक विषय सहजीकरण गर्ने उपयुक्त पात्र हो। उसमा समाज मनोविज्ञान, समाजको उत्पत्ति र विकाससम्बन्धी सैद्धान्तिक अवधारणा एवं मानव विकाससम्बन्धी वैज्ञानिक दृष्टिकोण हुनुपर्छ।  

प्रकाशित: २५ भाद्र २०८१ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App