२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
विचार

नेपाली छोरीलाई कोरियाको बधाई !

सेप्टेम्बर ४ तारिखलाई गणतन्त्र कोरियाले एक विशेष दिनका रूपमा लिने गरेको छ। यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलका रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसका रूपमा मनाइन्छ। एक साताअघि अगस्ट ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनका रूपमा लिन सकिन्छ। नेपालले ओलम्पिक खेल तथा पारालिम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलो पटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ। नेपाली छोरी पलेशा गोवर्धनले तेक्वान्दोमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ।

यही जुलाइ २३ तारिखका दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो संघका अध्यक्षलगायतका पदाधिकारीसहित पलेशासँग भेट्ने अवसर मिलेको थियो। १० वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी नेपाली छोरी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई छ। वार्तालापका क्रममा, मैले पलेशालाई एक शान्त, निर्भिक तथा आत्मविश्वासी महिला तेक्वान्दो खेलाडीका रूपमा लिएको थिएँ। पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई पेरिसबाट नेपाली जनतालाई सुखद समाचार दिलाउन तथा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न हौसला प्रदान गरेको थिएँ।

आज नेपालका तर्फबाट विशेष क्षमताकी महिला खेलाडीको तर्फबाट देशको शिर उच्च राख्न सफल भएको क्षणलाई पारालिम्पिक इतिहासले अवश्य न्याय गर्नेछ भन्ने लागेको छ। मलाई यति धेरै खुसी मिलेको छ भने सम्पूर्ण नेपाली जनतालाई झनै खुसी दिलाएको छ भन्ने लाग्छ। बधाई खेलाडी पलेसा गोवर्धनलाई अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो संघ तथा सम्पूर्ण नेपाली दाजुभाइ÷दिदीबहिनीलाई!

नेपाल तेक्वान्दो संघका अनुसार नेपालमा तेक्वान्दो खेल्न आधिकारिकरूपमा दर्ता भएका खेलाडीको संख्या झन्डै एक लाख ५० हजार छ। तीमध्ये महिला खेलाडीको संख्या करिब २० प्रतिशत रहेको अनुमान छ। नेपालमा तेक्वान्दो खेलाडीको संख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन्। सन् १९८८ सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए जुन विषय आजका दिनमा पनि सुखद क्षणका रूपमा लिइन्छ। नेपालमा तेक्वान्दो खेलको सुरुवात प्रहरी–सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणका माध्यमबाट भएको जानकारी रहेको छ । तर आज यस खेलको महŒव आमजनतामाझ प्रचार भएको छ।

सन् १९८३ मा औपचारिक रूपमा नेपाल तेक्वान्दो संघको स्थापनापश्चात खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ। नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेल प्रवद्र्धनका लागि हरेक दुई वर्षमा एम्बासडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ। गत सेप्टेम्बरमा करिब १८ सय तेक्वान्दो खेलाडीको सहभागितामा एम्बासडर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो। मलाई त्यस क्षणमा साना नानी–बाबुहरू तथा युवाको तेक्वान्दोप्रतिको उत्साह तथा प्रेम देखेर हर्षित भएको क्षण सबैसामु साट्ने अवसर मिल्दा खुसी छु। नेपालमा तेक्वान्दो खेल प्रशिक्षकको भूमिकामा एकजना कोरियाली प्रशिक्षक ख्वन यङदा सन् १९९८ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागन्जमा तेक्वान्दो प्रशिक्षकको भूमिकामा रहनुभएको छ।

म तेक्वान्दोबारे सारांशमा जानकारी गराउन चाहन्छु। कोरियाली युद्धपश्चात परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थितरूपमा अभ्यास गर्न थालियो । तेक्वान्दो खेलको प्रकृति युद्धकलासँग पनि जोडिएको हुँदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैँलाई सुरक्षित राख्नु रहेको छ। अन्तिम लक्ष्य थप गहन प्रशिक्षणमार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मकरूपमा प्रदर्शन गर्नु हो। तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यासमार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो र कालान्तरमा र यस खेलको माध्यमबाट विश्वसामु खेलाडी तथा देशको परिचय गराउनु नै हो भन्ने लाग्छ। तेक्वान्दोको भावनामा ‘आफूमाथि विजय गरी’ विश्वलाई सकारात्मक सन्देश फैलाऔं’ भन्ने मान्यता समावेश छन्।

तेक्वान्दोका यी मूल्य–मान्यता तथा गुण तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापनपश्चात खेलाडीले एकअर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल सुरु हुनुअगाडि र समापनपश्चात गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगतदेखि रहँदै आएको आपसी सम्मान र सद्भावको प्रतीकका रूपमा रहेको छ। कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनुको कारणका रूपमा शारीरिक, मानसिक रूपमा तन्दुरुस्त बनाउनु, निडरपन विकास गर्नु, शिष्टता, सद्भाव, स्वयंसेवाको भावनालगायत विकास गर्नु पनि रहेको छ। भनेको नमान्ने बच्चाहरू पनि तेक्वान्दो प्रशिक्षणपश्चात अनुशासित भएकोबारे धेरै सुनिन्छ। तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ, पुम्से– जसमा आधारभूत चालहरू समावेश हुन्छन् र अर्को ख्यरुगी रहेको छ जुन तेक्वान्दो अभ्यासकर्ताहरूबीचको प्रतिस्पर्धात्मकरूपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ।

यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधिमण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सिप तथा भावना आदान–प्रदान गर्न तथा प्रदर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यही अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ। ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकामा म अत्यन्त खुसी हुँदै यस सुखद क्षण सम्पूर्ण नेपालीसँग बाँड्न चाहन्छु। कोरियाली संस्कृतिको महŒवपूर्ण हिस्सा बनेको तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिति थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य जारी राख्ने योजना बनाएको छ।

पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ। त्यसैगरी गर्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ। म पलेशालाई प्रशिक्षणका क्रममा उनको मेहनत–परिश्रम, उनले बगाएको पसिना र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्य, साहस, आफूलाई जित्नुपरेको मानसिक शक्तिप्रति मेरो आत्मदेखि सम्मान व्यक्त गर्दछु। नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्बन्धित विभागको समन्वयमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गर्दै जानेछन् भन्ने विश्वास लिएको छु। नेपालका हरेक क्षेत्रमा पलेशा जस्ता व्यक्ति हुनुहुन्छ। उहाँहरू सबैको प्रयासले विश्वसामु नेपालको छवि उच्च गर्नका लागि भूमिका खेल्नेछ भन्ने लागेको छ। कोरिया सरकारले पनि नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रको विकासमा हातेमालो गर्दै जानेछ।

–थेयङ नेपालका लागि गणतन्त्र कोरियाली राजदूत हुन्।

प्रकाशित: १९ भाद्र २०८१ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App