२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

नेपाली राजनीतिमा बिपी प्रभाव

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला एक राष्ट्रवादी, लोकतन्त्रवादी तथा समाजवादी नेता थिए। उनी परिवर्तनका संवाहक एक कुशल संगठनकर्ता मात्र नभएर दूरदर्शी राजनीतिक विचारक पनि थिए। उनकै दूरदर्शी निर्णय र कुशल नेतृत्वका कारण २००७ सालमा जहानियाँ राणाशासन ढलेको थियो। त्यतिबेला बिपीको उमेर नै कति थियो र? केवल ३६ वर्ष।

सम्भवतः नेपाली राजनीति वृत्तमा बिपी सबैभन्दा बढी भावनात्मक बुद्धिमत्ता भएका राजनेता हुन्। बिपी बे्रनमा विद्यमान यही मानसिक गुणका कारण नै नेपाली राजनीतिमा बिपी इफेक्ट्स अहिले पनि उत्तिकै प्रचण्ड र जाज्वल्यवान् छ।  इतिहास साक्षी छ, नेपाली राजनीतिमा थुप्रै नेताहरू आए, गए। अधिकांश नेताहरूको त नाम पनि बिर्सिसके नेपाली नागरिकहरूले। तर बिपी कोराइला भने नेपाली राजनीतिमा अहिले पनि जीवित छन्, भोलि पनि जीवित रहने छन्। यस बिपी इफेक्ट्सको एउटै कारण हो-बिपीको भावनात्मक बुद्धिमत्ता तथा देश र जनताप्रति उनको अमूल्य योगदान।

बिपी मस्तिष्कमा आफ्नो तथा अरूको मनस्थितिको पहिचान गर्न सक्ने, प्रतिकूल परिस्थितिमा पनि होस नछोड्ने, आफूलाई उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धका भावनाहरूमा तालमेल गर्नसक्ने खुबी थियो। यही मानसिक गुण नै भावनात्मक बुद्धिमत्ता हो। नेपाली राजनीति वृत्तमा अहिले भावनात्मक बुद्धिमत्ता निकै कम भएका थुप्रै नेताहरू छन्। तर उनीहरूलाई मन्त्री तथा प्रधानमन्त्रीको कुर्सी चाहिएको छ। त्यसैले पनि पाइला पाइलामा समस्या र चुनौतीहरू थपिएका छन्।

बिपीले आफ्नो पहिलो औपचारिक भाषणमा भावनात्मक बुद्धिमत्ताका साथ भनेका थिए, ‘जनताको राज्य स्थापित गर्नलाई जनताकै सहायता चाहिन्छ। कुनै वर्ग वा सम्प्रदायसँग हाम्रो शत्रुता कदापि छैन। नेपालमा बस्ने वा नेपालीसित कुनै प्रकारका सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन्। सम्पूर्ण देशको लक्ष्य र विकास नै हाम्रो अभीष्ट लक्ष्य हो। सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयमा नै हामी प्रयत्नशील बनेका छौं ।’  

बिपीको नजरमा राष्ट्र निर्माणमा प्रजातन्त्रको भूमिका निर्विकल्प र सधैं सर्वोपरि थियो। यस कुरालाई प्रकाश पार्दै बिपीले भनेका नै छन्, ‘प्रजातन्त्रबिना देश रहँदैन। प्रजातन्त्र नभईकन वर्तमान युगमा राष्ट्रियता सम्भव छैन। विकास पनि सम्भव छैन। जस्तै राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तीनै एकअर्कामा आश्रित छन्।

राष्ट्र निर्माणका सन्दर्भमा बिपीले भनेका छन्, एकीकरणपछि नेपालले एउटा आधुनिक भूगोल निर्धारित ग¥यो, एउटा देश गठन भयो, यस निर्धारित सिमानामा बस्ने अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश, नेपालको उदय त भयो तर बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिहरूको साझा फूलबारी हुन सकेन, एक राष्ट्र बन्न सकेन। शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन।

फ्रेम बनाइयो तर तस्बिर राखिएन, भाँडो कुदियो तर त्यसभित्र राखिने तत्त्व राखिएन। तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ सालपछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरुभूमिको युग भने पनि हुन्छ ।

बिपीको विचार प्रस्ट थियो। प्रजातान्त्रिक शासन व्यवस्थाले नै नेपाललाई सबै जातजातिहरूको फूलबारी बनाउने उनको दाबी थियो। त्यसैले त बिपी आफ्नो अन्तिम साससम्म नेपालमा प्रजातन्त्र स्थापना गर्ने लडाइँ लडिरहे, कहिल्यै थाकेनन्। कहिल्यै हारेनन्। उनका लागि प्रजातन्त्र निर्विकल्प थियो।

बिपीले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन्। हुन पनि हो, आर्थिक विकासबिना न त राष्ट्रियता मजबुत हुन्छ न त प्रजातन्त्र दिगो हुन्छ त्यो किनभने कुनै पनि नागरिक भोको पेट र नांगो आङले राष्ट्रियताको माला जपेर बस्न सक्दैन।

बिपीको गहन मनोविज्ञानलाई बुझ्ने र आत्मसात गर्ने हैसियत अहिलेका नेताहरू देखिँदैन। कुनै पनि समस्याको जरो पत्ता नलगाईकन त्यसको स्थायी समाधान निक्लिँदैन। प्रजातन्त्र आयो। लोकतन्त्र आयो। गणतन्त्र आयो। संघीयता पनि आयो। तर देशको समस्या भने जस्ताको तस्तै छ, राष्ट्रियता झनै कमजोर भएर गएको छ। राष्ट्रियताको मनोविज्ञानलाई नबुझी देशको आर्थिक विकासतिर नलाग्ने हो भने राष्ट्रपति पद्धति तथा प्रत्यक्ष प्रधानमन्त्री जे जस्तो व्यवस्था भए पनि केही हुनेवाला छैन।

बिपीले भनेका छन्, राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो। राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्त्व र अन्तिम तत्त्व पनि जनता हो। राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो। सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो।

राष्ट्रियताको यस परिभाषामा तीन तत्त्व सामेल छन्-जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता। अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्त्वहरूः जनता, तिनका अगाडि उपस्थित भएका समस्याहरू, ती समस्याहरूको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव गरेको एकताका भावना।

यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण  भएर जान्छ। २०३३ सालमा बिपी राष्ट्र र राष्ट्रियताका लागि नै आफ्नो ज्यान हत्केलामा राखेर नेपाल फर्किएका थिए। यो राष्ट्र र राष्ट्रियतालाई कमजोर हुन नदिन बिपीले चालेको एक ऐतिहासिक र साहसिक कदम थियो। त्यसबखत बिपीले भनेका थिएः हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने।

अहिले पनि नेपाली कांग्रेसको मात्र होइन, सम्पूर्ण राजनीतिक दलहरूको काँधमा दोहोरी जिम्मेवारी नै आइपरेको छ। पहिलो हो, द्रूत आर्थिक विकासतिर अघि बढ्ने। दोस्रो हो, लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाई देशको अस्तित्व रक्षा गर्ने। अतः बिपीले भनेझैं लोकतन्त्र र देशको अस्तित्वको रक्षा गर्न अब हरेक पार्टीका राष्ट्रवादी नेताहरू एक ढिक्का भएर आआफ्नो पार्टीमा हस्तक्षेप गर्नुको कुनै विकल्प छैन।  

प्रकाशित: ६ श्रावण २०८१ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App