नेपाली जनताको विकासको उत्कट चाह भनौँ वा हुटहुटी, दशकौँदेखि मृगमरीचिका रहन गएको छ। मुलुकमा क्रान्ति/आन्दोलन भए, नेता/नेतृत्व उदाए, फेरिए अझ भनौँ लोकतन्त्र प्राप्तिको दुई दशक पुग्न लाग्दा पनि विकासमा एक डेग दरिलो पाइला चाल्नै नसकेको जन अनुभूति छ। ‘यस मामलामा समाज लाचार र विवश किन छ? या नेतृत्व अक्षम किन निक्लँदै गए?’ जस्ता यक्ष सवालहरूमा वास्तविक मन्थन ‘कुरा चल्दैछ, बिस्कुन सुक्दैछ’ परिपाटीमै सीमित देखिन्छ।
पटकपटक राजनीतिक पार्टीमा आएको विचलन/विघटन तथा सार्वजनिक संस्थाभित्रको अनियमितता जस्ता आचरण र व्यवहारले सामाजिक विश्वासमा नराम्रो क्षय गराएको छ। अनि दैनन्दिनका अधिकांश खबर नकारात्मक सूचना/घटनाले भरिएका हुन्छन् जसले सकारात्मक मनस्थितिमा लैजान मुस्किल पार्छ।
अहिलेका युवा पुस्ताको विश्वास बुढ्यौली नेतृत्वमाथि ठ्याम्मै छैन भन्दा हुन्छ। क्रान्ति/आन्दोलनका नायक मुलुक विकासलाई बुर्लुक्क उफार्न नालायक साबित भएको देखेका छन्, भोगेका छन्।
अहिलेको भयाबह विदेश मोह यसैको एक कडी हो। अविश्वास र अक्षमता जति झ्याङ्गिँदै जान्छ उति नै अविकासले ङ्याक्दै लाने गर्छ। सही मनस्थितिले सही नेतृत्व छानेमा मात्र विकासको मार्ग प्रशस्त हुन पुग्छ। अन्यथा मुलुक विकासले बाटो बिराउँछ। सामाजिक तथा राजनीतिक तत्वहरूले व्यक्तिको कस्तो मनोवृत्ति हुने हो भन्ने ढाँचा प्रदान गर्दछ।
एकपटक यात्राको दौरान सिङ्गापुरको ट्रेनभित्र टिफिनमा बोकेको दिवा खाना खान खोज्दा त्यहीँका एक नागरिकले सो कार्य वर्जित भएको (भारतमा मजाले मिल्ने) र त्यसका लागि जरिवाना तिर्नुपर्ने नियम रहेको एक भारतीय साथीलाई विनम्र अनुरोधसाथ जानकारी गराएको मेरा एक मित्रले सगर्व सुनाएका थिए।
यस्तै यस्तैखाले मसिना मसिना काम कुराहरू हरेक नागरिक आफू जागरुक भएकैले हुनुपर्छ, सो देश संसारकै सफा सुग्घर शहरको अग्रपंक्तिमा समेत उभिन सफल छ।महात्मा गान्धी भन्ने गर्थे–पृथ्वीले हरेक मानवको आवश्यकता पूर्ति गरी सन्तुष्टि दिलाउने अनगिन्ती मार्गहरू प्रशस्त गरेको छ तर लोभलालच गरी सबै सोहोर्नुचाहिँ जायज हुन्न। भनाइको तात्पर्य अतिशय लोभले अन्ततोगत्वा पृथ्वीका स्रोतहरूमा चोट पर्नाले मानव जीवन सङ्कटमा धकेलिँदै गएको छ। अन्ततः यो मनोवृत्ति मानवका लागि मृत्यु मार्गको खोदाइ हुन सक्छ।
सामाजिक अन्तरसम्बन्ध, सहकारिता र सहयोगले विश्वासको जग हाल्छ। विकासशील देशहरूलाई विकासमा फड्को हान्न एक/अर्काप्रतिको अविश्वासले भनौँ सामाजिक अविश्वासले नराम्ररी गाँजेको छ। विश्वासले वृद्धिलाई उचाल्छ। अहिले सरकार, सरकारी निकाय र पञ्जीकृत व्यावसायिक निकायहरूबीच अविश्वासको गहिरो खाडल निर्मित छ।
सरकार जनसेवामा गरेको खर्च देखाएरभन्दा अधिकाधिक कर असुलेर सफलता देखाउँछ भने अर्कोतिर निजी निकाय जनतासँग चर्को मूल्य असुल्ने तर करका छिद्रहरूबाट न्यून कर तथा जरिवाना तिरेर सफलताको मापन गर्छन्।
संसारकै धनाढ्य सूचीमा रहेको नेपाली नागरिकले नेपालमा सञ्चालित व्यवसायको कर तिरेको अग्रसूचीमा नपर्नु/नदेखिनुले एक प्रतीकात्मक व्यावसायिक मनोवृत्तिलाई उजागर गर्दछ। ट्राफिक लाइनको पालनामा अटेर गर्नु/आँखा छल्न खोज्नु, हस्पिटलको पुर्जा काट्ने बेला होस् वा पेट्रोल भर्ने लाम होस्, अन्य ठाउँमा पनि पंक्तिबद्ध लाइन मिचेर/उछिनेर जान खोज्ने प्रवृत्ति गलत मनोवृत्तिकै उपज हुन्। साथै घुस नखुवाइ, भनसुन नगरी सरकारी काम निकाल्न सकिन्न, प्रमोसन हुन्न भन्ने गलत मनोवृत्ति व्यक्तिका रोम रोम तथा समाजका अङ्ग अङ्गमा असाध्य रोगले झैँ दशकौँदेखि थकित र गलित तुल्याएको छ।
पहिलो र दोस्रो विश्वयुद्धको त्रासदी भोगेका र उपनिवेशकालको शोषण र दमन झेलेका मुलुकको विकासको गति तीव्र र दिगो देखिन्छ। हाम्रो मुलुकले यी दुवै परिस्थिति देखेको तर त्यसले निम्त्याएको दुःख दर्दलाई प्रत्यक्ष सामना गर्नु नपरेकाले विकासमा लोसेपन देखिएको यदाकदा सुन्न पाइन्छ। आन्तरिक (हिंसात्मक) द्वन्द्व र कुलिन वर्ग (राणा र राजा) को अत्याचारभन्दा निश्चय नै ती अझ बढी आततायी/विदीर्ण भएको ऐतिहासिक दस्ताबेजहरूमा उल्लिखित छन्।
इतिहासमा निर्ममता भोगेका मुलुकले राष्ट्रियताले ओतप्रोत हुँदै अपनत्वलाई महत्त्व दिँदै विकासमा फड्को हानेको पाइन्छ। राष्ट्रिय विपत्ति र संकटमा मुलुकवासीहरू जसरी सहयोग र सहकार्यको भावनाले एक ढिक्का हुन्छन् त्यसरी नै तीव्रतर विकासको लागि हातेमालो जरुरी हुन्छ।
मुलुकको भलो खातिर जनताले काममार्फत योगदान गर्नु प्रमुख दायित्वमा पर्दछ। अपनत्व र सामूहिक कार्य भावनाले राष्ट्रलाई दिशा प्रदान गर्दछ। एक अर्काको सम्मान गर्नु, अधिकारप्रति संवेदनशील हुनु, सहनशीलता प्रदर्शन गर्नु तथा कारोबारमा इमान्दारिता प्रदर्शित गर्ने जस्ता आचरणले सो कार्य स्थानको उत्पादकत्व बढनुका साथै सकारात्मक कार्य नैतिकताको वातावरण सिर्जना हुन पुग्छ। जुन समाज/राष्ट्र चारैतिर बेइमान, स्वार्थी, जाली, असहनशील जमातले ग्रस्त हुन्छ त्यहाँ शान्ति र उन्नति/सुखले घरजम गर्न पाउँदैन।
अझ भनौँ, जनउत्तरदायी वहन र सेवाप्रवाहमा खरो नउत्रिकन मुलुक विकास नारामा सीमित हुन पुग्छ। राजनीतिक तथा सामाजिक मनोवृत्तिमा सुधार नगरी विकास/अभिवृद्धिको आधार तयार पार्छु भन्नु दिउँसै नाङ्गो आँखाले तारा खोज्ने जस्तो व्यर्थको प्रयत्न सिवाय केही हुँदैन।
मुलुकमा लोकतन्त्रको गतिलो भाष्यकारको नितान्त अभाव छ। सो पूर्तिका लागि चरित्र निर्माण एक सामान्य नागरिकका लागि व्यक्तिगत हुन सक्ला तर राष्ट्रको सवालमा प्रधानमन्त्री भएको/हुनेवाला व्यक्ति वैश्विक नजरमा दरोखरो हुनै पर्छ।
एक मानक भएर निस्कनै पर्छ। मनोवृत्ति प्रशिक्षित गर्न सकिन्छ। यसका लागि केही समय र प्रयास चाहिन्छ। योगदान र अभ्यास आवश्यक हुन्छ। चुनौतीभित्र अवसर देख्न सक्ने मनस्थितिको विकास, साथीभाई सरोकारवालाहरूसँग समानुभूति गर्न सक्ने, प्रभावकारी सञ्चारको अभ्यास, अरूको संस्कारप्रति आफ्नो विश्वास र मान्यताहरू नलाद्ने भनौँ विविध संस्कार र पन्थहरूलाई खुला हृदयले हेर्ने, नरम नजरिया राख्ने तथा निर्माण गर्ने जस्ता तालिम र अभ्यासले मनोवृत्तिमा सुधार गर्न सकिन्छ, निखारता ल्याउन सकिन्छ।
सामाजिक मनोवृत्तिले नै आर्थिक विकासको जग बसाउँछ, फैलाउँछ, उठाउँछ। जनस्तरमा सकारात्मक मनोवृत्तिहरू जस्तै– सकारात्मक कार्य नैतिकता, समयको पाबन्दी, योगदान, इमान्दारिता, सामूहिक कार्य भावनाहरूको मनन बेगर विकासको कार्यदिशा जेलिरहन्छ। भनौँ ठोस निष्कर्षमा पुग्न सक्दैन। ‘विकसित राष्ट्र त्यो होइन जहाँ गरिबसँग कार होस्, त्यो यस्तो स्थान हो जहाँ धनीले सार्वजनिक यातायात चढ्ने गर्छन्’ एक तत्कालीन विदेशी मेयरले यसरी प्रष्ट्याएका थिए। शायद यो मनोवृत्तिले विकासलाई असल मानेमा टुङ्गोमा पुर्याउँछ।
प्रकाशित: १८ असार २०८१ ०७:१६ मंगलबार