१६ असार २०८१ आइतबार
image/svg+xml
विचार

भयावह विदेशमोह

भर्खरै एसइई दिएर बसेको विद्यार्थीलाई आफन्तले सोधे–’अब के पढ्ने विचार गरेका छौ ?’ प्रश्न भुइँमा खस्न नपाउँदै भनौँ, भावै नबुझी झटपट, उत्साहित र गर्वसाथ उत्तर दिए– ‘म त विदेश जाने हो।’ लाग्थ्यो, एक झट्कामै जीवनले ठूलै फड्को मार्नेवाला छ। त्यसैगरी १२ कक्षाको परीक्षाको तयारी गर्दै गरेको विद्यार्थीलाई ’भविष्यमा के बन्ने विचार गरेका छौँ त ?’ भनी सोध्दा निमेषभरमै एकै सासमा ‘म त अमेरिका जाने हो’ भन्ने उत्तर दिइहाले। यी दुई भिन्न तहका विद्यार्थीलाई सोधेको प्रतिनिधिमूलक जिज्ञासु प्रश्नले आमयुवाको विदेश मोहको मानसिकता दर्शाउँछ भने अर्कोतिर देशको भयाबह अवस्था इङ्गित गर्दछ।

नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।

अहिलेका र पहिलेका विद्यार्थीबीच तुलना गर्दा अहिलेका विद्यार्थी पढ्दै अनि पैसा पनि कमाउँदै आफ्ना इच्छा आकांक्षा परिपूर्ति गर्न चाहन्छन् र अभिभावकमाथि खासगरी आर्थिकरूपमा निर्भर रहन चाहँदैनन्। पढ्दै गर्दा पार्ट टाइम कामको अवसर नेपालमा भइदिए विद्यार्थीलाई पढाइ अवधिमै आफ्नो खर्च आफैँ जुटाउने/उठाउने वातावरण मिल्थ्यो। जबकि विदेशमा विद्यार्थीका निमित्त कानुनतः तथा स्वेच्छाअनुरूप विविध ढङ्गका भनौँ आवश्यकताअनुरूप घण्टाको हिसाबले रोजगारी गर्ने अवसर पाइनुका साथै सप्ताहन्त या दैनिक काम घण्टा गणना गरेर पारिश्रमिक दिने/पाइने प्रणाली विकसित तथा प्रचलित छ।

अहिलेको परिवर्तनशील युगमा समयको पदचापअनुरूप परिमार्जित हुन नितान्त जरुरी भइसकेको छ। १२ कक्षा पूरा गरी नेपालमा स्नातक तहको अध्ययन गर्ने चाह राख्ने विद्यार्थीले सोअनुसारको रोजगारी पाउन मुस्किल छ। तसर्थ नेपालमा पनि घण्टाअनुसारको काम तथा पारिश्रमिक पाउन के कस्तो कार्ययोजना बनाउन सकिन्छ सरकारको नीतिनियम बनाउने सरोकारवाला पक्षले समयमै ध्यान पुर्‍याउन सके केही हदसम्म विद्यार्थीलाई नेपालमै रोक्न सकिन्छ। साथै विद्यार्थीलाई रोजगारीको सुनिश्चितता दिलाउन उद्योग स्थापना तथा सञ्चालन गर्न सके विद्यार्थीमाझ विदेश जानुपर्ने बाध्यता अवश्य नै विस्तारै हटेर जानेछ।

नेपालको टनाटन प्राकृतिक सौन्दर्य र सम्पदालाई पर्यटन क्षेत्रको विकासमार्फत मुलुकको कायापलट गर्न सक्ने अनगिन्ती सम्भावना अनदेखा गरिएका छन्। सोको विकास र विस्तार गर्न सके पर्यटकको ओइरो लाग्न सक्छ र युवा वर्ग रोजगारीका लागि अन्यत्र भौतारिन पर्ने दिनको अन्त्य हुन सक्छ। तर सरकार यस मामिलामा कानमा तेल हालेर बसेको धेरै भइसक्यो।

नेपाली युवालाई विदेश ठेलेर रेमिटान्स रकम सोहोरेर मख्ख परेर बस्नु मुलुक हितको अस्थायी बाटो हो। विदेशी मुद्रा सञ्चितिमा रेमिटेन्सले झन्डै ६७ प्रतिशत भाग ओगटेको छ। विदेशी मुद्रा सञ्चिति १९ खर्ब पुग्दैछ भन्ने उपलब्धिको गर्वसाथ मिडियामा अन्तर्वार्ता दिन सरकारी पदाधिकारीहरू तछाडमछाड नै गर्छन् र सोको बखान छाँट्दा लाज पचाएको अनुभूत हुन्छ। सरकार अधिकाधिक युवा वर्ग विदेश जाओस्, उतै रमाओस्, उतै जोतियोस् र सक्दो बढी से बढी रेमिटान्स पठाओस् भन्ने ध्येयले ग्रस्त छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार गएको १५ महिनामा लगातार एक खर्बभन्दा बढी रेमिटान्स भित्रिएको देखिन्छ। राष्ट्र समृद्धितर्फ लाने शिक्षित युवा वर्गलाई स्वदेशमै अड्याउने÷प्रेरित गर्ने नीतिनियमहरू निर्माण तथा भएकाको सही कार्यान्वयन हुन ढिलो भइसकेको छ।

देशको शिक्षण प्रणालीलाई विश्लेषण गरी शिक्षा क्षेत्रको आमूल सुधार गरेर स्तर वृद्धि गर्न सके शिक्षाकै लागि मात्र विदेश जाने युवा वर्गलाई केही हदसम्म देशमै रोक्न सकिने विषयवस्तुलाई तीन बुँदागत आधारमा टेकेर संक्षेपमा चर्चा गरिन्छ:

– प्रयोगात्मक शिक्षण विधि तथा  

 प्रविधिको विस्तार

– समयमै कक्षा सञ्चालन तथा परिष्कृत परीक्षा प्रणालीको विकास

– विषय छनोटमा लचकता

शिक्षाको महत्त्व तब बढ्छ जब शिक्षाले रोजगारी सिर्जना गर्द । तसर्थ त्यो स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु नेपालको शिक्षा क्षेत्रको सबैभन्दा कमजोर पक्ष हो।

१२ कक्षापछि अध्ययन गर्नबाहेक पनि अधिकांश युवा पुस्ता खाडी मुलुकमा रोजगारीको खोजीमा जाने गरेका छन्। नेपालको कमजोर शिक्षा प्रणाली तथा गुणस्तरीय रोजगारीको समस्याले गर्दा देशमै केही गर्छु भनेर बसेको युवा वर्ग पनि बिस्तारै देश छाड्ने मनस्थिति बन्नु राष्ट्र अधोगतिको संकेत हो।

भर्खरै त्रिभुवन विश्वविद्यालयको स्नातक तहको उत्तरपुस्तिका हराएको सन्दर्भमा विद्यार्थी वर्गलाई फेरि परीक्षा लिने कुराले गर्दा विद्यार्थीमा निराशा भड्किएको सर्वविदितै छ। ‘काम बिगार्ने सम्बन्धित फाँटका कर्मचारी तर सजाय पाउने विद्यार्थी’, यो गैरजिम्मेवारी र अन्यायको भागीदार विद्यार्थी हुनुपर्ने प्रणाली जीवित रहुन्जेल नेपालको शिक्षा क्षेत्रप्रति राष्ट्रिय÷अन्तर्राष्ट्रिय विश्वास डगमगाउँछ, गुमाउँछ र अन्ततः तहसनहस हुन पुग्छ। परिणामतः युवा विदेशी दैलो ढक्ढकाउन पुग्छन्। काम गर्दै पढ्न पाउनुपर्ने या पढ्दै काम गर्न पाउनुपर्ने वातावरण सिर्जना आजको परिवर्तनशील समयको प्रमुख माग हो। यसो गर्न सके मात्रै बहुसंख्यक युवाले परिवर्तनको अनुभूत गर्न पाउनेछन् र देशमै केही गर्ने मार्गको धुइँपत्ताल खोजी गर्नेछन्। युवा वर्ग मुलुकको मेरुदण्ड भएकाले यी बिना देशको अर्थतन्त्र चलायमान हुन्न। भनौँ, आर्थिक फड्को मार्न असम्भवप्रायः छ।

मुलुकको तालाचाबी बोक्नेले युवा वर्गप्रति निस्फिक्री हुने र बेवास्ता गर्ने अहिलेकै रवैया कायम राख्दै जाने हो भने युवाबिहीन त छँदैछ, नेपालको अर्थ व्यवस्था गल्र्यामगुर्लुम ढलेको देख्न धेरै दिन कुर्नुपर्ने नहुन सक्छ। के अब पनि नेपाललाई युवा पुस्ताबिहीन नबनाउन जोडदार कदम नचाल्ने त ?

प्रकाशित: ७ जेष्ठ २०८१ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App