७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

सोभियत विजयोत्सवको विश्वव्यापी सन्दर्भ

मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो। यो महायुद्धमा एकातिर नाजी जर्मन, इटाली र जापान थिए भने अर्कातर्फ सोभियत संघ, बेलायत र अमेरिकी गठबन्धन बन्यो। लडाईंमा करिब सत्तरी राष्ट्रहरू होमिए र सात-आठ करोड मानिसले ज्यान गुमाए। सोभियतहरूको चारवर्ष लामो निर्णायक र महान् देशभक्तिपूर्ण युद्धपछि अविजित भनिएको जर्मन फासिस्ट शक्तिले हार्‍यो।

मे ९ को विजय दिवससँग सोभियत जनताको सबैभन्दा ठुलो भावनात्मक सम्बन्ध थियो र छ। मे ९ तिनका एउटा पुस्ताले प्राप्त गरेको सृष्टि कै ठुलो विजय थियो र सृष्टिकै ठुलो बलिदान थियो। साथै सृष्टिकै ठुलो वियोग, दुःख र विनाश थियो। सोभियत संघ टुक्रिए पनि रुसमा अझै यो दिवस गर्वका साथ मनाइन्छ।

यो दिन सन् १९४१–१९४५ को चार वर्षे महान् देशभक्तिपूर्ण युद्धपछि नाजी जर्मनीलाई घुँडा टेकाएको दिन हो र सोभियत वीरहरूको बलिदानबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरबाट मुक्त गरेको क्षण हो।

यो महायुद्धमा दुई करोड ७० लाखभन्दा बढी सोभियत जनताले शहादत प्राप्त गरेका थिए। युद्वमा भाग नलिने त्यहाँ घरै छैनन्। ज्यान नगुमाएका वा घाइते नभएका परिवार भेटिन्न। हरेक घरले संघर्षको गाथा बोकेका छन्, प्रत्येकले एउटा एउटा वीरताको कथा रचेका छन्। यी सबैलाई उन्ने हो भने हजार महाभारत बन्नेछ। एउटा यस्तो ग्रन्थ–त्रासदी, लडाइँ, विनाश र विजयको ग्रन्थ। साहस, बलिदान र त्यागको ग्रन्थ। देशभक्ति लडाइँको नारै थियो-‘सबै युद्धका लागि, सबै विजयका लागि’।

उक्त युद्वमा जो बाँच्न सफल भए, ती सेनाहरू, लडाकुहरू आजपर्यन्त मे ९ तारिकको दिन आफूले पाएका तक्माहरूले सैनिक युनिफर्ममा सजिएर परेड स्क्वायर वा सार्वजनिक स्थलहरूमा भेला हुन्छन्, नागरिकहरूले उनीहरूलाई अभिनन्दन गर्छन्– तिनका देशभक्तिका लागि, त्याग र बलिदानका लागि। सोभियतकालमा दोस्रो विश्वयुद्धका भेट्रानहरूलाई सरकारले ठुलो सम्मान र सुविधा दिएको थियो। अब त ती प्रायः अर्को लोकमा लागिसके। जति बाँकी छन्, तिनीहरू सय वर्षको उमेर नाघिसके। इतिहासका प्रत्यक्ष द्रष्टा र स्रष्टाहरू क्रमशः बिलाउँदै छन्।

प्रचारको दुनिया

प्रचारप्रसार र मिडियाको दुनियामा सोभियतहरू सधैं पिछडा रहे। बिबिसी, सिएनएनजस्ता स्वतन्त्र कहल्याइएका समाचार माध्यम उनीहरूसँग भएनन्। न बेलायत, फ्रान्स, स्पेन साम्राज्यहरूले शताब्दीयौंदेखि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरूमा खडा गरेकाजस्तै औपनिवेशिक भाषिक प्रभावहरूमा उनीहरूको वर्चस्व रह्यो। यही कारणले पनि सोभियतहरूले द्वितीय विश्वयुद्धमा जुन स्केलको योगदान गरे, त्यो रूपमा विश्वसामु आफ्नो विजय गाथा, बलिदान, सौर्य र कुर्वानीको इतिहासलाई प्रस्तुत गर्न सकेनन् र आफ्नो विश्वव्यापी निर्णायक भूमिकाको पूर्ण जस लिन पाएनन्।

अर्को कुरा, सोभियत दुनिया आफै पनि बाँकी विश्वबाट अलग रहेकाले चाहिँदो प्रचारप्रसार नभएको हुनसक्छ। विश्व इतिहासको यो सत्य वा विडम्बना हो कि हरेक शक्ति इतिहासलाई आआफ्नो स्वार्थानुकूल ढाल्छन् र प्रस्तुत गर्छन्।

संसारभर दोस्रो विश्वयुद्ध विश्वमा अमेरिकाको पर्ल हार्बरमा जापानी सैन्य आक्रमणको कत्रोविधि चर्चा छ। जताततै त्यो भाइरल छ। जताततै त्यसका फिल्म, भिडियो सिडी बनेका छन्। जबकि त्यहाँ जम्मा २,४०३ जना मारिएका थिए। सोभियतहरूले लडेको लडाइँको सौर्यको अगाडि पर्ल हार्बरको युद्ध मट्यांग्राले फट्यांग्रा मारे बराबर हो। तैपनि तिनीहरू धेरै चर्चामा छैनन् किनकि यो दुनियामा बोल्न जान्नेको झुठो पनि बिक्छ। हिटलरकालीन जर्मनका प्रचारमन्त्री गोयबल्स भन्थे-एउटा झुट धेरैपटक दोहोर्‍याउनुहोस्, मानिसहरूले अन्ततः विश्वास गर्नेछन्।

पूरा दोस्रो विश्वयुद्धभर जम्माजम्मी चारचार लाखजति अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको तथ्यांक छ। जबकि सांसारिक सूचनाको मूलप्रवाह मानिलिऊँ, दोस्रो विश्वयुद्ध तिनकै कारणले जितिएकोजस्तो दाबी गर्छन्।

उता सोभियत संघले दुई करोड ७० लाख मानिसहरू गुमायो र उसले पूरा युरोप खर्लप्प निलेर आएको नाजी जर्मन र गठबन्धनलाई लखेट्दै तिनको उद्गम स्थलमै पुर्‍याएर इतिहासको चिहानमा गाडिदियो। तर विश्व इतिहासमा उसको यथेष्ट चर्चा छैन। सोभियतसंघले खेलेको निर्णायक भूमिकालाई छायामा पार्दै विश्वका हालीमुहाली मिडिया र इतिहासकारहरू अझ अहिलेको परिप्रेक्षमा गुगल पनि उक्त युद्व अमेरिका, ब्रिटेनले गर्दा नै साम्य भएको बयान गर्छन्। अथवा घुमाउरो पाराले जति आफ्नो पोल्टामा पार्ने गरी इतिहासलाई  परिभाषित गर्छन्।

पृष्ठभूमि

दोस्रो विश्वयुद्धमा जर्मनलगायतका गठबन्धनले डेनमार्क ६ घण्टामा, लक्जेमबर्ग एक दिनमा, हल्यान्ड पाँच दिनमा, युगोस्लाभिया ११ दिनमा, बेल्जियम १८ दिनमा, ग्रिस २४ दिनमा, पोल्यान्ड २७ दिनमा, फ्रान्स जस्तो ठुलो देश ४२ दिनमा, नर्वे ६१ दिनमा कब्जा गर्‍यो।

यसरी पूरा युरोप कब्जा गर्दै अघिबढिरहेका नाजी गठबन्धनले पारस्परिक सन्धिको अवज्ञा गर्दै २२ जुन १९४१ को बिहान झुल्किन नपाउँदै सोभियत भूमिमा आक्रमण गर्‍यो। लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र संग्रहालय खरानी भए।

युगौंदेखि कैयन् युद्ध र झैझगडा झेल्दै बल्लतल्ल शान्तिपूर्ण संसारको निर्माणमा जुटेका सोभियतहरूको सपनालाई दुःस्वप्नमा परिणत गर्दै नाजीहरू राजधानी मस्को नजिकसम्म पुगे र आगामी अक्टोबर क्रान्तिको दिन ७ नोभेम्बर १९४१ मा आफूहरू रेड स्क्वायरमा परेड खेल्ने ऐलानसमेत गरे।

१४१८ मा दिन र रात चलेको यस युद्धले  मानव समुदायलाई युद्धमा मारिएका, फासीवादी कैदमा यातना भोगेका, भोक र अभावबाट मरेका सबै कहालीलाग्दो क्षणहरूको दुःखद सम्झना  गराउँछ। युद्धले प्रत्येक परिवारमा शोक ल्यायो। भनिन्छ सोभियत मुलुकमा एउटा पनि घर अछुतो छैन, जसको परिवारको सदस्य युद्धमा नमरेको होस । हरेक घरले युद्धको पीडा भोगेको छ र विछोडको साँक्षी बनेको छ।

चारैतिर विनाश, पराजय र निराशाको कालो बादल मडारिएको यो बेला सोभियत जनतालाई यो युद्ध सोभियत राष्ट्रको जीवन र मृत्युको प्रश्न थियो। र सोभियत जनता स्वतन्त्र हुने वा दासत्व स्विकार्ने भन्ने धर्मसंकटको घडी थियो।

राष्ट्रको जीवनमा आइपरेको यो संगीन घडीमा  सोभियत सर्वोच्च सुरक्षा कमान्डले सबै देशबासीलाई आह्वान गर्‍यो-‘सम्पूर्ण देश रणमैदानका लागि, सबै विजयका लागि’। यही नारा सन् १९४१ जुलाई १ मा राष्ट्रिय प्राब्दा दैनिकको पहिलो पृष्ठको हेडिङ बनेर बाहिर आयो। सरकारको यो नारालाई सम्पूर्ण सोभियत जनता, सबै वर्ग, सबै तप्का र सबै विचारधाराले समर्थन गरे। उनीहरूले आह्वानको प्रत्युत्तरमा ‘सबै मातृभूमिको रक्षाका लागि डट्ने’ भन्दै प्रतिबद्धताको शंखघोष गरे। यससँगै विभिन्न नाराहरू, गीतहरू सिर्जना भए । तीमध्ये एक थियो: 

‘मातृभूमि आमा बोलाउँदै छिन् : युवाहरू अघि बढ’

‘मातृभूमि आमा’को यस आह्वानको वरिपरि धेरै फरक विचार र संस्कृति भएका मानिसहरू, सैन्यशक्ति र सामान्य नागरिक, पुरुष र महिला, युवा र किशोरहरू उमेर र उत्पत्तिको पावन्दीबिना गोलबद्ध भए र करोडौं वीर–वीरांगनाहरू देशभक्ति युद्धको महासंग्राममा होमिए। दुई करोड सत्तरी लाखको जीवन आहुतिबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरको चंगुलबाट मुक्त गरे।

पृथ्वीका ठुला र भयंकर महासंग्रामहरू

मानव जातिको इतिहासमा सबैभन्दा ठुलो रक्तपातपूर्ण युद्धमध्ये धेरै लडाइँहरू महान् देशभक्तिपूर्ण युद्धमा लडिए। राजधानी नै नियन्त्रण गर्न आइपुगेका नाजीविरुद्धको मस्कोको लडाइँ दोस्रो विश्वयुद्धको सबैभन्दा ठुलो युद्ध थियो, जसमा सत्तरी लाखभन्दा बढी मानिसले भाग लिएका थिए। सातमहिना लामो यो युद्धमा करिब दशलाख सोभियतहरूले बलिदान गरे। मस्कोको युद्धको धेरै महत्त्वपूर्ण अर्थ यसकारण थियो कि यसले पहिलोपटक जर्मन सेनाको अजेयताको मिथकलाई हटाइदियो।

विश्वप्रसिद्ध अर्को महासंग्राम ‘स्टालिनग्रादको लडाइँ’ २०० दिन र २०० रातसम्म चल्यो। यस महायुद्धमा करिब पाँच लाख सोभियत वीरहरूले ज्यानको आहुति दिए भने जर्मनतर्फ तीनलाख भन्दा बढी क्षति भयो। यहाँको एउटा पाभलोभ भवनको रक्षाका लागि मात्र  ५८ दिनसम्म लडाइँ भयो। नाजीहरू, जो कुनै बेला रेड स्क्वायरमा मार्च गर्दै ९ नोभेम्बर १९४१ मा जर्मनीको विजयोत्सव मनाउने कुरामा ढुक्क थिए। स्टालिनग्रादको पराजयपछि तिनैले जर्मनीमा तीन दिने शोक घोषणा गरे।

त्यसैगरी सानो रझेभ सहरको मुक्तिका लागि सोभियत वीरहरूले ५२० दिनसम्म लडे। युद्धअघि ५६ हजार मानिसहरू बसोबास गर्ने रझेभ सहरमा मुक्तिपछि जम्मा ३६० मात्र जीवित बचे। सम्पूर्ण सहर ध्वस्त भयो। रझेभको संग्राममा सोभियत सेनाले दश लाखभन्दा बढी वीरहरू गुमायो।

युद्धको सबैभन्दा त्रासदीपूर्ण दिनहरूमध्ये एक लेनिनग्राडलार्ई नाजीहरूले ८७२ दिन नाकाबन्दी गरेका थिए। जाडो, बमबारी र भोकले यहाँका लाखौं जनता मरे। प्रत्येक नागरिकले दिनको १२५ ग्राम पाउरोटीले गुजारा गर्नुपर्ने दिनहरू पनि आए। तर पनि लेनिनग्राडका जनताले आत्मसमर्पण गरेनन्। त्यो त्रासदीपूर्ण समयमा पनि उनीहरूले आफ्नो ड्युटी चालु राखे र  लेनिनग्राडवासीले आफ्नो सहर रक्षा गरेर सारा विश्वलार्ई त्याग, बलिदान र उत्सर्गको अनुपम उदाहरण देखाए।

२७ जनवरी १९४४ को यस दिन सोभियत वीरहरूले लेनिनग्राडलाई पूर्णरूपमा मुक्त गरेका थिए, त्यसका लागि दशलाख वीरहरूले शहादत प्राप्त गरे। दोस्रो विश्वयुद्धका प्रमुख लडाइँहरूमध्ये अर्को भयंकर युद्ध कुर्सको लडाइँ हो, जसलाई इतिहासको सबैभन्दा ठुलो ट्यांक युद्ध पनि मानिन्छ, यो युद्ध पचास दिन चल्यो र त्यसको विजयका लागि लाखौं सोभियतहरूले ज्यानको मूल्य चुकाउनुपर्‍यो। अन्य थुप्रै रणसंग्रामहरूको फेहरिस्ट यो सानो लेखमा सम्भव छैन्।

युरोपको मुक्ति

दोस्रो विश्वयुद्धको अर्को कहालीलाग्दो घटनाहरूमध्ये नाजीहरूले युरोपभर चालीस हजार यातना शिविरहरू खोलेका थिए। ती सामूहिक हिरासत, श्रम शिविरहरू, मृत्यु शिविरहरू र ग्यास च्याम्बरहरूमा पच्चीस लाख मानिसहरू थुनिएको र तीमध्ये दश लाखले ज्यान गुमाएको अनुमान गरिन्छ।

सोभियत सेनाको बलिदान युरोप मुक्तिका लागि पनि उत्तिकै रह्यो। सन् १९४५ को जनवरी २७ को दिन सोभियत सेनाले मार्सल कोन्योभको नेतृत्वमा पोल्यान्डमा अवस्थित मृत्यु शिविर अस्विट्जका कैदीहरूलाई मुक्त गरेको थियो। अस्विट्जमा दश लाखभन्दा बढी मानिसहरू योजनाबद्ध सफायाको क्रममा मारिएका थिए।  पोल्यान्डको मुक्तिका लागि लगभग ६ लाख सोभियत सैनिकहरूले आफ्नो जीवन बलिदान दिए।

सोभियत सेना आफ्नो मुलुकको स्वतन्त्रतामा मात्र रमाएन। करिब ७० लाख सोभियत सेनाले ११ युरोपेली देशको मुक्तिका लागि लडे। उसले रोमानिया, पोल्यान्ड, बुल्गेरिया, युगोस्लाभिया, चेकोस्लोभाकिया, हंगेरी, अस्ट्रिया, जर्मनी, नर्वे र डेनमार्कको फासिस्ट अधीनस्थ भूभागलाई पूर्ण वा आंशिक रूपमा मुक्त गर्न आफ्ना दशलाखभन्दा बढी लालसेना र सैनिक अधिकारीहरूको समेत कुर्बान गर्‍यो। दोस्रो विश्वयुद्धभर युरोपका एघार र एसियाका दुई देश गरी सोभियत सेनाले जम्मा ४८५ सहरहरू स्वतन्त्र गरेका थिए।

विजय महिमा

सोभियतहरूको सौर्य, तिनका बलिदान, त्याग, बहादुरी र वीरताको गाथा लेख्ने हो भने यो लोककै अझ सृष्टिकै सबैभन्दा लामो महाकाव्य बन्नेछ। तिनले रचेको विजयको इतिहास मानव सभ्यताकै अनुपम घटना थियो। हुन पनि त्यहाँ पूरा देश नै होमिएको थियो। त्यहाँ जागिरे सिपाहीको ड्युटीभन्दा देशभक्तिले भाग लिनेहरूको बहुमत थियो। त्यसको छापामार युद्ध, गुरिल्ला कौशल प्रदर्शन गर्नेहरूको कहानी छुट्टै छ। कम्सोमोलका युवतीहरूले देखाएका अदम्य साहसका किंवदन्तीहरू भिन्न छन्। खुफिया कूटनीतिका रोमाञ्चकपूर्ण तिकडमहरूले अर्को सयौं ग्रन्थ भरिन्छ।  बालबालिका र बुढाबुढीहरूले उद्योगधन्दा चलाएर अर्थतन्त्र धानिदिनुपर्ने आफ्नै कथा छ।

आखिर त्यत्रो युरोप खर्लप्प निलेर विश्वविजयको यात्रामा निस्किएको जर्मन गठबन्धनलाई सोभियत संघले हराइदियो। किनकि हातहतियार र प्रविधिको शक्तिभन्दा पनि दोस्रो विश्वयुद्धमा सोभियतहरूले देखाएको साहस, बहादुरी र बलिदान अदम्य थियो। अझ त्योभन्दा पनि सबैभन्दा अनुपम मातृभूमिप्रतिको प्रेम, अटल विश्वास र जनताहरूबीच अद्वितीय एकता थियो।

म बारम्बार हरेक वर्षको मे महिनामा क्रेमलिन अगाडि हुने विजयोत्सवले उद्वेलित हुनेगर्छु। त्यो सन् १९४५ को प्रथम विजय दिवस मानिलिऊँ सृष्टिकै अनुपम क्षणजस्तै लाग्छ। करोडौं सहयोद्धाहरू गुमाएर र ठुलो समर जितेर आएका ती योद्धाहरूको माझ जब सेनापति झुकोभले हरेक पल्टनलाई बधाइ दिँदै जान्छन् र प्रत्युत्तरमा प्रत्येक पल्टनबाट ‘हुर्रा हुर्रा’ भन्ने नाद गुन्जन्छ, मानिलिऊँ त्यो नाद, त्यो ध्वनिले आकाश ढाक्छ र यसअघि धरतीमा गुन्जिएका ध्वनिलाई फिका बनाउँछ।  

ऐतिहासिक महत्त्व

दोस्रो विश्वयुद्धमा फसिस्ट शक्तिहरूमाथि गरिएको विजयले युरोप मात्र मुक्त भएन, बरु यसले औपनिवेशिक साङ्लोले बाँधिएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकन मुलुकहरूमा ठुलो हलचल ल्याइदियो। चीन,  भारतजस्ता थुप्रै मुलुकहरू यही लहरबीच मुक्त भए। शताब्दीऔंदेखि धनी र उन्नत मानिएका साम्राज्यहरू र तिनका औपनिवेशिक जञ्जीरविरुद्ध यसले विश्वभर ज्वारभाटा ल्यायो । कहिल्यै नअस्ताउने सूर्य भनिएका साम्राज्यहरू अस्ताचलतर्फ भागे।  

यो युद्धको परिणामले विश्वको स्पष्ट राजनैतिक र सामरिक ध्रुवीकरण ल्यायो। शीतयुद्धका विभिन्न भयहरू गुन्जिरहे पनि दुई विश्वको प्रतिस्पर्धाले विज्ञान र अनुसन्धानको क्षेत्रमा ठुलो फड्को मार्‍यो। मानवजातिलाई पृथ्वीको विकासले मात्र पुगेन अनि देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैं अन्तरिक्षको यात्रासमेत तय भयो।

निष्कर्ष

आज विश्वमा एक वा अर्को तरिकाबाट विजयको गौरवशाली इतिहासलाई तोडमोड र बङ्ग्याउने प्रशस्त प्रयत्नहरू हुँदैछन्। युक्रेन, पोल्यान्ड, बुल्गेरिया आदि देशहरूमा सोभियत वीरहरूको सम्मानमा ठड्याइएका  ऐतिहासिक स्मारक र सालिकहरूमाथि हमला हुँदैछ। यो विश्व इतिहासको र शान्तिप्रेमी मानवजगत्को अपमान हो। आज फेरि इतिहासको चिहानमा गाडिएका फासिज्मले विभिन्न बहानामा शिर उठाउँदैछ। फेरि पनि जातीयता, साम्प्रदायिकता एवम् धर्मको आड लिएर नवफासिस्टहरूको उदय हुँदैछ।

दोस्रो विश्वयुद्ध रुस, बेलारुस र युक्रेनको साझा दुःख, साझा पीडा र साझा बलिदानको  इतिहास हो। नाजीहरूले आक्रमणको सुरुआत नै युक्रेनको किभमा बमबारी गरेर गरेका थिए। त्यसमा शहादत गर्नेहरूमध्ये एक करोड युक्रेनीहरू थिए।

विडम्बना आज रुस र युक्रेन युद्ध लड्दैछन्। सृष्टिको आदिकालदेखिका दाजुभाइहरू, सत्तरी वर्ष एउटै लक्ष्य र एउटै मिसन बोकेर साझा सोभियत सभ्यता निर्माणमा जुटेका सहयात्रीहरू, काँधमा काँध मिलाउदै एउटै मोर्चाबाट नाजी फासिस्टविरुद्ध लडेका सहयोद्धाहरू एकापसका दुस्मनमा परिणत भएका छन्। इतिहासमा योभन्दा पीडादायी कुरा के हुन सक्छ?

आजको दुरावस्था देखेर एउटी युक्रेनीले रुँदै लेख्छिन्– ‘यदि यही नै हुनुथियो भने हाम्रा पुर्खाहरू केका लागि लडे? केका लागि त्यत्रो ज्यान फाले?’

आज शक्तिराष्ट्रहरूले युक्रेनीको बलबुता र जीवनलाई दाउमा लगाएर युद्ध गरिरहेको छन् र यो अत्यन्त पीडादायी छ। रुस युक्रेनको युद्धलाई साम्य पारेर शान्ति कायम गर्ने भन्दा बिलियन डलर खन्याएर आगोमा घ्यु थपिँदैछ। यो विज्ञान, प्रविधि र सभ्यताको युगमा पनि युक्रेन जलिरहेछ, युक्रेनी रुसीसैनिकहरू मरिरहेछन्। यसले विकसित र सभ्य भनाउँदो मानव समाजलाई गिज्याइरहेछ। यस परिप्रेक्ष्यमा फासिज्ममाथि विजय प्राप्त गरेको दिन ९ मेको सम्झना गर्न अझ सान्दर्भिक छ।

विजय दिवसको उपलक्ष्यमा विश्व मानव स्वतन्त्रताका लागि होमिने विश्वभरका वीरहरूलाई उच्च सम्मान र सबैलाई शुभकामना छ। संसारले युद्ध कहिल्यै भोग्न नपरोस्!

प्रकाशित: २७ वैशाख २०८१ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App